BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    विश्व तेक्वान्दोमा नेपाल र बर्तमान अवस्था

    दिनेश शर्माकार्तिक २२, २०७४

      dinesh-sharma

    राज्यले यस्तो परिस्थितिमा झनै विशेषरुपमा खेलकुदलाई हेर्नुपर्ने अवस्थामा उल्टै सौतिनी ब्यवहार देखाएको छ, जुन नेपाली खेलकुदको लागि दुर्भाग्य हो । त्यस्तै राजनितिक खिचातानी, नातावाद, कृपावाद र अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाली तेक्वान्दो ठूलो भुमरिमा फसेको छ भने तेक्वान्दोका विभिन्न संघहरू बिच समन्वय नहुन सकेको छैन । जसका कारण खेलाडी छनौट, राज्यबाट पाउने आर्थिक सुविधा तथा बैदेशीक प्रशिक्षण लगायतमा विवाद हुँदै आएको छ ।

    नेपाली खेलक्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा पदक दिलाउने क्षेत्र भनेको नै मार्शल आर्टस् हो । त्यसमा पनि तेक्वान्दोको नाम अग्रपंतिमा छ । कोरियन भाषामा ‘ते’ भनेको खुट्टा, ‘क्वान’ भनेको हात र ‘दो’ भनेको कला भन्ने बुझिन्छ । सामान्य अर्थमा भन्दा हात र खुट्टाद्वारा प्रदर्शन गरिने कला नै तेक्वान्दो हो ।

    विश्वको तेक्वान्दो इतिहास केलाउने हो भने दोस्रो विश्व युद्धपछि सन् १९५५ मा कोरियाका जनरल चोइ होङ हीले त्यहाँ छरिएर रहेका ९ वटा क्वान(क्लब) हरूलाई एकिकृत गरी कोरीयन मार्शल आर्टको रुपमा तेक्वान्दोको नामाकरण गरे । जनरल चोइको अध्यक्षतामा सन् १९६६ मार्च २२ मा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आइटिएफ) को स्थापना भयो । स्थापनाकालमा कोरिया, भियतनाम, मलेशिया, सिंगापुर, वेस्ट जर्मनी, अमेरीका, टर्की, इटाली र इजिप्ट गरी विश्वका नौ देशका मास्टरहरू सम्मीलित थिए । तेक्वान्दोको विकास र विस्तारकै क्रममा राजनितिक कारण सन् १९७३ मे २८ मा छुट्टै संस्थाको रुपमा विश्व तेक्वान्दो महासंघ (हालविश्व तेक्वान्दो) उदायो । आइटिएफले स्थापनाकालकै नियमलाई शिरोधार्य गरी मार्शल आर्टस्को रुपमा रहिआएको छ भने डब्ल्युटिएफले परिमार्जित गरी ओलम्पिक खेलको रुपमा चिनाउँदै आएको छ ।

    dinesh-sharma-3विश्व तेक्वान्दो महासंघ सन् १९८० मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा आबद्धपश्चात सन् १९८८ र ९२ माभएको ओलम्पिकमा प्रदर्शनी खेलको रुपमा सहभागिता जनायो । साथै सन् २००० मा अष्ट्रेलियामा भएको ओलम्पिक खेलमा विश्व तेक्वान्दो महासंघले अफिसीयल खेलको रुपमा मान्यता पायो र तेक्वान्दोले विश्वमा नयाँमोड लियो । विश्वमा हाल तेक्वान्दोका अन्तर्राष्ट्रिय संस्थाहरू २ दर्जन भन्दाबढीको संख्यामा रहेका छन् । जसमा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ, विश्व तेक्वान्दो, अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ, ग्लोबल तेक्वान्दो महासंघ, विश्व सङमोक्वान संघ लगायत छन् । विभिन्न आरोह अवरोह पारगर्दै तेक्वान्दोले विश्व प्रख्याति कमाएको छ भने प्रायः सबै देशमा यो खेल खेल्ने गरिन्छ ।

    तेक्वान्दो नेपालमा सुरुवात
    अनौपचारिक रुपमा सन् १९७४ मा नेपालमा तेक्वान्दो भित्रियता पनि यसले कानुनी हैसियत पाएको थिएन, उक्त बखत नेपालमा मार्शल आर्टस् राज्यबाट निषेध थियो । उस ताकाका ब्रिटिस लाहुरे रहेका पुरन एन्ड्रयु गुरुङले ब्रिटिस सेनामा छँदैं तेक्वान्दोमा दोस्रो डान पास गरीसकेका थिए । सेनामा रिटायर्ड पश्चात गुरुङले आफ्नो जन्मभूमि नेपाल फर्कियर तेक्वान्दो प्रशिक्षण दिएका थिए । राज्यबाट मार्शल आर्टस् निषेधका कारण उनी भारत पलायन हुनुप¥यो । हाल ग्रान्डमास्टर गुरुङ भारतिय तेक्वान्दोका पिताका रुपमा परिचित छन् । गुरुङले सन् १९८३ मा नेपाल आएको बखतमा कलकत्ताका केही साथीसँग मिलेर राष्ट्रिय सभा गृहमा तेक्वान्दो प्रदर्शन समेत गरे । प्रदर्शनी खेलका दर्शक तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव शरदचन्द्र शाह पनि थिए । उक्त प्रदर्शनले नेपालमा तेक्वान्दो विकासको नयाँ ढोका खुल्यो । तत्कालीन सदस्य सचिव शाहको अध्यक्षतामा राष्ट्रिय मार्शल आर्टस् संघ आधिकारीक रुपमा दर्ता समेत भयो । सोही संघ अन्तर्गत रही तेक्वान्दो, कराते लगायतका मार्शल आर्टस् देशका विभिन्न भागमा प्रशिक्षण हुनथाले । सन् १९८५ माविश्व तेक्वान्दो महासंघको डेनमार्कमा भएको साधारणसभामा सदस्य सचिव शाह महासंघको कार्यकारी सदस्यमा निर्वाचित समेत भए । ४६ को जनआन्दोलनपश्चात मार्शल आर्टस् संघ विघटन भयो र सोही परिवेशमा दीपराज गुरुङको पहलमा सन् १९८९ मा नेपाल तेक्वान्दो संघ स्थापना भयो ।

    dinesh-sharma-1अन्तर्राष्ट्रिय सफलता
    नेपाललाई तेक्वान्दोमा हालसम्मकै ठुलो अन्तर्राष्ट्रिय सफलता भनेको सन् १९८८ मा कोरीयामा भएको २४ औं ओलम्पिकमा विधान लामाले ऐतिहासिक रजत पदक जितेका थिए । त्यसअघि सन् १९८६ मा कोरियाको सोलमा आयोजित दशौं एसियाली खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनायो, जसमा विधान लामा, राजकुमार राई, रामबहादुर क्षेत्री र राजकुमार बुढाथोकीले तेक्वान्दोबाट कास्य पदक जितेका थिए । नेपाली तेक्वान्दोका सर्वाधिक चर्चित व्यक्तित्व दीपक विष्ट र संगिना बैद्यले ओलम्पिक सम्मको यात्रा तय गरे । विष्टले सन् २००२ (बुसान) र २००६(दोहा) मा भएको एशियन च्याम्पियनसिपमा राष्ट्रलाई काँस्य पदक दिलाउन सफल भएका थिए भने सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागिता समेत जनाए । उनले सन् १९९९ देखी सुरु भएको साउथ एशियन गेम्समा लगातार सन् २००४, ०६ र १० मा स्वर्ण पदकजिति तेक्वान्दो स्टार कहलिए । यता बैद्यले सन् २००२ मा हङकङमा भएको एशियन च्याम्पियनसिपमा कास्य पदक जितीन भने एथेन्समा भएको सन् २००४ को ओलम्पिकमा सहभागिता जनाइन् । उनले आठौं र नवौं सागमा राष्ट्रलाई स्वर्ण पदक दिलाइन् ।

    ओरालो लाग्दै
    नेपालमा पछिल्लो समय तेक्वान्दो खस्कदै गएको तथ्याङ्कले देखाएको छ । सन् १९९९ मा काठमाडौंमा भएको ८ औं सागमा १४ स्वर्ण सहित साउथ एसिया हल्लाएको नेपाली तेक्वान्दोले विस्तारै आफ्नो रफ्तार घटाउँदै गएको छ । इस्लामावादमा सन् २००४ माभएको ९ औं सागमा ६ स्वर्णबाट तलझर्न सुरु गरेको नेपाली तेक्वान्दोले १० औं र ११ औं सागमा आई पुग्दा २ स्वर्णमै चित्त बुझाउनु प¥यो भने १२ औं सागमा (भारतः सन् २०१६) आइपुग्दा नेपाली तेक्वान्दोले आफ्नो इतिहास भेटायो र एउटै स्वर्ण पनि जित्न नसककी खाली हात स्वदेश फर्कनु प¥यो, जुन नेपाली तेक्वान्दो इतिहासकै दुखद् क्षण हो । यद्यपी राज्यले स्वर्ण नल्याए पनि रजत र कास्यमा उल्लेख्य जित हात पारेको भन्दै सबै कोच र खेलाडीलाई नगद सहित सम्मान समेत ग¥यो । यसैमा खेलकुद मन्त्रि, सदस्य सचिव र कोचहरूले छाती फुलाए, जुन एकदमै दुखद् र हाँस्यास्पद् थियो ।

    dinesh-sharma-4बर्तमान अवस्था
    आगामी सागको १३ औं संस्करण नेपालले आयोजना गर्ने पालो भएकोले यस प्रतियोगितालाई खेलाडी, प्रशिक्षक, पदाधिकारी, नेपाल सरकार, नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेलकुद परिषद्ले चुनौतिको रुपमा सामना गर्नुपर्ने छ । खेलकुदलाई माथि उठाउन राज्यले लगानी गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०७४।०७५ को समग्र खेलकुदको बजेट रु.२.२४ विलियन छ । तर विडम्बना आर्थिक वर्ष २०७३।०७४ माहालको भन्दा बढी अर्थात् २.३३ विलियन बजेट छुट्याइएको थियो । यसबाट के प्रष्ट हुन्छ भने राज्य खेलकुदप्रति त्यति जिम्मेवार छैन । सन् २०१५ मा नेपालमा गएको विनासकारी भूकम्पले खेल क्षेत्रलाई पनि नराम्ररी धरासायी बनायो । भौतिक पूर्वाधार तहसनहस पा¥यो । आर्थिक अभाव र शबल नेतृत्व अभावका कारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय भनिएको दशरथ रङ्शाला समेत पुनःनिर्माण हुनसकेको छैन भने अन्य स्थानमा पनि त्यस्तै अवस्था छ । राज्यले यस्तो परिस्थितिमा झनै विशेषरुपमा खेलकुदलाई हेर्नुपर्ने अवस्थामा उल्टै सौतिनी ब्यवहार देखाएको छ, जुन नेपाली खेलकुदको लागि दुर्भाग्य हो । त्यस्तै राजनितिक खिचातानी, नातावाद, कृपावाद र अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाली तेक्वान्दो ठूलो भुमरिमा फसेको छ भने तेक्वान्दोका विभिन्न संघहरू बिच समन्वय नहुन सकेको छैन । जसका कारण खेलाडी छनौट, राज्यबाट पाउने आर्थिक सुविधा तथा बैदेशीक प्रशिक्षण लगायतमा विवाद हुँदै आएको छ ।

    dinesh-sharma-2नेपालमा हाल राष्ट्रिय संघका रुपमा नेपाल तेक्वान्दो संघ, नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ, राष्ट्रिय तेक्वान्दो संघ, नेपालपारा तेक्वान्दो संघ, राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघ, अन्तर्राष्ट्रिय चाङहोन तेक्वान्दो महासंघ नेपाल, नेपाल परम्परागत तेक्वान्दो संघ र अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ नेपाल रहेका छन् । त्यस्तै एकेडेमीको रुपमा ख्यातिक माएको साङरोक नेपाल तेक्वान्दो एकेडेमी, कोटेश्वर तेक्वान्दो डोजाङ, सितापाइला तेक्वान्दो डोजाङ, नेप्लिज तेक्वान्दो एकेडेमी र नेशनल तेक्वान्दो एकेडेमी लगायत छन् । यसरी भिन्दाभिन्दै रुपमा रहेका विभिन्न संघ र एकेडेमीलाई एउटै छाता मुनु समेटी तेक्वान्दोको विकासलाई एकिकृत रुपमा अगाडी बढाउन केही समय अघि नेपाल तेक्वान्दो महासंघ स्थापना भएको छ । आशा गरौं यसले निकट भविष्यमा नेपाली तेक्वान्दो क्षेत्रमा नयाँ आयाम थप्न सक्छ ।

    (लेखकः नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय प्रशिक्षक हुन्)

    ६५० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad