उता आफ्नै रङमा छ दुनियाँ
यता होहल्ला छ
कोलाहाल छ चारैतिर
कसैमा आक्रोश छ
कसैमा पीडा
कसैमा छ उकुसमुकुस
कतै सुनिन्छ रोदन
कतै छ चिच्याहट
बेहाल–बेहाल छ ।
तर, ऊ यसरी दौडिरहेछ
मानौं
पछ्याइरहेछ समयको कालो छाँयाले
लखेटिरहेछ सन्त्रासको आँधीले
बगाइरहेछ बाध्यताको भेलले
हो हल्ला र भिडमा पनि
म एक्लो छु
नितान्त एक्लो
मेरो मन एक्लो छ
मैले टेकेको धरातल नै
लाग्छ सायद एक्लो छ
एक्लै छ बतास
अनि खोज्दै ऊ
आफैँले उठाएका सपनाका
अनगिन्ती पोकाहरू ।
ऊ किन यसरी दौडिन्छ थाहा छैन
र म किन स्थिर छु ?
त्यो उसलाई थाहा छैन
म चुपचाप छु
यस्तो चुपचाप कि
मेरो छेवैमा छ बलेको टुकी
जसमा अलिकति मात्र तेल बाँकी छ
सकिनै लागेको छ सलेदो
त्यही धिपधिपे उज्यालोमा
म कोर्दै छु मेरो वर्तमानको कहानी ।
पुराना बाँसका भाटाले सजाएर बनाएको
एउटा छाप्रोभित्र छ
मेरो सपनाको महल
जहाँ छ
पुराना खबरी कागजलाई
भान्साका सिताहरूले
टाँसेर सजाएको भित्तो
मेरो घर
मेरो कोठा
मेरो सबै थोक
त्यही कोठाका भित्ताहरूमा
पेन्सिलले लेखेका
सपनाका शब्दहरू
सम्झिरहेको छु एकान्तमा
त्यसैले त म सुनसान छु
र चुपचाप छु ।
ऊ भने दौडिरहन्छ
किनकि उसले यी सबै कुराहरू
न भोग्नु पर्यो न त देख्नु नै
तर म चुप चाप छु
किनकि
पश्चिम दिशाबाट
मेघ गर्जनसहित चलेको हावाले
मेरो छाप्राको पुरानो हरियो प्लास्टिकलाई
उडाउँन खोज्दै छ पर
उडाउँन खोज्दैछ प्लास्टिकसँगै
मेरा सपनाहरू
मेरा भोलिहरू
अनि, भविष्यका रङ्गिन सपनाहरू
तर म चुपचाप छु
समाइरहेछु आधा फाटेको प्लास्टिक
जहाँ भित्र छ
मेरो एउटा कहानी
मेरो छाप्राको आधा छानो उडायो
मेरी आमाले म सानो छँदा
गुटुमुटु पारेर सुताउने थाङ्ना उडायो
उडायो,
चारवर्ष अघि दशैँमा किनेको आमाको नयाँ फरिया
उडायो,
केराको चोप लागेर टाटै टाटा भएको
पुरानो कमिज पनि
र, उडायो
कान्छी फुपूले बर्षौँ पहिले तिहारमा दिएको
बाबाको पुरानो ढाकाटोपी
तर,
मेरो सपना
मेरो अभावको हाँसो
र, मेरो कहानी
कहिल्यै उडाएन
त्यही भएर म चुपचाप छु ।
तर, ऊ चाहिँ दौडिरहन्छ
किनकि उसले यो सब भोग्नु परेन
म त यो सबै यथार्थको
जिउँदो साक्षी हो
छाप्राले मलाई अभावमा बाँच्न सिकायो
पीडामा हाँस्न सिकायो
सौहार्दता गाँस्न सिकायो
अनि सिकायो धेरै कुरा
त्यसैले म चुपचाप छु
यति धेरै चुपचाप कि
मेरो छेवैमा बलेको आशाको टुकी
अझै निभेको छैन
इति
वि.सं.२०७४ फागुन २२ मंगलवार ०४:४८ मा प्रकाशित