back

‘एमालेले छोरी–बुहारी वा ज्वाईँलाई मेयर बनाउने सोचेको छैन’

वि.सं.२०७४ वैशाख २३ शनिवार

111 

shares
NTC AD
Global IME AD

mallik

विद्यासुन्दर शाक्य,

एमालेका तर्फबाट काठमाडौँ महानगपालिकाका मेयरका उम्मेदवार

तपाईँले काठमाडौँको मेयरमा जित्ने आधार के–के छन् ?
नेकपा (एमाले)तल–तलसम्म संगठन निकै बलियो भएको पार्टी हो । काठमाडौँ महानगरपालिकाको सन्दर्भमा कुरा गर्ने हो भने सबै जताको घर–दैलोमा पुगेको मर्दाको मलामी र बाँच्दाको जन्ती बनेको पार्टी पनि एमाले नै हो । सुख–दुःखमा साथ दिएको पार्टी पनि एमाले नै हो । अहिले एमाले महानगवासीका लागि एमाले स्पष्ट दृष्टिकोण, नीति, विचार, सिद्धान्त, कार्यक्रमले मात्र होइन आत्मीयरुपले पनि नजिक छ । त्यसैले उहाँहरु सबै काठमाडौँको मेयर विद्यासुन्दरलाई बनाउन चाहनुहुन्छ । त्यसैले विद्यासुन्दरले जित्ने सबै भन्दा बलियो आधार यही हो ।

मैले अघि पनि भने एमालेले लिएको राष्ट्रियताको स्पष्ट अडान, सामाजिक न्यायका क्षेत्रमा एमालेको गरेको काम, एमालेले लिएका नीति, विचार, सिद्धान्त र एमालेले महानगर विकासका लागि अघि सारेको कार्यक्रम अन्य सबै राजनीतिक दलहरुको भन्दा उत्कृष्ट छ । एमाले कसैका छोरी–बुहारी वा ज्वाईँलाई मेयर बनाउने योजना बोकेर चुनावी मैदानमा आएको छैन । काँग्रेस–माओवादीका साथीहरुले गरेको चुनावी तालमेल केका लागि हो भन्ने कुरा तपाईँहरुले स्पष्ट रुपमा बुझ्नु भएको छ । हामी छोरी–बुहारी वा ज्वाईँ होइन संवृद्ध नेपाल बनाउने, सबैले आहा भन्ने महानगर बनाउने योजनासहित चुनावी मैदानमा आएका छौँ । अहिले नेपालमा जहानीय राणाशासन छैन तर काँग्रेस–माओवादीले जहानीय शासन अझै बाँकी छ भन्ने झल्को दिने गरी चुनावी तालमेल गरेर आफ्ना छोरी–ज्वाईँलाई मेयर–उपमेयर बनाउनका लागि पार्टीमा योगदान गरेका, लामो अनुभव बटुलेका नेता–कार्यकर्तालाई पाखा लगाएका छन् । यो कुरा पनि आम जनताले राम्ररी बुझेका छन् भन्ने मैले ठानेको छु । देशभक्त र राष्ट्रियता कमजोर बनाउने गठबन्धनका पक्षमा नेपाली जनताले मतदान गर्नुहोला भन्ने मैले ठानेको छैन । यो हामीले चुनाव जित्ने अर्को वलियो आधार हो ।

मैले काठमाडौँमा मेयर जित्ने तेस्रो आधार भनेको म दुई–दुई पटक यही महानगरपालिकाका जनताबाट चुनिएको जनप्रतिनिधि हुँ । काठमाडौँको वडा २१ बाट म दुई पटक जनप्रतिनिधि भएँ । पहिलो पटक म वडा अध्यक्ष भएर गरेको कामको मूल्याङ्कन गरेर फेरि ०५४ सालमा भएको स्थानीय निर्वाचनमा जनताले मलाई भारी मतसहित विजयी गराउनु भयो । मैले त्यतिबेला पनि उहाँहरुले गरेको विश्वासलाई मर्न दिइन् । मेरो कामको मूल्याङ्कन गर्दै पार्टीले पनि मलाई विभिन्न जिम्मेवारी सुम्पिदैँ आएको छ । म दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको छु । अहिले पनि म एमाले काठमाडौँ जिल्ला कमिटीको सचिवको हैसियतमा छु । महानगरमा मैले नेकपा (एमाले)का तर्फबाट महानगर राजनीतिक संयन्त्रको प्रतिनिधिका रुपमा लामो समयदेखि काम गर्दै आएको छु । यसले मलाई मलाई महानगर बुझ्न निकै सजिलो भएको छ । महानगरको विकास कसरी गर्ने, महानगर विकासमा के कुराको कमी छ । त्यो सबै मैले बुझेको छु । यो मेरो जित्ने अर्को आधार हो ।

चौथो आधार भनेको काँग्रेस–माओवादी गठबन्धन सरकारले नौ महिने सत्ता चलाउँदा गरेका एकपछि अर्को कमजोरीले जनता दिक्क भएका छन् । सरकार कहिले प्रहरी प्रमुखको विषयलाई लिएर त कहिले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर एकपछि अर्को वदनामी कमाउँदै आएको छ । सरकार सञ्चालन गरेको नौ महिना पूरा भएको छ । तर, अहिलेसम्म यो सरकारले जनतालाई उत्साहित हुने काम केही गर्न सकेको छैन । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मृत अवस्थामा रहेका सपनालाई व्यूँझाउने काम गर्नुभएको थियो । नेपाली जनता संवृद्धिको सपना देख्न थालेका थिए । नेपाली जनताले देखेका सपना पूरा गर्न महानगरपालिकामा एमाले बाहेको नेतृत्व अहिले नेपाली जनताले कल्पना पनि गर्न सकेका छैनन् । यी सबै आधारले पनि काठमाडौँमा मात्रै होइन देशैभरी एमालेको विजयी सुनिश्ति छ भन्न ढुक्कले सकिन्छ ।

काँग्रेस र माओवादी केन्द्रबीच काठमाडौँ महानगरपालिकाको मेयर पदमा तालमेलको हल्ला छ, नीतिगत रुपमा त त्यो सम्भव नहोला भित्री रुपमा तालमेल भयो भने ?
पहिलो कुरा त काठमाडौँमा काँग्रेस–माओवादीबीच तालमेलको हल्ला मात्र हो । म आफैँ पनि काँग्रेस–माओवादीका साथीहरुसँग निरन्तर सम्पर्कमा छु । उहाँहरुले कुनै पनि हालतमा तामलेल नहुने भन्नुभएको छ । शीर्ष तहमा तालमेल भयो भने पनि स्थानीय कार्यकर्ताहरुले त्यसलाई अस्वीकार गर्ने चेतावनी दिदैँ आउनु भएको छ । अहिले जसरी केन्द्रबाटै काँग्रेस–माओवादीले काठमाडौँमा तालमेलको कुरा अघि बढाएको छ । यो एमालेका पक्षमा देखिएको जनलहरबाट आत्तिएर हो भन्ने कुरामा कुनै दुईमत छैन । एमालेले काठमाडौँ महानगरपलिका कस्तो बनाउने भन्ने स्पष्ट योजनासहितको प्रतिवद्धतापत्र अहिले स्थानीय जनताको घर–दैलोमा पुर्याएको छ । हामी जहाँ–जहाँ योजना लिएर जनताको घरदैलोमा पुगेका छौँ । उहाँहरु सबैले उत्साह व्यक्त गरेको महशुस भएको छ । काँग्रेस–माओवादीले अहिलेसम्म पनि प्रतिवद्धतापत्र जनताको दैलोमा स्पष्ट रुपमा लिएर जान सकेको छैन । त्यसैले तालमेलको हल्लाले एमालेलाई होइन काँग्रेस–माओवादीलाई नै घाटा पुगेको छ । एमाले त्यसै पनि महानगरमा बलियो छ । अझ यो तालमेलको हल्लाले धेरै मतदाताको झुकाव एमालेप्रति बढेको मैले महशुस गरेको छु ।
तपाईँको प्रतिवद्धतापत्रमा उल्लेख गरिएका विकासका कार्यक्रमले जनता उत्साहित भएपछि काँग्रेस–माओवादी आत्तिएर तालमेलको चरणमा पुगेका भन्ने पनि छ नि ?

काँग्रेसले अहिलेसम्म पनि जनताका बीचमा कुनै घोषणपत्र वा प्रतिवद्धतापत्र लैजान सकेको छैन । काँग्रेस पार्टीकै घोषणापत्रलाई बोकेर अहिले काठमाडौँका मयेर हिड्नु भएको छ । यसले पनि कााग्रेस कतिसम्म अस्तव्यस्त पार्टी हो भन्ने कुराको प्रमाणित गर्दछ । काँग्रेसकै सन्दर्भको कुरा गर्ने हो भने पनि उसको आफ्नो छुट्टै भिजन नै छैन । एमालेले अघि सारेकै कार्यक्रमहरु काँग्रेसको घोषणापत्रमा छन् । यसकारण पनि हामी दावाका साथ भन्न सक्छौँ कि भिजन भएको, महानगरलाई महानगर बनाउने सपना बोकेको पार्टी एमाले नै हो । अहिले हामी स्पष्ट योजनासहित जनताको घर–दैलोमा पुगेका छौँ । उहाँहरुले पनि खुलेर एमालेको पक्षमा समर्थन जनाउनु भएको छ । यसले हामी थप उत्साहित भएका छौँ ।

स्थानीयस्तरमा लोकप्रिय बनेका व्यक्तिहरुलाई नै वाइपास गरेर काँग्रेसले अन्य व्यक्तिलाई उठाउँदा एमालेकै उम्मेदवारलाई फाइदा भएको छ भनिन्छ नि ?
म आफैँले मलाई घाटा भयो नाफा भयो भनेर भन्ने भन्दा पनि सञ्चार माध्ययममा लामो समय काम गर्नुभएका तपाईहरु जस्ता सञ्चारकर्मी साथीहरुले बुझ्ने कुरा भयो । म चुनावी प्रचार–प्रसारका क्रममा जनताको घर–दैलोमा जाँदा स्थानीय निर्वाचनमा स्थानीय र स्थानीय स्तरमा लोकप्रिय भएको व्यक्तिलाई नै उठाएको भए हुन्थ्यो भन्ने खालका गुनासाहरु सुनिने गरेका छन् । यस्तो कुरालाई नेतृत्वले पनि ख्याल पुर्याउनु पर्छ भनेर स्थानीय जनताले गुनासो गर्नु स्वाभाविक हो ।
एमालेले काठमाडौँमा उपमेयर महिलालाई नदिई राप्रपासँग तालमेल गरी उसैलाई दिइपछि एमाले भित्रका महिलाहरु रुष्ट भएका छन् भन्ने काँग्रेस–माओवादीको आरोप छ नि ?
इतिहासमा पहिलो पटक नेपाली जनताले महिला प्रधानन्यायाधीश पाएका थिए । तर, काँग्रेस र माओवादीलाई त्यो कुराको चित्त बुझेन । उनीहरुले अपमानित ढंगले उहाँमाथि महाअभियोगको प्रस्ताव ल्याएर आम नेपाली महिलामाथि अपमान गरे । शुक्रवार मात्रै नयायधीश चोलेन्द्र सम्शेर जबराको एकल इजालसले उहाँलाई काममा फर्किनु भनेर फैसला गरेपछि फेरि काँग्रेस–माओवादीका साथीहरु आत्तिएर विभिन्न खाले हर्कतमा जुटेका छन् । यसरी महिला प्रधानन्यायाधीशलाई अपमानित ढंगले हटाउने साथीहरुले यो गलत हो भनेर लड्ने एमालेलाई महिला विरोधी भनेर आरोप लगाउन मिल्छ ? म काँग्रेस–माओवादीका साथीहरुलाई स्मरण गराउन चाहन्छु । महिला शसक्तिकरण र सामाजिक न्यायका लागि एमाले जति अरु कुनै पनि पार्टी लडेका छैनन् । सबै स्थानीय तहमा मेयर वा उपमेयर मध्ये एक महिला अनिवार्य गर्ने व्यवस्था एमालेलेकै पहलमा भएको हो । महिला राष्ट्रपति र महिला सभामुख एमालेकै पालामा भएको हो, त्यो कुराको पनि हामी स्मरण उहाँहरुलाई गराउन चाहन्छौँ । अहिले कुनै नेताका छोरी–बुहारीलाई मेयर बनाउन अप्राकृतिक गठबन्धन गर्ने साथीहरुले हामी महिलामैत्री हौँ भनेर गर्व नगर्दा हुन्छ । उहाँहरुले महिला होइन, नेताका छोरी–बुहारीलाई प्राथमिकता दिनुभएको छ । हामीले संगठनमा काम गरेका, अनुभव भएका महिलाई प्रथामिकता दिएका छौँ ।

अहिलेसम्म चुनाव प्रचार–प्रशारका क्रममा तपाईँले के–कस्ता प्रतिवद्धता लिएर जनताका बीचमा जानु भएको छ ?
मैले जनतालाई म काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि पाँच वर्षमा यो सहर दक्षिण एसियाकै सबैभन्दा बसोबास गर्न लायकको सहर हुनेछ । पाँच वर्षभित्र यस सहरलाई शिक्षा, व्यवसाय तथा विभिन्न अवसरहरु प्राप्त हुने र गर्व गर्न लायक सहरका रुपमा विकास गर्ने छु । महानगरका वासिन्दा म मेयर भएको पाँच वर्षमा एक आपसमा हातेमालो गर्दै समुदायलाई सशक्तिकरण गरेर व्यवसाय गर्ने र आनन्दको जीवन विताउन सक्ने हुनेछन् । म मेयर निर्वाचति भएपछि काठमाडौँलाई एक दिगो सहरका रुपमा विकास गर्नेछु । जहाँ हरित पूर्वाधार, सहरी कृषि, बैकल्पिक यातायात लगायत रहनेछन् । नवीन सोचका साथ यी योजनाहरुलाई अघि बढाउने छु ।
भूकम्पपछि ध्वस्त भएको पूनःनिर्माणमा तपाईँको योजना के–छ ?
‘व्युल्ड व्याक वेटर’को अवधारणाबाट भूकम्प पुनःनिर्माण को योजना अनुरुप भूकम्पबाट क्षति भएका भौतिक संरचनालाई पहिलाको भन्दा अझ अत्याधुनिक र नयाँ ढंगले निर्माण गरिने छ । त्यसका ‘वल्ड हेरिटेज सिटी’ लागि भित्रि काठमाडौँलाई ‘रिभाई र रिग्रेट’ गरिने छ । यो योजनालाई पनि मैले प्राथमिकतामा राखेको छु । यस्ता थुप्रै योजना छन् । जसले भूकम्पपछि थिलथिलो भएको महानगरपालिका जुरुक्क उठ्ने छ ।
आर्थिक विकासका पनि त केही योजना होलान नि ?
·अवश्य, म मेयर भएपछि आर्थिक तथा सामाजिक न्यायमा आधारित नमुना शहर बनाउने छु । काठमाडौँ र सहरलाई सहयोग गर्ने वा लगानी गर्नेलाई आकर्षित तथा व्यापारमैत्री बाताबरण बनाउने छ । अहिले दैनिक हजारौँ युवा वैदेशिक रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ । म त्यसलाई कम गराउने समय सापेक्ष रोजगारमूलक वातावरण निर्माण गर्नेछु । युवाहरुका लागि रोजगारमूलक तालिम दिने र ठाउँ–ठाउँमा अनलाइन रोजगार सूचना केन्द्रको व्यवस्था गर्नेछु । त्यसैगरी मझौला व्ववसाय तथा साना व्यवसाय सुरु गर्नेहरुलाई (स्टार्ट अफ) लगानीमैत्री विनियमहरु बनाइने छ । सहरका मुख्य–मुख्य केन्द्रमा (इन्टरपेनर हव) को स्थापना गर्नेछु ।

काठमाडौँवासीका केही सपनाहरु छन् । ती सपनासँग म नजिकबाट साक्षात्कार छु । महानगरवासीका सपनालाई मैले नजिकबाट स्पर्श गरेको छु, राम्ररी बुझेको छु । सुन्दर, शान्त महानगर यहाँका जनताको मात्र होइन मेरो पनि सपना हो । यो सपना गफ गरेर मात्र पूरा हुँदैन । फेसबुकमा हावादारी सपना बांडेर मात्र सफल हुंदैन त्यसका लागि काम गर्नुपर्छ । काम गर्न कार्यान्वय गर्न सक्ने ‘भिजन’ चाहिन्छ । त्यो भिजन मसँग छ ।

अहिले महानगरभित्र रहेको अस्तव्यस्त यातायात सबैको टाउको दुखाई बनेको छ । यसलाई व्यवस्थित तथा आधुनिकीकरण गर्नुपर्दछ । नयाँ प्रविधियुक्त यातायात पद्धति स्थापनाका लागि मैले जोड दिनेछु । महानगरमा केवलकार, मोनोरेल, तथाअत्याधुनिक बससेवा, इलेक्ट्रिकल तथा स्मार्ट गाडीहरु संचालनमा ल्याइनेछ ।

त्यसैगरी काठमाडौंलाई ‘स्मार्ट सिटी’का रुपमा विकास गरिनेछ । स्मार्ट सिटीको पूर्वाधार तयार गर्नकालागि महानगरीय ‘ब्रोडव्याण्ड नेटवर्क’ स्थापना गर्नेछु । महानगरको नागरिक हुनुमा गौरवान्वित महसुस हुने गरी र जनतालाई सुलभ तथा द्रुत सेवा प्रदान गर्नका लागि ‘महानगर स्मार्ट सिटिजन कार्ड’को व्यवस्था गर्नेछु । महानगरको झल्को दिने गरी ‘पब्लिक ट्रान्सर्पोटेशन’ सेवा कम्तीमा दिनको २० घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउने छु । त्यसैगरी महानगरभित्रका सबै टोल–टोलमा पुग्न कुनै पनि स्थानबाट ५ मिनेट भन्दा बढी हिँड्नु नपर्ने गरी ‘पब्लिक ट्रान्सपोर्ट’को व्यवस्था गर्नेछु । त्यसैगरी साइकल लेनको निर्माण गरिनेछ । साइकल चढ्नेलाई विशेष सुविधा उपलब्ध गराइनेछ । ठाउँ–ठाउँमा साइकल पार्किङ स्टेशन निर्माण गर्नेछु । काठमाडौँ महानगरभित्र ‘स्मार्ट पार्किड सिष्टम’को व्यवस्था गर्नेछु । विभिन्न ठाउँमा स्वचालित ‘भर्टिकलकार पार्किङ र अण्डरग्राउण्ड पार्किङ सिष्टम’को व्यवस्था गर्नेछु ।

स्थानीय तथा आगन्तुकहरुको लागि ठुला होटेल रेस्टुराँ, सपिङ मलहरु, डे र नाइट मार्केटहरु ठाउँ–ठाँउंमा स्थापना गर्नेछु् ।

वि.सं.२०७४ वैशाख २३ शनिवार ०५:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD