BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ३ गते
    Headlines :
    Ad
    Ad

    ‘छोराछोरीलाई आफ्नो माटो र थातथलो सम्झाउने काम गरौं’

    संसार न्यूज संवाददातासाउन १३, २०७४

    dilliram2“उसले परिवार छोड्यो, समाज छोड्यो, देश छोड्यो अनि नेपाली सँस्कार–संस्कृति सबै भुल्यो । उ त परदेशी भयो अनि बिरानो भयो ।” नेपाली समाजमा गुन्जिने अनि सुनिने यहि शब्दहरू हुन् परदेश जानेहरूको बारेमा खुव प्रयोग हुन्छन् । तर, नौँ महिना बसेको आमाको कोख, बाल्यकालमा ताते गरेको आँगन, छिमेकको माया अनि बस्यक हुँदै जाँदा गहिरो गरि मुटुमा बसेको देश अनि माटोको माया कसरी भुलिएला ! भलै संसारको जुन कुनामा बसेपनि जतिसुकै सुख सुविधामा रमाए पनि त्यो सहर अनि देशले उसको मुटुभित्र रहेको आफ्नो देश छिन्न सक्तैन्, देशको माया टुक्र्याउन सक्तैन् । त्यसैले त नेपाली संसारको जुन कुनामा पुगेपनि नेपाल बोकेर बाँचिरहेको हुन्छ । देशको संस्कार अनि संस्कृति आत्मसाथ गर्दै ‘म नेपाली हुँ’ भनेर गर्व गर्छन् । भौतिक सुखले विदेशमा बाँधिएको एउटा नेपालीले मृत्यु पर्यन्त पनि भौतिक शरीर सकभर नेपाली माटोमै विलिन होस् भन्ने चाहना राख्छ ।

    यहि भन्छन्, कास्की पोखरा हेम्जा ६ सुइखेतका डिल्लीराम भण्डारी । डिल्लीरामको बैदेशिक यात्रा २०४७ बाट सुरु भएको हो । सुरुमा त उनी विदेश हेर्ने रहरले त्यतातिर पाइला बढाएका हुन् ।

    कास्कीको धम्पुस स्कुलमा पढाउने क्रममा भेटिएका टुरिष्टहरू देख्दा अनि उनीहरूको कुरा सुन्दा भण्डारीलाई लाग्थ्यो, कस्तो होला उनीहरूको देश ? कस्तो होला उनीहरूको दैनिकी ? अनि त उनलाई पनि विदेश जाने रहर जाग्यो ।

    ‘बुबा २५ वर्ष वडा अध्यक्ष भए । बुबाको समय कम हुने । घरमा आमालाई सघाउन त परै जावोस हामीले नै काम गर्दै पढ्दै गर्यौ, हाम्रो परिवार खेती किसानीमै धानिएको थियो’ भण्डारीले विगत स्मरण गरे । २०३९ पछि ‘तत्कालिन नेकपा माले’ मा आबद्ध भएर भूमिगत राजनीतिमा पनि सहभागी भए । विंस २०४१ सालको शिक्षक आन्दोलन र २०४६ को आन्दोलनमा पनि उनी सक्रिय रहे । परिवर्तनका हरेक आन्दोलनमा सहभागी भएपनि एउटा युवा ढुक्क भएर जाँगिर खान्छु भन्ने अवस्था थिएन् । सरकारी जागिर खुलेको ठाउँमा बायोडाटा लिएर गयो सोर्सफोर्सको आधारमा अरु नै नियुक्ति हुन्थे । यतिसम्म भयो की, स्थायी शिक्षकको लिखित र अन्तर्वार्तामा पास भएका उनलाई कम्युनिष्ट राजनीतिमा लागेको भनेर खारेज गरियो । अनि त उनी निराश भए । आर्थिक कठिनाइले गर्दा पढाइमा त्यति ध्यान दिन सकेनन् । त्यत्तिकैमा पिएन क्याम्पस पोखरामा एमए पढ्दा पढ्दै २०४७ सालको अन्त्यतिर एकजना साथीसहित भण्डारी जर्मनी पुगे । जर्मनीमा २ वर्ष बसे । त्यहाँ बस्दा उनलाई झन पीडा भयो । ‘त्यतिधेरै दुःख गरेर पढेको मान्छे यहाँ आएर झन दुःख पाइयो’ भन्ने लाग्यो । भाषाको समस्या, कामको समस्या अनि पढाइ पुरा गर्छु भनेर देश फर्किए ।

    जर्मनीबाट फर्केपछि चार दाजुभाइ मिलेर पोखराको लेकसाइडमा होटल खोले । महँगो भाडा, तिब्र प्रतिस्प्रर्धा अनि १०–१२ जना कामदार राख्नुपर्ने र खर्च धान्न मुस्किल भएपछि होटल भाइहरूलाई जिम्मा लगाएर पुनः विदेश जाने सोच बनाए भण्डारीले । ‘पढ्न भनेर फर्केको थिएँ, पढ्ने वातावरण बनेन् पुन ः विदेश जाने सोँच बनाएँ’ भण्डारीले भने । जर्मनीबाट फर्केको २ वर्षपछि फेरि उनी अष्ट्रेलिया पुगे । त्यहाँ ३ वर्ष बसे । त्यहाँ बस्न पाउँ भनेर दिएको निवेदन अस्वीकार भएपछि अनि अब कही जान्न भनेर नेपाल फर्किए उनी ।

    नेपाल फर्किएर पोखरामै एक वर्ष बसे । अष्ट्रेलियाबाट कमाएको पैसाले उनका दाजुले आफ्नो घर बनाए । एक पैसा पनि फिर्ता दिएनन् । देशमा जनयुद्ध सुरु भइसकेको थियो । केही गरौं भन्ने सम्भावना देखेनन् । पुन ः विदेश जाने सोँच नै बनाए । पर्यटक भिसामा फ्रान्स पुगे । त्यहाँबाट बेल्जियम हानिए । र त्यहाँ बस्ने प्रक्रिया सुरु गरे । त्यहिबीचमा इमिग्रेसन खुल्यो अनि पोर्चुगल गए । उनी ७ वर्ष पोर्चुगल बसे ।

    dilliram-bhandari
    त्यसो त उनी एनआरएनए पोर्चुगलको संस्थापक सदस्य समेत हुन् । उनकै पहलमा शालिकराम अर्यालसहित ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीको सहयोगमा तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री श्रीमती साहना प्रधानको कार्यकक्षमा पुगेर पोर्चुगलमा कन्सुलेट खोल्न भन्दै निवेदन समेत दिएका थिए । उनी ‘सगरमाथा समाज, अबलुफेरा पोर्चुगल’ का महासचिव, लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको उपाध्यक्ष एवम् एनेकपा माओवादी पोर्चुगलको सचिव रहेर पनि संघसंस्थामा सक्रिय रहे । युरोपको स्थायी कागजपत्र लिएर उनी पुनः बेल्जियम फर्केर काम गर्न थाले । हाल २ छोरी, एक ज्वाई र एक छोरासहित बेल्जियमलाई कर्मथलो बनाएका छन् ।

    नेपाली जनप्रगतिशील मंच बेल्जियमको सल्लाहकार रहेर काम गरेका उनी यतिबेला भने माओवादी विचार र व्यवहारबाट असन्तुष्ट भएर स्वतन्त्र वामपन्थी भएर बसेका छन् । उनी हाल कास्की समाज बेल्जियमको उपाध्यक्ष रहेर सामाजिक जिम्मेवारी पूरा गरिरहेका छन् ।

    शान्त, नरम अनि सहनशील स्वभावका उनले युरोपमा १७ वर्ष बिताए, तर पनि खुसी छैनन् । युरोपको मोहमा उनी आशक्त छैनन् । उनी खुसी छन् त केवल युरोपमा उनको परिवार साथमा छ अनि छोराछोरीले राम्रो पढेका छन् । ‘जहाँ पुगे पनि मन सन्तुष्ट छैन । हामी जस्तो पढेलेखेको अनि जानेको व्यक्ति यहि संघर्ष गर्नसक्नु पथ्र्यो, तर त्यो भएन ।’ भण्डारी सुनाउँछन् ।

    अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने भण्डारीले अष्ट्रेलिया देखि अमेरिका सम्मका करिब २०–२२ राष्ट्रको भ्रमण गरिसकेका छन् । ‘नेपाल जस्तो सानो देशमा जति धेरै विविधता र अमूल्य सम्पदाहरू अन्त कतै छैन । तर भ्रष्ट र अल्छि कर्मचारीतन्त्र एवम् दुरदृष्टि नभएका स्वार्थी, लोभीपापी राजनीतिक नेतृत्व नै नेपालको दूरावस्थाको कारक हो’ भण्डारी भन्छन् ।

    सरकार रेमिट्यान्स भित्र्याउन मख्ख छ । तर, त्यो रेमिट्यान्स उत्पादनको क्षेत्रमा गएको छैन् । गाउँमा शब बोक्ने मलामी पाइन छाड्यो । काम गर्ने युवा जति खाडीको मरुभूमिमा पुगेको छ भने बौद्धिक भनिनेहरू विभिन्न बहानामा युरोप र अमेरिकामा पुगेका छन् । देशको पछिल्लो समयमा युवा पलायन विकराल समस्याको रुपमा देखिएको भण्डारीको ठहर छ । उनका अनुसार पछिल्लो समयमा युरोप, अमेरिका र अष्ट्रेलिया लगायतका देशमा पुगेका युवाहरूको भावि सन्तति त्यसरी नै पलायन हुने देखिन्छ । उनीहरू उतैको भाषा बोल्छन्, उतै रमाउँछन् । उनीहरूलाई नेपालको भाषा, संस्कृति राम्रोसँग सिकाइएको छैन, ‘उनीहरूबीचमा आफ्नो मातृभाषा र नेपाल र नेपालीसँग जोड्ने नेपाली भाषाको ज्ञान छैन । भाषा संस्कृति हराए कसरी मेरो पुर्खाको देश नेपाल हो भनेर चिन्ने ?’ भण्डारी भन्छ्न ।

    जीवनको आधा उमेर कहिले विदेश त कहिले नेपाल गरेर खर्च गरि सकिसकेका छन् भण्डारीले । अब भने उनी नेपाल फर्केर ढुक्कसँग बस्न चाहन्छन् । नेपालमै सामाजिक काममा व्यस्त हुन चाहन्छन् । अब भने उनले नेपालमा केही गर्न सकिएन, वातावरण बनेन भन्ने युवालाई उदाहरणीय बनेर देखाउने सोचमा छन् । उनले अरु साथीहरूलाई पनि यहि भन्दै अनुरोध गरेका छन् । छोराछोरीलाई समेत नेपाल फर्कन अनुरोध गरेका भण्डारी भन्छन्, ‘छोराछोरीको सुखद् भविष्य बनाउन विदेशमा बस्यौँ, अब देश फर्कौ, छोराछोरीलाई आफ्नो माटो र थातथलो सम्झाउने काम गरौं ।’

    युरोपको नेपाली समाजमा अहिले धेरै असन्तुष्टी बढेको भण्डारीले महशुस गरेका छन् । त्यहाँको सामाजिक परिस्थिति, एकान्तपन, बढी काम, पारिवारिक बिछोड, भेटघाट कम, डिप्रेशन र मृत्युका घटना पछिल्ला दिनमा बढिरहेका छन् । खुला समाजका कारण नेपालमा भन्दा त्यहाँ बढी स्वतन्त्रता खोजिने र आवेशमा आएर परिवारसँग छुट्टिदा दुःख पाएका घटनाहरू पनि युरोपमा पछिल्ला दिनमा बढीरहेको भण्डारी बताउँछन् ।

    युरोप अमेरिकामा रहेका बौद्धिकवर्ग त्यति खुसी छैनन् । बरु पढ्न नपाएका, दुर्गम ठाउँमा बसेर दुःख गरेका र व्यापार व्यवसायमा सफल बनेका व्यक्तिहरू तुलनात्मकरुपमा बढी खुसी नै देखिएको भण्डारीको अनुभव छ ।

    एकातिर नेपालमा प्रशस्त सम्पत्ति भएका तर त्यसको सहि उपयोग र सुरक्षा नभएका, वृद्ध हुनुभएका बाबुआमाले छिटो देश फर्क भनिरहेको अवस्था छ भने अर्कोतिर युरोपमा बसेर सामान्यस्तरको काम गरेर, गुजारा गर्नुभन्दा देश फर्केर बृद्ध बाबुआमाको हेरचाह, आफ्नो सम्पत्तिको उपयोग गर्दै प्यारो गाउँघरमा रमाएर बस्दा नै बढी खुसी भइने सल्लाह दिन्छन् भण्डारी प्रवासिएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई ।

    देश फर्केर आफ्नो थातथलो स्याहार्नका लागि सबैलाई अनुरोध गर्दै भण्डारी भन्छन् ‘फर्क नेपाली हो अब फर्क, भञ्ज्याङ् र चौतारीहरूले तिमीलाई बोलाइरहेछन्, नेपाल आमा पर्खिरहेकी छन् ।’

    प्रस्तुति : चन्दा थापा

    १३९७ पटक
    प्रतिकृया दिनुहोस्