१६ जेठ, काठमाडौँ । सुन्दर पर्यटकीय नगरी पोखरामा गजल वाचन तथा गजलमाथि परिचर्चा सम्पन्न भएको छ ।
जरा फाउन्डेसन नेपाल र गजल सन्ध्या पोखराको संयुक्त आयोजनामा शनिबार सम्पन्न ‘गजल सङ्गम’ मा देशका विभिन्न क्षेत्रका करिब २५ गजलगोले गजल वाचन गर्नुभएको थियो । दुई चरणमा विभक्त उक्त कार्यक्रमको पहिलो चरण गजल परिचर्चामा केन्द्रित थियो । वर्तमान गजलको अवस्था र गजलमा देखिएका विवादबारे कवि तथा समालोचक महेश पौड्यालले गजल समालोचक डा घनश्याम परिश्रमी, दीपक समीप र घनेन्द्र ओझाबीच अन्तक्र्रिया गराउनुभएको थियो ।
कार्यक्रममा समालोचक डा परिश्रमीले नेपाली गजलको वर्तमान विभिन्न धारबाट हिँडिरहेको र यहीँबाट नेपाली गजलमा विवाद र मतभेद सिर्जना भइरहेको बताउनुभयो । गजलगो समीपले नेपाली गजलमा अहिले देखिएका प्रयोग र अभ्यासलाई सम्पूर्ण रूपमा बेवास्ता वा निषेध गर्न नहुने तर्क गर्नुभयो । अर्का समालोचक ओझाले गजल शास्त्रीय विधा भएकाले यसको सिद्धान्त पहिल्यै निर्माण भई प्रयोगमा आइसकेको तथा लामो समयदेखि प्रचलित परम्परा भएको हुँदा अब पनि नेपाली गजलले त्यसलाई त्याग्न नसक्ने धारणा राख्नुभयो ।
दोस्रो चरणमा धनराज गिरी, दुर्गा बाबा, सरस्वती सरु, देवेन्द्र केसी, असीम सागर, आवाज शर्मा, रुपिन्द्र प्रभावी कटु, मन क्षेत्री, सङ्गीता आभास, महेश क्षितिज, असफल गौतम, बिर्सना बस्नेत, त्रुपक, प्रकाश अधिकारी, सुमन स्मारिका, सङ्गीता थापा, मोहन भण्डारी, सुदर्शन पौडेललगायतले आआफ्ना गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा कवि तथा गीतकार प्राज्ञ तीर्थ श्रेष्ठले हरेक साहित्यिक विधालाई स्वतन्त्र रूपले विकसित हुन दिनुपर्ने धारणा राख्दै तर स्वतन्त्रताका नाममा ती विधाका आधारभूत मर्म भने मारिनु नहुने बताउनुभयो । गजलको हकमा प्रमुख कुरा नै लय भएको बताउँदै श्रेष्ठले भन्नुभयो, “सम्पूर्ण सृष्टि नै लयमा चलेको हुन्छ । लय म¥यो भने प्रलय हुन्छ ।”
जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले यसै बेला गजलमा देखिएका विवादलाई निरुपण गर्न र गजलगोहरुलाई अझ परिपक्व सिर्जनाका लागि उत्प्रेरित गर्न प्रयत्न गरिनुपर्ने बताउनुभयो । “यसैका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।
वि.सं.२०७४ जेठ १६ मंगलवार ०६:१६ मा प्रकाशित