back

प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल : काँग्रेस ढुक्क, गठबन्धन मख्ख

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

246 

shares
NTC AD
Global IME AD

chunab

२८ कात्तिक, डडेल्धुरा । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आउनुभएका प्रधानमन्त्री देउवा छैटौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । उहाँसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

माओवादी नेता भट्ट प्रधानमन्त्री देउवासँग डडेल्धुरामा तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएको हो । विसं २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन तथा २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा देउवासँग भट्ट पराजित हुनुभएको थियो । भट्ट विसं २०६४ मा एक हजार ३०० तथा २०७० मा आठ हजारभन्दा बढी मतअन्तरले देउवासँग पराजित हुनुभएको थियो ।

करिब तीन दशकदेखि डडेल्धुरामा पकड बनाएको काँग्रेसले केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा हार ब्यहोरेको थियो । त्यसकारण पछिल्लो समय काँग्रेस पहिलाको भन्दा कमजोर हुन पुगेको आँकलन गरिएको छ । यद्यपि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको नतिजाले कुनै असर नपार्ने काँग्रेसका स्थानीय नेता बताउँछन् ।

लामो समयदेखि जिल्लाको मात्र नभई समग्र सुदूरपश्चिमकै विकासमा प्रधानमन्त्री देउवाले अभिभावकको भूमिका निभाएको भन्दै डडेल्धुरा काँग्रेसका नेता तथा कार्यकर्ता मंसिर २१ गते उहाँ विजयी हुनेमा ढुक्क छन् । तर उहाँलाई विगतमा जस्तो सहज भने छैन । दुई ठूला पार्टीको गठबन्धनका कारण देउवाले निर्वाचन जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

जिल्लाको प्रदेशसभा ‘ख’का उम्मेदवार तथा नेपाली काँग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण मल्लले निर्वाचन जित्न कुनै समस्या नभएको बताउनुभयो । “प्रधानमन्त्रीज्यू डडेल्धुराको मात्रै नभएर सुदूरपश्चिमकै अभिभावक हो ।” उहाँले भन्नुभयो– “यहाँका मतदाता कहिल्यै काँग्रेसको विपक्षमा हँुदैनन् ।”

पार्टीभित्रको आन्तरिक किचलोका कारण केही स्थानीय तहमा हार ब्यहोरेको उहाँले स्विकार्नुभयो । आसन्न निर्वाचनका लागि पार्टी पंक्ति एकढिक्का भएर लागेको मल्लको भनाइ छ ।

“म र रघुवर भट्टजी प्रदेशमा लड्दै छौँ ।” मल्लले भन्नुभयो– “जिल्लाभर सबै भ्रातृसंगठन चुनावीसभामा खटिएका छन् ।” उहाँले सभापति देउवाविरुद्ध गठबन्धनले विभिन्न अपवाह फैलाएको आरोपसमेत लगाउनुभयो । “चार चार पटक प्रधानमन्त्री भएर यो देश हाँकिसकेका व्यक्तिले रोजगारी दिन सकेनन् भन्ने कुरो हुन्छ ? ।” उहाँले भन्नुभयो– “हेर्दै जानुस् गठबन्धनका उम्मेदवार नै केही दिनमा काँग्रेसमा आबद्ध हुँदैछन ।” उहाँले डडेल्धुरामा काँग्रेस १० हजारभन्दा बढी मतअन्तरले निर्वाचन जित्ने दाबीसमेत गर्नुभयो ।

कात्तिक ३० गते प्रधानमन्त्री देउवा चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा आउने कार्यक्रम रहेको मल्लले बताउनुभयो । उहाँको पहिलो सम्बोधन जिल्लामा भएपछि विभिन्न जिल्लाका चुनावीसभामा भाग लिने कार्यक्रम तय भएको पार्टीको जिल्ला सभापति एवं उम्मेदवार मल्लले बताउनुभयो ।

वाम गठबन्धनका नेता स्थानीय तहको जिल्लाको मत परिणामलाई आँकलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा चारवटामा काँग्रेस, दुईवटामा एमाले र एउटा तहमा माओवादी केन्द्रले विजयी भएको थियो ।

वाम गठबन्धनका उम्मेदवार भट्टले चार÷चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेल्धुरावासीले यस पटक उहाँको विकल्प खोज्ने बताउनुभयो । सत्ताइस वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको उहाँको आरोप छ ।

“वाम गठबन्धनले यस पटक काँग्रेसलाई पराजित गर्छ,” उहाँले भन्नुभयो । देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले पाँच वर्षमा गर्ने भट्टको दाबी छ ।

त्यसैगरी, वाम गठबन्धनबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार तथा एमालेका जिल्ला अध्यक्ष डा तारा जोशीले डडेल्धुरामा यस पटक वाम गठबन्धन जित्ने बताउनुभयो । “धेरै मान्छे तटस्थ र स्वतन्त्र छन्” उहाँले भन्नुभयो–“उनीहरुले गठबन्धनलाई सहयोग गर्छन् ।” गत स्थानीय तहको निर्वाचनमा काँग्रेसभन्दा आठ हजार मत बढी ल्याएकाले निर्वाचन जित्नेमा वाम गठबन्धनका उम्मेदवार डा जोशी ढुक्क हुनुहुन्छ ।

देउवाका लागि सधैँ गठबन्धनः नेता मल्ल

वाम गठबन्धन पनि डडेल्धुरामा प्रधानमन्त्री एवं काँग्रेसका पार्टी सभापति देउवालाई नै चुनाव जित्न यस पटक कठिन रहेको हल्ला फैलिरहेका बेला काँग्रेस डडेल्धुराले भने त्यसलाई सामान्यरुपमा लिएको छ ।

काँग्रेस जिल्ला सभापति मल्लले देउवाविरुद्ध डडेल्धुरामा सधैँ गठबन्धन हुने गरेको र पटक पटक सफल हुन नसकेको बताउनुभयो । “यस पटक देशव्यापी रुपमा वाम गठबन्धन भएकाले नौलो विषय लागेको हो ।” सभापति मल्लले रासससित भन्नुभयो– “डडेल्धुरामा त २०४८ सालदेखि नै काँग्रेसको विपक्षमा गठबन्धन हुँदै आएको छ ।”

उहाँले जति गठबन्धन भए पनि डडेल्धुरामा काँग्रेसलाई असफल पार्न सम्भव नरहेको जिकिर गर्नुभयो । “यहाँ धेरै गठबन्धनका पात्र काँग्रेससामु टिक्न सकेका छैनन्,” उहाँले भन्नुभयो । गठबन्धनले डडेल्धुरामा देउवाले केही गर्न सकेन भन्नु अनर्गल प्रचारबाजी मात्रै भएको उहाँको दाबी छ ।

“सुदूरपश्चिमको विकास निर्माणमा सभापति देउवाले गरेको योगदान गनेर सम्भव छैन,” मल्लले भन्नुभयो ।

यस्तै, डडेल्धुरा शिक्षक संघका अध्यक्ष कर्ण मडै स्थानीय तहमा काँग्रेसको आपसी तालमेलले मात्रै केही ठाउँमा पराजय व्यहोरोको बताउनहुन्छ । आगामी निर्वाचनमा काँग्रेसलाई जितका लागि कुनै समस्या नहुने उहाँको भनाइ छ । “काँग्रेस अहिले आन्तरिक गुटबन्दी हल गरेर चुनावी मैदानमा उत्रेको छ, मतपरिणाम काँग्रेसकै पक्षमा रहन्छ,” मडैले भन्नुभयो । एक सय १७ वटा मतदान केन्द्र रहेको डडेल्धुरामा आसन्न निर्वाचनमा ८१ हजार ७०० भन्दा बढी मतदाता रहेका छन् । (

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ११:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...