BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    हामीलाई भ्रष्ट र बेइमानी नबनी खान नपुगेकै हो त ?

    डिल्लीराम भण्डारी, बेल्जियमजेठ १२, २०७५

    केही समय पहिले करिब दुई महिना नेपाल बस्ने अवसर प्राप्त भयो । राजनीतिक खिचातानीमा के कति कुरा नमिलेर हो, प्रथम प्रादेशिक र संघीय प्रतिनिधिसभाको चुनाव अलि पहिल्यै भैसके पनि भर्खर प्रादेशिक सभा गठन हुने प्रक्रियाहरु चलिरहेका थिए । म पनि पोखरामा घरका सानातिना कुराहरुको व्यवस्थापन गरेर केही दिनको लागि गाउँघरतिर घुम्न जाने निधो गरे । भाइ बोधराज सहित ८ जनाको परिवार एउटा भ्यान लिएर ३ दिनको लागि हिडियो । पोखरा, कुश्मा, बेनी, तातोपानी, गलेश्वर धाम र बाग्लुङको यात्राको क्रममा ४–५ वटा विकासे आयोजनाहरुको काम सुरु भएको देखियो ।

    एउटा पोखरा बाग्लुङ राजमार्गको स्तरोन्नती, २–३ वटा सना जलविद्युत् आयोजना र अर्को विशेष महत्वको महेन्द्र राजमार्गदेखि काली गण्डकी करिडोर हुँदै मुस्ताङ जिल्लाको कोरला नाका भएर चीनसँग जोडिने राजमार्गको निर्माण । यी आयोजनाहरु बन्न लागेको देख्दा मनमा कता–कता खुसी लागेको भान हुन्थ्यो र अब केही हुन्छ कि त भन्ने आशाको दियो मनभरी बल्यो भने नेपालको कर्मचारी प्रशासन आयोजनाको निर्माण गर्ने ठेकेदारहरु, काम हुन नदिने देशी विदेशी तत्वहरु सम्झदा मेलम्ची खानेपानी आयोजना जस्तै समय लाग्ने हो की भन्ने चिन्ता पनि लागिरह्यो ।

    दोश्रो पटकको यात्रामा नजिकैको सराङकोट र कास्कीकोट दर्शन गर्ने पारिवारीक सल्लाह बमोजिम बिहान सबेरै कास्कीकोटको उकालो चढियो । इतिहासकारका अनुसार विं.स १११३ बैशाख २४ गते देखि सुरु भएको खान वंसको राज्यकालमा वि.स १५५२ मा कास्कीका राजा बनेका दलमर्दन खानले आफूलाई आफूलाई दलमर्दन शाहमा रुपान्तरण गरे । यिनैका कान्छा छोरा यशोध्रम्ह शाह लम्जुङका राजा भए भने यीनका दुई छोरामध्ये नरभुपाल शाह लम्जुङका राजा भए । अर्का द्रब्य शाह गोरखाका राजा भए । यसरी विभिन्न कालखण्डमा विभिन्न वंशका राजाहरुले राज्य गरेको कास्कीकोटमा अवस्थित ऐतिहासिक दरबारको सानो अंश मात्र बाँकी रहेको र हाल… कालिका मन्दीरको रुपमा परिचित छ र हाल त्यहाँका बासिन्दाहरुले त्यसको पुनरोत्थान र संरक्षण अभियान चलाईरहेका छन् ।

    त्यहि मन्दिरको हाताभित्र जव हामी प्रवेश गर्यौ, मलाई केही गह्रौ अनुभव भयो । चारैतिर एक फन्को लगाएपछि यस्तो अनुभव भयो कि इतिहास देखि नै स्वतन्त्र रहनुमा सायद यीनै सयौं कोट किल्लाहरु एवं शक्तिपिठहरुको दैविशक्ति पो रहेछ कि त ! नत्र देशको सासन सत्तामा यतिधेरै विदेशी दलालहरुको हाली मुहाली रहँदा पनि कम्तिमा देशको सार्वभौमसत्ता भने बचिरह्यो । यद्यपी यो भावनात्मक कुरा थियो ।

    तेश्रो पटकको हाम्रो अर्को छिमेकी गाउतिरको यात्रामा जाँदा केही फरक अनुभुतिहरु भए । पहिला अलि विकट जस्तो लाग्ने धिताल गाउ हाल बाटो पनि बनेको र केही आधुनीक होटल तथा रिर्सोटहरु पनि बनेको देख्दा खुसी लाग्यो । तर, एउटा नरमाइलो पक्षको पुन ः स्मरण भयो । जो वर्तमान नेपालको एउटा विकराल समस्याको रुपमा खडा भएको छ ।

    त्यो हो की ४०–५० रोपनी जग्गाका खेत बारीहरु तीनका बिचमा रहेका सुन्दर ग्रामिण बस्तिहरु मानवविहिन अवस्थामा उजाड छन् । तर, तीनका हकवालाहरु लाखौं रुपैयाँ खर्च गरेर विभिन्न देशमा रोजीरोटीको खोजिमा भौतारिरहेका छन् । लाखौं करोडौंका आफ्ना घरबारीहरु बाँझो राखेर, आफ्ना वृद्ध बाबा आमालाई र श्रीमती छोराछोरीहरुलाई पनि छाडेर २–४ लाख रुपैयाँ कमाउने लोभमा हामी नेपाली कहिलेसम्म यसरी विदेशीने हो बढो सोचनिय विषय बनेको छ ।

    यस पटकको छोटो नेपाल बसाईको क्रममा मेरो मानसपटलमा धेरै कुराहरु घुमिरहें । आखिर मरेर लाने त केही होइन, तर पनि छोटो जीवन जिउनका लागि हामी नेपाली किन यति धेरै स्वार्थी भयौं ? हाम्रा कर्मचारीलाई घुस खान नपाए राति निन्द्रा नलाग्ने, ठेकेदारहरुलाई कमसल संरचना नबनाए धेरै नाफा नहुने, शिक्षकलाई पढाउनु भन्दा अरु संघ संस्थामा नजोडिइ भएको छैन । व्यापारीहरुलाई मिसावट, करछली अनि कालो बजारी नगरी भएको छैन । राजनीति गर्नेलाई माफिया, तस्करी र शक्तिकेन्द्रहरुको दलाली नगरी भएन, कसैलाई आफ्नै चेलीबेटी बेचेर खानु परेको छ । औषधि पसलेले अनावस्यक औषधि मिसाएर सोझा साझा सर्वसाधारणलाई ठगेका छन् ।

    अस्पतालहरुले बिरामीलाई झोली तुम्बा भिर्ने बनाएपछि मात्र सन्तोष लिन्छन् । नागरिकहरु आफ्ना घरबारीहरु सबै बाँझो राखेर काम खोज्न मुग्लान पस्छन् । तर तिनैका घरबारीमा काम गरेर मुग्लान पारीकाहरुले अरबौं रुपियाँ बोकेर आफ्नो देश जान्छन्् । यस्तो चौतर्फि अराजकता र बेथिति कहिलेसम्म हो ? के आफ्नो जन्मभूमि समाज र राष्ट्रप्रति कोही जिम्मेवार बन्नु पर्दैन ? के हामी नेपालीहरुलाई भ्रष्ट र बेइमानी नबनी खान नपुगेकै हो त ? हाम्रा तमाम आदर्श, नैतिक मुल्य मान्यताहरु एवं स्वाभिमान गुमेकै हुन त ? यदि त्यसो भन्ने हो भने हजारौं सच्चा र इमान्दार नेपाली सपुतहरु आफ्नो आफ्नो सानो आम्दानीमा पनि हाँसी खुसी समाज र राष्ट्रको सेवा गरिरहेकै हुन त !


    रवि लामिछानेहरु, धुर्मुस सुन्तलीहरु, महजोडीहरु, रमेश खरेलहरु, डा. गोविन्द केसीहरु, सर्वेन्द्र खनालहरु, कुलमान घिसीङहरु, पुष्पा बस्नेतहरु, महाविर पुनहरु, अष्ट ज अभियान परिवार, कृषि विशेषज्ञ राजेन्द्र देवकोटा लगायत अन्य थुप्रै राष्ट्र सेवकहरु त झन गौरवका साथ हिडेका छन् । व्यक्तिगत रुपमा जसले जति नै कमाए पनि आफ्नो देश नबनेसम्म न त कुनै व्यक्ति विशेषको इज्जत र सम्मान रहन्छ न त तिनका भावि सन्तानहरुको नै । त्यसैले अब सम्पूर्ण नेपाली नागरिकहरुले आँफू र आफ्नो समाज अनि आफ्नो देशको हितलाई सर्वोपरी मानेर इमान्दार र नैतिकवान बनेर आ–आफ्नो ठाउँबाट राष्ट्र निर्माणको अभियानमा सरिक बनौं । स्थानीय, प्रान्तीय र केन्द्रीय सरकार बनिसकेको बर्तमान परिप्रेक्षमा अब सबैको साझा संकल्प ‘शान्त, समुन्नत नेपाल’ बनाउन लागि परौं जो हाम्रै जीवनकालमा सम्भव छ । अस्तु !

    ५६३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad