back

को-को तयार छौं हेग जान ?

वि.सं.२०७४ मंसिर १ शुक्रवार

237 

shares
NTC AD
Global IME AD

krishna-jwala-devkota

दुईजना जैन साधु कतै जाँदै थिए । बाटोमा खोला आयो । एउटी युवती खोला तर्न नसकेर बिचल्लीमा परेकी थिइन् । पहिलो साधुले तिनलाई बोक्यो र खोला तारिदियो । तरेपछि अर्को साधुले घोर आपत्ति जनायो, ‘हामीले त स्त्रीलाई छुन पनि हुन्न, तिमीले बोकेरै तारिदियौ ?’ पहिलो साधु केही बोलेन । उनीहरू हिँडिरहे तर दोस्रो साधुले दिनभरि त्यही कुरा दोहोर्‍याइरह्यो । साँझ पर्‍यो । फेरि बिहान भयो । र, फेरि साँझ पर्‍यो । साँझ बास खोज्दै गर्दा दोस्रो साधु फेरि सुरु भयो, ‘हामी साधुले त स्त्री छुन पनि हुँदैन, तिमीले…।’ दिक्क भएको पहिलो साधुले जवाफ दियो, ‘मैले त ती युवतीलाई बोकेँ र पारि मात्रै लगेर छाडिदिएँ । तिमी भने अझैसम्म तिनलाई बोकिरहेका छौ ।’

नेपालमा पनि यस्ता साधुहरूको कमी छैन । माओवादी र राज्यबीच दश वर्षसम्म दुर्दान्त युद्ध भयो र ०६३ सालमा त्यसलाई विस्तृत शान्ति सम्झौतामार्फत् औपचारिक रूपमै बिसाइयो । तर, नेपालमा एकथरी व्यक्ति अझै युद्धलाई बोकिरहेका छन् । त्यस क्रममा कहिले बालकृष्ण ढुंगेलको चर्चा हुन्छ, कहिले नन्दप्रसाद अधिकारीको । र, त्योभन्दा ठूलो चर्चा हुन्छ हेगको ।

यो देश त्यसै पनि धेरै अदालतमा अहिल्यै खडा छ । विवेकको अदालतमा । सहिदको अदालतमा । अंगभंगको अदालतमा । विस्थापितको अदालतमा । बेपत्ता परिवारको अदालतमा । र, सबैभन्दा बढी इतिहासको अदालतमा । दशवर्षे युद्धमा यो देशका चार हजार गाविसका झन्डै सबै ढुंगामा रगतका धेरै थोरै छिटा लागेका छन् । देशको घाउमा खाटा बस्न दिने कि डलरका लागि त्यसलाई बाँदरले झैँ कोतर्ने, यो नागरिकको विवेक वा अविवेकको कुरा हो ।

अब सोधौँ, हेग जाने को–को हो ? प्रचण्ड र बाबुराम त हेग जाने नै भए । तर, सिंगै गाउँ जलाइएको खाराको खरानीको जिम्मा लिन ‘अपरेसन किलो सेरा टु’ का कमान्डर खुमबहादुर खड्का हेग जाने कि नजाने ? प्रधानमन्त्रीको कुर्सीमा बसेर बेपत्ताहरूलाई लक्षित गर्दै ‘दे आर अलरेडी किल्ड’ को घोषणा गर्ने ‘सन्त नेता’ कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त हेगमा लैजाने कि नलैजाने ? आतंककारी कालो अध्यादेशका जन्मदाता तत्कालीन गृहमन्त्री वामदेव गौतम हेग जाने कि नजाने ? अनि युद्धकालका पटक–पटकका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अस्तुलाई हेगमा उपस्थित गराउने कि नगराउने ? मृत्युदण्ड निषेध भएको देशमा टाउकोको मूल्य तोक्ने शेरबहादुर देउवा मन्त्रिपरिषद्लाई कहाँ लैजाने ? अनि, टाउकोको मूल्य तोकिँदा पनि मौन बस्ने नागरिक समाज आफैँ इतिहासको अदालतमा खडा हुने कि नहुने ? कि जनताका सामान्य छोराछोरीलाई मात्र फसाएर न्यायको आत्मसन्तोष लिने ?

हो, यो देशमा युद्धका कहिल्यै नमेटिने खाटा छन् । ‘अप्रेसन किलो सेरा टु’ ताका प्रहरीले सिंगै गाउँ जलाएको खाराको खरानी अझै उडिसकेको छैन । कुख्यात भैरवनाथ गण र अन्यत्रबाट बेपत्ता पारिएका मान्छे भेटिएका छैनन्, न तिनका अभिभावकका आँखा ओभाइसकेका छन् । थुप्रै माओवादी र सुरक्षाकर्मीका शरीरबाट अहिले पनि गोलीका छर्रा निकाल्न बाँकी छ । युद्धको कारण र त्यसको सार पक्षतिर कोही लागेको छैन, बरु डलरवादीहरू हत्याको वर्गीकरण गरिरहेका छन् र कुन हत्या न्यायिक र कुन गैरन्यायिक भन्ने छिनोफानोमा लागेका छन् ।

त्यसै पनि यो देशमा हेग नजानुपर्ने कोही छैन । जम्मा जीवनजल नपाएर बर्सेनि चालीस हजार मान्छे मर्ने देशमा हरेक शासक–प्रशासक हेग जानुपर्ने हो । चालीस लाखभन्दा बढी युवा भारत, खाडी र मलेसियामा बँधुवा मजदुर हुनुपर्ने र दैनिक दश लास जहाजबाट फर्कने देशका सबै नीति–निर्माता अदालतमा खडा हुनुपर्ने हो । र, त्यसमा सार्थक हस्तक्षेप गर्न नसक्ने तर लास गन्न रुचि राख्ने बुद्धिजीवी र नागरिक समाजले मुख लुकाएर हिँड्नुपर्ने हो । अनि, जहाज दुर्घटनाको ठूलो र बस दुर्घटनाको सानो समाचार बनाएर मृत्युको पनि स्तरीकरण गर्ने हामी मिडियाकर्मी विवेकको अदालतमा खडा हुनुपर्ने हो ।

दशवर्षे युद्धमा मारिएका सोह्र हजार मान्छेका रगतका छिटाबाट यो देशमा कसैको अनुहार जोगिएको छैन । खासमा त्यसका ठूला छिटा काठमाडौंका अभिजातहरूका अनुहारमा छन् । युद्ध ती लडेनन्, जोसँग कुनै राणाको ‘बकस’ थियो वा जो चाँदीका चम्चाले खान्थे । मारिने माओवादी वा प्रहरी वा सेना निम्छरा जनता थिए, जो पापी पेटका लागि युद्धका मोहरा बने । तिनको थप दुर्भाग्य, डलरवादीहरूले तिनलाई ज्युँदैमा पनि बेचे र अब मरेपछि पनि बेचिरहेका छन् ।

द्वन्द्वका घाउको बिस्कुन थाप्न अहिले ठूलै होड छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको ‘माघ १९’को निरंकुश कदमलाई समेत अवैध भन्न नसक्ने अदालत द्वन्द्वकालीन मुद्दामा भने विधिको कुरा गर्छ । मृत्युदण्ड निषेधित देशमा राज्यले औपचारिक रूपमै टाउकाको मोल तोक्दा मौन बस्ने बार एसोसिएसन आज न्यायका नाममा कालो पट्टी बाँध्छ ।

अनशनरत वृद्ध दम्पती नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका करुण तस्बिरले सबैको मन छुन्छ । ती दम्पतीले युद्धकालमा मारिएको आफ्नो छोराका हत्यारालाई कारबाही चाहनु स्वाभाविक हो । तर, यसको अर्को पाटो पनि छ । यो देशमा युद्ध भएको सत्य हो । त्यसमा बेपत्ता भनिएकासहित करिब अठार हजार नागरिक मारिएको पनि सत्य हो । र, मुलुकका चारै हजार गाविसमा रगत पोखिएको पनि सत्य हो । दशवर्षे युद्धमा यो देशका सबै ढुंगामा रगत पोतिएको छ । तर, अठार हजार मान्छेका रगतका छिटाबाट न कुनै पार्टी कार्यालय मुक्त छन्, न काठमाडौंका अभिजातहरूका सुकिला अनुहार । प्रश्न यति हो, अब त्यो युद्धका लागि हेग को–को जाने ?

लियो तोल्सतोयको एउटा उपन्यास छ, ‘रेसरेक्सन ।’ एउटा तरुण फौजी अफिसर फुपूको घरमा जान्छ । त्यहाँ एउटी युवती काममा सघाउन राखिएकी हुन्छिन् । युवती फौजीलाई प्रेम गर्छिन् र फौजीले युवतीलाई सेक्स । फौजी युवतीलाई सय रुबल दिएर बाटो लाग्छ । कालान्तरमा त्यो फौजी अदालतमा न्यायाधिकारी बन्छ । एउटा व्यपारीको हत्याको अभियोगमा एउटी वेश्यालाई त्यहाँ पेस गरिन्छ । न्यायाधिकारीलाई ती महिला कतै देखे–चिनेजस्तो लाग्छ । सोध्दै जाँदा उसले थाहा पाउँछ, ती वेश्या पहिले उसले फुपूको घरमा भेटेकी युवती थिइन् । उनी गर्भवती भइन् र भतिजाको गर्भ हो भन्ने थाहा पाएपछि फुपूले उनलाई गर्भ फाल्न दबाब दिइन् । घरबाट निकालिएकी ती युवती वेश्या बन्न विवश भइन् । सत्य थाहा पाएपछि न्यायाधिकारीले उनलाई भन्छ, ‘म तिम्रो बर्बादीको कारण रहेछु । म तिमीसँग बिहे गर्छु र त्यसको प्रायश्चित्त गर्छु ।’ तर, ती महिला मान्दिनन् । उनीे जवाफपूर्ण प्रश्न गर्छिन्, ‘यो लोकमा तपाईंले मलाई भोग गर्नुभयो र बर्बाद पार्नुभयो, अब तपाईं मलाई नै माध्यम बनाएर परलोक पनि सुधार्नुहुन्छ ?’

डलरवादीले पहिला युद्धलाई बेचे र यो लोक सुधारे । अब ती त्यही युद्धलाई फेरि बेचेर परलोक सुधार्न लागेका छन् । तिनलाई यो जसरी पनि गृहयुद्ध चाहिएको छ । कोही मिल्यो भने ती सोध्न पुग्छन्, ‘होइन, तिमीहरू कसरी मिलेर बस्न सकेका छौ ?’ आफैँ झगडा लगाउँछन्, आफैँ मध्यस्थ हुन्छन् र पछि आफैँ दण्डदाता पनि बन्छन् । अहिले नर्वेली दूतावास मुछिएको छ । पर्दा पूरै खुल्यो भने हेगको असली तस्बिर अझ क्रूर र भयावह देखिनेछ । जो–जोले हेग बनाए, युद्ध तिनैको खेती हो र हेग जानुपर्ने प्रथम पात्र पनि तिनै हुन् भन्ने प्रस्ट छ ।

साभार नयाँपत्रिका दैनिक

वि.सं.२०७४ मंसिर १ शुक्रवार ०५:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...