BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ३ गते
    Headlines :
    Ad
    Ad

    स्थानीयतहको निर्वाचन : यसकारण हार्यो माओवादी

    चन्दा थापासाउन ५, २०७४

    chandaप्रथम र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र नराम्रोसँग पछारिएको छ । परिवर्तनको पक्षधर हुनुका नाताले माओवादी शक्ति यो रुपमा कमजोर हुनु देशका लागि शुभसंकेत होइन भन्न चाहि सकिन्छ ।

    दुई चरणमा सम्पन्न निर्वाचनबाट माओवादी केन्द्रले पहिलो चरणमा ४६ र पछिल्लोमा ३८ गरी जम्मा ८४ स्थानमा विजय प्राप्त गरेको छ । झण्डै दुई दर्जन बढि केन्द्रीय सदस्य रहेको वाणगंगा नगरपालिकामा मुस्किलले १ वडा जितेको समाचार माओवादी परिणामको एउटा उदाहरण भन्न सकिन्छ । त्यसो त सवा सय केन्द्रीय सदस्य भएको कास्की र ढेड सय बढि केन्द्रीय सदस्य रहेको काठमाडौं जिल्लाको परिणामले माओवादी केन्द्रको साँगोपाँगो समिक्षा देखिएकै छ । दोश्रो चरणको निर्वाचनपछि माओवादी हेडक्वाटरको बैठकले चुनावी अनुभवमा समस्या अन्तरघात र परिचालनमा कमजोरी भनेर आन्तरिक पाटामा स्विकारे पनि सो पार्टीको सचिवालयको विस्तारीत बैठकबाट नयाँ संश्लेषण हुने अपेक्षा भने गरिएको छ ।

    माओवादीले हारेको होइन जितेको हो, भनेर भट्याइरहने स्थिति नबनेपछि सो पार्टीले गम्भीर समीक्षाबाट अघि बढ्ने बताएको छ । सुरुमा एजेन्डाको जीत र त्यसपछि प्रतिस्पर्धामा पुगेर धेरै ठाउँ हार्नु परेको भनि कार्यकर्ता थम्थमाएको माओवादीले गहिराइमा पुगेर समस्या नखोतली सुखै नपाउने स्थितिमा पुगेको छ । हाँस्दा हाँस्दै रुने र रुँदारुँदै हास्ने प्रचण्डपथको अलौकिकता यतिबेला छायाँमा परेको छ । यद्यपी निर्वाचन हुनै नदिने षडयन्त्रलाई चिरेर निर्वाचन गराएको, देउवालाई पनि त्यहि लाइनमा ल्याउन सकेको, राप्रपा र मधेसी भन्दा बलियो भएर तेश्रो शक्तिमा दरीन सकेको तथा स्थानीयतहको निर्वाचनबाट केही कार्यकर्ताहरूको व्यवस्थापन हुन सकेको जस्ता कुरालाई माओवादीले उपलब्धिको कुन सूचीमा राख्ला त्यो उसको आवश्यकतामा होला तर, माओवादीले आत्मैदेखि हार स्विकार्न हिच्कीचायो भने उसले समस्या निरुपण गर्न होइन, टालेर ढाँट्न बाध्य हुन पनि सक्छ ।

    माओवादी पराजयको जडका बारेमा धेरैथरी अनुमान लगाइएका छन् । कतिपयले भनेका छन् केपी ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्न नमान्दाको सबै परीणाम हो’ तर माओवादीको पूर्व अडानका हिसाबले ओलीको जिद्धी वा षड्यन्त्र आफ्नै ठाउँमा कारण बताइए पनि राजनीतिका हिसाबले निर्वाचन परीणामलाई त्यो सँग जोड्नुको खास अर्थ रहँदैन । ओलीसँगको सम्बन्ध चिसिएपछि देउवाको समर्थनमा प्रधानमन्त्री लिनु माओवादीका लागि नाजायज मान्न सकिने ठाउँ थिएन पनि । यस हिसाबले सत्ता राजनीति र चुनावमा स्वभाविक, प्राकृतिक वा अप्राकृतिक गठबन्धनको कुरो गरिरहेका नेपालका धेरै दल यस मामिलामा गाँजिएकै छन् । केही ठाउँमा भएको कांग्रेस माओवादी गठजोड र एमाले राप्रपा गठबन्धन तथा सिट वा पदको लागि जोसँग पनि जहिले पनि र जे गर्नपनि तयार हुने मनोवृत्तिले यसपटक उजागर भएको छ ।

    त्यसैगरी बैद्यले छुट्टै उम्मेदवार उठाउनु, विप्लवले शंकासहितको बहिष्कार गरिदिनु र बाबुराम भट्टराईको नयाँशक्तिले फोरमको झण्डामा भाग लिएर चुनाव लड्ने स्थिति आइपर्नुलाई पनि माओवादी हारका कारणसँग जोड्ने गरिएको छ । ‘राजनीति भनेको हार र जीतको खेल हो, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैंनन्’ भन्ने भावनालाई वर्ग समन्वयवादी बासी चिन्तन भनेर लामो व्याख्या गर्ने माओवादी आफू पनि अहिले त्यहि ठाउँमा छ । तर, यो सत्य हो की माओवादी आन्दोलनको पृष्ठभूमिमा गणतन्त्र र संघीयता उभिएका छन् । दलित महिला प्रत्येक वडाबाट नेतृत्वमा पुगेको छ । महिला शसक्तिकरण क्रमशः संस्थागत हुँदैछ । स्थानीय तहमा सिंहदरबारका अधिकार कुन रुपमा प्रयोग हुन सक्लान त्यो आफ्नो ठाउँमा छ तर, त्यहाँसम्म पु¥याउने सबैभन्दा प्रमुखहिस्सेदार माओवादी शक्ति नै हो । तर यसका आधारमा एजेण्डाको ‘जित’ भनेर पिसाबको न्यानो छामेर चित्त बुझाउने स्थिति माओवादी केन्द्रलाई छँदैछैन । बरु जनताका बीच छवि सुधार्न नसकिएको, लोकप्रियतामा भन्दा शक्ति र दम्भमा विश्वास गरिएको, किताबि क्रान्ति भन्दा बढि व्यवहारवादी हुने नाउँमा संसदवादीको निर्लज्जतातर्फ उन्मुख भएको, देवत्वकरण र राक्षसीकरणका संस्कृति जोर जबरजस्त रहेको, पार्टी एकतालाई भावनात्मक उचाइमा पु¥याउन नसकिएको, श्रोत र साधनको न्यायोचित वितरण नभएको, राष्ट्रियताप्रतिको प्रतिबद्धतालाई जन–जनमा पु¥याउन नसकेको लगायत संगठनलाई चुस्त र मजवुत राख्न नसकेको, प्राप्त परीणाम र उपलब्धिलाई सहिरूपमा शंष्लेषण गर्न नसकेको, त्याग तपस्या र बलिदानी भावको संस्कृति लगभग उल्टिएको र जनतासँगको सामिप्यता टुटेको विषय पनि माओवादी केन्द्रको समिक्षाका बुँदा हुन जरुरी देखिन्छ ।

    यसबाहेक मध्यमवर्ग चिढिएको, माओवादी आन्दोलनका धारहरू अझै विभक्त रहेको, बाहिर प्रतिस्पर्धा र भीत्र टिके प्रथा अझै हावी रहेको, सत्तामोह व्याप्त भएको एवम् नातावाद, परिवार र गुट हुँदै उपगुट खोल्ने प्रतिश्पर्धा तीब्ररुपमा विकास भएको, नेतृत्वका बीच जुंगा लडाइ अधिक देखिएको र क्रान्तिकारी संस्कृति लगभग समाप्तीतर्फ उन्मुख भएको विषय पनि माओवादी समिक्षाको मुख्य बुँदा मान्नु पर्छ । उम्मेदवारको पपुलर इमेज नहुनु, प्रशासन र कर्मचारीतन्त्रको उपयोगमा कमजोरी हुनु, परिचालनमा समस्या हुनु जस्ता कुरालाई धेरै बुँदा बनाइए पनि मुलभूत रुपमा नेतृत्वको बैचारिक प्रष्टता, सामूहिक संस्कृतिको व्यवहारिकता सत्तामोहका लागि भद्दा उपयोगितावाद र गुट उपगुट तथा परिवारका लागि स्रोतसाधनको निर्लज्ज केन्द्रीकरणबाट जनता विकर्षित भएको र कार्यकर्ता निराशामा धकेलिएको सत्यता स्विकार्नु पर्दछ ।

    नेकपा माओवादी केन्द्रले निर्वाचनलाई रणनैतिक महत्व बोकेको विशिष्ठ कार्यनीतिका रुपमा मानेको बताए पनि व्यवहारमा त्यस्तो देखिएन । मन्त्रीहरूले आफू र आफ्नालाई चुनाव जिताउन सकेसम्म श्रोतसाधन त्यतै केन्द्रित गराएको मात्र होइन सचिवालयका सामान्य पिएले समेत यति करोड बाँडियो र उति करोड बाँडियो भनेर फेसबुकमा हल्ला पिटाएको पनि खुब देखियो । एकातिर आन्दोलनका वरिष्ठ नेताहरू बेरोजगार भएर बस्नुपर्ने र अर्कातिर मन्त्रीका आसेपासेले फुइफुत्तर लगाएर बजेटको डंका पिट्ने काम यसैबीचमा प्रशस्त देखा परे ।

    माओवादीको सचिवालय बैठकले यी विषयवस्तुको गहिराइमा गएर रुपान्तरणको कोर्ष लियो भने निराशाहरुलाई आशामा परिवर्तन गर्ने पुरै सम्भावना टरेको छैन तर विधि, नीति र पद्धती बसाली माओवादी चलेको नदेखिँदा धेरै आश गर्ने ठाउँ पनि छैन । तथापी परिवर्तनको एउटा मुख्य हकदार माओवादी शक्ति जति छिट्टो सवल बन्छ मुलुकले पनि त्यसबाट अधिक लाभ लिन सक्छ ।

    ऐक्यबद्धताको साउन अंकबाट लिइएको ।

    २१६२ पटक
    प्रतिकृया दिनुहोस्