BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ १३ गते
    Headlines :
    Ad
    Ad

    बिराटनगरको काँचुली फेर्ने सपना साँचेकी नमिता

    मनहरी तिमिल्सिनाआषाढ ५, २०७४

    namita-neupane

    जीवनको सैँतीसौं वसन्तमा पाइला चाल्दै गरेकी उनको समाज रुपान्तरणको यात्रा उत्कर्षमा छ । जीवनका उकाली ओरालीहरुमा साम्यवादको अनन्त सपना देख्न छोडिनन् उनले । बाल मनोविज्ञानमा कम्युनिष्ट पार्टीप्रति परेको गहन प्रभाव उनको जीवनको आदर्श नै रह्यो । परिस्थिति फेरियो, जीवनमा उन्नति र अवनतिका श्रृङ्खला चलि नै रहे, मोर्चा र जिम्मेवारी फेरियो । तर, स्वतन्त्रताको दुनियाँ चुम्ने उनको आस्था र आकाङ्क्षा फेरिएन । तिनै साम्यवादी आदर्शकी अभियान्ता नमिता न्यौपाने (पोखरेल) अहिले माओवादी केन्द्रको तर्फबाट बिराटनगर महानगरमा उपमेयरको दौडमा छिन् ।

    नेपाली किसान परिवारको जीवनभन्दा पृथक थिएन उनको बाल्यकाल । २०३७ असार २ गते पिता कर्णाखर र माता देवकुमारीको कोखबाट कान्छी सुपुत्रीका रुपमा जन्मिएकी नमिताको बाल्यकाल सङ्घर्षमै बित्यो । ६ दाजुभाइ र ३ दिदीबहिनी, जीवन धान्ने चुनौति नै प्रमूख थियो न्यौपाने परिवारको । तर, चुनौतिले उनलाई गलाएन । बरु, एकलब्य भएर सार्थक जिन्दगीको खोजी गर्न सिकायो । नमिता भन्छिन्, ‘बुवा किसान, आर्थिक अवस्था असाध्यै कमजोर, अनि ठूलो परिवार । म केराबारीको मछिन्द्रा उमाविमा पढ्थे, ६ कक्षामा शूल्क तिर्न नसकेर परीक्षा रोकिएको घटना अहिले पनि स्मरण हुन्छ ।’ यो सानो उदाहरण मात्रै हो, जसले नमिताको बाल जीवनका दर्दहरुको दृष्टान्त बोल्छ ।

    गरीबीले उनको प्रतिभालाई रोकेन, गाउँकै मछिन्द्रा उमाविबाट एसएलसी र १०+२ गरिन् । नमिताका बुवा कम्युनिष्ट आन्दोलनका कार्यकर्ता थिए । कम्युनिष्टहरु न्याय र समानताका पक्षपाती भएको छाप उनीमा सानैदेखि पर्यो । कम्युनिष्ट आन्दोलनले उनलाई चुम्बकझैं तान्यो, अनि अखिलमा संगठित भइन् । महेन्द्र बहुमूखी क्याम्पस धरानबाट स्नातक गरेकी उनले बिराटनगरकै डिग्री कलेजबाट स्नातकोत्तर र कानूनमा एलएलबी समेत गरेकी छिन् ।

    बिराटनगरको मोर्चाकी कमाण्डर नमिता शासनहरुको दृष्टिबाट लुक्न सकिनन्, आन्दोलनकै क्रममा जेल परिन् । तानाशाही प्रवृत्तिले घुडा टेक्यो, अनि राजनीतिको मोर्चामा फर्किइन् उनी ।

    २०४९ सालमा संगठित भएकी नमिता अखिलको दुई कार्यकाल केन्द्रीय सदस्य बनिन् । शिक्षा र राजनीति उनको जीवनमा समानान्तर अघि बढिरहे । २०६२÷०६३ को जनआन्दोलनमा विद्यार्थी मोर्चामा थिइन् उनी । बिराटनगरको मोर्चाकी कमाण्डर नमिता शासनहरुको दृष्टिबाट लुक्न सकिनन्, आन्दोलनकै क्रममा जेल परिन् । तानाशाही प्रवृत्तिले घुडा टेक्यो, अनि राजनीतिको मोर्चामा फर्किइन् उनी ।

    उनी चाहन्थिन्, ‘साम्यवादको मार्गमा काँडेतार नलागोस्, नेताहरु परिर्वतनको ढोका बन्द नगरुन्, मृत्यु वा मुक्तिको सपथ फेर्न नपरोस्, लाखौं झुपडीहरुको पीडामा सारथि बन्न सकियोस् ।’ तर, उनको आकाङ्क्षामाथि त्यतिबेला बज्रपात पर्यो, जतिबेला एमालेकै नेताहरु गणतन्त्र विरोधी गीत गाउन थाले । ‘राजतन्त्रको गीत’ नमिताका लागि कर्णप्रिय छँदै थिएन । बरु, मुक्ति वा मृत्युको सपथ नै उनलाई सार्थक लाग्यो । एमालेले ‘साम्यवादको प्राण’ त्यागिसकेको निष्कर्षमा पुगिन् उनी । अनि, २०६३ साल अर्थात् परिवर्तनको वर्ष उनी मानव मुक्तिको सपनासहित माओवादी आन्दोलनको अभियान्ता बनिन् ।

    माओवादी आन्दोलन नै उनका लागि तन र मनको एकत्व थियो । परिर्वतनका लागि गरेको दुख र पसिनाको मूल्य भेटिएको अनुभूति भयो उनलाई । अनि, अखिल (क्रान्तिकारी) कै केन्द्रीय जिम्मेवारीमा बसेर नौजवानहरुलाई साम्यवादी शिक्षा दिन थालिन् । शान्ति प्रक्रियाका सबै जिम्मेवारीमा उनले आफूलाई अब्बल सावित् गरिन् । २०६८ मा विद्यार्थी राजनीतिबाट पार्टीको मोर्चा सम्हालेकी उनी हाल ने.क.पा. (माओवादी केन्द्र) बिराटनगर महानगरकी संयोजक र पार्टी केन्द्रीय सदस्य पनि हुन् ।
    औपचारिक विश्वविद्यालयबाट उनले जति सिकेकी छिन्, त्यसभन्दा बढ्दा जीवन भोगाइका तीता मीठा अनुभवले सिकाएको छ । नमिताको जीवनले अहङ्कार चिन्दैन, झुपडी भूल्दैन, जहाँ अन्याय र विभेदको भ्रूण छ, त्यहाँ उनको भावना जोडिन्छ । जस्तोसुकै विरोधीलाई पनि विश्वासमा लिनसक्ने उनको खुवी नै सफलताको कुञ्जी हो । उनको बहिर्मूखी प्रतिभाको विरोधी पनि तारिफ गर्छन् । उनका दृष्टिमा ‘राजनीतिक कार्यकर्ता एक्का लगाएको घोडा’ होइन, उसले समाजको बहुआयमिक स्वरुप, चिन्तन, प्रवृत्ति र विशेषताहरुलाई संयोजन गर्न सक्नुपर्छ । फरक विचार, प्रवृत्ति र गुणलाई पनि सँगै लिएर हिड्नसक्ने गुणले नै नमिताको पहिचान दिन्छ ।

    बिराटनगर अर्थात् नेपालको औद्योगिक नगरी, यसको आफ्नै ऐतिहासिकता र पहिचान छ । जब लोकतान्त्रिक आन्दोलनको प्रसङ्ग आउँछ, बिराटनगर जुट मिलबाट सुरु भएको लोकतान्त्रिक आन्दोलन बिस्मृतिमा राख्नै सकिँदैन । यस्तो महानगरबाट नमिता उपमेयरको दौडमा छिन् । यो दौडको अन्तिम छिनोफानोका लागि असार १४ कुनैपर्छ । तर, नमिताका बलिया प्रतिस्पर्धीहरु देखिँदैनन् । नेपाली कांग्रेसले इन्दु कार्की र एमाले–गच्छदार गठबन्धनले सूचि चौधरीलाई उपमेयरको दौडमा उभ्याएको छ । माओवादी–फोरम गठबन्धनबाट उपमेयरको प्रतिस्पर्धामा रहेकी नमिता गुरुत्व, जनमत, राजनीतिक दृष्टि, विकासको आकाङ्क्षा र लोकप्रियताका दृष्टिले मतदाताको पहिलो रोजाईकी उम्मेदवार हुन् ।

    मिश्रित बसोबास रहेको बिराटनगरमा दोस्रो संविधान सभामा पहिलो स्थानमा रहेको कांग्रेस आन्तरिक झमेलाको जाँतोले थिचिएको छ । प्रतिस्पर्धी सङ्घीय समाजवादी फोरम र माओवादीबीचको तालमेलले उमेश यादव र नमिता न्यौपाने (पोखरेल) को जीतलाई सुरक्षित गरिदिएको छ । पछिल्लोसमय मधेश विरोधी अभिव्यक्ति र गतिविधिका कारण विवादको केन्द्रमा रहेको एमाले पनि तालमेलसहित चुनावी प्रतिस्पर्धामा छ । तर, बलियो जनाधार भएको गच्छदार समूहले उपमेयरमै चित्त बुझाउनु परेकाले लोकतान्त्रिकका कार्यकर्ताको असन्तुष्टिलाई सम्बोधन गर्ने बलियो सुत्र भेटिँदैन । अधिकार माग्न बिहार जाउ भन्ने एमाले भोट माग्न मधेश कसरी छिर्छ ? त्यो भने हेर्न बाँकी नै छ ।

    देशकै औद्योगिक नगरी र राजनीतिक जागरणको केन्द्रबाट उम्मेदवारी दिनुभएको छ, जितेपछि के गर्नुहुन्छ ? नमिता भन्छिन्, ‘मेरो विजय बिराटनगर महानगरका लागि स्मरणीय हुनेछ । बिराटनगरको विकासमा काँचुली फेर्न मेरो सपनाको सार्थकता पनि यहीँनेर छ । महानगरको मुहार फेर्ने, विकास, समृद्धि, रोजगारी र प्रणाली स्थापित गर्ने मेरो कोशिस हुन्छ । संविधानले उपप्रमूखलाई दिएको अधिकारलाई महानगरको विकास र जनताको सेवामा उपयोग गर्नेछु ।’ उनी थप्छिन्, ‘जनयुद्ध र जनआन्दोलनले महिला जागरणको क्षेत्रमा स्वर्णीम् युग नै स्थापित गर्यो । तर, आर्थिक क्षेत्रमा रुपान्तरण र आत्मनिर्भरताको कार्यभार पुरा भएको छैन । महानगरका साधन स्रोतलाई जनसहभागितामा परिचालन गरी विकास र समृद्धिको नेतृत्व गर्छु । न्याय सम्पादनमा प्राकृतिक न्यायका सिद्धान्तहरुको उपयोग गर्छु, बिराटनगरलाई प्राकृतिक न्यायको केन्द्रीय शहरका रुपमा स्थापित गर्छु ।’

    संविधानले उपमेयरलाई शक्तिशाली अधिकार र जिम्मेवारी तोकेको छ । प्रमूखको अनुपस्थितिमा काम गर्ने परम्परा तोड्दै संविधानले उपप्रमूखहरुलाई न्यायिक समितिको प्रमूख, बजेट प्रस्तुत गर्ने अधिकार, स्थानीय सामाजिक संस्थाहरुको अनुगमन र नियन्त्रणजस्ता शक्तिशाली अधिकार दिएको छ । हाम्रो संविधानले भन्छ, ‘निर्वाचित उपमेयरहरु स्थानीय तहका न्यायाधीश हुन् ।’ संविधान अनुसार स्थानीय न्यायिक समितिका स्वतः प्रमूख हुन्छन् निर्वाचित उपप्रमूख । फौजदारीबाहेक देवानी प्रकृतिका मुद्दा निरुपण गर्ने अधिकार तिनै उपमेयरहरुको हातमा हुन्छ । कानूनमा एलएलबी गरेकी नमिता त्यसका लागि सबैभन्दा सक्षम र योग्य पात्र हुन् । उनका सामू उपमेयरका अरु उम्मेदवार फिक्का र गुरुत्वहिन लाग्छन् ।

    भविष्यमा तपाई महानगरको न्यायाधीश, कसरी गर्नुहुन्छ न्याय सम्पादन ? नमिता भन्छिन्, ‘स्थानीय न्यायिक समितिका लागि मेरो दावी सबैभन्दा शक्तिशाली छ । हाम्रो न्याय प्रणाली कागजमूखी छ, कागजमा जसको प्रमाण पुग्छ, उसैले न्याय पाउने स्थितिको अन्त्य गर्नु मेरो पहिलो दायित्व हुन्छ । कागजी प्रमाणका अतिरिक्त आम नागरिकको सहभागिता सुनिश्चितता गरी कागजी प्रमाणहरुको सत्यता जाँच्ने विधिको विकास गर्छु, समाजमा स्थापित प्राकृतिक न्यायका सिद्धान्तहरुलाई न्याय सम्पादनको आधारका रुपमा लिन्छु । विज्ञहरुको नियमित राय, छिटो न्याय सम्पादन र समयमै फैसला गर्न नसकिए पीडितले क्षतिपूर्ति पाउने व्यवस्था गर्छु ।’

    उपमेयरहरु न्यायाधीश मात्रै होइनन्, मेयरको अनुपस्थितिमा कार्यवाहक मेयर पनि हुन् । चलनचल्तीको भाषामा भन्दा उपमेयरहरु मेयरका दाहिने हात । बिराटनगर महानगरको विकास कसरी गर्नुहुन्छ ? चुनाव जितेर के गर्नुहुन्छ ? उनी भन्छिन्, ‘मसँग विकासको प्रष्ट मार्गचित्र छ । हामीसँग महानगरको २० वर्षे गुरुयोजना छ ।

    स्थानीय साधन स्रोत के छ ? त्यसको लेखाजोखा गरिएको छ । करको दर र दायरा कसरी निर्धारण गर्ने ? महानगरको विकासमा जनताको सहभागिता र लगानी कसरी जुटाउने ? त्यसको ठोस खाका हामीसँग छ । वार्षिक र नियमित आम्दानीको स्रोत निर्धारण गरिनेछ, स्थानीय जनताको शेयरबाट प्राप्त पूँजीको परिचालन गरिनेछ । यसकै आधारमा हामी भौतिक पूर्वाधार, रोजगारी सिर्जना, जनताको जीवनस्तर अभिवृद्धिको काम गर्छौं ।’

    नमिता थप्छिन्, ‘बिराटनगर जुट मिल पुन सञ्चालन गर्छाैं, बालमैत्री शहर र मौलिक स्मार्ट सिटी हाम्रो लक्ष्य हो । पर्यटकीय आकर्षणका लागि चीडियाखाना, भ्यू टावर, होमस्टे लगायतका पूर्वाधार निर्माणको काम व्यवस्थित गर्छाैं ।

    बहुसांस्कृतिक संग्रहालय, महानगरका नदीहरुमा बोटिङ व्यवस्थापन, अत्याधुनिक विज्ञान प्रयोगशालाको निर्माण, आधुनिक शिक्षा र शैक्षिक पूर्वाधारको विकास, महिला, दलित, अल्पसंख्यकहरुको सशक्तिकरण, सीपमूलक तालिम र आयआर्जनका कार्यक्रम, भ्रष्टाचारशून्य महानगर निर्माण र जनमैत्री सेवा प्रवाह, शान्ति सुरक्षा र सभ्य संस्कृति, चिनी, कपडा र कागज कारखानाको सञ्चालन, महानगरीय चक्रपथको निर्माण, प्रविधिमैत्री शहर, हरित शहर निर्माण, सुकुम्बासी र भूमिहिनहरुको व्यवस्थापन र सामाजिक सुरक्षा, कृषिको यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरण, सामाजिक सुरक्षाको प्रत्याभूति र भत्ताको व्यवस्था, प्रतिव्यक्ति आय र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तनका कार्यक्रमहरु नै मेरा प्राथमिकता हुन् ।’

    नमिता थप्छिन्, ‘विकास र समृद्धिका लागि हाम्रो राजनीतिक संस्कार फेरिनुपर्छ । राजनीतिक सङ्घर्ष र झमेलाबाट माथि उठेर राजनीतिक सहकार्य, विकास र समृद्धिका लागि एकतावद्ध हुनुपर्छ, राम्रो गर्नेलाई खुला दिलले सहयोग र सहकार्य गर्ने संस्कारको विकास हुनैपर्छ । अरुलाई नराम्रो देखाएर आफू राम्रो कहलिने संस्कार बदल्नैपर्छ ।’

    तिनै महानगरको काँचुली फेर्ने स्वप्नद्रष्टा, मृदुभाषी, दृढ संकल्प, ईच्छाशक्ति, बौद्धिकता र सहकार्यको संस्कृतिकी धनी नमिता न्यौपाने (पोखरेल) माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवारका रुपमा मैदानमा छिन् । भन्छिन्, ‘समृद्धिको मेरो संकल्प व्यवहारमा उतार्नुछ, पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्नुछ । आजका मतदाता हामीभन्दा पनि उन्नत चेतनाका हुनुहुन्छ । मेरो पुरै विश्वास छ, गोलाकार भित्रको हसिया–हथौडामा अत्याधिक मत पर्नेछ र मेरो विजय हुनेछ ।’ आशा गरौं, ‘महानगरको काँचुली फेर्न उनको सपनाले सार्थकता पाउनेछ ।’

    ६७ पटक
    प्रतिकृया दिनुहोस्