BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    दुवईको मेट्रो, जुनेलीको मिठो मुस्कान अनि ‘म’

    प्रल्हाद दाहाल, 'प्रेम शर्मा', युएईमंसिर १७, २०७४

    prem-sharmaहजारौं यात्रुले यात्रा गर्ने दुबई मेट्रोको यात्रा सहज छैन । यहाँ मानिसहरु हतार हतार र तंछाड–मछाड गर्दै आफ्नो कामका लागि भागिरहेका देखिन्छन् । यँहा कसैलाई कसैको वास्ता छैन, न कसैले कसैलाई बोलाउने गर्छ, नत कसैले कसैलाई चिने झैँ गर्छ । नचिनेझैं गरे भनौभने पनि यंहा करोडौ यात्रु भए पनी, आफू आउने जाने समयमा चिनेका मानिस कमै भेटिन्छन । र धेरै मानिस इन्टरनेट खोलेर यात्रा अबधिभर समाजिक संजालमा नै रमिरहेका, च्याट गफगाफमै व्यस्त रहेका हुन्छन । अनि कहिलेकाँही त अफिस टाइम र सार्वजनिक बिदाको दिनमा यति ठूलो भिड लाग्छ की हामी हिन्दुहरु तथा बौद्ध धर्मावलम्बीले मनाउने कुनै पर्व मेला झैँ रंगिचंगी भेषभुषामा सु–सज्जित मानिसहरुको लर्को हुनेगर्छ ।

    मानिस कोहि छुट्टी मनाउन आएका बिन्दास भेटिन्छन भने केहि मानिस कार्यालय पुग्न हतार गर्दै भिड छिचोल्दै अघि सर्न निकै संघर्ष गर्दै पनि हुन्छन् । यस्तो लाग्थ्यो, गोकर्ण मेला, पशुपतिको बोलबम मेला। बाह्रबर्षे गोदावरी मेला, तराईको छठ मेला भनौ या त फेरि शेर्पा समुदायको सोनाम ल्होसार मेला नै भनौं । भिडभाड युक्त मानिसको उपस्थिति दुबई मेट्रोमा देखिने गर्दछ ।

    आज पनि सार्वजनिक बिदा युएईको एकता दिवस डिसेम्बर २ को अवसरमा डिसेम्बर १, २, ३ तोकिएपछी ‘सोलिडारिटी डे’ संघारमा मनाउने चलन रहेको छ ।

    मलाई त्यो बुर्जुमान मेट्रो स्टेशनको भिडले आकुल–ब्याकुल गरेको थियो । जँहा ‘ग्रिन लाइन’ र ‘रेड लाइन’ गरेर दुइतर्फी रुपमै करिब चार रेलको जमघट एकैपटक हुने गर्छ । जसमा एक रेलमा कम्तिमा एक पटकमा एक हजार यात्रुको मात्र हिसाब राखे पनि चार हजार मानिस भेला हुन्छन् । खचाखच र मानिसको भिड भरिभराऊ नै हुन्छ । उक्त भिडबाट बाहिरिंदै ‘जुनेली’ म भएतिर आइन् । म केहि संयमित भए, मेरो पाइलाको डेग जुन द्रुतगतिमा थिए । अटोमेटिक ब्रेक लाग्यो । मेरो गति ६० बाट झरेर २० को गतिमा हिंडेको गाडी जस्तै सुस्त भयो । केहि मानिसको आवत–जावत भइरहेपनि मैले हेर्दाहेर्दै उनि लिफ्ट नजिक पुगिसकेकी रहेछिन । म, अलि छिटो हिंडे र एकै लिफ्टमा हामी बाहिर एक्जीट तिर पुग्यौ । म अझ नि हतार मै रहेछु । मैले तब महसुस गरे जब बाहिरिने क्रममा ४ नम्बर गेटबाट इमिरेट्स एन बि डी ब्यांक पुग्दै गर्दाको त्यो ओरालो फुटपाथ पुगे । मलाई अचम्मसँग चेत खुल्यो कि, म पछी आउने ति जुनेलीले यँहाबाट कसरि ‘ह्विलचेयर’ मा यात्रा गर्न सक्लिन ? म सोच्नथाले र एकछिन टक्क अडिए ।

    juneli1

    आफ्नै सुरमा यात्रारत हजारौको भिडमा एक्ली जुनेली मन गह्रुङ्गो भयो । र म उनलाई सहायता गरौ भनि आफू पछी फर्केर उनि छेउ पुग्न खोजें । म नपुग्दै जुनेली लई सहायता गर्ने अर्की एक महिला हातले ‘ह्विलचेयर’ धेकल्दै मलाई पछी पार्दै अघि बढीन् । म फेरी वाल्ल परेंर हेरिरहेँ । सोध्न पनि सकिन, र भन्न पनि सकिन कि, ‘सुन्नुस त ! म लिएर जान्छु’ यो शब्द मेरो रुद्रघन्टीमै आएर अड्कियो । अब म पछी थिएँ र अघि बढ्दै गरेका जुनेली र जुनेलीको सहायक जुनेली मेरो अघिल्तिर । मैले ति फिलिपिन्सकी झैं देखिने महिलालाई सोध्न खोजें, तपाई त निकै सहयोगी हुनुहुँदो रहेछ, साँची तपाइको नाम के होला ? तर फेरी सोचें के कारणले पो ति अपरिचितको परिचय मागौं फेरि म चुप बसें । मैले त्यसबेला सम्म मेरो पाइन्टको खल्तीमा रहेको मोबाइल हातमा झिकिसकेको थिए र थाहा नपाउने गरि पछाडीबाट दुई ओटा तस्विर निकालीहालें ।

    juneli
    मलाई केहिले युएईको फोटोग्राफर उपनाम दिएकाछन । सायद मेरो केहि नौलो कुरा देख्यो कि क्लिक गरेर राख्ने बानीलाई मन पराइदिएर यो नामदिएका हुन । त्यसो त म दैनिक १० भन्दा माथि मोबाइलमा र बिदाको दिनमा डि एसएलआर बोकी हिंडे भने दुईचार सय फोटो निकाली हाल्छु । जिन्दगीमा कुनै त्यस्तो कुलत लागेन् तर फोटो र लेख्ने कुरामा भने अनौठो लत बसेको छ ।

    जब जुनेलीलाई छोडी उनि सायद आफ्नो कार्यालय गइन् । सहयोगी महिलाको साथले इरानी बैंक नपुग्दैको बस स्टेशनमै रोकिएकी जुनेलीसंग मैले भेट गरें । विदेशमा नचिनेको मान्छेसंग बोल्न जो कोहीलाई अप्ठेरो लाग्ने गर्छ तर मैले जुनेलीसंग बोल्न कुनै संकोच मानिन् । मलाई यस्तो लाग्दैथ्यो यो मेरो उनीसंगको पहिलो भेट होइन । हामी पहिले नि भेटेका, चिनेका र बोलेका झैँ आत्मविश्वास पलाएर आयो र सोधें ‘कहाँ बस्नुहुन्छ, म सहयोग गरौँ ? म अल्फहिदी बस्छु । मात्र भनेर उनि मौन भइन् । मैले उनको मौनतामै हुन्छ भनेझै बुझें र म उनको व्हिलचेयरलाई अगाडी बढाउन थाले । केहि पर आएपछि मैले नै भनें, मेरो बस्ने नि नजिक हो । तर म तपाईलाई आज पहिलो चोटी देख्दैछु । उनि म तिर हेर्दै फेरी चुप बसिन् । सोचें अपरिचितसँग बोल्न अप्ठेरो लाग्यो होला भन्दै अघि बढे ।

    एकैछिनमा याद गरे र फेरी सोंधे ‘आज बिदाको दिन होइन र ! कता गएर आउनु भएको त यो चार बजे ?’

    प्रश्न मेरो सकिन नपाउँदै उनि बोलिन् , ‘आज त बिदा थिएन तर भोलि र पर्सि शनिवार बिदा छ ।’

    अनि काम चै कता हो ?

    उनको जवाफ थियो ‘बिजनेस बे’

    त्यति टाढा डेली आउने जाने गर्नुहुन्छ ?

    टाढा हो र ! मेट्रोले लगिदिइ हाल्छ नी ।

    यो जवाफले नै म बिश्वस्त भएँ । उनमा कति धेरै आत्मविश्वास रहेछ र आफ्नो खुट्टा नचलेपनि हात र सरिरको सहाराले दैनिक दुइ तीन घन्टा यात्रा गर्दा नि नैसाश्यता सानो झर्काे नि उनको मुहारमा थिएन । त्यतिबेला म आफूतिर हेर्दै आफैंलाई बेग्लै सोच्न थालिसकेको थिए ।

    अनि अघिको कुरा फेरि जोड्न खोजे ।

    बाटोमा संधै सहयोगी भेटिन्छन र बाटो काट्न अनि अप्ठेरो छिचोल्न गाह्रो हुन्न ?

    यतिखेर उत्तर मैले खोजेजस्तो आएन, र म झन्डै आफ्नो प्रश्नको लागि माफी माग्न लागिसकेथे ।

    किन र, यति धेरै प्रश्न ? के जानकारी चाहिएको होर, तपाई को हो ?

    प्रश्नमाथिको प्रतिप्रश्न ले म नै तिन छक्क परें । मानिसको गुण अबगुण जे भन्नुस्, मानिस आफूले अपेक्षाकृत नहुँदा बिचलित हुने गर्छ । तर, म झन आफ्नो प्रश्नको जवाफ नजिक पुगेको झैँ आत्मविश्वासी भएँ र जवाफ दिएँ ।

    म तपाइको भाईजस्तै हो ! बरु, मलाइ फेरी भेट्दा, वा देखेमा भाई भनेर बोलाउनु ल !

    सुन ! तिमि त बाठो र बोलैया रैछौ, मेरो बारे किन जान्न चाहन्छौ मलाई सरोकार छैन तिम्रो जवाफ म दिन्छु ।

    अनि भन्नु न त

    यँहा सबै मानिस आफ्नै कामकुरोमा व्यस्त हुने गर्छन । दुबई मेट्रो को त, कुरा नगरौं, संधैभरी भिडभाड अनि कोलाहलको यात्रा हो । मेरो काम एक बहुराष्ट्रिय कम्पनीमा हो । म त्यंहा प्रशासनिक सहायिकाको पोस्टुमा कार्य गर्छु । दैनिक जसो हप्ताको छ दिन कार्यालय जान्छु । यो त संयोगमात्र हो, कहिलेकाँही केहि मानिसले आफ्नो फुर्सद निकालेर मलाई बाटो काट्न र अप्ठेरो, उकालो चढ्न सहयोग गर्छन । तर अन्य दिनमा म एक्लै हिड्ने गर्छु ।

    गाह्रो हुन्न र ?

    उनि मुस्कुराईन , म पनि फिस्स हाँसे ।

    आफुले जान्ने भएदेखि म एक्लै हिड्ने गरेको हुँ । मेरो देश… अन्यत्र नबताउने सर्तमा (हुँदा यति सफा फराकिलो र समथर जमिन नभएकै ठाममा घाम पानी, हिलो धुलो नभनी यात्रा गरें । यो त ति ठाम हेरी स्वर्ग हो ।

    ए ! काम गरे अनुसार पारिश्रमिक पाउनु भाछ त ?

    मैले प्रशसनिक फाँटमा काम गर्छु । हाहा ,, म त खुशिसाथ भन्छु, मेरो तलव ७००० (नेपाली दुइलाख) हो । अन्य आम्दानी कहिलेकाँही आउने गर्छ ।

    र कुरा गर्दै जाँदा उनले आफू एमबिए ग्राजुयट महिला र पहिले आफ्नो देशमा शिक्षिका रहेको बताइन् । उक्त कम्पनीको अन्तरवार्ता टोलिसँग प्रत्यक्ष रुपमा समावेश भइ, प्राक्टिकल, मौखिक सबै परिक्षा नै पास गरि युएईको दुबई आएकी बताइन् । उनको सारीरिक दुर्वलता भन्दा मानशिक क्षमता निकै माथि रहेछ । जसले उनलाई आत्मविश्वासी, निडर, स्वाभिमानी र निर्भिक भएर बाँच्न सक्षम बनाएको छ । हामी केहि मानिस देख्छौ, जो सारीरिक रुपमा सक्षम देखिए पनि मानसिक रुपमा दुर्बल र पराजित छन । जसले भन्ने गरेका हुन्छन ‘भाग्य नै छैन, के प्रयास गर्नु’ धेरैको सोचाइमा सोचेजस्तो जस्तो केहि हुन्न । र ति प्रयास गर्न छोडीदिन्छन । तर, जब म ‘जुनेली’ संग नजिकिए र यति संघर्षको कहानी छोटो समयमै जान्न पाए । म त अघिको म नै रहिन ।

    उनले भनिन् ‘मेरो बस्ने यतै हो अब म जान सक्छु ?’

