back

खुल्दै बन्द उद्योगहरु

वि.सं.२०७३ मंसिर १६ बिहीवार

378 

shares
NTC AD
Global IME AD

nepal-medicine-company

विभिन्न कारणले हाल बन्द रहेका उद्योग पुनः सञ्चालन हुने भएका छन् । सरकारले लामो समयदेखि चलाउन नसकिने भन्दै बन्द गरेका उद्योग प्रतिष्ठानहरू नयाँ सरकार आएलगत्तै सञ्चालन गर्ने तयारी गरेको हो । उद्योग मन्त्रालयको उद्योग हेर्नेे महाशाखा प्रमुख सहसचिव यमलाल भूषालका अनुसार पहिलो चरणमा नेपाल औषधि लिमिटेड सञ्चालन गर्ने निर्णय भएको हो । उद्योग सञ्चालनका लागि अहिले उद्योग सञ्चालनको मोडालिटीको बारेमा अध्ययन भइरहेको र विश्व स्वास्थ्य संगठनको गाइड लाइन अनुसार उद्योग संचालन गर्नुपर्ने भएकोले सोहि अनुसारको तयारी मन्त्रालयले गरिरहेको पनि उनको भनाइ छ । उद्योग मन्त्रालयका अनुसार नीजि क्षेत्रलाई ३० प्रतिशत शेयर दिने तयारी पनि भैरहेको छ ।

विश्व स्वास्थ्य संगठनको गाइड लाइन अनुसार उद्योग सञ्चालन गर्नको लागि २०७३ असोज २ गतेको मन्त्रिपरिषद बैठकले उद्योगको पूर्वाधार विकासका लागि १४ करोड ६५ लाख बजेट निकासा गर्दै डाक्टर पुष्कर बज्राचार्यको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि सदस्य रहेको एउटा कमिटी गठन भएको छ । उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडा सुरुमा अति आवश्यक ८ प्रकारका औषधि उत्पादन गर्ने र पछि बढाउँदै लैजाने बताउँछिन् । बन्द हुनुअघिसम्म उद्योगले एक सय ५० प्रकारका औषधी उत्पादन गर्दै आएको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न नसकेको र विश्व स्वस्थ्य संगठनको मापदण्ड अनुसार औषधि उत्पादन गर्न नसकेको भन्दै २०६७ सालमा सरकारले उद्योग बन्द गरेको हो ।

लामो समयसम्म उद्योग बन्द रहँदा लिमिटेड अहिले करिब एक अर्बरुपैयाँ सरकारी ऋणमा डुबेको छ । हाल औँषधी लिमिटेडमा झन्डै ९६ कर्मचारी छन् । अर्थमन्त्रालयले कामविहीन कर्मचारीका लागि मासिक २० लाख रुपैयाँ पठाउने गरेको छ । गत असारमा १ सय २२ जना कर्मचारी स्वेच्छिक अवकाशमा गएपछि यतिखेर आर्थिक भार महिनाको ३० लाख रुपैयाँको दरले घटेको छ । ती कर्मचारीलाई स्वेच्छिक अवकाशमा पठाउँदा २८ करोड ६८ लाख रुपैयाँ खर्च भएको थियो ।

यो संयोग हो वा गल्तीको पुनरावलोकन प्रजातन्त्र पुनः स्थापना पछिका १५ बर्षमा अधिकांस समय नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेको थियो सोहि समयमा नेपालका अधिकांस सरकारी उद्योग प्रतिष्ठान बन्द भएका थिए । अहिले प्रचण्ड नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट उद्योग मन्त्रि बनेका नविन्द्रराज जोशिले बन्द रहेका सरकारी उद्योग प्रतिष्ठान पुनःसञ्चालनको पहल लिन लागेका हुन् ।

उद्योग मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुख समेत रहेका सहसचिव यमलाल भुषालका अनुसार चरणबद्ध रुपमा बन्द रहेका उद्योगहरू संचालन गर्नका लागि उच्चस्तरमा सहमति बनिसकेको छ । उनी भन्छन् “अब उद्योग संचालनको मोडालिटीको अध्ययनपछि हामीले सोचेको मोडल प्राईभेट पब्लिक पार्टनरसिप अनुसार प्रकृया अगाडी बढाउछौँ । पहिलो चरणमा हामी प्रस्ताव माग्छौं अनि प्रतिस्पर्धाका आधारमा उद्योग सन्चालन प्रकृया अगाडी बढ्छ ।”

पहिलो चरणमा नेपाल औषधि लिमिटेड, त्यसपछि वीरगञ्ज चिनी कारखाना, वीरगञ्ज कृषि औजार कारखाना, ओरियन्टल म्याग्नेसाइट, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना पुन सञ्चालन गरिने उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताएका छन् । उनले राज्यको मूल ध्येय राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने, राष्ट्रलाई समुन्नत गराउने, जनतालाई सम्पन्न बनाउने मुख्य आधार स्तम्भ उद्योग नै भएकोले बन्द उद्योगहरू सञ्चालनमा ल्याउन लागिएको बताए । “लाखौँ रुपैयाँ खर्च गरेर युवाहरू विदेश गइरहेका छन्, उनीहरूलाई त्यही लाख यहाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नसकेको भए हामी अहिले अर्कै अवस्थामा पुगिसकेका हुन्थ्यौँ” मन्त्री जोशी भन्छन् “मेरो पहिलो काम के हो भने जागृत गराउने हो ।” हाम्रै देशभित्र रिसोर्सज छन्, जनशक्ति पर्याप्त छ । त्यो देख्दा देख्दै पनि केही पनि हुँदैन भन्ने भावना छ त्यसलाई परिवर्तन गरेर हामीले गर्न चाहे देशभित्रै केही हुन्छ भनेर जागृत गराउने आफ्नो पहिलो योजना रहेको पनि उनी बताउँछन् ।
सरकारले तयारी गरेको मोडालिटीमा हेटौँडा–काठमाडौं सुरुङ मार्गकै हालत हुने हो की ? सर्वसाधारणले हालेको शेयर पनि डुब्ने स्थिति भयो भने के गर्नहुन्छ ? भन्ने हाम्रो जिज्ञासामा उनले ‘त्यस्तो नहुने र सो कुरामा मन्त्रालय सचेत रहेको’ समेत बताए । बन्द उद्योग खुलाउने सरकारको निर्णयबाट सर्वसाधारण खुशी भएका छन् ।

सञ्चालनमा रहेका अधिकांस उद्योगको स्थिति नाजुक
एकातिर सरकारले बन्द रहेका उद्योग प्रतिष्ठान पुनः संचालन गर्ने तयारी गरिरहँदा चालु हालतमा रहेका अधिकांस निजी उद्योगको स्थिति भने नाजुक देखिएको छ । उर्जा संकट, दक्ष कामदारको अभाव, राजनीतिक अस्थिरता तथा मजदुर र उद्योग व्यवस्थापन बिच बेलाबेलामा देखिने असमाञ्जस्यताका कारण उद्योगहरू धरासायी हुँदा मुलुक भने परनिर्भरताको पराकाष्ठामा पुगेको छ । कुनै समय कुल गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत योगदान रहेको उद्योग क्षेत्र अहिले पाँच प्रतिशतमा खुम्चिन पुगेको छ । नेपालको कूल बैदेशिक व्यापार घाटा रु छ खर्ब भन्दा बढी छ ।
मुलुक कृषिप्रधान भएपनि कृषिमा आश्रित उद्योगहरू समेत धरासयी हुँदा बार्षिक खरर्बौंको व्यापार घाटा व्यहोरिरहेको छ भने रोजगारीको अभावमा लाखौँ युवायुवती विदेशीरहेका छन् । राष्ट्रिय रोजगारीमा झन्डै सात प्रतिशत योगदान रहेको नेपाली उद्योग संचालनमा लगानीमैत्री वातावरण नभएको भन्दै बन्द हुने क्रम बढेको छ ।

हेटौँडाको बसामाडीमा रहेको सर्वसाधारणको समेत शेयर लगानि रहेको र नेपालको शेयर मार्केटमा सूचिकृत भई उत्पादनमुलक क्षेत्रको सबै भन्दा ठूलो उद्योग यूनिलिभर नेपाल लिमिटेड ४५ दिनको बन्द पछि खुलेको छ । मजदुर हड्तालका कारण बन्द रहेको उद्योग ४५ दिनभित्र समस्याको समाधान खोज्ने गरी उद्योग व्यवस्थापन र मजदुर बीच सहमति भएपछि पुनः सञ्चालनमा आएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले बताए ।

अखिल नेपाल औद्योगिक मजदुर युनियन, युनिलिभर इकाई कमिटिका सचिव जंगबहादुर विकका अनुसार यसअघि मे महिनामा सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्ने, प्रत्येक मजदुरलाई दुई लाख रुपैयाँका दरले ऋण उपलब्ध गराउने, आवास ऋणलाई यथावत राख्ने लगायत लिखित सहमति गराई उद्योग खुलाइएको हो । त्यसैगरी उद्योग व्यवस्थापनले उद्योग सञ्चालनमा अवरोध पु¥याएका कारण निलम्बनमा परेका मजदुरको निलम्बन फिर्ता लिने र यही निलम्बनलाई आधार मानी आगामी दिनमा कारवाही नगर्ने सहमति जनाएको छ । यो उद्योगमा दुई सय आठ जना मजदुर कार्यरत छन् । युनिलिभरसँग हेटौडा, औद्योगिक क्षेत्रभित्र रहेका युनिक सोप, गंगा सोप र नेसनल सोप उद्योग आश्रित छन् ।

८० प्रतिशत हिन्दुस्तान लिभर लिमिटेडको लगानीमा सञ्चालित युनिलिभर नेपाल लिमिटेडमा १५ प्रतिशत सर्वसाधारण र ५ प्रतिशत उद्योगपति रविभक्त श्रेष्ठको शेयर रहेको छ । २९ मे २०१६ मा भएको सहमति उद्योग प्रशासनले कार्यान्वयन नगरेकाले समस्या आएको मजदुर पक्षको भनाइ छ भने उद्योग व्यवस्थापनको जिकिर अर्कै छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका विभिन्न समयमा हुने बन्द हड्ताल र चक्काजाम, विभिन्न टे«ड युनियनकर्मीको बलजफती बन्द र विद्युतको समस्याले नेपालका उद्योग बन्द हुँदै गएको बताउँछन् ।

त्यस्तै नीजि क्षेत्रबाट सञ्चालित उद्योग प्रतिष्ठानहरूले बन्दका मार खेप्दै आएका छन् । त्यसको दोष मजदुर र व्यवस्थापन पक्ष एकले अर्कोलाई लगाउने गरेका छन् । कारण जेसुकै भएपनि उत्पादनमुलक क्षेत्रबाट हुने गरेको कुल वैदेशिक घाटालाई कम गर्न र दैनिक १५ सय भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने युवायुवतीको लर्को रोक्नका लागि नेपालमा उद्योगधन्दा खोल्नु र ती उद्योगहरूको स्थायित्व हुन जरुरी छ ।

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०९:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD