BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    बौद्धिकहरुलाई बस्ने ठाउँ नहुने भयो एनआरएनए

    संसार न्यूज संवाददाताआश्विन २९, २०७४

    pramod-dhakal
    डा. प्रमोद ढकाल
    अभियन्ता, खुल्ला विश्वविद्यालय

    मैले नेपाल देशका लगि काम गरेको हुँ । मेरो मातृभूमिका लागि काम गरेको हुँ । नेपाल खुला विश्वविद्यालयलाई नेपाली जनताको नासो सम्झेर काम गरेको हुँ । मेरो कार्यको परिणाम तिनै नेपाली जनतामा समर्पण गरेको हुनाले यसमा मेरो कुनै व्यक्तिगत अपनत्व छैन । तर विदेशमा छरिएका विद्वानलाई नेपाल फर्काउन र एक्काइसौँ शताब्दीको माग अनुकूलको शिक्षालाई नेपालका कन्दरा देखि विश्वको कुनैपनि स्थानमा रहेका नेपालीका पहुँचमा पुर्याउने हाम्रो सपनालाई नेपाल सरकार र नेपाली राजनीतिक पार्टीहरूले बीचमै तुहाएको हुन सक्ने आशङ्का भने मलाई भएको छ ।

    गैरआवासीय अभियानमा लामो समय देखि संलग्न रहनुभयो, यसको समिक्षा कसरी गर्नुभएको छ ?
    यो अभियानमा संलग्न रहँदा मेरो योगदान शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा केन्द्रित रह्यो । अनि क्यानडामा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना गर्न र सुरुका वर्षहरूमा त्यसलाई समृद्ध पार्न पनि अन्य साथीहरूका साथमा म पनि मजाले खटेँ । संघले नेपाललाई कुनै मौलिक, युगान्तकारी र दिगो परिणाम ल्याउने विधामा योगदान पु¥याउनु पर्छ भन्ने मान्यता राख्ने म जस्ता साथीहरू मिलेर नेपाल सरकार र संघको सहकार्यमा नेपाल खुला विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने अभियान क्यानाडाबाट नै सुरुवात ग¥र्याै । त्यो परियोजना पछि संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अपनायो र त्यो सन् २०१० मा संघको ध्वजावाहक परियोजना बन्न पुग्यो । गैरआवासीय नेपाली प्राध्यापक, वैज्ञानिक, प्राविधिक, नवप्रवर्तक तथा युवा प्रतिभाहरूलाई नेपाल फर्काउने महत्वपूर्ण र उत्प्रेरक संस्थाका रूपमा यो विश्वविद्यालयलाई विकास गर्ने हाम्रो लक्ष्य थियो । विश्वको जोकोही प्रतिभाशाली विद्वानहरूलाई यो संस्थामा सामेल गराएर नेपालको नयाँ पुस्तामा शैक्षिक, अनुसन्धानात्मक, वैज्ञानिक र प्राविधिक क्षमताको मौलिक विकास गराउँदै यसलाई विश्वको एउटा नमुना खुला विश्वविद्यालय बनाउने हाम्रो अभीष्ट थियो । नेपाल र विदेशमा छरिएका नेपालीका घरघर, कार्यस्थल र हातहातमा शिक्षाको अवसर पु¥याउने हाम्रो अभीष्ट थियो । यस्तो पवित्र कामका लागि मैले मेरो जीवनको १२ वर्ष अर्पें र यही संघमार्फत नेपाल फर्केर काम गर्ने वातावरण पनि प्राप्त गरेँ । यसका लगि मैले यो संघमा बाहेक अरु कुनै संस्थामा स्थान लिइन । त्यस्तो पवित्र काम यो संस्थाबाट गर्न पाएकोमा म अत्यन्त खुसी छु । यो अभियानलाई हामीले धेरै बाधा व्यवधानहरूका बीचमा ठूलो त्याग र तपस्या गरेर एउटा गन्तव्य स्थानसम्म ल्याइपु¥याएका हौँ । कुनै कठिन अवस्थामा पनि हामीले आफ्नो आत्मबललाई गल्न दिएनौँ । हामी निरन्तर आफ्नो अभियानमा लागिरह्यौँ ।

    यसअवधिको संघर्षमा कस्ता खालका अनुभूति भोग्नु पर्यो ?
    संघमा पाएका धेरै न्याना अनुभूतिहरूको बाबजुद् संघका केही नेतृत्वदायी धनाढ्य मित्रहरूबाट पैसा नै ठूलो कुरा हो वैज्ञानिक प्राविधिक भनेका त पैसाले किन्ने मानिसहरू हुन भन्ने अभिव्यक्तिहरू सुनिरहनु प¥यो र परिरहने गरेको हुन्छ । दीर्घकालीन शैक्षिक, वैज्ञानिक र प्राविधिक अभियानहरूलाई व्यापारिक र तुरुन्तै प्रचारमा आउने परियोजनाहरूलाई भन्दा कम आँकलन गरेको आभास प्राप्त गर्नु परिरहेको हुन्छ । यस्ता कामका लागि नेपाल सरकारसँग खुलेर वार्ता गर्ने काममा पनि संघको नेतृत्वबाट सोचे जति जागरूकता पाउन गाह्रो भएको अनुभव समय समयमा भयो ।फलस्वरूप जति वैज्ञानिक, प्राविधिक र युवा प्रतिभाहरूलाई यो संघमा आकर्षित गराउन सक्नु पर्ने हो त्यो गराउन संघ असमर्थ छ । संघमा निरन्तर रूपमा व्यापारिक र राजनैतिक साथीहरूको नै बाहुल्य भएको तथ्यले संघको प्राथमिक आधारक्षेत्र कुन हो भनेर देखाउँछ । साथै, नेपालका उच्च शक्तिकेन्द्रहरूले पनि व्यापारी र राजनीतिक मित्रहरूलाई नै अपनाउने हुनाले, हामी जस्ता पैसा नभएर आत्मिक उत्प्रेरणाले डो¥याएर हिंडिरहने शैक्षिक, वैज्ञानिक र प्राविधिक अभियन्ताहरूलाई ठूलो पैमानाका लोककल्याणकारी काम गरेर देखाउन निकै कठिनाइ छ तर पनि यो एउटा अभियानमा हामीले एउटा दीर्घकालीन संस्थालाई नै स्थापनाको ठाउँमा ल्याएर देखायौँ । म खुसी छु ।

    खुल्ला विश्वविद्यालयका लागि लगातार संघर्ष गर्दाका क्षणहरु केही शेयर गर्न मिल्छ की ?
    खुल्ला विश्वविद्यालयको अभियानमा मेरो व्यक्तिगत लगाव सन् २००५ देखि सुरु भएको हो । तर एउटा मूर्त परियोजनाका रूपमा संघसम्म ल्याउन निकै वर्षको सोच, परिश्रम तथा उस्तै अभिलाषा र आकांक्षा राख्ने साथीहरूको साथ जुटेपछि मात्र सम्भव भयो । यसमा एकदम सुरुका दिनमा क्यानाडा फाउण्डेसन फर नेपालका साथीहरूले, अनि गैरआवासीय नेपाली संघको परियोजना बनाउनेमा सबैभन्दा पहिले डा. द्रोण रसाली र डा. अम्बिका अधिकारीले र त्यसको लगत्तै पछिबाट डा. राजु अधिकारीले सबैभन्दा धेरै काँध थाप्नु भयो । उहाँहरू तथा डा प्रिट्स प्यानाकुक, डा पामेला वाल्स, डा मोहामद अलि, आना चायल्ड्सको साथ कुनै पनि प्रकारको कठिन अवस्थामा पनि अक्षुण्ण, अविस्मरणीय र सदा उत्साहित बनाउने खालको रह्यो । हाम्रा बीचको कहिल्यै नमेटिने अनन्य मित्रता यही कामले उत्पादन ग¥यो । नेपालका शैक्षिक अभियन्ताहरू प्रा केदार भक्त माथेमा र डा अर्जुन कार्की अनि राज्यसञ्चालक राजनीतिज्ञहरूमा माननीय सर्वेन्द्रनाथ सुक्ल, रञ्जु कुमारी झा र गिरिराजमणि पोख्रेलको सहयोगलाई विशेष महत्वका साथ कदर गर्छु । लगातार सहकार्य गर्न नेपालमै उचित वातावरण बनाउन नसकिएको भए पनि दीर्घकालीन सहयोग र संस्थागत सहकार्यका लागि डा. रेणु खातोड र डा. जीत जोशीले पटक पटक दोहो¥याएको बचनबद्धतालाई पनि मैले कहिल्यै बिर्सने छैन । विश्वका थुप्रै खुला र अन्य विश्वविद्यालय तथा अन्य संस्थाहरूका उच्च पदाधिकारीहरूले हाम्रो अभियानलाई साथ दिन गरेका बचनबद्धताहरू प्रति पनि म सदा आभारी रहने छु । यसै बीचमा टीमकै प्रसिद्ध कलाविद्, विद्वान र प्राध्यापक मित्र डा डीना बाङ्देलको निधन हुन गयो । यो एक दुःखद् क्षण थियो । हामी उहाँको योगदानप्रति ऋणी रहिरहने छौँ ।

    जन्माउन निकै मिहिनेत गर्नुभयो, अपनत्वको बारेमा कस्तो अनुभूति गर्नुभएको छ
    मैले नेपाल देशका लगि काम गरेको हुँ । मेरो मातृभूमिका लागि काम गरेको हुँ । नेपाल खुला विश्वविद्यालयलाई नेपाली जनताको नासो सम्झेर काम गरेको हुँ । मेरो कार्यको परिणाम तिनै नेपाली जनतामा समर्पण गरेको हुनाले यसमा मेरो कुनै व्यक्तिगत अपनत्व छैन । तर विदेशमा छरिएका विद्वानलाई नेपाल फर्काउन र एक्काइसौँ शताब्दीको माग अनुकूलको शिक्षालाई नेपालका कन्दरा देखि विश्वको कुनैपनि स्थानमा रहेका नेपालीका पहुँचमा पुर्याउने हाम्रो सपनालाई नेपाल सरकार र नेपाली राजनीतिक पार्टीहरूले बीचमै तुहाएको हुन सक्ने आशङ्का भने मलाई भएको छ । राज्य सञ्चालन र राजनीतिमा गरिने हथकण्डाहरू प्राज्ञिक र वैज्ञानिक संस्थाहरूमा लगाएकोले खुला विश्वविद्यालयको भविष्य कति उज्वल हुने हो भन्ने कुरा मलाई शोचनीय लाग्दछ । यस्तो अपवित्र खेल खेलिने संस्थाको भविष्य यस्तै हुनेछ भनेर मलाई अनुमान लगाउन निकै गाह्रो छ । तर यो देशको राज्यकोष, सेना, पुलिस, प्रशासन, विदेशी दाताहरू देखि लाखौँ पार्टी कार्यकर्ताहरू सम्मले सुसज्जित राजनैतिक पार्टीहरूले नै हामी जस्ता अभियन्ताहरूबाट देशको अस्मिता जोगाउन आफैँ विश्वविद्यालय चलाउन थालेका हुनाले यो विश्विद्यालयका लागि अवश्य पनि त्रिवि आदि विश्वविद्यालयलाई मिले जस्तो राज्य संरक्षण मिल्ने छ । हामीले सोचे झैँ जनस्तरमा गएर सहयोग माग्दै हिँड्नु पर्ने दुःखी अवस्था यसलाई हुने छैन, यो राज्यकोषबाटै मजैले चल्ने छ, पैसाले नै सबै प्रतिभाहरू किन्ने छ । त्यसैले ठूला पार्टीहरू जस्तै त्यो संस्था पनि निकै शक्तिशाली र प्रभावशाली हुन सक्ने सम्भावना पनि प्रशस्त भएको मैले देख्दछु । साथसाथै, हामी जस्ता अभियन्ता र गैरआवासीय नेपाली संघलाई पनि राज्यले यो विश्वविद्यालय सम्बन्धी सबै नैतिक र भौतिक भारीबाट पूर्ण रूपमा मुक्त गरिदिएको छ, जुन हाम्रा लागि राहतको विषयवस्तु हो ।

    एनआरएनए अभियानका आगामी चुनौती के के छन् जस्तो लाग्छ ?
    एनआरएनए विदेशमा बस्ने सबै नेपालीको बन्ने हो कि व्यापारिक र राजनीतिक उद्देश्यले बाँधिएका नेपालीहरूको आम कब्जामा रहिरहने हो, त्यसको छिनोफानो गर्ने काम यसको सबैभन्दा ठूलो चुनौती हो ।

    १६७६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad