BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    बेल्जियम बसाईलाई बिट मार्दै कालिज पालनमा जम्दै अधिकारी

    संसार न्यूज संवाददाताबैशाख २४, २०७५

    kalij

    कास्कीका पदमराज अधिकारीले २१ वर्र्षे बेल्जियम बसाईलाई बिट मारेर नेपालमै व्यवसायिक कालिज पालन सुरु गरेका छन् ।

    २१ वर्ष अगाडि बेल्जियम पुगेका पदमराज अधिकारी बेल्जियम जानुभन्दा पहिले शिक्षक थिए । कास्कीको रुपाकोट ५ मा जन्मिएका ५५ वर्षे पदम अधिकारीले रुपाकोट सिता प्रावि, आँपुभन्ज्याङ कालिका मावि, भरतपोखरी गाविस र विर प्रावि रिठ्ठेपानीमा समेत गरेर झण्डै १३ वर्ष शिक्षण पेशा गरे । परिवारका सदस्य बेल्जियम पुगिसकेकोले र व्यापारको सिलसिलामा उनलाई पनि बेल्जियम जाने अबसर जु¥यो । ‘साथीको एक्सपोर्ट इम्पोर्टको व्यवसाय थियो, उहाँसँगै सन् १९९६ मा बेल्जियम गएको थिएँ, साथी फर्कनु भयो, म रेफ्युजीको केस हालेर बेल्जियममै बसेँ ।’ बेल्जियम पुगे पछिका ती दिनहरू सम्झे अधिकारीले ।

    उनले बेल्जियम पुगेको २ वर्षमा त्यहाँ बस्ने अस्थायी कागज पाए भने ६ वर्षमा त्यहाँको नागरिकता नै लिए । सुरुमा जागिर गरेका उनले पछि ओस्टन्डेमा आफ्नै रेष्टुरेण्ट व्यवसाय गरे । समुद्रको किनारमा (सि साइडमा) जर्मन र फ्रान्सबाट कपडा ल्याएर बेच्ने काम गरे, ओस्टन्डेमै किराना पसल (ग्रोसरी) पनि चलाए । तर, पछि फेरि उनी जाँगिरमै फर्किए । उनले रेष्टुरेण्टमा कुकको काम गरे । रेष्टुरेण्टमै कामगर्ने क्रममा साथीभाइसँग घुम्नका लागि ब्रुजको गाउँतिर पुगेका उनलाई कालिज पालनको मोह त्यतिबेलै लागेको हो । गेन्टको नजिकै रहेको कालिज हेर्दा र नेपालमा बन्देज गरिएको, राजा महाराजा अनि मन्त्रीहरूको मात्र पहुँच पुग्ने कालिजको बेल्जियममा व्यवसायिक रुपमा पालन गरेको पाउँदा उनलाई अचम्म लाग्यो । उनीहरूले कालिजको चल्ला लगेर पाल्ने निर्णय गरे । तर, त्यतिबेला कालिजको चल्ला पाइने सिजन थिएन्, उनीहरू फेरि सिजनका बेला त्यहि फार्ममा पुगेर १ सय चल्ला लिएर आए । त्यहिका बेल्जियन नागरिकको जग्गामा कालिज पाल्ने ठाउँ बनाए । उनीहरूले त्यहाँ बिक्रि गर्न नभएर आफूले खानका लागि पालेका थिए । यो कुरा सन् २०१४ तिरको कुरा हो । ‘नेपालमा कालिज पाल्न र खान बन्देज छ, तर, त्यहाँ व्यवसायीक रुपमा कालिज पालन गरिन्छ । हरेक रेष्टुरेण्टहरूमा कालिजको मासु पाइन्छ । एउटा कालिजको १० युरोमा बिक्रि हुन्छ’ उनले कालिज पालन गर्नुभन्दा पहिलेको अनुभव सुनाए ।

    kalij3
    उनलाई त्यतिबेला नै लागेको थियो, नेपालमा पनि कालिजको व्यवसायिक पालन गर्ने । तर, भनेजस्तो सहज थिएन् । नेपालमा कालिज पालन बन्देज छ । उनी सन् २०१५ मा नेपाल आए । कालिज पालनका सहजता र असहजता बुझे । जिल्लास्थित बन कार्यालयमा मात्र नभएर बन विभाग काठमाडौँमा पनि धाए । त्यहाँ उनलाई कालिज पालनका लागि बन्देज रहेको भएपनि कम्पनी दर्ता गरेर कानुनी प्रक्रिया पु¥याएर बाहिरबाट क्वारेन्टाइन पास गरेर ल्याएमा काम गर्न सकिने सल्लाह वनविभागका निर्देशकले दिए । त्यहि सुझावका आधारमा उनले सुरु गरे कालिज पालन ।

    पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ लामगादीमा सन् २०१५ को अन्तिमतिर २० रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर ‘नेपाल वाइल्ड फुड प्रोडक्ट’ नामक कम्पनी नै दर्ता गरे । २० रोपनी जग्गाको रोपनीको १० हजारका दरले उनले बार्षिक २ लाख रुपैयाँ भाडा तिर्छन् । हाल उनको कालिज फार्ममा झण्डै ७ सय कालिज रहेका छन् ।

    kalij4
    अन्य उत्पादनमा जस्तै उनले व्यवसायिक रुपमा उत्पादन गरेको कालिजको बजार समस्या भने छैन । उल्टो माग पु¥याउन नसकेको बताउँछन् अधिकारी । उनले अहिलेसम्म पोखराको लोकल बजार छाडेर धरान, झापा, विरगज, काठमाडौँसम्म पु¥याएका छन् कालिजको मासु । अधिकारीले आफ्नै फार्ममा होमस्टे जस्तो बनाएका छन् । फार्ममै आएर आफूले पकाएर दिएको एउटा कालिजको ३५०० रुपैयाँ लिन्छन् भने बाहिर काँचो मासु बेच्दा ३ हजार सम्ममा बेच्ने गरेका छन् । जसको तौल एक देखि डेढ किलोसम्म हुन्छ ।

    अधिकारीले कालिज पालनका लागि अन्डा भने बेल्जियमबाटै ल्याएका हुन् । उनले २०१५ मा त्यहाँको क्वारेन्टाइन पास गरेर दुवै देशमा भन्सार शुल्क तिरेर जहाजमै दुईपटक गरेर २४ सय अन्डा ल्याएका थिए । त्यसमा १२ सय अन्डा फ्रान्सबाट पनि ल्याएका थिए । ‘फ्रान्सबाट ल्याएको अन्डाबाट त्यतिधेरै उत्पादन गर्न सकिएन । त्यहाँको चिसो मौसममा उत्पादन गरिएका अन्डाहरू यहाँको वातावरण नमिलेको कारण अहिले १ सय वटामात्र कालिज रहेको’ अधिकारी बताउँछन् ।

    padam-adhikari
    उनले कालिजका लागि दानाका रुपमा हरियो जौँ घाँस, मकै र गहुँ खुवाउँछन् । कालिजका लागि जौंको दाना असाध्यै राम्रो हुने हुनाले उनले यो वर्षदेखि जुम्लाबाट जौंको दाना नभएर प्रशोधन नगरिएको बाला नै ल्याएर खुवाउने योजना बनाएका छन् । यसका लागि अधिकारीले जुम्लाका किसानहरूसँग सम्पर्क गरिसकेको बताए । उनका अनुसार कालिजका लागि बढी चिसो हावापानी चाहिन्छ । १८ हप्तामा कालिज पूर्णरुपमा खान लायक हुन्छ ।

    kalij

    यतिका वर्ष बेल्जियम बस्नुभयो, अहिले बुढेशकालमा नेपालमा किन बस्न थाल्नुभयो भन्ने ऐक्यबद्धताको प्रश्नमा उनले भने ‘भौतिक रुपमा गाडी, घर, पैसाले केही समय भुलाए पनि एक्लोपनमा त देशको सम्झनाले यतै बोलाउँदो रहेछ अनि देश फर्कने सोँच बनाएँ । ”

    अधिकारीका परिवार भने बेल्जियममै छन् । दुई छोरा र एक छोरीका बाबु रहेका अधिकारीका छोरा आवाज अधिकारीले बेल्जियममै नेपाली रेष्टुरेण्ट चलाएर बसेका छन् भने एक छोरा इन्जिनियर र छोरीले यहि वर्ष चार्टड एकाउन्टेन (सिए) सक्दै छिन् । उनकी जीवन संगीनीले पनि रेष्टुरेण्टमै जागिर गर्र्दैछिन् । उनलाई बुढेशकालमा एक्लै बस्नु हुँदैन भनेर परिवारको दबाब भने नआएको होइन्, तर उनले परिवारलाई मनाएरै यतै बस्ने निर्णय गरेका हुन् ।

    उनलाई अहिले सबैभन्दा बढी खुसी ८५ वर्षीया आमालाई साथ दिन पाउँदा लागेको छ । भन्छन् ‘मेरो ८५ वर्षिया आमा हुनुहुन्छ । उहाँलाई हाम्रो साथ चाहिने बेला सँगै बस्न पाउँदा सबैभन्दा बढी खुसी लागेको छ ।’

    उनलाई वास्तवमा यहाँ बसेर जीवन गुजारा गर्नका लागि पैसा कमाउनु पर्छ भन्ने पनि छैन् । जीवनको दुईदशक बढी बेल्जियममा बिताएका उनलाई पैसाको खाँचो त छैन् । तर, देशमा बस्दा आफूलाई पनि भुल्ने बाटो हुने र राज्यलाई पनि योगदान हुने भनेर उनले यो नौलो व्यवसाय सुरु गरेका हुन् । झण्डै १ करोड लगानी पुगिसकेको उनको कालिज फार्ममा उनका भान्जा सोमनाथ लामिछानेको पनि लगानी रहेको छ । भेटनरी डाक्टर रहेका लामिछाने पनि कालिज फार्ममै रमाएको बताउँछन् ।

    तपाई यतिका वर्ष बेल्जियम बस्नु भएको मान्छे अन्तमा देश फर्किदा त्यहाँको नागरिकता त्याग्नुपर्छ त्यो सक्नुहुन्छ त ? ‘सक्छु नी, तर, अहिले होइन्, अब २ वर्षपछि । मैले २०१९ सम्ममा १ लाख कालिज पु¥याउँछु अनि २०२० पछि बेल्जियम छोड्छु । त्यतिबेला सम्म मैले बेल्जियन सरकारबाट पाउने सुविधाहरू पनि सबै पाउँछु । त्यो लिएर यतै बस्छु बेल्जियम फर्कन्न् ।’ अधिकारीले कालिजको व्यवसायिक पालनसँगै सोहि ठाउँमा रिर्सोट पनि खोल्ने सोँचमा छन् ।

    बेल्जियममा रहँदा उनका केही नमिठा अनुभूति छन् । त्यहिको नागरिक भनेर कागजपत्र हुँदा पनि दोश्रो देशको र दोश्रो दर्जाका नागरिकका रुपमा त्यहाँका नागरिकले हेर्दा उनलाई नरमाइलो लाग्छ । चाडपर्वमा पनि देश र गाउँमा जस्तो सबै मिलेर, सबैका घरमा पुगेर टिका आर्शिवाद लिनुजस्तो मजा बेल्जियममा नपाउँदाको पीडा पोख्छन् अधिकारी, ‘दसैं तिहारमा एक्लो कोठाभित्र परिवार मात्रै बसेर दसैं मनाउनु पर्छ, त्यहाँका मानिसलाई जति आफ्नो बनाउन खोजेपनि उनीहरूको नजरमा हामी सधै दोश्रो देशकै नागरिक हुन्छौं । विभिन्न काममा कागजपत्र देखाउँदा ‘तेरो ओरिजन’ कहाँ हो ? भनेर सोध्छन् अनि पीडा हुन्छ ।’

    ‘हामी पनि देश फर्केर केही गर्छौ’ भन्ने साथीहरू बेल्जियममा धेरै रहेको बताउँछन् अधिकारी । ‘मेरा उमेरका धेरै साथीहरूले तपाइले सुरु गर्नुभयो हामी पनि बिस्तारै फर्किन्छौं भन्नुभएको छ’ अधिकारी सुनाउँछन् । प्रस्तुति : चन्द्रिका राना (चन्दा)

    २६९१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad