BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    भन कृष्टिना ‘डोलीमा चढ्दा दाइजो होइन्, उपचारमा सहयोग गर’

    चन्दा थापाकार्तिक १५, २०७४

    chanda

    प्रिय कृष्टिना, तिमीले मलाई भेट्न खोजेको खबर तिम्रा बाबाले आज सुनाउँदा साह्रै खुसी लाग्यो । तर, म कुन मुटु लिएर तिमीसम्म आउँ भन्ने सोच्न सकेकी छैन् । वास्तवमा कृष्टिना तिमीले मृत्युलाई जितिसकेकी छौं । जुन आत्मवल तिमीमा पलाएको छ, अनि जुन मुस्कान तिम्रो मुहारमा देख्छु । लाग्दछ तिमी कुनै विरामी होइनौं । तिमी त यो देशको नयाँ पालुवा, भरखर फक्रन लागेकी कोपिला जो फुल्नको लागि अनेक उल्झनहरु सहेर पनि फक्रेर सवैमा सुवास छर्ने फूल हुने रहरमा छौं ।

    kristina3हो, कृष्टिना मन त्यतिकै फाँटेर आउँछ । अनि सम्झन्छु ती दिनहरु । मैले आर्थिक अभावकै कारण राम्रोसँग उपचार गराउन नपाइकनै बाबालाई गुमाएकी छु । म सानै छँदा बाबाले दिल्लीको आजादपुरबाट सानो भाडामा (जुन पानी राख्न मिल्थ्यो) इन्सुलिन बोकेर आउनु भएको थियो । सायद आजभन्दा ३०–३५ वर्ष अगाडिको कुरा हो । त्यतिबेला सुगर रोग अहिलेको क्यान्सर जस्तै थियो । साँझ विहान बाबालाई इन्जेक्सन लगाएर मात्र खाना खानु पर्दथ्यो । अझ अहिलेको जस्तो कहाँ थियो र इन्सुलिन पनि, जुन चस्स घोच्यो एकैछिनमा भइहाल्ने । त्यतिबेला खानु भन्दा पहिले इन्जेक्सन लगाउँदा छाला मरेर औषधि पास नहुँदा घोचेको ठाउँबाट निकालेर फेरि अर्को ठाउँमा घोच्नु हुन्थ्यो बाबाले ।

    कृष्टिना रोगको पीडा त्यतिबेला देखिनै  मेरो मन मस्तिष्कमा बसिरहेको छ, कति पीडा हुन्छ भनेर । त्यस्तै नै पटक–पटक ओम अस्पतालको बेडमा किमो दिदा तिमीलाई पनि कति पीडा हुन्छ होला भन्ने मैले महसुस गरेकी छु । कतिपटक पस्केको गाँस मुखमा लैजाँदा तिम्रो बाबु र आमाको गाँस मुखभित्र नगएर फेरि थालमा नै फर्किन्छ होला, त्यो पनि मैल महसुस गरिसकेकी छु । जतिबेला मेरा बाबाले इन्जेक्सन लगाउँदा औषधि पास नभएर सबैको आँखा रसाउँथे अनि नुनिलो आँसुको धारा र तरकारीको नुन एउटै बाटो भएर पेटमा पुग्थ्यो त्यतिबेला । गरिबी, शिक्षा, अनि स्वास्थ्यको लागि आर्थिक अभाव त्यतिबेला मात्र नभएर अहिले झन बढेको पाएकी छु मैले । अहिले त झन गाउँबाट स्थान्तरण हुँदै सहरमा पनि झन बढी अभाव देख्छु मैले ।

    हो, कृष्टिना तिमी पनि त्यहि सहरमा छौं । जुन नेपाल देशको राजधानी काठमाडौं हो । बुद्धको देश, जनकको देश, मानव सभ्यताको पहिलो देश शिवको देश अनि ती महान सहीदहरुको देश । जसले नयाँ दिन, सुनौलो दिन अनि जनताको मुहारमा खुसी ल्याउनका खातिर हाँसी–हाँसी फासीमा चढेर आफ्नो बलिदानी दिए । तर, कृष्टिना तिम्रो र मेरो अनि ती तमाम दुःखी गरिवको दिन अझै आउन सकेको छैन । अनि ती सहीदहरुले दिएको बलिदानीको सम्मान पनि कहाँ भएको छ र ? यहाँ जनताको गाँस बास, कपासको जोहो होइन, सहीद दिवसका दिन एकदिन सहीदको फोटोमा माला लगाइदिएर दुई चार भाषण गरेपछि सहीदको सपना पूरा गरेको दम्भ गर्नेहरु धेरै छन् । तर, पनि निरासाकैबीच आसा भने गर्नैपर्छ । कृष्टिना एकदिन अवस्य परिवर्तन हुनेछ हाम्रो समाज ।

    kristina1

    आजभोली फेसबुकमा एउटा म्यासेज छ्याप छ्याप्ती आउँछ इनबक्स र टाइमलाइनमा ‘जसरी कसैको छोरीको बिहेमा जाँदा खाममा पैसा लिएर आफन्त पुग्छन्, त्यसरी नै विरामी हुँदा अस्पतालमा भेट्न जाँदा पनि खाममा पैसा हालेर लगे त्यो परिवारलाई कति राहात हुन्थ्यो होला ?’

    हो कृष्टिना त्यो संस्कारको खाँचो भइसकेको छ हाम्रो समाजमा पनि । सरकारले शिक्षा, स्वास्थ्य पूर्णरुपमा निःशुल्क गर्न नसकिरहेका बेला हामी नागरिक स्तरबाट यो कुराको सुरुवात गर्नु धेरै उचित हुन्छ जस्तो लाग्छ मलाई । अनि तिम्रा ती आफन्त र नजिकका सबै शुभचिन्तकहरुमा पनि मेरो यहि अनुरोध छ, कृष्टिनाको यो अवस्थामा सहानुभुति भन्दा पनि जति सकिन्छ आर्थिक सहयोग गरौं र उनलाई भोली बिहे गरेर जाँदा तपाइहरुले दाइजो स्वरुप दिने पैसा आजै गएर अस्पतालमा खुला मनले हस्तान्तरण गर्नुहोस् ताकि कृष्टिना जस्तै धेरै छोराछोरी यस्तो अवस्थामा पुग्दा पनि आफन्तको बलियो साथ सम्झेर रोगसँग लड्न सक्ने हिम्मत मिल्नेछ ।

    हो कृष्टिना यतिबेला सिटामोल समेत नपाएर तड्पिरहनु परेको छ दुर्गमका जनताहरु । अनि पेटमा नौ महिना राखेर हुर्काएको बच्चालाई धर्तिको खुला काख र आकासको खुला छतमा ल्याउन नपाई इहलिला सकेका छन् कति आमाले । वास्तवमै ती आमाहरु पनि सहीद हुन, जो यो देशका लागि योग्य नागरिक जन्माउन चाहदा चाहाँदै ज्यान गुमाउन पुगे । कतिले औषधिको अभावमा, कतिले बाटोको अवस्थाका कारण अनि कतिपयले ऋणै गरेर पैसा तिरेर हेलिकप्टर रिर्जभ गर्दापनि समयमा अस्पताल पुग्न नपाएर ज्यान गुमाउनु पर्ने अबस्था छ हामी जन्मेको देश तिमी र मेरी आमाको देशमा । आशा गरौं कृष्टिना त्यस्तो अवस्थाको छिट्टै अन्त्य हुनेछ अनि एकदिन अवस्य आउनेछ  देशमा सुनौलो दिन ।  हामी मात्र होइन, अरु देशका जनता पनि ‘नेपालमा पुगे बाँच्न सकिन्छ’ भन्ने आसा लिएर हाम्रो देशमा आउनेछन् । अहिलेलाई यति आसा गरौं अनि सपना पनि ।

    कृष्टिना यो वर्ष मात्र, यस्तो अवस्थाको भाइबहिनी (जो मसँग सहयोग जुटाइदिन भनेर अनुरोध गरेका थिए) आज म उनीहरुको पनि कुरा गर्न गइरहेकी छु । यो वर्षमा यस्तै रोगबाट ३ जनाको ज्यान गएको छ । मसँग कामगर्ने साथीहरु एकजनाको भाइ (पर्वत) र एकजनाको (फुपु दिदी) नुवाकोट यहि रोगका कारण ज्यान गुमाउनु प¥यो । जसका लागि चाहेर पनि अनि कोशिष गर्दा पनि बचाउन सकिने अवस्था आएन । अर्का भाइ थिए पर्वतकै, उनले पनि क्यान्सरकै कारण ज्यान गुमाए । भर्खर जन्मेको छोराको अनुहार त हेरे उनले । तर, धर्ति छोड्नु परेपनि छोरा ताते गरेर हिडेको देखेर अनि हातले समाएर ताते गराएर धर्ति छोड्ने धोको रहेको बताएका उनको त्यति सपना पनि पूरा हुन सकेन् ।

    कृष्टिना जन्मपछि मृत्यु मानव जीवनको अन्तिम सत्य हो । जो कसैले पनि सजिलै कल्पना गर्न सक्तैन अनि स्विकार्न हिचकिचाउँछ एकदिन मर्नुपर्छ भनेर, आखिर जीवनको ध्रुवसत्य पनि यहि हो । तर, उपचार नपाएरै आफ्ना नागरिकले यसरी अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य सरकारले गरोस् आफ्ना नागरिकको अभिभावक बनोस् भन्ने कामना गर्दछु ।

    नआत्तिउ, कृष्टिना मनोबल उच्च बनाउँ हामी सबै तिम्रो साथमा छौं । हरेक कोशिष गरिरहेका छौं । आत्मबल बलियो बनाएर रोगसँग लड्ने शक्ति तिमिमा प्राप्त होस् भन्ने कामना गर्दछु । त्यसैले प्रिय कृष्टिना, माग ती तिम्रा आफन्त, शुभचिन्तक अनि सबैसँग ‘मलाई डोलीमा चढेर जाँदा खाममा पैसा होइन् अहिले आर्थिक सहयोग गरेर जीवन दान दिनुहोस् ।”

    सहयोगी हात पाए जीवन बच्छ बालिका कृष्टिनाको

    ११०४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad