BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    हजुरको बुट

    प्रकाश गुरागाईंआश्विन ११, २०७३

    prakash-guragai

    हजुरको बुट सुम्सुम्याइरहँदा
    म सोचिरहन्छु
    किन मान्छे कसैको जुत्ता जति सम्मानित पनि हुनसक्दैन ?

    हजुरको बुटको जस्तो कर्णप्रीय
    सत्ये
    अरु कुनै आवाज छैन
    हजुरले जस्तै चिटिक्क मिलाएर लगाउन
    अरु कसैले जानेकै छैन
    हजुरको कालो चम्किलो बुटलाई
    कुनै दिन
    मैले अझ चम्किलो बनाउन नपाएको सुन्दा
    नियास्रो मान्छन्
    मेरा श्रीमति र छोराछोरी पनि ।

    हजुरको बुट कहिल्यै फोहोर लागेन मलाई
    त्यसलाई बोकेर हातमा
    राखेर काखमा
    पत्रपत्र केलाएर
    हजुरले कुल्चेर आएका मजदुरका रगत
    हजुरले कुल्चेर आएका सत्केरीका स्तन
    हजुरले कुल्चेर आएको आफ्नै विर्य
    कालो पोतेर छोपछाप पारेपछि
    म मेरो भोक मेट्छु
    तर, बुझ्दिन
    हजुर किन मन पराउन्नुहुन्न कालो रंग ?

    जुत्ता खोलेपछि
    अलि पर तर्केर बस्नुहुन्छ
    ताकी नछोइयोस् हजुरलाई
    यी जुत्ता छोएका हातले
    नलागोस् पालिसको रंग
    हजुरको सफेद पोशाकमा
    नआओस् पसिनाको गन्ध
    हजुरले चपाएको पानमा मिसिएर
    र देख्नु नपरोस्
    आफ्नै जुत्ताले कति धेरै फोहोर टेकर जोगाउँछ हजुरलाई ।

    हजुरका जुत्ता काला बनाउँदा बनाउँदै
    मेरो दारी र कपाल सेता भइसके
    मैले झारेको जुत्ताको धुलो
    मैमाथि खनिएर
    फुस्रा भैसके हातखुट्टा
    आफुले आफैंलाई नचिन्ने गरी
    बाक्लो भइसक्यो अनुहार
    हजुर त उस्तै जवान देखिरहन्छु म ।

    हजुर जस्तै भाग्यमानी छन् यी जुत्ता
    घर पुग्नेवित्तिकै हजुरसँगै भित्रै जान्छन्
    मइसापले आफ्नै हातले जतनसाथ खोलिदिनुहुन्छ
    र मिलाएर राखिदिनुहुन्छ ¥याकमाथि
    जहा“ पालिस बोकेको मान्छे पनि पुग्न सक्दैन ।

    माफ गर्नुहोला हजुर
    धेरै वर्षपछि आज मलाई
    यो कालो पोलिस
    हजुरकै अनुहारमा पोत्न मन लागेको छ ।

    १७७१ पटक
    प्रतिकृया दिनुहोस्