BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    यस्तो छ, नगाउँदेखि न्यूजिल्याण्डसम्म बाबुराजाको कथा

    संसार न्यूज संवाददाताबैशाख २०, २०७५

    bburaja-maharjan

    सन् १९५३ मे २९ मा सर एड्मन्ड हिलारले तेन्जिङ नोर्गे शेर्पाका साथ सगरमाथाको प्रथम आरोहण गरेका थिए । एड्मन्डको जन्म सन् १९१९ जुलाई २० मा न्यूजिल्यान्डमा भएको थियो । सगरमाथाको सफल आरोहणपछि एडमन्डले हिमाली क्षेत्रका शेर्पाहरूको सेवा गर्न हिमालयन ट्रष्ट स्थापना गरे । यसै सन्दर्भमा सर एड्मन्ड हिलारीसँग प्रतक्ष्य रुपमा भेटघाट गरेका न्यूजिल्याण्डमा बसोबास गर्ने बाबुराजा महर्जनसँग वार्तालाप गरिएको छ ।

    बाबुराजा महर्जन ऐतिहासिक नगर कीर्तिपुरको छेउमा पर्ने सानो बस्ती नगाउँमा ५९ बर्ष अघि एक मध्यम परिवारमा जन्मेका हुन् । बाबुराजाले नगाउँमै रहेको प्राथमिक स्कुलबाट पढाई शुरु गरी पांगामा रहेको जनसेवा हाईस्कूलबाट एसएलसी र त्रिचन्द्र क्याम्पसबाट बीएस्सी गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट बनस्पति शास्त्रमा एमएस्सी पुरा गरेपछि उनले वीरेन्द्र क्याम्पस भरतपुरमा र पाटन क्याम्पसमा करिब ११ बर्ष प्राध्यापन गरे ।

    सन १९९५ को अप्रिल महिनाको पहिलो हप्तामा बाबुराजा महर्जनका साथ तीन नेपाली परिवार एकै समयमा न्यूजिल्याण्ड पुगेका थिए । स्व कृष्णबहादुर मल्ल, पंचकृष्ण श्रेष्ठ र बाबुराजा त्यसअघि ८ परिवारहरू न्यूजिल्याण्डमा भएका र केहि समयमै १७ परिवारको बसोबास शुरु भएको उनी बताउँछन् ।

    नेपालीहरूको संस्था खोल्नु पर्ने आवश्कता ठानी बाबुराजाले पाकुराङ्गामा जोग लिम्बूको घरमा उनकै नेतृत्वमा एउटा ‘नेपाल न्यूजिल्याण्ड फ्रेन्डसिप सोसाईटी’ नामक संस्थाको शुरुवात गरे । यो न्यूजिल्याण्डमा पहिलो नेपाली संस्था थियो । सन् १९९८ मा यसलाई ‘न्यूजिल्याण्ड नेपाल सोसाईटी’ को नाममा परिवर्तन गरियो र यो आजसम्म पनि सक्रिय रुपमा संचालित भइरहेको बाबुराजाले बताए । निकै समय ‘न्यूजिल्याण्ड नेपाल सोसाईटी’को सचिवको पद पनि उनले सम्हालेका थिए ।

    एनआरएनए न्यूजिल्याण्ड एनसीसीको स्थापना बाबुराजाकै नेतृत्वमा सन् २००५ मा भएको थियो । विश्वकै इतिहासमा पहिलो पटक सगरमाथा आरोहण गर्ने तत्कालिन जीवित व्यक्तित्व सर एडमण्ड हिलारीलाई संस्थाको संरक्षकमा बसी दिनुहुन अनुरोध गर्ने मध्येका एक नेपाली बाबुराजा पनि थिए । सर एडमण्ड हिलारीले स्वीकार्य गरे र उनले सगरमाथा चढेको फोटो र उनको आफ्नै हस्ताक्षर राखी टीसर्ट बनाउने काम शुरु गरेको बाबुराजा ज्यादै गौरवका साथ बताउँछन् । उनले ती टीसर्टहरू संसारका विभिन्न मुलुकहरूमा पु¥याई एनआरएनए न्यूजिल्याण्डलाई विश्व सामु परिचित गराए ।

    बाबुराजाले एनआरएनए न्यूजिल्याण्ड एनसीसीको अध्यक्ष पद तिन पटक सम्हालेका छन । अध्यक्षका रुपमा पटक पटक सेवा गर्ने अवसर पाएकोमा र आफ्नो नेतृत्वलाई सफल बनाउन सहयोग गर्ने सबै न्यूजिल्याण्डबासी नेपालीहरू प्रति उनले कृतज्ञता व्यक्त गरेका छन् ।

    बाबुराजाले सर एडमण्ड हिलारीले सगरमाथा चढेको फोटो र उनको आफ्नै हस्ताक्षर राखी टीसर्ट बनाउने काम, सगरमाथाका सफल आरोहीहरूलाई सम्मान गर्ने लगायतका काम गरेका थिए ।
    त्यसैगरी एनआरएनए न्यूजिल्याण्डमार्फत बाबुराजाले न्यूजिल्याण्डमा नेपाल उत्सव मनाएर नेपाल र नेपालीको संस्कृति र पर्यटन विकासमा सहयोग पु¥याउने, नेपालका विभिन्न स्थानहरूमा आँखा र स्वास्थ्य शिविर संचालन गरि न्यूजिल्याण्डबासी नेपालीहरूको नेपालप्रति अगाध माया दर्शाउन काम गरेका छन् । न्यूजिल्याण्डमा नेपाली दूतावासको स्थापना गर्ने प्रयास जस्ता प्रमुख कार्यहरूलाई पनि न्यूजिल्याण्ड एनआरएनले सदैव साथ दिएको छ ।

    बिना अक्सिजन सगरमाथाको सफल आरोहण गर्ने प्रथम महिला लिडिया ब्राडे, एडमण्ड हिलारीका सुपुत्र पिटर हिलारी, दुवै खुट्टा नभए पनि शिखरमा पुग्न सफल प्रथम आरोही मार्क इंगलिस लगायत अरु २३ जना सफल आरोहीहरूलाई नेपाली समुदायका तर्फबाट सम्मान गर्न पाउनुमा गर्व ठान्दछन् उनी । स्थापनाकालमा ८७ जना सदस्यवाट शुरु भएको एनआरएनए उनको दोश्रो कार्यकालमा ९०७ जना सदस्य संख्या पुगेको थियो ।

    एनआरएनए न्यूजिल्याण्डको कार्ययोजना अनुसार हालै नेपालको सिन्धुपाल्चोकमा सम्पन्न आँखा तथा स्वास्थ्य शिविरबाट ४९ जनाले मोतियाबिन्दुको शल्यक्रिया पछि आँखा देख्न सक्ने भएका छन् भने १२८० जना बिरामीहरूको लागि उपचार र औषधी वितरण गर्ने काममा समेत महर्जन सक्रिय रहेको बताइन्छ ।

    बाबुराजाले २६ बर्षको उमेरमा रेणुका तुलाधरसँग बिबाह गरे । उनी ३१ बर्ष पुग्दा २ छोरीको बाबु भईसकेका थिए । अहिले दुबै छोरीहरूको समेत बिवाह भैसकेको छ भने जेठी छोरीको तर्फबाट
    ‘हजुरबुवा’ भन्ने नातिनी समेत पाईसकेका छन् । अहिले ‘समिट आलार्म’ नामको आफ्नै एउटा कम्पनी खोलेका छन् । आफू ‘फायर आलार्म’को व्यवसायमा संलग्न रहेको कुरा खुशीसाथ सुनाउँछन् । गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डका संस्थापक अध्यक्ष बाबुराजा हाल आईसीसी मानार्थ परिषद्का सदस्य पनि छन् ।

    प्रस्तुती : नवराज पोखरेल
    बुखारेष्ट, रोमानिया

    २४३३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad