BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    भूकम्पपीडितले घर बनाउन अल्छयाइँ गरे- गौडेल

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    ५ असार,त्रिशूली(नुवाकोट)  । भूकम्पले भत्किएका निजी आवास निर्माणका लागि अनुदान सरकारले दिए पनि भूकम्प पीडितले भने घर बनाउन आलटाल गरिरहेको सरोकार भएकाहरुले बताएका छन् ।
    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय कार्यालयका प्रमुख वेदप्रसाद गौडेलले भूकम्पपीडितले घर बनाउन अल्छयाइँ गरेको बताउनुभयो । उहाँले कामदारको अभाव, निर्माण सामग्रीको सहज पहुँच नभएको र केही पीडितले टहराकै जिन्दगी चलिरहेको छ भन्दै घर बनाउन आलटाल गरेको बताउनुभयो ।
    “पहिलो किस्ता बुझेकाहरुमध्ये १२ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेका छन् । यसबाट थाहा हुन्छ घर बनाउन भूकम्पपीडितहरु उत्साही नभएको”, उहाँले भन्नुभयो, “यसमा सरकारको पनि कमजोरी छ । हाम्रा प्राविधिक इन्जिनियरहरुले पनि काम तीव्र रुपमा गर्न नसकेको सत्य हो ।”
    नुवाकोटमा ६२ हजार ४६ जनाले पहिलो किस्ताबापतको रु ५० हजार बुझिसके पनि दोस्रो किस्ता भने पाँच हजार पाँच सय १८ जनाले मात्र बुझेका छन् ।
    गौडेलका अनुसार सङ्घसंस्थाले जिम्मा लिएका घरको निर्माण अरुको तुलनामा केही छिटो भएकाले दोस्रो किस्ता रकम गएको हो । व्यक्ति आफैँले निर्माण गर्ने निजी घर निर्माणले गति लिन नसकेको उहाँले बताउनुभयो ।
    दोस्रो किस्ताको रकम लिनका लागि व्यक्तिले जग पुरेर ढोका राख्ने अवस्थासम्म घर बनाउनुपर्छ । जिल्लामा घर निर्माणको अवस्था सन्तोषजनक नभएपछि आज जिल्लाका सञ्चारकर्मी र प्राधिकरणका कर्मचारीबीच छलफल भएको छ ।
    छलफलमा जिल्लाका सञ्चारकर्मीले गाउँमा खटिएका इन्जिनियरको भूमिका प्रभावकारी नभएको, दोस्रो किस्ताको रकम लिने प्रक्रिया झन्झटिलो भएको, दक्ष कामदारको अभाव जस्ता कारणले घर निर्माणले गति लिन नसकेको बताए ।
    गौडेलले पुनःनिर्माणको कामलाई प्रभावकारी बनाउनुपर्ने कार्यालयमा कर्मचारीको अभाव छ भन्दै आफ्नो कार्यालय दुःखेसो पोख्न आउने सेवाग्राहीलाई अरु कार्यालयमा सिफारिस गर्ने भूमिकामा केन्द्रित रहेको गुनासो पोख्नुभयो ।
    कार्यक्रममा ‘कान्तिपुर’ दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले जिल्लाबाट पुनःनिर्माणमा भइरहेका प्रंगतिलाई राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिँदा सरोकार भएका निकायलाई काम गर्न सहज हुने बताउनुभयो । रासस

    ५७ पटक
    प्रतिकृया दिनुहोस्