BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    विदेशबाट फर्कनेहरुका लागि उदाहरण बन्दैछिन् साबि

    संसार न्यूज संवाददाताआश्विन २१, २०७४

    sabi2‘मन बहलाउछ कहिलेकाँही सम्झिएर जिन्दगीका यादहरू
    साबेल चलाउँदा पनि खुशी नै छन् साबिका हातहरू
    कलम भन्नु नै कुटो,कोदाला मेरा, लेख्छु,
    खेतबारीमा हर्ष बिभोर हुन्छ मन जब
    पुस्तक बनि फिजारिन्छन् यी हरिया पातहरू’

    यी हरफ हुन उनै सावि त्रिपाठी पाठकका जसले १० वर्षे इजरायलको रोजगारी छोडेर आफ्नो माटोमा रमाउन, माटोसँगै खेल्न र माटो चुम्न देश फर्केकी छन् । उनी माटोसँग प्रित गास्छिन् । माटोमै कविता लेख्छिन्, अनि टमाटरका हरिया पातहरुलाई नै पुस्तकका पाना सम्झन्छिन् अनि कुटा र कोदालालाई नै कलम बनाएर सुरुवात गर्छिन् माटोमा मेहनतको अक्षर कोर्न ।

    इजरायलमा उनले मनग्य पैसा कमाइन् । तर, विदेशको कमाइलाई ‘भलपानी’ बताउने साविले इजरायलमा १० वर्ष बस्दा पारीवारिक वातावरण गुमाइन् । साविले श्रीमानसँगको विछोड, माइतीसँगको बिछोड र आफू जन्मेको माटोको माया भन्दा पनि बढी इजरायल बसाइका क्रममा आफ्ना दुई मुटुका टुक्राको बाल्यकाल समेत गुमाइन् । इजरायल बसाइका क्रममा ‘मैले १० वर्ष इजरायल बस्दा दुई करोड कमाए, तर, त्यो दुई करोड भन्दा बढी मैले मेरो छोराछोरीको माया गुमाए, उनीहरुको बाल्यकाल गुमाए ।’ आमा न हुन् उनी, कहाँ मान्छ र आमाको मन संसारको जुनै सुखसयलमा भुल्न पाउँदा पनि । आँखाभरी आँसु बनाउँदै साविले छोराछोरी छाडेर बैदेशिक रोजगारका लागि इजरायल जानु पर्दाको पीडा सुनाइन् ।

    हो, साविले ११ वर्षे छोरी र ७ वर्षे छोरा छोडेर रुदै इजरायल गएकी थिइन् । धादिङको बेनिघाट गाउँपालिकामा जन्मिएर चावहिलका रुपनारायण पाठकको घरलाई कर्मघर बनाएकी साविले इजरायल जानुभन्दा पहिले चावहिलमा पसल गरिन्, व्युटिपार्लर चलाइन् । तर, त्यतिबेला देशमा माओवादी द्धन्द्ध चरमउत्कर्षमा पुगेको थियो । अनि त छोराछोरीको भविष्य बनाउनकै लागि भन्दै श्रीमानको सल्लाहमा सासु ससुराको काखमा छोराछोरी छाडेर सन् २००५ को डिसेम्बरमा इजरायल गएकी थिइन् सावि ।

    म्यानपारवरबाट नभएर आफन्ती भाउजुको सहयोगमा झण्डै ४ लाख खर्च गरेर इजरायल पुगेकी थिइन् सावि । इजरायलमा रहेकी भाउजुले उतैबाट भिषा निकालिदिएपछि सिक्नै पर्ने इजरायली भाषा पनि सिक्न पाएकी थिइनन् उनले । उनी भन्छिन् ‘मलाई यति थाहा थियो नमस्तेलाई इजरायली भाषामा ‘सलाम’ भन्नुपर्छ ।

    sabi1
    इजरायल पुगेको सुरुका दिनमा साविलाई गा¥हो भयो । घर परिवार र आफ्ना मुटुका टुक्राको सम्झना आइरह्यो । भाषाको समस्या थियो । एउटा काम भन्दा अर्को काम गरिन् । इसाराको भरमा चलिन् । तर, उनले जसको केयर गर्थिन बुढी आमा उनले भने बुझेकी थिइन्, साविलाई भाषाका कारण परेको पीडा । ‘मैले केयर गर्ने आमाले बुझ्थिन् मेरो पीडा किनकी उनी दोश्रो विश्वयुद्धका क्रममा मोरक्कोबाट इजरायल आएकी थिइन्,’ सावि भन्छिन् ‘उनी मोरक्कोबाट इजरायल आउँदा भाषाका कारण यस्तै समस्या परेको थियो रे उनलाई, त्यसैले उनले मलाई केही भनिनन् आमाले जस्तै माया गरिन् । मैले तीन महिनामै इजरायली भाषा सिकेकी थिए ।’

    सन् २००५ मा इजरायल पुगेकी उनी सन् २०१० देखि विभिन्न नेपाली संघ संस्थामा लागेर सामाजिक काममा सक्रिय भइन् । त्यहाँ उनी आवद्ध भएको पहिलो नेपाली संस्था हो, विश्व नेपाली साहित्य महासंघ । सानैबाट साहित्यमा रुची राख्ने साविले इजरायलमा रहँदाको चिनो स्वरुप साहित्यीक कोशेली ‘चम्पाका हजार पाइला’ नामक उपन्यास बाहिर ल्याइसकेकी छन् भने थुप्रै फुटकर कथा कविताहरु विभिन्न संचारमाध्यममा आइसकेको छन् ।

    विशेषत सावि कोमल मनकी साहित्कार भनेर पनि चिनिन्छीन् सावि । उनलाई ‘चम्पाका हजार पाइला’ बाहिर ल्याउन उत्साहित गरेका थिए वरिष्ठ निबन्धकार युवाराज नयाँघरेले । उनैको उत्प्रेरणामा साविले मरभूमिबाट नेपाली साहित्य संसारमा एउटा इट थपेकी छन् ।

    विश्व नेपाली साहित्य महासंघ हुँदै उनी आफैले ‘नारीका लागि नारी’ भन्ने संस्था खोलिन् सन् २०१३ मा । सावि अध्यक्ष भइन् । उनीहरुले संस्था स्थापना लगत्तै २१ जना मिलेर ५०-५० हजार रुपैयाँ राखेर एककरोड रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका थिए । त्यसमा उनीहरुले विभिन्न कार्यक्रममार्फत भएको आम्दानीको रकम थप्दै गएर एक करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको बताउँछीन् सावि । उनीहरु दूतावासको सहयोगमा थुप्रै नेपाली दिदीबहिनीहरुको समस्या समाधान गर्न पनि लागि परे ।

    ‘ नारीका लागि नारी’ नेपालमा पनि दर्ता पनि गरिएको छ । हाल यस संस्थाले बझाङका बादी सुमदायका ४ महिलालाई सिलाई बुनाइ लगायतका तालिम दिएर आत्मनिर्भर बन्न सिकाएको छ भने झापा, लम्जुङ लगायतका केही जिल्लामा बालबालिकाका लागि शिक्षा अभियान पनि चलाएको छ । हाल उनीहरुले आमा बाबु नभएका, आर्थिक अवस्था कमजोर भएर र पढ्न चाहाँदा चाहदै पनि आर्थिक अभाव भएका ७ बालबालिकालाई शिक्षाको व्यवस्था गरिदिएको साविले ऐक्यबद्धतालाई बताइन् ।

    खाडी मुलुकका धेरै देशमा नेपाली कामदार महिलाले सक्रिय रहेर नेपालीको हितको लागि सामाजिक कामगर्न गा¥हो पर्छ । तर, इजरायलमा भने त्यस्तो नभएको साविको अनुभव छ । ‘सामाजिक काम गर्न जान्छु भन्दा उनीहरु खुसी हुन्छन्,’ इजरायलको समाजका बारे कुरा गर्दै सावि भन्छिन्, ‘उनीहरु खुसी हुन्थे सामाजिक काम गर्छु भन्दा, हामी विदाको दिनमा हाम्रो सामाजिक काम गथ्र्यौ, उनीहरुलाई डिस्र्टब गर्थेनौं ।’

    इजरायलमा नेपाली वा अन्य देश जहाँको कामदार भएपनि उनीहरुको मानब अधिकारका लागि इजरायलीहरु नै सक्रिय रहेको साविले बताइन् । इजरायली सामाजिक अभियन्ताहरु इम्लोयरको घर–घरमा पुग्ने, उनीहरुको अवस्था बारे सोध्ने, खाने कुरा छ की छैन, फ्रिजमा फलफूल जुश छ कि छैन् ? भनेर फ्रिज खोलेर हेर्ने गर्दथे । ‘त्यस्तो केही समस्या भयो भने भन है’ भनेर उनीहरु फर्किने गरेको रमाइलो अनुभव पनि सुनाइन् साबिले ।

    सावि देशको माटोमा खेल्ने सपना संगालेर देश फर्केपछि हाल उत्पादनमा लागेकी छन् । इजरायलमा रहँदै त्यहाँका ग्रीन हाउसमा उत्पादन गरिएको तरकारी फलफूल देख्दा साविको मन कटक्क खान्थ्यो । मरभूमिको तातो हावा पानीलाई चिसो बनाउन यतिधेरै मेहनतर गरेर उत्पादन भइरहँदा आफ्नो देशका बारीका कान्ला, खेतका गरा र माटो नखोस्रिकन बीउ फालिदिए पनि उम्रेर फल दिन सक्ने उर्वरा नेपाली माटोमा किन आफ्नो पसिना नबगाउने भनेर इजरायलको १० वर्षे रोजगारी छाडेर देश फर्केकी हुन् सावि ।

    हाल उनले काठमाडौं जिल्लाको नार्गाजुन नगरपालिका, रामकोट वडा नं ६ मा प्रतिवर्ष रोपनीको २० हजार भाडा तिर्ने शर्तमा ५ वर्षका लागि १५ रोपनी जग्गा भाडामा लिएर टमाटर खेती गरेकी छन् ।

    त्यसमा परिवारको साथ त छदैंछ त्यसबाहेक अरुको सेवा गरेरै मर्ने हो, अनि अरुलाई दिएरै यसधर्तिबाट विदा हुने हो भन्ने उनका भाई राजकुमार त्रिपाठी र साना किसानको सहयोगमा इजरायल पुगेर कृषि तालिम लिएर फर्किएका श्री कृष्ण सिलवालले सघाएको पनि सावि बताउँछीन् ।

    साविले २०७३ को कार्तिकबाट ‘क्लिन एग्रिकल्चर’ नामक कम्पनी खोलेर उत्पादनमा होमिएकी हुन् । उनको फार्ममा अहिलेसम्म झण्डै २० लाख लगानी भएको छ । जहाँ मुख्य टमाटर नै उत्पादन गरिन्छ भने त्यसको साइडमा अन्य तरकारीहरु पनि उत्पादन हुन थालेको छ । साविले डेढ महिनामै ५ लाखको टमाटर बजारमा पु¥याइसकेकी छन् । कृषक र उपभोक्ताबीच धेरै नै ग्याप भएको ठहर गरेकी साविले विशेषत सरकारी काम ढिलो हुने तथा विचौलीयाको विगविगीले नेपाली किसानका साथै उपभोक्ता समेत मारमा परेको बताउँछीन् ।

    इजरायलमा रहदै ‘देश फर्केर एकजनालाई रोजगारी दिन्छु’ भन्ने सोँच बोकेकी साविले हाल टमाटर फार्ममा चार जनालाई रोजगारी दिएकी छन् भने काम अनुसार १०–२० जना अरु कामदार पनि थपिने गरेका छन् ।

    चाविहलमा रहेको उनको घर भूकम्पले भत्किएपछि उनी सितापाइला बसाइ सरेकी छन् । बासस्थानबाट नजिकै रहेको टमाटर फार्ममा उनी बिहानको साढे १० बजे पुग्छिन र बेलुका ७ बजे फर्किन्छीन् । उनी मालिक भएर पनि दिनभरी त्यतिकै बस्दीनन् । आफू पनि कामदारसँगै खटिन्छीन् । कामदारलाई आफै खाजा बनाएर खुवाउँछीन् ।

    इजरायलमा सिकेको संस्कार उनले कामदारलाई आफ्नै परिवारका सदस्य जस्तै गरेर व्यवहार गर्छिन् । ‘उनीहरु कामदार होइनन्, मेरै परिवारका सदस्य हुन्, म उनीहरुलाई कहिल्यै पनि कामदार सोच्दिन् । मेरोबाट सिकेर उनीहरु आफ्नै फार्म खोलुन् या अरु नै बिजेनस गरुन् । तर, आफै मालिक बनुन् भन्ने कामना पनि गर्दछ ।’ साबि भन्छिन् ।

    साविकी छोरीले हाल ओम नर्सिङ कलेज चाविहलबाट बिएसस्सी नर्सिङ गर्दैछिन् भने छोराले १२ कक्षा उत्तीर्ण ब्याचलर पढ्ने तयारीमा छन् । श्रीमान रुपनारायण पाठक चावहिलमै छापाखाना चलाउँछन् । टमाटर फार्म खोलेर माटोसँगै रमाएकी साविलाई, उत्पादनमा धेरै अवरोध छन, गार्हो भयो भनेर फेरि विदेश त फर्कनुहुन्न नी ? भन्ने ऐक्यबद्धताको प्रश्नमा उनी भन्छिन्, ‘बरु अरु काम गर्छु, तर विदेश फर्किन्न । मलाई फेरि परिवारबाट टाढा हुनुछैन ।’
    साविले विदेश, अझ मुख्य रुपमा खाडीको चर्को घाममा पसिना बगाउने युवायुवतीलाई देश फर्केर उत्पादनमा लाग्न सन्देश दिन्छीन् । साविका अनुसार नेपाली युवाको पसिनाले देशको माटो नसिंचिए सम्म देशको आर्थिक समृद्धि हुँदैन् । सावि भन्छिन् ‘ विदेशमा कमाएको पैसा भलपानी हो, त्यो धेरै समय रहदैन् । आफ्नै बारीका कान्लामा पसिना बगाएर परिवारको साथमा रुखो सुखो, मिठो नमिठो खाएर रमाऔं त्यहि नै हाम्रो जीवनको उपलब्धि हो अनि देशको उपलब्धि पनि ।

    प्रस्तुति : चन्दा थापा

    ४७६७ पटक
    प्रतिकृया दिनुहोस्