BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    तरकारी बेचेरै छोरीलाई डाक्टर बनाउँदै पार्वती

    संसार न्यूज संवाददाताजेठ ६, २०७५

     

    पराई घर कस्तो हो ? भन्ने बुझ्न नपाई वैवाहिक बन्धनमा बाँधिएकी पार्वतीका श्रीमान कुलतमा परे । कतिपय अवस्थामा सम्पत्ति नै बेचेर रक्सी खाने गर्न थाले । छोराछोरी पनि जन्मिए । तर, श्रीमानको अवस्थामा सुधार आएन । ससुरा थमनबहादुर थापा भने मनकारी थिए । उनैले छोरा बिग्रियो बुहारीले दुःख पाउछे भनेर ५ रोपनी खेत बुहारीको नाममा गरिदिए । अनि त उनलाई आयआर्जन गरेर खाने बाटो खुल्यो ।

    अधिकांश नेपाली महिलाहरूलाई परम्परागत सोचले गाँजेको पाइन्छ । श्रीमानले कमाएर दिएको पैसाले घरको गर्जो टार्ने मात्र नभएर त्यहि पैसा आफ्नो अन्य आवश्यकतामा खर्चन्छन् । प्राय श्रीमती, श्रीमानले कमाएर हातमा कहिले पैसा थमाइदिन्छ भन्ने प्रतिक्षामा हुन्छन् । तर, त्यस्ता पनि केही महिला छन् जो आफ्नो कमाइमा आफै रमाउने मात्र नभएर छोराछोरीको उज्यालो भविष्यको सपना देख्छन् । हो, त्यस्तै सपना देखेकी मात्र छैनन् साकार पनि बनाउँदै गएकी छन्, म्याग्दे गाउँपालिका वडा नं ५ तनहुँकी पार्वती दर्लामीले । पार्वतीको संघर्ष, मेहनत र प्रगतिशील सोचले जो कोही मै हँु भन्नेलाई पनि फिका बनाइदिन्छ । समय र परिस्थितिले पार्वती खारिदै गएकी छन् । परिपक्व भएकी छन् । समाजमा उदाहरणीय बनेकी छन् । अनि आफूजस्तै महिला दिदीबहिनीको जीवनस्तर कसरी उज्यालो बनाउन सकिन्छ भनेर रातोदिन लागि रहन्छिन् । पार्वतीको एउटै सोंच छ, समय र परिस्थिति अनुसार  समग्र महिला दिदीबहिनीलाई कसरी अगाडि बढ्न सिकाउने भन्ने ।

    ३६ वर्ष अगाडि स्याङजाको मग्याम चिसापानी हालको हरिनास गाउँपालिकामा जन्मिएकी थिइन् पार्वती । उनी डेढ वर्षकी हुँदा बाबुआमासँग तनहुँ आएकी थिइन् ‘सायद म डेढ वर्षकी थिएँ त्यतिबेला’ विगत सुनाईन् पार्वतीले ।

    सात कक्षामा पढ्दै थिइन् उनी । गाउँकै केटा माग्न आए, परिवार राम्रो, सम्पत्ति पनि राम्रो भनेर बाबुआमाले १४ वर्षकै उमेरमा बिहे गरिदिए । अनि त दुःखका दिन सुरु भए पार्वतीका । बिहे भन्ने के हो ? पराई घर कस्तो हो ? भन्ने बुझ्न नपाई वैवाहिक बन्धनमा बाँधिएकी पार्वतीका श्रीमान कुलतमा परे । कतिपय अवस्थामा सम्पत्ति नै बेचेर रक्सी खाने गर्न थाले । छोराछोरी पनि जन्मिए । तर, श्रीमानको अवस्थामा सुधार आएन । ससुरा थमनबहादुर थापा भने मनकारी थिए । उनैले छोरा बिग्रियो बुहारीले दुःख पाउछे भनेर ५ रोपनी खेत बुहारीको नाममा गरिदिए । अनि त उनलाई आयआर्जन गरेर खाने बाटो खुल्यो । ‘ससुरा यो संसार छोडेर गइसकेको भए पनि उहाँको गुन कहिल्यै बिर्सन्न’ सासुले पनि मेरी बुहारी उदाहरणीय भनेर गर्व गर्नुहुन्छ ।’ भावुक हुँदै पार्वतीले सुनाइन् ।

    बाध्यता र परिस्थितिले घेरिए पनि पार्वतीले आफ्नो मन बलियो बनाइन् । परम्परागत रुपमा उनले गर्दै आएको काम खेती किसानी नै थियो । त्यहि खेतीलाई व्यवसायीक रुपमा अघि बढाउने सोचिन् उनले । अनि त छिमेकीको ५ रोपनी जग्गा भाडामा लिएर उनले काशिका थापा मगरसँग मिलेर व्यवसायिक तरकारी खेती सुरु गरिन् २०६८ सालमा ।

    त्यतिबेला उनको गाउँमा सामथ्र्य नेपाल भन्ने संस्थाले तीनदिने तरकारी खेती सम्बन्धि तालिम दिएको थियो । त्यहि तालिमपछि उनले व्यवसायिक बन्ने सोच राखिन् । २०६४ मा थाङ अध्ययन केन्द्रले दिएको च्याउखेतीको तालिम पछि उनले च्याउ खेती सुरु गरिन् । त्यसपछि त पार्वतीलाई पछि फर्केर हेर्न परेन, उनी व्यवसायिक तरकारी खेतीमा अघि बढ्दै गइन् ।


    पार्वतीले उत्पादन गरेका तरकारी अहिले तनहुँको खैरनीटार, भिमाद बजार, दुलेगौंडा बजारमा पुग्छन् भने तरकारीमा कुनैपनि विषादी प्रयोग नगरिएको बताउँछिन् पार्वती । ‘मैले उत्पादन गरेको तरकारीमा कुनैपनि विषादी हुँदैन, बरु कम फल्छ । ‘तरकारी धेरैबेरसम्म खेतका गरामा रहन पाउँदैन्’ उनी भन्छीन्, ‘थाङ्दीको तरकारी भनेपछि हारालुछ हुन्छ ।’ उनले तरकारीसँगै २५ वटा वाख्रा र केही संख्यामा बंगुरपालन पनि सुरु गरेकी छन् । बार्षिक ४ लाखको तरकारी बेच्ने गरेको बताउछिन्, पार्वती ।

    पार्वती म्याग्दे गाउँपालिकामा उदाहरणीय तथा नमुना कृषक महिला बनेकी छन् । उनले जिल्ला कृषि कार्यालयको युवा लक्षित कार्यक्रममार्फत ४० हजार पुरस्कार पाएकी छन् भने पानी ट्याङ्की बनाउनका लागि ६० हजार अनुदान प्राप्त गरेकी छन् । साथै हाते ट्याक्टरमा ५० प्रतिशत अनुदान पाएकी छन् । ‘मलाई सबैको सहयोग छ, सबैले नमुना महिला कृषक भनेर सहयोग गर्नुभएको छ ।’ पार्वती सुनाउँछीन् ।


    पार्वती बाख्रापालन र व्यवसायिक तरकारी खेतीमा मात्र सिमित छैनन् । उनी कान्छी बाराही महिला समूह तथा टोल विकास समितिकी अध्यक्ष पनि हुन् । उनको समूहमा ५८ जना महिला आबद्ध छन् । उक्त समूहको उद्देश्य म्याग्दे गाउँपालिकामा रहेका जंगलका खाली जग्गामा अम्रिसो लगाएर सामूहिक बाख्रा पालनमा लाग्ने । हालैमात्र बाख्रापालन संघको केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनले समूहमा बचत गरेर स–सानो व्यवसाय गरेर सबै महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउने सोच बनाएको बताउँछिन् ।

    पार्वती गाउँमा उदाहरणीय तथा नमुना महिला कृषक मात्र होइनन्, उदाहरणीय आमा पनि हुन् । आफ्नै कमाइले उनले छोरी बिपनालाई पोखराको कान्तिपुर हस्पिटलमा डेन्टल पढाइरहेकी छन् भने छोरा पञ्चमुनी क्याम्पस दुलेगौडामा १२ मा पढ्दैछन् । आमाजस्तै संघर्षशील छन्, विवेक । कलेज पढेर बचेको समयमा प्रिन्ट मसिन राखेर आमालाई आर्थिक रुपमा सघाएका छन् । छोरीले, ‘आमा तपाईलाई दुःख भयो हामीलाई कसरी पढाउनुहुन्छ ? भनेर सोध्दा पिर नमान् म जग्गा बेचेर पनि पढाउँछु भनेकी छु पार्वती भन्छिन्, ‘मलाई छोरीलाई अगाडि बढाएर उदाहरणीय बनाउने रहर छ । पैसा नपुगे जग्गा बेचेर पनि पढाउँछु ।’

    ‘कहिले पनि महिला हुँ, केही गर्न सकिन्न’ भन्ने सोच सबै महिलाले मनबाट निकाल्नुपर्ने बताउँछिन् पार्वती । गाउँमा पनि धेरै महिलाहरू दिनभरी अनावश्यक कुरा गरेर बस्ने तथा कतिपय तास खेलेको देख्दा उनलाई नरमाइलो लाग्छ । ‘यहि कारण हामी महिला पछि परेका हौँ, म त सबैलाई भन्छु, कुलतमा नलाग, तास खेलेर नबस, समयलाई आफूसँगै हिडाउँ’ उनी सुनाउँछीन् ।
    समाज तथा कामका लागि परिवार तथा श्रीमान बाधक बन्छन् भने, प्रतिकार गरेर आफू अगाडि बढ्न सबै महिलालाई सुझाउँछिन् पार्वती । ‘आफ्नो अधिकार माग्न आफैँ अगाडि बढ्नु पर्छ ।’ पार्वती भन्छिन्,‘‘बच्चा रोएपछि पो आमाले दूध खुवाउँछिन्, हामी पनि आफ्नो अधिकार माग्न आफै अगाडि बढ्न्पर्छ ।’ महिला हिजोसम्म अरुको नामबाट आफ्नो परिचय दिनुपर्ने थियोे, तर आफैले आफ्नो परिचय बनाउँ, सबै महिला दिदीबहिनीहरूलाई सुझाव दिन्छीन् पार्वती ।

    १०२० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad