BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    तरुलभ्याकुर

    कृष्ण प्रसाईँबैशाख २२, २०७५

    krishna-prasai

    घर छोड्नुअघि बन्धनी र कन्द्रुले पाकिसकेको तरुलभ्याकुरका चानालाई नुन खुर्सानीसँग चोबेर मीठो मान्दै खाएका थिए तर कान्छो छोरो असारुले भने केही खान मानिरहेको थिएन । गन्तव्य जङ्गल, लोग्ने स्वास्नीको एउटै भए पनि बिरामी छोरो घरमा एक्लै छोडेकाले जङ्गलको छेउछाउबाटै झिरीमिटी दाउराहरू बटुलेर चाँडै घर फर्कने इच्छा राखेर बन्धनी जङ्गलको बाहिरी किनारबाटै उत्तरतर्फ लागी । तरुलभ्याकुर निकै भित्री जङ्गलमा मात्र पाइने भएकाले स्वास्नीसँग छुट्टिएर कन्द्रु भने तरुलभ्याकुरको खोजीमा बीच जङ्गलतिर बेगियो । छुट्टिनु अघि कन्दु्रले भनेको थियो—

    “आज बेच्ने दाउरा होइन, बाल्ने दाउरा खोजेस् ।”

    जङ्गलतिर भासिएको केही क्षणपछि कन्द्रुले उसले जस्तै उसका छिमेकी र गाउँले सहजातिहरूले जङ्गलैभरि दुई–तीन फिट जति खनेर पुर्दै नपुरी अलपत्रै छोडिराखेका खाडलहरू ऊ हिडिरहेको बाटो वरिपरि प्रशस्तै मात्रामा देख्यो । स्वास्नीसँग छुट्टिएपछि कन्दु्र किसान एक हिसाबले तिनै खाल्डाखुल्डी हेरेर अगाडि बढिरहेको थियो । कहिलेकाहीँ त संयोगवश जङ्गलको केही भित्र पसेपछि अक्कलझुक्कल तरुलभ्याकुरका लहराहरू भेटिएर पहिलो खनाइमै पाइहालिन्थ्यो तर कहिले भने जङ्गलको धेरै भित्र पसेर दुई–तीन ठाउँमा भए भरको श्रम खर्च गरेर दुई–चार फिट गहिरो खन्दा समेत कुनै तरुलभ्याकुरका गिठ्ठाहरू फेला पर्दैनथे । अथवा जरा फेला परिहाले पनि आफै एकाएक हराउँथे । फलस्वरूप कोदाली काँधमा बोकेर रित्तै हात घरतिर फर्कनु पर्दथ्यो । तरुलभ्याकुरको खोजीले सारा शरीर माटैमाटोले लेपिएको हुन्थ्यो । अघिल्लो दिनका गिठ्ठाहरू बचेका छैनन् भने त्यो साँझ पेटभरि भोक पालेर अर्को सूर्योदयको खोजीमा समय गुजार्नु पर्दथ्यो ।

    कन्दु्र किसान यस्तै कुराहरू सोचेर, अनि यस्तै समयको कल्पनामा डुबेर, पोहोर यत्ति नै बेलाको समय सम्झिरहेको थियो । पोहोरको त्यो समय दुईदिनसम्म तरुलभ्याकुरका गिठ्ठाहरू नपाउँदा पानी मात्र पिएर उनीहरूका सारा परिवारले भोकभोकै बस्नु परेको थियो । उस्तै स्थिति र अवस्था बोकेका छिमेकी सहजातिहरूबाट पनि सहयोग नपाउँदा त्यही मौकामा कन्दु्रकी साठीवर्ष पार गरिसकेकी रोगी आमा खानेकुराको अभावमा भोकै मरेकी थिई ।

    मर्नेबेलामा उसले रुदै भनकी थिई रे ! “कन्दु्र छोरा, अरु जे सुकै गरे पनि ती मेरा भोका नातिनातिनीलाई तरुलभ्याकुर नपाएको झोँकमा बोरामा हालेर चै नकुटेस् है !”

    त्यसको भोलिपल्टदेखि नै हो, खानेकुरा मागेर कचकच गर्ने गरेका कन्दु्रका छोराछोरीहरूलाई जस्तो सुकै रिस उठे पनि उसले जुटको बोरामा हालेर कुट्न बन्द गरेको थियो । आमा बितेको दुई महिना पनि नबित्दै कन्दु्रकी सानी छोरी पनि झाडाबान्ताले मरेकी थिई ।

    सोचाइको तन्द्रासँगै उसले जङ्गलको धेरै बाटो काटिसकेको थियो । त्यो समय उसले घरतरुलको जस्तै लहरा भएर रुखहरूमा झुण्डिने वनतरुलको बेलो हेर्न नै बिर्सिएको थियो । यस्तो लाग्दथ्यो, मानौ ऊ जङ्गलको रमाइलो यात्रामा हिँडिरहेको छ ।

    बाटामा कन्दु्रलाई क्षण–क्षणमै छोराको सम्झना आइरहेको थियो । ऊ जङ्गलतिर लाग्ने बेलामा समेत छोरो ओछ्यानमा झोक्राएर बसेको थियो । बन्धनीलाई उसले छोराको स्याहारार्थ घरमै पनि राख्न नचाहेको होइन तर बन्धनीलाई घरमा राख्नुको परिणति त्यही हुन्थ्यो जुन कहिलेकाहीँ हुने गरेको थियो । साँझ दाउराको अभावमा तरुलभ्याकुर उसिन्ने अरु कुनै उपाय हुने थिएन । फलस्वरूप भोकै बस्नु पर्ने हुन्थ्यो । फेरि तरुलभ्याकुरका गिठ्ठाहरू दुई–दुई पटक उसिनेर मात्रै खाने गरिन्थ्यो । अगिल्लो दिन उसिनेर चानैचाना पारिसकेर खोलामा रातभरसम्म भिजाउँदै गिठ्ठामा रहेको कोक्याउने स्वाद निख्रिसकेपछि मात्र पुनः उसिनेर खाइने हुँदा दाउराको खपत अरु पकवानमा भन्दा त्यसमा ज्यादा हुने गर्दथ्यो ।

    कन्दु्रको घरमा छोरो असारु बाहेक अरु कोही पनि रहेका थिएनन् । असारुकी हजुरआमा छउन्जेर त उसलाई खेलाउने र फुल्याउने कामको चौकिदारी थियो तर आफ्नी आमा स्वर्गे भएपछि कन्दु्रले अर्को सानोतिनो अभाव भोग्नु परेको थियो । कन्दु्र किसानमा यस्ता धेरै कुराहरू एकपछि अर्को भएर मनभरि उर्लिरहेका थिए । भदौ महिना भएकाले आकाशमाथिको घाम प्रचण्ड चर्किएको थियो त्यतिमात्र होइन मानसिक अशान्तिको राप कन्दु्रको दिमागमा अझ चर्को गरी घुसेको थियो । जसले गर्दा पनि उसलाई अझ गर्मी महसुस भइरहेको हुन सक्छ । सूर्यको प्रचण्ड रापलाई छेकेर सालका बडेमान रुखहरूले क्षण–क्षणमा छाता ओढाएपनि जङ्गलभित्र हावा छिर्न नपाएकोले वाफिलो उष्णता उसको कालो छालाभरि पसिना भएर उत्रिएको थियो ।

    कन्दु्रले आफ्नो मुजैमुजा परेको निधारमा अडिएका पसिनाका थोपाहरूलाई आफ्नो मैलो र थोत्रिसकेको धोतीको सप्कोले एकपटक पुछ्यो र धोतीको अर्को किनारी भागमा बेरर राखेको खैनीको डिब्बाबाट खैनी निकाल्यो । त्यसपछि केही समयसम्म खैनीलाई हन्केलामा राखेर माड्यो । यसको लगत्तै पछि दुई–तीन पटकसम्म प्याट्प्याटी आवाज निकालेर दाहिने हातको औँलाले देबे्र हातको हत्केलामा रहेको खैनीलाई पिट्यो, अनि खैनीबाट निस्किएको रहल ढुटोलाई मुखले फुकेर फ्याँकिसकेपछि हातमा बँचेको बाँकी खैनीलाई दाहिने हातको बुढी र चोर औँलाले चेपेर ओठभित्र राख्यो ।

    जङ्गलभित्रको एउटा सालको रुखमा घामबाट छेलिएर शीतल तापिरहेको कन्दु्रले खैनी खानुअघि त्यही रुख छेउमै बिसाएको आफ्नो कोदालोलाई एक दृष्टि फ्याँक्यो । केही चिन्तित देखिइँदै गएको कन्दु्रले रुखमा अडेस लागेर आकाशतिर आँखा घुमायो । ऊ उभिए वरिपरिका रुखहरू आकाशै छेडुला झैँ गरी तिखारिएर माथि उठेका थिए । बाँच्नको लागि खजाना खोजेर बाहिर भौतारिरहनु नपर्ने ती रुखहरू ऊ भन्दा पनि अग्लो भएर बाँचेकोमा उसलाई रुखहरूप्रति डाह समेत पलाइरहेको थियो । आफू पनि रुख हुन पाएको भए यति दुःखहरूको सामना गर्नु पर्ने थिएन होला भनेर उसले मनमनै सोच्यो । उसका अरु पनि सोचाइहरू अथाह उर्लिरहेका थिए तर जब कन्दु्रको देबे्र खुट्टाको पिँडुलामा एउटा ब्याँगे कमिलाले चरक्क चिल्यो तब उसले तर्सिदै आफ्नो गोडो माथि उठायो । एउटा खुट्टाले मात्रै उभिनु पर्दा त्यतिखेर ऊ झन्डै अगाडि लड्न पुगेको थियो । त्यतिखेर उसलाई झण्डै उसको अघिल्तिर रहेको कोदालोले काटेको पनि थियो तर संयोगवश ऊ त्यसो हुनबाट जोगियो । आफ्नो देब्रे पिडुलामा त्यसरी चिल्ने ब्याँगे कमिलालाई समातेर उसले कच्याककिचिक पारेर भुइँमा फ्याँक्यो र कमिलाले टोकेको ठाउँमा हातले केही क्षण सुमसुम्यायो । उसलाई एक किसिमको रिस उठिरहेको थियो । एक किसिमको खल्लो महसुस गर्दै कोदालो काँधमा हालेर कन्दु्र किसान त्यसपछि तरुलभ्याकुरको खोजीमा पट्टेर जङ्गलतिर भासियो ।

    जङ्गलको बाहिरी किनारातिर बन्धनीले धेरैबेरसम्म स–साना दाउराहरूको खोजी गरी तर कसैगरी आफूले सोचे अनुसारका दाउरा पाउन सकिन । रित्तै घर फर्केर कन्दु्रको पिटाइ खानु भन्दा केही भित्र पसेर कम्ती नै भएपनि दाउरा खोजी हालौँ भन्ने सोचेर ऊ दाउराकै खोजीमा क्रमशः जङ्गलको सतहलाई चिर्दै अगाडि बढ्न थाली । दाउरा खोज्ने काम सजिलो भएपनि पाउन ज्यादै कठिन परिरहेको थियो । उसले आज त मझौलो खाले बन्चरो पनि घरमै छोडेकी थिई । स–साना दाउरा हातैले भाँचेर आफ्नो काम चलाउन सकिन्छ भन्ने कुरामा दृढ भएर नै उसले सधैँ बोक्ने गरेको बन्चरोलाई आफ्नो छाप्रोमै छोडेकी थिई । एउटा भएको खुकुरी पनि दुईवर्षअघि बनपालेहरूले लखेट्दा जङ्गलभित्रै छोडिएको थियो ।

    जङ्गलको किनारभन्दा भित्र यस अघि एक्लो रूपमा ऊ कहिल्यै पनि पसेकी थिइन । समूहमा हुँदा पनि डर मान्नु पर्ने त्यो जङ्गलभित्रको परिवेशमा उसका प्रत्येक बढिरहने पाइलाहरूले उसको मुटुलाई ढुकढुक्याएर कमजोर बनाउँदै लगेका थिए । जङ्गलभित्र सानोतिनो आवाज निस्किए पनि ऊ ससङ्कित हुने गरेकी थिई । बन्धनीले चारैतिर आँखा फ्याँकी । जङ्गल अथाहा भएर लम्बिएको थियो । त्यतिखेर त्यहाँ कुनै रुखहरू पनि ढलेर सुकेका थिएनन् । कुनै सुकेका हाँगाहरू पनि रुखबाट टुक्रिएर झरेका थिएनन् । दाउरा नपाएकोमा बन्धनीलाई धेरै नराम्रो लागिरहेको थियो । दाउराबाहेक कन्दु्रको डर र छोराको चिन्ता एकै पटक उसको मस्तिष्कमा खेल्न आइपुग्ने गर्दथे । जङ्गलभित्र लाग्ने डरले पनि उसको धुनलाई चिथोरिरहेको थियो अझ भनौँ जङ्गली जनावरहरूभन्दा पनि मान्छे नै उसका लागि डरको कारण बनेका थिए र मान्छेहरूलाई अहिलेसम्म मान्छेबाहेक अन्य जनावरहरूले आक्रमण गरेको उसलाई थाहा थिएन ।

    बन्धनीलाई विगत छमहिना अघिको एउटा घटना सम्झेर जङ्गलको वास्तविक यथार्थप्रति घृणा पलाइरहेको थियो । जङ्गलभित्रबाट जतिसुकै अत्याचार सहनु परेपनि जङ्गल जानु त्यतिकै अनिवार्यमा थियो जति बाँच्नु अनिवार्य छ । मान्छे भनाउँदाहरूले नै जङ्गली जनावरको रूप लिएर जङ्गलभित्र दाउरा खोज्न जाने आइमाईहरूमाथि दिउँसै आक्रमण र बलात्कार गर्न थालेका धेरै दिनहरू भैसकेका थिए । मान्छेहरूले नै सोझा र नीरिह आइमाईहरूको इज्जतमा कपर्दी खेल्न थालेका थिए । अस्तिमात्रै त हो छेउकै रनाहा किसानकी श्रीमतीलाई बनपाले भनाउँदा वनरक्षकहरूले भक्षक भएर पालैपालो गरी सामुहिक बलात्कार गरेर मारिसकेपछि उसको लासलाई रुखमा झुण्ड्याइदिएका । केही दिनअघि त हो कसुरै बिना फागुनीलाई दाउरा खोजेको निहुँमा जङ्गल किनारबाटै पक्रेर तीनरातसम्म रेन्जर कार्यालयमा थुनिसकेपछि उसको लोग्ने भनाउँदो चैतु किसानले बनपालेसँग बात लगाएर फागुनीसँग सम्बन्धच्युत गरेको । आखिर यी सबै कुराहरूमा कसको दोष थियो र ?

    आजभोलि माान्छे रूपी राक्षसहरू हिंश्रक भएर हाम्रै वरिपरि घुमिरहेछन् । तिनीहरूलाई पक्रिने र थुन्ने कसले होला ? बन्धनीको कामिरहेको मन विरोध भएर जागिरहेको थियो ।

    यी पहाडियाहरू हाम्रो जमिन पनि हडप्छन्, हामीलाई नै थुन्छन्, हामीलाई नै बलात्कार गर्छन् र दण्ड सजाय पनि हामीहरूलाई नै दिन्छन् । त्यतिमात्र होइन यिनै पहाडियाहरूको नोकरी पनि हामीले नै गर्नुपर्छ अनि ऋणमा पनि हामीले नै थोपरिनु पर्छ । किन यस्तो भएको होला ? बन्धनी मनमनै गम्न छोडेकी थिइन । आफ्नो एक कठ्ठा पनि जमिन नहुने मान्छेहरूले कहाँबाट दाउरा ल्याउनु होला ? आफ्नो एउटा पनि रुख नहुने गरीबले कसरी पकाएर खानु होला ? गोबरका गुँइठा पनि त गाईवस्तु हुनेले राख्न सक्छन्, कुखुरा मात्रै हुने हामीहरूले कसरी गुजरा गर्नु ? आफ्नै हातखुट्टाहरूको दाउरा बनाएर बाल्न पनि त सकिँदैन । ऊ अझै तड्पिरहेकी थिई ।

    बन्धनीले देखेकी थिई उनीहरूको गाउँछेउमै बसेको पहाडिया मालिकले त्यही जङ्गलबाट ठूलठूला रुख काटेर चिरान गरिसकेपछि निस्केका तख्ती, बिम र बटमहरूलाई गोरुगाडामा लादेर बाहिर बेच्ने गरेको थियो । तिनै हरिया बर्दी लगाउने बनपाले भनाउँदा बन्दुकधारीहरूलाई बेलुका आफ्नो घरमा बोलाएर रक्सी र कुखुरा खुवाउने गरेको थियो । भनौँ गाउँमा भेटिएका रक्सी र कुखुरा ओसारेर रातभरि मताउने गरेको थियो । भर्खरै मात्रै त हो त्यही फागुनीको सरजिमिन गरेको दिन गाउँको त्यो पहाडिया देउनियाले कन्दु्रसहित गाउँका धेरै किसान आदिवासीहरूलाई सरजिमिनको कागजमा ल्याप्चे थिचाएर फागुनीले आफै झुण्डिएर मरेको भनी साक्षी बकाएको । त्यो साँझ फागुनीलाई बलात्कार गरेर मार्ने तिनै बनपाले हरूलाई त्यही पहाडिया देउनियाले रक्सीसँग खुवाउन भनेर जबरजस्ती गरेर फुल पार्दापार्दैको पोथी कुखुरो लगेर अझैसम्म पैसा तिरेको थिएन । पहाडियाहरू त्यहाँ नआउन्जेलसम्म त्यति धेरै अन्याय सहनु परेको बन्धनीलाई थाहा थिएन । झन् जब उनीहरूको गाउँमा कानून पस्यो तब उनीहरूले सरकार खेलाउनेहरूबाटै दुःख पाइरहेका थिए ।

    जङ्गलभित्र एकाएक हल्का पाराले रुखका पातहरू बजेको आवाज सुन्ने बित्तिकै बन्धनी सोचाइको तन्द्राबाट पुनः झस्किई । उसले चनाखो हुँदै चारैतिर आँखा घुमाएर हेरेकी थिई । दुईसय गज जति टाढा तिनै बर्दीधारी बनपालेहरू आफू भएतिर अगाडि बडिरहेको देख्दा बन्धनीको एक पटक होस हवास उडे जस्तो भयो । उसलाई आफ्ना सम्पूर्ण नौनारी गले जस्तो लाग्यो र ऊ फत्रक्क भुइँमा लडी ।

    कन्दु्र किसान त्यो दिन सधैँभन्दा ज्यादा तरुलभ्याकुर बोकेर केही ढिलोगरी आफ्नो छाप्रोभित्र पस्यो । भित्र पस्ने बित्तिकै आफ्नै आँखाअघि उसले अर्कै दुर्दशा बाँचिरहेको देख्यो । छाप्रोभित्र उसको छोरो असारु उधोमुन्टो लगाएर लमतन्न लडेको थियो । बिहान सुताएको ओछ्यानभन्दा केही पर भुइँमा छोरो हल न चल भएर घोप्टिएको देख्दा उसको मन सिरिङ्ङ भयो । कन्दु्रले एक–दुई पटक छोराको नाम काढेर उसलाई बोलायो पनि, तर प्रतिउत्तर केही फर्केन । निधारको पसिना पुनः पुछेर उसले छोरालाई फर्काउन खोज्यो तर छोरो अघि नै मृत्युको मुखमा परिसकेकोले शरीर फर्काउँदा काठ जस्तो अररिएर उत्तानो प¥यो । असारुको मुखभरि माटैमाटो पोतिएको थियो । छेउछाउमा राल सिङान पनि लत्पतिएको देखिन्थ्यो ।

    कन्द्रु किसान गलेर थचक्क भुइँमा बस्यो र एक्कासि ठूलो आवाज निकालेर रुन थाल्यो । उसको रुवाई सुनेर कन्दु्र किसानसँगै छाप्रोभित्र पसेका उसका कुखुराका चल्लाहरू तर्सिएर केही हच्के । धेरै बेरपछि ऊ घुकघुक गर्न थाल्यो तर धेरै अबेरसम्म पनि गाउँले छाप्राका अरु किसान आदिवासीहरू त्यहाँ आइपुगेका देखिएनन् । हुनसक्छ छाप्राहरू मात्रै एक्लै छोडेर उनीहरू पनि बाँच्नु पर्ने विवशताको औषधि खोज्न जङ्गलतिर लागेका हुँदाहुन् ।

    धेरैबेरसम्म रोएको कन्दु्र किसानले बिस्तारै उठेर चारैतिर आँखा फ्याँक्यो र आँखा घुमाउँदै अन्तिम नजर छोरामाथि बिसायो । मृतक छोराको अनुहारमा झिँगाहरू भन्किरहेका थिए । उसले कामिरहेको एउटा हात हल्लाएर छोराको अनुहारमा बसेका झिँगाहरू धपाउँदै लामो सास फे¥यो । उत्तानो परेर लडेको छोराको लास छेउमै त्यसै दिन बिहान खाएका तरुलभ्याकुरका जुठा भाँडाहरू लडिरहेका थिए ।

    बन्धनी अझै जङ्गलबाट फर्किसकेकी थिइन ।

    समष्टि’, २०४७ ।

    किसान — जनजाति झापा जिल्लाको उत्तरपूर्वी सीमावर्ती इलाकामा बस्ने ज्यादै कम जनसङ्ख्या भएका नेपालका आदिवासी हुन् । नेपालभरि चालीसवटा घर परिवार भएका किसान समुदाय निरक्षर, गरीब र सोझा छन् । भदौ र असोज महिनाभरि नै उनीहरूलाई अनिकाल पर्ने हुँदा आसपासका जङ्गलबाट जङ्गली तरुलभ्याकुर र कन्दमुल खाएर जीवन निर्वाह गर्ने गर्दछन् ।

    ७४१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad