BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

     विदेशबाट आयातित मगर ड्रेस लगाएर गर्व गर्नु छैन मलाई

    चन्दा थापा,भाद्र १६, २०७४

    chanda

    आफ्नो संस्कार र संस्कृतिप्रति चनाखो भएर त्यसको प्रवद्र्धनका लागि खट्ने स्वदेश वा विदेशमा रहने नेपाली जनजाति अगुवाहरुले त्यसप्रकारको आत्मनिर्भरता उन्मुख उद्योग धन्दाहरुको स्थापना बारे छलफल तथा बहस गर्नुपर्ने बेला आएन र ?

    विदेशका गल्लिमा, स्वदेशका गल्लीमा अनि विभिन्न कार्यक्रमहरुमा मगर, शेर्पा, गुरुङ, तामाङ, नेवार, राई, लिम्बु ड्रेस तथा नेपाली ड्रेस मानिएको दौरा सुरुवाल अनि बिहेमा स्वदेशदेखि विदेशसम्म बेहुलाले लगाउने ढाकाको दौरा सुरुवाल (जुन, १० देखि १५ हजार सम्म पर्छ) लगाएको देखेर खुबै खुसी भइयो, अनि खुबै गर्व पनि   गरियो ।

    देश तथा विदेशमा आफ्नो राष्ट्रिय ड्रेस, आफ्नो जातजातिको भेषभुषामा कति रमाईलो देखिएको हो भनेर प्रंशसा त झन कति गरियो कति गरियो । अनि मगर ड्रेस नलगाएको र किन्न नगएकोमा आफैलाई कतिपटक थै–थै पनि बनाइयो । धन्न पाल्पा गएका बेला एउटा ढाकाको सारी र चोलो किनेर ल्याएर पाल्पाली ढाका भनेर गजक्क अनि गमक्क परियो आफ्नै देशको उत्पादन लगाइयो भनेर । तर, त्यसमा पनि अहिलेसम्म ठम्याउन सकेकी छैन् मैले त्यो मेरो ढाकाको सारी, र बिहेमा बेहुलाले लगाउने ढाकाको दौरा सुरुवाल के मेरै नेपाली दिदी बहिनीले हातका औला खियाउँदै तानमा बुनेको हो की यात फेरि इण्डिया र चाइनाबाट चिरिचट्ट परेर आएको हो । यदि नेपालमै बनेर आएको हो भने त्यति स्तरीय ढाकाको कपडा कुन जिल्लामा बनेर आएको हो त ? त्यो कसैले प्रष्ट पारिदिएमा आभारी हुने थिए ।

    आज साथीलाई चाहिएर राजधानीको न्युरोडस्थित सिंगापुर इन्टरप्राइजेजमा मगर डे«स किन्न गएको थिए । एकजोडी ड्रेस राम्रो खाले १० हजार सम्म पर्छ भन्यो । तर, कपडा कहाँ बनेर आएको हो ? भनेर सोध्दा भने सप्पै सिंगापुरबाट ल्याएको हो भन्दा अचम्म लाग्यो । हामी आदिवासी जनजातिहरुले आफ्नो भूमिको उत्पादन नभएर विदेशबाट आयातित ड्रेस लगाएका रहेछौं । अनि मनमा लागेको पछुतो हट्यो मैले मगर ड्रेस नलगाएर के भो त ? मगर मन त सँगै छ अरु नभएपनि भने ।

    हुन त मैले शरीरमा लगाएको कपडा पनि नेपाली उत्पादन त होइन् । तर, हाम्रो आफ्नो जातिको भेष–भुषाको नाममा अन्यले मात्र नभएर हामी आदिवासी जनजातिहरुले पनि कति पैसा विदेश पठाएका रहेछौं भनेर त्यसैबाट अनुमान गर्न सकिन्छ ।

    त्यसैले पनि आदिवासी जनजातिकी  अनि नेपालकी छोरी मैले विदेशबाट आयातित मगर ड्रेस लगाएर  गर्व गर्नु छैन्  । गर्व त्यतिबेला गरुला जतिबेला यो देशका चार जात छत्तिस वर्णको फूलवारीमा रहेका फूलहरु  नेपाली मन, नेपाली पसिना, नेपाली मेहनत अनि  नेपाली हातले उत्पादन  गरेका रंगी विरंगी पोसाकले सजिनेछन्  अनि नेपाली व्यवसायीले चलाएका नेपाली उद्योगहरुले देशको आर्थिक समृद्धिमा हरियो झण्डा देखाउनेछन् ।  अनि  क्रमस सस्तो श्रममा खाडीको ५० डिग्रीमा नेपाली  पसिना बेचिन छाडिनेछ ।

    अव आफ्नो भेषभुषामा सजिनका लागि हामी आफै उत्पादनमा लाग्ने की नलाग्ने भन्ने प्रश्न खडा पो भयो मनमा ! के हाम्रा जनजाति या अन्यमा त्यस्तो कुनै नेपाली छोरा छोरी व्यवसायी भएर जन्मिएका छैनन्, जो शिरदेखि पैतलासम्म हामीले लगाउने वस्तु नेपाली भूमिमा उत्पादन भएको, नेपालीका हातले उत्पादन गरेको अनि त्यहि उद्योगमा हजारौं नेपालीले काम पाएको भनेर गर्व गर्न सकिने ?

    अझै कतिपय मगर संघका कार्यक्रममा मगर ड्रेस नलगाएमा कार्यक्रममा प्रवेश गर्न नपाइने भनेर ह्वीप जारी पनि गरिन्छ तर, यसरी आयातित ड्रेस लगाएर हाम्रो मगर संस्कार र संस्कृतिको रक्षा हुन्छन त ?
    आफ्नो संस्कार र संस्कृतिप्रति चनाखो भएर त्यसको प्रवद्र्धनका लागि खट्ने स्वदेश वा विदेशमा रहने नेपाली जनजाति अगुवाहरुले त्यसप्रकारको आत्मनिर्भरता उन्मुख उद्योग धन्दाहरुको स्थापना बारे छलफल तथा बहस गर्नुपर्ने बेला आएन र ?

    ४५० पटक
    प्रतिकृया दिनुहोस्
    Ad