    टेक केयर ! सिस्टर, बाइ’

    यु टू टेक केयर, गड ब्लेस यु

    भन्दै मुसुक्क हाँसेर जुनेली विदा भईन् ।

    बिदा मागेसंगै छुटे । अलि पर आए, ठिंग उभिए । म मेरो हात हेर्नथाले, खुट्टा हेरें, कान छामे, नाक, मुख आँखा सुम्सुमाए र चिसो मन गरेर एकछिन टक्क मुर्ति झैँ उभिएँ । अघिसम्म म आफैंलाई अभागी, पराजित मानसिकता भएको पाउंथे । हो ! म पराजित मानसिकताले ग्रस्त थिएँ । मसंग सग्ला दुइ हात खुट्टा छन, म राम्रोसंग हिड्न डुल्न र दौडन सक्छु । म राम्रोसंग सुन्न, बाल्ेन र हेर्न सक्छु । म त भाग्यमानी पो रहेछु । तर। अस्ति एकचोटी प्रयास गर्दा आफूले सोचेजस्तो नतिजा आएन भनेर लगभग, प्रत्यक्ष चिनेका, सामाजिक संजालबाट जोडिएका सबै सबैलाई गुनासो तथा आफ्नो पराजित सोच अनि बिचलित म बारे भन्न भ्याएको थिएँ । एकचोटी को प्रयास लाइ नै ठुलो मेहनत झैँ मानेर, त्यत्रो मेहनत गरें । तर, केहि हात लागेन, फेरी फेल भएँ । यसरी आफूले आफूलाई नै पराजित घोषणा गरि धेरैलाई दुख बाँडे । कतिको लागि म हाँसोको पात्र बने होला, कतिले मेरो मजाक बनाएर अरुलाई नि चुटकिला झैँ हंसाउन भ्याए होला ।

    तर अब म नयाँ म भएको थिएँ । एकदिनको संघर्षले केहि हुने रैनछ आज मैले जुनेलीलाइ भेटेपछी थाहा पाएँ ।

    उनी दिन दिनै संघर्ष गर्छिन । तर, उनले मसंग बोल्दै गर्दा दिएको मिठो मुस्कान, कुराकानीको बिचमा खित्का छोडेर आफू हास्ने र अरुलाई नि हँसाउने खालको हर्कत गरेको देख्दा लाग्यो, दुःख पिडा र संघर्षले नै मानिसलाई मानिस बनाउने गर्छ जसरि फलामले आगोको राप र घनको चाप सबे सहेर तरवार बन्छ । कोइलाको पत्थरभित्र जसरि हिरा भेटिन्छ त्यस्तै दैनिक प्रयासबाट नै जिन्दगीमा असली सफलता मिल्ने गर्छ ।

    जुनेलीले मलाई आफ्नो कहानी मात्र सुनाइनन् । उनि ति संघर्षको भुमरीमा फसिरहँदा, शारीरिक असक्षमताको भागी बन्दा र दैनिकी चलाउन यात्रा गर्दा भोग्नुपर्ने कष्टबीच पनि ति चम्किलो मुहारमा दाँत टिलक्क टल्काएर हाँसो छोडी भन्दैथिन, ‘जिन्दगिको परिभाषा बुझ्न चाहन्छौ भने सोध्न छोड, संघर्ष गर, संघर्ष मै जिन्दगि भेटिन्छ ।

    यस्ता हजारौ प्रेरणामुलक चिज हामी वरिपरी नै छन । तपाई निराश नहुनुस्, सुन्नुस्, पढ्नुस् ति कथा जो हाम्रो जीवनमा प्रेरणा बनेर आइरहन्छन् । जुनेलीले मलाई अझै प्रयास गर्ने, संघर्षशील जिन्दगी जिउने प्रेरणा दिएर गएकी छन । उनलाई लाख–लाख धन्यबाद ! संधै यस्तै रहनु, सबैलाई जीवन जिउन प्रेरणा दिनु र तिमि जीवनमा सफल हुनु । मैले फेरी भेट्दा तिम्रो अझ प्रगति भएको देख्न र सुन्न पाऊ । जुनेली तिमि ‘जून’ झैँ चम्केर सबैलाई प्रेरणाको उजेलो छरिरहनु । तिमी जँहा छौ र जे छौ, स्वस्थ रहनु, व्यस्त रहनु , प्रगतिले शिखर चुम्नु मेरो भगवान संग यही प्राथना गर्दछु ।

    बिदेशी अपांगता भएकी महिलासंगको वास्तविक भेटघाटसँगै मैले पाएको प्रेरणा यहाँहरुसमक्ष सेयर गर्दैछु ।

    १३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad