BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    मेरो बलात्कृत नारीवाद

     खगिन्द्रा खुसीफागुन २२, २०७३

    khagindra-khusiउफ्! कस्तो खटपटी, कस्तो छटपटी! मखमलले त नपोल्नु पर्ने हो, तर यो मखमली तन्नाले पनि कति साह्रो पोलेको? मनमा पीडा भए पछि शारीरिक सुख भौतिक सुखसुविधाको महत्व हुन्न रहेछ । ओहो! यस्तो कष्ट यस अघिका कुनै रातमा पनि भएको थिएन । आज सबै भन्दा कष्टकर रात भोगी रहेकी छु । रातमा पनि घामको रापले जले झैं जलिरहेकी छु । आज म मेरै विश्वास गरेको प्रेमीबाट बलात्कृत भएकी छु । तर यस कुरालाई मान्न तयार छैन मेरो मन । म कसरी बलात्कृत हुन सक्छु र? मैले मेरा उमेरको पहिलो २५ वर्षहरु पार गरिसकेकी छु । यस अघिका किशोरी वर्षहरुमा त मैले कुनै पुरुषका हातबाट छोइनु परेन, जोगिँदै हिडें । सानैदेखि नारी चेतले भरिएकी थिएँ । त्यसैले मेरो जवानीबाट कुनै पुरुषलाई आनन्द लिने मौका नै दिइन, तर कति कठिन परेको थियो मैले मेरो कुमारीत्व जोगाएर दिन पार गर्न । आज सम्म भौतिक रूपमा मेरो कुमारीत्व कसैले लुटेको छैन तर मेरो मन र मेरो प्रेम बलात्कृत भएको छ । आफ्नै प्रेमीबाट बलात्कृत भएकी छु, जनेन्द्रीय रग्ताम्य बनेको छ आज ।

    यौवनकालका ती वर्षहरुमा पनि हर क्षण हर पल सतर्क भएँ म । मैले पुरुषहरुका कुदृष्टिमा परिन्छ भन्ने डरले कुनै पुरुषको अगाडी आवश्यकता भन्दा बढी बोल्ने र हाँस्ने पनि गरिनँ । कुनै पनि पुरुषलाई कुनै प्रसङ्गमा छुइनँ, केटा साथी बनाएर हिंडिन । केटीहरुको माहोलमा धेरै नाच्थें, केटाको अगाडी कैल्यै नाचिन । त्यसै बेलादेखि मलाई थाहा थियो ती सबै व्यवहारबाट आनन्द लिन्छन् पुरुषहरुले र उल्टै विभिन्न लाञ्छना महिलाहरुलाई नै लगाउँछन्, त्यसैले मैले कहिल्यै चुरा टीका गाजल, लिपिस्टिक पनि लगाइन । सबैले श्रृङ्गारका सामान मान्ने ती कुराहरुलाई मैले बन्धन सम्झें । महिलाहरुलाई बाँधेर घर भित्रै कुँज्याउने कसिला बन्धन लागे मलाई ती श्रृङ्गारका सामानहरु । मैले पढेका र सुनेका कुराहरुबाट त्यो सोच भरिएको थियो ममा । तिनै कुरा घत लागेका थिए मलाई र त्यसैलाई पूर्ण रूपमा व्यवहारमा उतार्ने प्रयास गरेकी थिएँ आज सम्म पनि ।
    म जानाजान त्यस्तो बन्धनभित्र फस्न चाहिनँ । म खुला भएर स्वतन्त्र प्राणीका रूपमा बाँच्न चाहेंँ तर मेरो स्वतन्त्रता भित्र यौनले प्राथमिकता पाएन । पाउँथ्यो होला सायद नारीहरु पुरुषका भोग्य र मान्छे भन्दा अर्को, दोश्रो प्राणीसरह बाँचेको दृष्य यो समाजका भित्ताहरुमा नटाँसिएका भए । यौनबाट पर भाग्न खोज्नु बिचारको सङ्कीर्णता पनि भने कतिले । तर अहँ! मेरो स्वतन्त्रता भित्र यौन र वासना कहिल्यै परेनन् । म स्वतन्त्र बनेर संसारभर उँड्न चाहन्थें । सामाजिक मर्यादा र कुसम्स्कारमा जेलिएको जालोबाट फुत्केर संसार बिचरण गर्न चाहन्थें । तर सधै. बाँध्न खोजिरह्यो मलाई ‘छोरी मान्छे, स्वास्नी मान्छे, आइमाई मान्छे र अवला’ भन्ने शव्दले । मैले विद्रोह बोलिन कहिल्यै पनि तर कहिल्यै स्विकार गरिनँ व्यवहारले । म स्वतन्त्र बन्न कोसिस गरिरहें । म आकाशका चराहरुजस्तै, वनका मृग र हरिणहरु जस्तै स्वतन्त्र बन्न खोजिरहें । म संसारका सबै भन्दा स्वतन्त्र प्राणी तिनैलाई देख्छु, जसले स्वतन्त्रताको वास्तविक अर्थ भोगेका छन् । मेरो मन घरमा पालिएका जनावरको जीवन देखेर जसको जीवन मात्र मान्छेको स्वार्थका लागि डोरी र साङ्लो भित्रै बाँधिएर सम्पूर्ण जीवन बाँचेका छन् । आधा जीवनमै काटिएका छन्, अनि मारिएका छन् र हत्याइएका छन् । त्यस्ता पशुहरुका भरिएका पेटबाट पनि आँसु नै झरिरहेको देख्छु र उन्मुक्तिका चित्कार नै सुन्छु । त्यस वेला मान्छेको टाउका भित्र रहेको एक मुठी चेतना र विवेक बस्ने भाँडो निकालेर तिनै पशुका टाउका भित्र राखिदिन मन लाग्छ । यदि मान्छेको चेतना ती पशुहरुमा हालिदिन पाए त्यो चेतना र विवेकको सदुपयोग हुने थियो । संसारको सम्पूर्ण प्राणीलाई न्यायपूर्ण रूपमा स्वतन्त्रतापूर्वक बाँच्ने अबसर मिल्ने थियो । आफ्नो अस्तित्व र जीवनलाई सार्थक बनाउन अरु प्राणीको जीवनलाई डोरीले कस्ने यो परम्पराको समाप्ति हुने थियो ।

    हुन त संसार एकअर्काको सहारामा नै बाँचेको छ तर सहाराको नाममा एकले अर्काको पहिचान नै मेटाउनु न्यायोचित कुरा हैन नि ।

    हेर्छु चियाका बुटाहरुलाई जसको जीवन र नेपाली नारीका जीवनमा कुनै भेद पाउँदिन । चिया मान्छेका स्वार्थका लागि प्रयोग हुन्छ, महिला पुरुषको स्वार्थको लागि । चियाले पनि आफ्नो वास्तविक रूप गुमाएको छ । यदि चियाको बुटाले बढ्न, हुर्कन र फैलन पाउने हो भने कति ठुलो रुख बन्ने थियो होला । अनि चियाबारीका सम्पूर्ण बुटाहरुलाई त्यसरी नै हुर्कन दिने हो भने त्यो चियाबारी चियाको घना जङ्गल हुने थियो र त्यही जङ्गल नै चियाबारी भन्दा सुन्दर बन्ने थियो । किनकी जे पनि कृक्रिम भन्दा प्राकृतिक रूपमै सुन्दर लाग्छ । आजको चियाबारी कृत्रिम हो अनि चियाका रुख प्राकृतिक । महिलाको पनि त्यही छ स्थिति ।

    छाँटिएको व्यक्तिएको सानो चिटिक्क महिलाको कद मन पराउँछ यो समाजले । मानसिक र शारीरिक दुवै रूपमा उसको अग्लाई र मोटाई मन पराउँदैन समाज । जब आफ्ना क्षमता, प्रतिभा र बौद्धिकताका हाँगाहरु फैलाउन अनि काटिन थाल्छन् आफ्नै आमाहरुबाट, सासू, भाउजु, नन्द र बहिनीहरुबाट । छाँटिन्छन् र साटिन्छन्, अनि सानी, छरिती चिटिक्क पारिन्छन् तब समाजले भन्छ“आहा!कति सुन्दर नारी!” त्यसैले यो समाजलाई प्रकृति मन पर्दैन । यसलाई कृत्रिमताको बानी परेको छ । यही कुराले म पिरोलिन्थें सानै उमेरदेखि ।

    अन्यायपरक समाजको हतियारबाट काटिन म तयार हुन सक्दिन थेँ । म त फैलिएको ठुलो बृत्त बन्न चाहन्थें, त्यसैले स्वतन्त्रताको नाममा खुलेआम यौनलाई स्विकार्न सकिँदैन । त्यही मेरो सोचाइ मेरो समाज परिधि भन्दा धेरै माथि थियो । त्यसैले त्यस्तो फराकिलो र न्यायपूर्ण भाग खोज्दै म आएकी थिएँ त्यस वेला यस सहरमा नारीवादीहरुको जमात खोज्दै । नारीवादी समाजमा हरेक नारीहरु सुरक्षित हुनेछन् र हरेक महिलाहरुले आत्मसम्मान, स्वाभिमानका साथ स्वतन्त्र जीवन बाँच्न सक्छन् । औधी हौसिएर पसेकी थिएँ म यस सहरमा, तर सुरुवातका दिनमा नै खुम्चिएँ, भाँचिएँ अनि छाटिएँ पनि । त्यसै बेला महसुस भएको थियो मलाई खुम्चिनु त आफैं पनि पर्दो रहेछ । बाध्यता र विवशताको डोरीले आफैं तान्दो रहेछ मान्छेलाई तर म अरुका करले हैन आफ्नै रहरले खुम्चिएकी थिएँ । यसमा कसै सँग गुनासो गर्ने ठाउँ थिएन । सहरमा त स्वतन्त्रता अझ कम महसुस गरें मैले । कठिन परिस्थिति र बाध्यता भित्र स्वतन्त्रता र आत्मस्वाभिमान खोज्न सकिनँ अनि मेरो स्वतन्त्र जीवनलाई कायम राख्दै गाउँ फर्कन पनि सकिनँ । सहरमै बाँच्नका लागि मैले मेरो स्वाभिमान र स्वतन्त्रता चुकाउनु प¥यो । त्यसैले हाकिमका अगाडी हाँसेर भनेकी थिएँ “हो सर, मैले जागिर खानै छ, जसरी पनि!” त्यस वेलाका हाकिमका नजरलाई गिद्ध नै भन्न त सक्दिनँ तर निश्चित साथ भन्छु उनी त्यसै वेला म प्रति आकर्षित भएका थिए । उनको आकर्षण यदि गाउँका कुनै पुरुषमा पाएकी थिएँ भने म उसको पछि फर्केर हिड्थेँ तर यहाँ बाँच्नु थियो मैले, त्यसैले बाँच्नका लागि सहनु थियो । मैले हाँसिदिनु थियो उनको घिनलाग्दो आकर्षण प्रति पनि । तर त्यो हँसाइले धेरै समय सम्म आत्म ग्लानीमा पा¥यो । थोरै यथार्थको बोध पनि भयो‘बाँच्नकै लागि गुमाउँदा रहेछन् मान्छेहरु स्वाभिमान र स्वतन्त्रता ।’ तर त्यस पछि मैले मेरा सम्पूर्ण विचार पोखेकी थिएँ मेरा हाकिमसित । उनले कदर गरेका थिए मेरो विचारलाई ‘म तपाईँको बिचारलाई ठेस पुग्ने कुनै काम गर्ने छैन, बरु नारी सम्बन्धी लेखरचनाहरु लेख्नुस् न । म पत्रपत्रिकातिर पनि छपाईदिन्छु । उनको उदार भनाइप्रति शङ्का गर्न मन लागेन । त्यो एउटा अवसर थियो मेरा लागि । मैले म भित्रका सम्पूर्ण बिचार, भावना र नारीवादी भनाइहरु खन्याएँ डायरीका पाना भरी भरी र दिएँ मेरा हाकिमलाई । उनले पनि कन्जुस्याईँ नगरी दिए विभिन्न पत्रपत्रिकाहरुमा । हरेक दिन पत्रपत्रिकाहरुमा मेरा नारीवादी सोचले भरिएका लेखरचनाहरु छापिन थाले । दिनदिनै मान्छेहरुले चिन्न थाले मलाई म चर्चामा छाउन थालें । चर्चाको विषय बन्न थालें । मलाई विभिन्न कार्यक्रमहरुमा बोलाउन थालियो, कतै कतैबाट सम्मान पनि पाउन थालें । मेरा हाकिम प्रति कृतज्ञ बनें म, साँच्चिकै उद्धार गर्दा रहेछन् हाकिम । उनैले पठाउँथे कार्यक्रमहरुमा, लगिदिन्थे आफैं, अफिसकै गाडीमा राखेर, साथै निःस्वार्थ लाग्थे उनी । म गदगद हुन्थें यति उद्धार हाकिम पाएकोमा । मैले पनि अफिसमा गुनासो गर्ने कुनै ठाउँ नराखी काम गर्थें । दत्तचित्त भएर काम गर्थें । त्यसैले पनि होला म बढुवा भएँ अर्थात उनको कोठामा सारिएँ ।

     अब मैले हर क्षण उनको सहयोगमा जुट्नु पर्ने थियो । म उनको पर्सनल सेक्रेटरी जस्ती बनेकी थिएँ । म कम्प्युटर चलाउथेँ । उनी छेवैमा आएर कानैमा मुख लगेर सफ्टवेयर खोल्न सिकाउँथे । उनका तातो श्वास मेरो अनुहार र घाँटीतिर आउँथ्यो । कहिले कार्यक्रममा सँगसँगै मोटरसाइकलमा जाँदा बाटामा घ्याच्च मोटरसाइकल रोक्दा म हुत्तिन्थे उनीतिर । मेरो छाती ठोकिन्थ्यो उनको ढाडमा, म हुरुक्क हुन्थें छाती दुखेर । सायद त्यस वेला उनी रोमाञ्चित बनेका हुन्थे । मैले उनको मनोविज्ञान बुझ्न कोसिस गरिनँ । म ढुक्क हुन्थेँ उनको बहानालाई विश्वास गरेर । उनी तत्काल माफी माग्थे ।

    मेरो नारीवादी सोचको सदा कदर गरिरहने मरा हाकिम मैले नै थाहा नपाउने गरी यौनान्द लिइरहेका हुँदा रहेछन् । यदि त्यो कुराको पत्तो भएको भए म कहिल्यै पनि हाँस्तिन थँे । उनको सहारामा कृतज्ञ बन्दिन थेँ उनी प्रति । अनि सायद फस्दिन थिएँ उनको कुटिल प्रेममा । उनले भनेका थिए “म प्रेम गर्छु तिमीलाइ, चोखो, पवित्र प्रेम । म हुन्न तिम्रो इच्छा विपरित, म कदर गर्छु तिम्रो भावनालाई । म खुसी थिएँ मैले भने जस्तो मान्छे मेरो जीवनमा आएकोमा । उनले निस्वार्थ प्रेम गर्छन् भन्ने सोच्थें म । उनी भन्थे“म कहिल्यै माग्ने छैन तिम्रो शरीर । शरीर माग्नै पो किन प¥यो र उनी त म सँगका यात्राहरुबाटै आनन्दित बन्दा रहेछन् । म सँगको बसाइ र गफगाफ बाटै रोमान्चित बन्दारहेछन । अनि किन चाहियो त शरीर । बिना सम्भोगको चरम आनन्द पाउँदा रहेछन् उनी । मलाई हेरेर मात्रै पनि उनी यौनानन्द पाइरहेका हुँदा रहेछन् । त्यसरी म उनीबाट बिना सम्भोग बलात्कृत भइरहेकी रहिछु मैले थाहै नपाई ।

    म डाकिएकी थिएँ केही टाढाको कार्यक्रममा । उनैले पु¥याउन लगे मलाई । फिर्दा साँझ परेको थियो । बीचबाटोमा एकान्त ठाउँ थियो, जहाँ केही क्षण बस्न गरेको उनको निवेदन नकार्न सकिन । पिपलको रुख मुनि उनको छेउमा बसें । उनी घरी घरी मेरा आँखामा हेर्थे । मेरा हातहरु छुन्थे, चिमोट्थे हातमा, गालामा अनि मानमा, माया गरे जस्तै गरी । मैले हेरें उनलाई, उनका ओठ थर्थराइरहेका थिए । नाकबाट ह्वारह्वारी श्वास निस्किरहेको थियो । त्यही हावा मेरो अनुहारमा प¥यो । म निसास्सिएँ जस्ती भएँ । उफ! कस्तो अप्ठेरो भएको ? भित्र कता कता असजिलो जस्तो भएको । उनले बिथोले मलाई, उद्वेलित पारे, उत्तेजित पारे । उनी वेहोसीमा जस्तै बर्बराए, हड्बडाए, आए मेरो ओठै नजिक र रगताम्य बनाए मेरो ओठलाई । जव म पूर्ण रूपमा समर्पित भएँ उनमा, उनी बेहोसीबाट होसमा फर्किसकेका थिए, फेरि तगडा बनेर भने“यो भन्दा बढी गर्नुहुन्न, मैले बाचा गरेको छु तिमीसँग । म तिम्रो विश्वास तोड्न सक्दिनँ ।” जब म हिउँ बनेर जमिरहेकी थिएँ । तब उनी आगो बनेर म भरि फैलिए । मलाई पग्लन कर लाग्यो, पग्लन थालें । म पग्लँदै बग्दै भीरपहरा, खहरे खोला र नदी बन्दै सागर सम्म पुगेर सागरभित्रको मोती चुम्न थाहान्थें तर आधा बाटो नपुग्दै पुनः जम्न तयार हुनुप¥यो । खहरे बनेर उर्लँदै गरेको बेला उनले जम्न लगाए । म बाध्य भएँ जम्न, कठिनसित जमें । एउटा शान्त तलाउमा ढुङ्गा हानेर तरङ्गित बनाए अनि पुनः तत्काल शान्त बन्न लगाए । मैले तलाउभन्दा छिटो शान्त बन्नुप¥यो । पटक पटक यसरी नै विथोलिएकी छु म उनीबाट । म बिथोलन्थें र शान्त बन्थें यसरी नै उनैको इच्छामा र उनैको करमा । म महानता सम्झन्थें उनको यस कार्यमा, बुद्धिमता सम्झन्थें र उदारता सम्झन्थें तर हैन रहेछ उनी त यसरी नै हरेक पटक मलाई बलात्कार गरिरहेका हुँदा रहेछन् । सम्भोग गरिरहेका हुँदा रहेछन् र मैसित यौनान्द लिइरहेका हुँदारहेछन् । मैले पत्तै नपाई । म अन्योलमा थिएँ र सदा अन्योलमै हुन्थें होला यदि उनको पाइन्टमा आँखा नपुगेका भए । उनको शीथिल अनुहारमा आँखा नपुगेको भए । उनी बगीसकेर मलाई जम्न लगाउँदा रहेछन् उनले । जव मेरा ओठहरु टोकेर तृप्त बन्थे उनी अनि म तिर नफर्किकनै अरु यात्रा गर्थे । त्यस पछि उनको अगाडीको भाग देख्तिन थिएँ म । तर यसपटक उनको भिजेको पाइन्ट र गलेको अनुहारको मुल्याङ्कन गर्न सकेकी थिएँ मैले । उनले यौनानन्द प्राप्त गरिसकेका थिए । म भने बलात्कृत युवती झैं अतृप्त र अशान्त बनेर उनको पछिपछि हिंडिरहेकी थिएँ र सोच्दैथिएँ अब यसरी नै भोगिरहनेछन् मलाई उनले । मैले आवाज उठाउने ठाउँ छैन । कानुनको सहारा माग्ने आधार छैन, कुनै परिवर्तन छैन मेरो भौतिक यौनाङ्गमा, रगतपक्ष छैन । अनि मेरो रगताम्य बनेको मानसिक यौनाङ्गको लेखाजोखा गर्ने औजार छैन यो संसारमा । नारीवादको आवाज उठाएर हिंड्ने नारी आज आफैं बलात्कृत हुँदा पनि विद्रोहको एक शब्द बोल्न सकेकी छैन । अब मेरो यो बलात्कृत शरीर उनैमा समर्पित गर्न पनि सक्दिनँ, अनि बलात्कारको आवाज उठाएर उनलाई सजाय दिलाउन पनि सक्दिन । उफ! आज म बलात्कृत भएकी छु अर्थात मेरो नारीवाद बलात्कृत भएको छ ।
    www.samakalinsahitya.com बाट साभार गरिएको ।

    १२५८ पटक
    प्रतिकृया दिनुहोस्