BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ३ गते
    Headlines :
    Ad
    Ad

    ‘बार्षिक ३३ लाखको तरकारी बेच्छु’

    संसार न्यूज संवाददातासाउन ११, २०७४

    thaman1हुप्सेकोट गाउँपालिका ३ नवलपरासीका थमन रजालीले पत्रकारितामा स्नातक गरेका छन् । तर, उनी पत्रकारिता पेशामा नलागेर कृषि पेशामा होमिएका छन् । थमनले २०६८ सालबाट कृषि पेशा सुरु गरेका हुन् । सुरुमा बैदेशिक रोजगारीका लागि साथीको लहलहैमा जापान जान लागेका उनको जापान यात्रा त्यत्तिकै रोकिएको थियो । फेरि साना किसान कार्यक्रम मार्फत गतवर्ष चैतमा इजरायल जाने अबसर मिल्यो । तर, त्यसलाई पनि लत्याउदै आफ्नै देशमा पौरख गर्ने मनसाय बनाएर होमिए, तरकारी खेतीतर्फ ।

    बर्सेनी १ खर्बभन्दा बढी कृषिजन्य वस्तु आयात गर्छ सरकारले । देशका थुप्रै उर्वरभूमिहरू बाँझो बनेका छन्, भने देशका युवाहरू खाडीको तातो घाममा पौरख गरिरहेका छन् । यतिबेला रेमिट्यान्सले देश धानिएको भनेर सबैले गर्व गरेपनि भित्रिएको रेमिट्यान्स भन्दा बढी रकम विभिन्न देशबाट आयात गरिने वस्तुमा खर्च भएको छ । चालु आर्थिक वर्षको १० महिनामा झण्डै आठ खर्ब ७ अर्ब २७ करोडका वस्तु आयात भएको सरकारी आँकडा छ ।

    देशको यस्तो परिस्थितिमा कृषिक्षेत्रमा रहेको अथाह सम्भावनालाई आम युवाहरूवीच देखाउन र कृषि पेशाबाटै नाम अनि दाम कमाउन सकिन्छ भन्ने पूर्ण सुझवुझका साथ २०६८ सालदेखि कृषि क्रान्तिमा होमिएका हुन्, थमन ।

    उनले २ बिगाहमा तरकारी खेती गरेका छन् । जसमा १ बिगाह आफ्नै र १ बिगाह दाइको जग्गा भाडामा लिएका छन् । दाइलाई उनले जग्गाको भाडाबापत वार्षिक ४० हजार तिर्ने शर्तमा १० वर्षको लागि भाडामा लिएका हुन् । तरकारी खेतीमा उनको परिवारको पूर्ण साथ रहेको छ ।

    थमनले तरकारी खेतीगर्नका लागि जिल्ला कृषि विकास कार्यालयबाट ३ दिने प्राङगारिक तरकारी खेती सम्बन्धी तालिम पनि लिएका छन् । हाल उनले गोलभेंडा, भेडे खुर्सानी, फर्सी, आलु लगायतका तरकारीहरू फलाउँदै आएका छन् । झण्डै १८ लाख रुपैयाँ लगानी गरेका उनले खेतीमा आधुनिक प्रविधि अपनाएका छन् । जसमा थोपा सिंचाइ, मल्चिङ, प्लाष्टिक पोखरी, पावर टिलर, पावर स्प्रे, मेसिन, ट्रे रहेका छन् । उनले तरकारीबाटै राम्रो आम्दानी गरिरहेका छन् । उनी भन्छन्, ‘मैले मासिक २ लाख ७५ हजार र बार्षिक ३३ लाखको तरकारी बेच्छु ।’

    हाम्रो समाज आफूलाई सुकिलो मुकिलो देखाउन चाहन्छ । घरमा साँझ बिहान खानका लागि भलै केहि नहोस् तर, राम्रा लुगा लगाएर हिड्ने सबैको मन हुन्छ । पढे लेखेको मान्छेले माटो छुन हुन्न, माटो छुने मान्छेलाई छोरी दिन हुन्न भन्ने धारणा बलियो छ हाम्रो समाजमा । थमनलाई पनि त्यस्तै भयो, सुरुवातीका दिनमा । पत्रकारितामा स्नातक गरेका उनलाई सुकिलो मुकिलो बनेर १०–२० हजारको जाँगिर खाएको देख्न चाहन्थ्यो समाज । त्यसैले त उनको यो पेशालाई घृणित पेशा भन्यो त्यहाँको समाजले । थमनको परिवारको पूरै सहयोग थियो । तब त उनलाई अगाडि बढ्न सहज भयो । ‘कतिसम्म भयो भने, मेरा समकक्षीले समेत चौबाटोमा बसेर ब्यंग गर्थे’, ऐक्यबद्धतासँग थमनले बताए ।

    thaman2
    परिवार एक्लै पारेर अनि विदेशको तातो घामको रापमा पोलिएर काम गर्ने र विदेश जान चाहाने युवालाई आफ्नै देशमा बाँच्न सकिन्छ भन्ने उदाहरण देखाएका छन्, थमनले । उनलाई विदेशनै जानुपर्छ भन्ने पनि भएन् । उनी भन्छन्, ‘विदेशमा सुनको बोट छैन्, त्यहाँ पनि मेहनत गर्नुपर्छ भने त्यो मेहनत आफ्नै देशमा आफ्नै बारीको कान्लामा किन नगर्ने ?’

    कृषि पेशामा होमिनेको संख्या धेरै छ अहिले । तर, बजार नपाउनु, आधुनिक प्रविधि (हाइटेक) मा तरकारी खेती बढी खर्चिलो हुनु, बिचौलियाको बिगबिगी, सिंचाइको असुविधा, कामदारको अभाव, भारतीय तरकारीसँग प्रतिस्प्रर्धा गर्न नसक्नु ठूलो चुनौतीको रुपमा देखिएको बताउँछन् थमन । साथै किसानहरूलाई आधुनिक कृषि प्रविधि सम्बन्धी तालिम उपलब्ध गराउनुपर्ने, अनुदानको व्यवस्था, उत्पादित तरकारीको बजारको उचित व्यवस्थापन गरिदिने, बिउबिजन मलखादमा अनुदानको व्यवस्था, निरन्तर अनुगमन गर्ने, ठगलाई सजाय र मेहनतीलाई पुरस्कृत गर्ने, चिस्यान केन्द्रको व्यवस्था, युवा लक्षित कार्यक्रम लगायतको व्यवस्था सरकारले गरिदिएमा देशले कृषिवस्तुको आयातमा ठूलो घाटा बेर्होन नपर्ने थमनको ठहर छ ।

    त्यसो त थमनले कृषि व्यवसायमा गरेको प्रगति देखेर त्यो ठाउँमा २५– ३० जना अन्य व्यक्ति कृषि व्यवसाय तथा पशुपालनमा लागेका छन् । थमनका अनुसार अबको कृषि पेशा भनेको अशिक्षितले होइन, शिक्षितले गर्नुपर्छ । परिवर्तन आफैबाट थाल्नुपर्छ । ‘विदेशी भूमिमा सित्तैमा पसिना बेच्नु भन्दा स्वदेशमै स्वरोजगार बन्न सिक्नुपर्छ’ उनी भन्छन् ।

    थमनले उत्पादन गरेको तरकारी अहिले स्थानीय बजारमा मात्र नभएर नारायणगढ, बुटवल र काठमाडौं सम्म आउँछ । उत्पादन गरेको तरकारी सबै खपत भएको बताउने थमनले कामका बेला झण्डै सय भन्दा बढीलाई आंशिक रोजगारी दिएका छन् भने अन्य समयमा परिवारकै श्रम लगानी भएको छ ।

    नेपाललाई कृषि प्रधान देश भनिएपनि देशको आर्थिक समृद्धिमा कृषिक्षेत्रले खासै योगदान दिन सकेको छैन । गाउँको हाइटेक प्रविधि अपनाएर थोरै क्षेत्रफलमा पनि उत्पादन गर्न सकिने थमन बताउँछन् । गाउँमै कृषिलाई पर्यटनको रुपमा विकास गर्दै लैजाने र युवाहरूका लागि प्रसस्त मात्रामा रोजगारीको व्यवस्था गर्न सकिने बताउँछन् उनी । उनका अनुसार किसान विक्रेता खोज्दै होइन की, अब बिक्रेता किसान खोज्दै तरकारी बारीमा आउने वातावरण तयार हुनुपर्छ । सरकारले युवा लक्षित कार्यक्रमहरूलाई प्रभावकारी ढंगले अघि बढाएमा, लगानीको सुरक्षाको प्रत्याभूति दिएमा अनि युवाहरूले आफ्नो क्षमता र योग्यता देशमै प्रयोग गर्ने मौका पाउनेछन अनि देशमै सुन र हिरा फलाउन सकिने विश्वास छ, थमनको ।

    thaman3
    थमन यतिबेला आफ्नो गाउँ वरपर र जिल्लामा मात्रै नभएर देशमै उदाहरणीय युवा किसानका रुपमा परिचित भइसकेका छन् । उनी उत्कृष्ट राष्ट्रपति पुरस्कारबाट सम्मानित भएका छन् । अब थमन जस्तै धेरै युवाहरूले देशको आर्थिक समृद्धिमा टेवा पु¥याउन अनि उत्पादनमा बृद्धि गरेर देशको व्यापार घाटा घटाएर आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा जुट्न जरुरी छ ।
    प्रस्तुती : चन्दा थापा

    २१५९८ पटक
    प्रतिकृया दिनुहोस्