BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    सम्बन्ध र सोच

    चन्दा थापा चन्द्रिका, काठमाण्डाै नेपालजेठ १२, २०७५

    “तिमी विदेशमा थियौ ।“ तिम्रा बाबुआमाले, ‘तपाईंहरुकी छोरी कुशल  स्वभावकी छन्, हामीलाई बुहारी बनाएर भित्राउने मौका दिनुहोस् भनेर मागेका थिए ।’ “मेरा बाबुआमाले तिमी विदेशमा रहेको र राम्रो कमाएको मान्छे, त्यो भन्दा योग्य कुटुम्ब अर्को पाइदैन भनेर तिमी साउदीबाट आएपछि मेरो बिहे गरिदिएका थिए ।“,  रोभनले दिलमानलार्इ सम्झाइन ।

    उनले थपिन, “२०६१ सालको बेला थियो त्यो । गाउँमा जनयुद्धको चहलपहल थियो । म, १० कक्षाको जाँच दिएर बसेकी थिएँ । तिमीले एक दिन ठाडै सोधेका थियौ, ‘मेरा  बाआमाले  तिमीसँग बिहे गर्ने भनेका छन्, तिम्रो के बिचार छ?’ बाबा घरमा थिएनन्, “मैले बिहे गर्दिन् अहिले’ भनेँ तर बाबा आमाको सोच पनि भरिसक्के तिमीसँगै बिहे गरिदिने रहेछ । अनि त तिमीसँग बिहे गरेर म तिम्रो घरमा भित्रिएँ ।

    त्यतिबेला तिमीले झण्डै ३ सय जति जन्ति लिएर मलाई लिन गएका थियौं । गाउँका, वरपर अनि आफन्तले जिब्रो टोकेर  भन्दै थिए, ‘कुटुम्बले त पैसा पनि कमाएका रहेछन् अनि मान्छे पनि  बनाएका रहेछन् ।’

    बिहे गरेका दिन तिमीले भनेका थियौं, “तिम्रो माइतीमा  कतिजना केटासँग लभ थियो भनेर ।“  सायद त्यतिबेला लभको परिभाषा पनि मैले त्यति राम्रोसँग बुझेकी थिइन् ।  बुझेकै भए पनि त्यसमा परिपक्वता अथवा लभले मान्छे टोलाउँछ कि, बौलाउँछ कि,  भोकै बसाउँछ कि,  या त जिन्दगी बनाइदिन्छ भन्ने कुरा मैले राम्ररी बुझ्न सकेकी थिइन उस बेला ।

    स्कुल जाँदा वरपर अनि बाटोमा फलानाकी छोरी तरुनी भर्इ,  बिहे गर्ने बेला भयो, बढेका छोरी घरमा राख्नु हुँदैन भन्ने गरेको पनि मैले धेरै सुन्थेँ । त्यसमा पनि त्यति ध्यान जाँदैनथ्यो जान त । न त पढेर ठूलो मान्छे बन्छु भन्ने सपना नै तत्कालका लागि थियो । त्यतिबेलाको ग्रामिण बालापन, साथीभाइसँग रमाउने, स्कुलबाट घर फर्कदा फागुन र चैत महिनामा बाटाभरी फुलेका गुराँसका फूल टिप्दै,  ऐसेँलु र काफल खाँदै अनि  साथीभाइसँग स्कुलका सरहरुले पढेनन् भनेर पिटेको कुरा गर्दागर्दै वित्थ्यो समय । हाम्रो जस्तो पहाडको टाकुरामा बाँचेको किसानका स्कुले सन्तानलार्इ घरमा गएर घास दाउरा गर्नुपर्ने आदि इत्यादि” यी र यस्तै कुराहरूले रोभनको दिमागमा एक किसिमको नोस्टाल्जिया झाँगिदै गयो ।

    दिलमानको मनमा भने अनेक शंका आशंकाहरुले भरिन्थे । उसलार्इ किन किन लागिरहन्थ्यको रोभनले किशोरावश्थामा रोमान्स गरेकी छ । गाउँका युवाहरूसँग प्रेम गरेकी थिर्इ, उसलार्इ शङ्का लागिरहन्छ ।  कहिलेकाँही त मुखै फोरेर भन्छ दिलमान –‘तेरा ब्वाइफ्रेन्ड छन् भने बोलाएरले, कुरा गरौं बसौं ।’ फेरि भन्थ्यौ–‘त्यसैसँगै  जाने त होला नि ?’  “तिमीले मेरो  माइती घर नजिकको सँगै स्कुल पढ्दाको साथीलाई  आफ्नो कल्पनाको ब्वाइ फ्रेन्ड बनाइदिएका थियौं । उनी तिम्रो दिमागमा मेरो  ‘प्रेमि’ बनेर बसेका थिए ।   जो सँगै म मात्रै होइन् मेरा अरु पनि साथीहरु स्कुल आउने जाने क्रममा सँगै हुन्थ्यौं । माइत आउने जाने  गर्दा उ सँग भेट भएर कुरा गरिहाल्यो भने, तिमी साह्रै रिसाउथ्यौं । भन्थ्यौ– ‘उ अब उतै हेरेर टोलाउन थाली ।’  अनि कहिलेकाँही कुट्थ्यौ पनि ।  अनि भन्थ्यौ– ‘म सँग बोल्न अड मान्ने अरुसँग धक फुकाएर बोल्ने ?’ तिमीले मलाई डरमात्रै देखाउथ्यौ  भने, म कसरी तिमीसँग धक फुकाएर बोल्न सक्छु तिमी आफैं मनन गर, प्रिय ?”

    “त्यतिबेला पनि तिम्रो कुराले मलाई धेरै विक्षिप्त बनाउथ्यो । तिमी मेरो लोग्ने थियौं । बाहिरको पराई थिएनौं, तर व्यवहार पराईको जस्तै गथ्र्यौ । लाग्थ्यो तिमी कुनै स्वार्थ लिएर मलाई श्रीमती बनाएका थियौं अनि आफ्नो स्वार्थ पूर्तिका लागि मसँग बार्गेनिङ गथ्र्यौ ।   यदि मैले त्यतिबेला अरु कसैलाई मन पराएको भए पनि तिमीले आफूतिर आकर्षण गर्नका लागि सकारात्मक कुराले मेरो मन जित्ने कोशिष गर्नुपर्दथ्यो तर त्यो कहिल्यै गरेनौं । मनमा अनेका शंकाउपसंका गरेर आफू पनि जल्यौ अनि मलाई पनि मर्नु र बाँच्नुको बनाएका थियौं ।”

    “तिमीलाई याद छ ? तिमीले  आज अर्को र भोलि अर्को गर्दै  विभिन्न व्यक्तिसँग जोडिदिएका नामहरुले मेरो मन कस्तो हुन्थ्यो होला ? कतिपटक मैले तिमीलाई भनेकी थिएँ ‘मलाई ठूलो घर बनाइदेउ, अनि त्यहि घरमा राख, मैले कसैलाई हेर्दिन्, थुनिदेउ मलाई गोलघरमा रहेको कैदी सरह  । अनि म मान्छे नभएर केबल एउटा मुडो सरह फालिन्छु अनि मेरो जीवनको अन्त्य त्यहि हुनेछ ।’ तर, पनि तिमीलाई कहिल्यै लागेन कि तिमीले गरेको व्यवहारले म भित्रभित्रै टुट्दै अनि बिक्षिप्त बन्दै गएकी छु ।”

    “तिमीले मलाई धेरैपटक भनेका पनि थियौ, अनुशासनमा बस्ने कि  निस्केर जाने ? अहिले म तिमीलाई नै सोध्छु ल भन प्रिय, अनुशासन भनेको के हो ? के तिमी बाहेक अरु कसैसँग बोल्नुभनेको नै म अनशासनहिन हुनु हो ? मैले मान्छे भएर बाँच्न चाहान्छु भन्नु अनुशासनहिन हुनु हो ? मैले समाजमा मेरो अस्तित्व खोज्नु म अनुशासनहिन हुनु हो ? समाजका लागि मरिमेट्नु अनुशासन हो ? यी सबै गर्नलाई तिमी अनुशासनहिन भन्छौं भने, त मेरो भन्नु केही छैन । तर, प्रिय माया भनेको शंका र डन्डाले  अघि बढ्दैन  न त तिमीले  मायाको नाममा कसैलाई नियन्त्रण नै गर्न सक्छौं । बरु  तिमीले पल–पल तिमीले माया गर्ने मान्छेको जायज स्वतन्त्रताको कदर गरेर  गलत कदम उठाउन लाग्दा ‘मलाई उसले यतिधेरै माया र सम्मान गर्दागर्दै पनि म किन यस्तो हुन थाले ?’ भन्ने महसुस र पश्चाताप गर्ने गरी व्यवहार गर्न सक्नुपर्दथ्यो ।”

    “२१ औं शताब्दिमा मान्छेलाई हेर्ने र बोल्ने  अनि सामाजिक गतिबिधि गर्ने अधिकार  सबैमा हुन्छ भन्ने बुझ प्रिय । अनि आफूले माया गरेको छु भन्ने मान्छेको भावनाको सम्मान पनि गर्दै जाउ ।”

    “सायद तिमीलाई याद छैन होला, त्यतिबेला पनि म तिमीबाट  टाढा जान चाहान्थे । भन्छन् मानिसहरु–‘आफूलाई माया गर्ने र आफ्नो मान्छेले कसैलाई मन पराइदियो भने ठूलो चोट पर्छ ।’ तर, म भने तिमीलाई कुनै अर्को जीवनसाथी खोजिदिएर, तिमीलाई एक्लो नबनाई म टाढा धेरै टाढा तिम्रो शंका भन्दा टाढा जान चाहान्थेँ । किनकी मलाई एकपल तिम्रो शंकाभित्र रहेर बाँच्ने चाहाना  थिएन ।”

    रोभनको १० मा पढ्दा पढ्दै   बिहे भयो । त्यसको केही समयपछि  पढाइका लागि काठमाडौं पुगे जोडि नै ।   रोभनले विस्तारै पढाइमा प्रगति गर्दै गइन् । “म जति प्रगति गर्दै जान्थेँ तिम्रो शंका त्यति बढ्दै गयो । टिउसन पढ्न जाँदा  मास्टरसँगै डेटिङ गइस् भनेर पछि लाग्यौं । घरमा आएर केरकार गर्न थाल्यौं,  स्कुल, कलेज पढ्दा बाटोमा हिँड्दा जहाँ पनि साथीहरु भेटिन्छन् । फेरि यो मानव जीवन जिउने कला हो । यो अनिवार्य  पनि हुन्छ । यदि मानिस समाजबिना एक्लै रहेर बाँच्न चाहान्छ र आफूलाई कोही चाँहिदैन भन्छ भने त्यो मानिस मुर्ख हो र उ धेरैदिन बाँच्न पनि सक्तैन् । यो सबै तिमीलाई थाहै भएको कुरा पनि हो ।”

    “त्यसैले त म पनि झन् तिम्रो विपरीतमा जान थालेँ । कहिलेकाँही त तिमीले लगाएको आरोपलाई आरोपमात्र नमानेर हकिकतमा पनि परिवर्तन गरुँकी भन्ने झोँक नचलेको होइन्, बाटोमा हिँड्ने  राम्रो मानिस समाएर मलाई बिहे गर भनेर भनौ पनि नभएको होइन तर पनि तिमीले भनेको मात्र मानेको नभइ मेरो मनले  पनि मानेन् यस्तो  गर्न । प्रिय, मानिस सबैसँग बोल्छ तर बोल्दैमा उसका सबै प्रेमि र प्रेमिका मात्र हुँदैनन् अरु पनि सम्बन्ध हुन्छन् भनेर मानवीय जीवनमा तिमीले बुझ्न जरुरी छ ।”

    “आज  म   सरकारी  निकायमा काम गरिरहेकी छु । हो, मलाई यहाँसम्म पुर्याउनका लागि तिम्रो पनि योगदान धेरै छ । बाबुआमाले १० कक्षासम्म पढाएर पठाएपछि यहाँसम्मको शैक्षिक, सामाजिक यात्रामा तिम्रो  धन पैसा र मेहनत धेरै लगानी छ  प्रिय तर  लगानी गरे भन्दैमा तिमीले मान्छेलाई कुकुरको जस्तो व्वयहार गर्यौ । तिमीले ल्याइदिएको  १ किलो मासु खाएर टन्न अघाएर सिक्रीमै बाँधिएर बस्नुपर्ने बाध्यताको जिन्दगी मेरो होइन प्रिय, म  यो धर्तिको सर्वश्रेष्ठ प्राणी मानिने मान्छे हुँ । त्यसैले तिमीले राख्न खोजेको अनुशासनको साङलो मैले तोडेर बाहिर आउने आँट गरेकी हुँ ।”

    “हेर, हामी सबै मान्छे न हौं । कहिलेकाँही आफ्नो स्टान्डर मेन्टन गर्न पनि तिमी चुक्थ्यौ ।  त्यो कुरा तिमी आफैँ पनि स्वीकार्थ्याै पछि।  मेरा माइती आउँदा  तिमी  झगडा गथ्र्यौ, साथी भाइका अगाडी मलाई इन्सल्ट गथ्र्यौ अनि  मेरा  कार्यालयका सहकर्मीहरुलाई त तिमीले बातै लगाइदिएका थियौं की तेरो ….. त होला नि त्यो ।  कतिपटक त हामीहरुले  आफ्नो कार्यालय सम्बन्धी कुरा गर्दा तिम्रो मनमा मायाप्रेम र डेटिङका कुरा गरेको भन्ने भान हुन्थ्यो ।  अनि साँझ एकान्त ठाउँ पाएपछि तिमीले मलाई सोधिहाल्थ्यौ त्यो सँग के कुरा गरिस् र किन कुरा गरिस्  ?  एउटा कुरा सत्य  मैले, भन्नै पर्छ तिमीले  मेरो शिक्षाको लागि मात्र नभएर मेरो माइती परिवारको लागि पनि धेरै गरेका थियौं ।

    “यस्तै यस्तै कारणले गर्दा तिमी र म अलग भएका हौं प्रिय । तिमीले दिएका उपहारस्वरुप दुई छोरी मेरो साथमा छन् । यी छोरीहरुका लागि पनि मैले संघर्ष गर्नुछ, मलार्इ सधै लागिरह्यो ।  उनीहरुलाई यो देशको योग्य नागरिक बनाउनु मेरो लक्ष भने दृड थियो ।  अहिले भर्खरै त्रिवीले स्वर्णपदक सहित दिक्षान्त गरेकी रमितालार्इ तिमीले विर्षेका त छैनाै होला तर यही समारोहमा  तिमी यही कतै छाैं तर उनको बाबु त के अभिभावक बन्न पनि सकेनाै । कसले रोकेको थियो तिमीलार्इ ?”

    “रमितालार्इ मञ्च लिएर जाने प्रेरणा हिजोमात्र अमेरिकाबाट अाएकी हुन । प्रेरणा अाजकाल नासामा अन्तरिक्ष वैज्ञानिकका रूपमा कार्यरत छन् । उ त्यही प्रेरणा हो, जसले तिम्रै कारणले बाबुका माया पाउनबाट बञ्चित भएकी थिई ।  रमिताकी अामा यही विश्व विद्यालयकी चान्सलर भएकाले उनलार्इ दिक्षान्त गराउन उनकी दिदी अमेरिकाबाट अाएकी हुन । प्रिय, मैले चालिस वर्षदेखि तिम्रो सिन्दुर लगाएर यति गरें तर तिमीले मेरो इज्जत, अश्मिता, र सामेर्थ्यसँग खेलेर के गरेका छाै ? म सुन्न र अझ बढी जान्न अातुर छु ।”

    “केवल तिम्रो शंकाकै कारण आज हामीबीच यस्तो अवस्था आएको हो । बरु एकदुई  झापड लगाएको भए पीडा बिर्सन्थें होला । छोरीहरूलार्इ बाबा चिनाउने साैभाग्य पाउँथे होला । तिमीले लगाएको अनेक लान्छना र बचनको पीडा बिर्सन सकेकी छैन् ।  मुटुमा हरेक पल गढिरहन्छन् तिम्रो तिरस्कारका भालाहरू । अनि  मन बलियो  बनाउँछु र आफ्नो अस्तित्वको खोजिमा लागिरहन्छु ।”

    “तिमी मरेपछि रमिताले तिम्रो नाममा नेपालमा विज्ञान  र प्रविधि अनुसन्धान केन्द्र बनाउँछु भनेर  राष्ट्र बैंकमा १० करोड जम्मा गरेकी छ । उ किर्ते नागरिक्ता बनाएर विद्यार्थी भिषामा २० वर्ष अगाडि अमेरिका गएकी हो तिमीलार्इ छ । तिमी उसको बाबु हाैं र सन्तानलार्इ नागरिकता बाबुलेमात्र दिन सक्छन् हाम्रो देशमा । ” नेपाल सरकारका शिक्षामन्त्रीसम्म रहनु भएका सम्मानीय प्रमुख अतिथिज्यू, अहिले भरखरैं गोल्ड मेडलले विभूषित भएर दिक्षान्त भएकी रमिताको नागरिक्ता छैन गृहमन्त्रीलाई जानकारी दिनु होला ।”

    चान्सलरको प्रेरक भाषण सकिएको पुरा दुर्इ मिनेटसम्म विश्वविद्यालयको विशाल मैदानमा तालिधूनहरू अबिराम चलिरहे । भीढबाट एक्कासी अावाज अायो, ‘हि इज डेड’, केहीबेर पछि कुरा खुल्यो कि त्यहीँ हलमा रहेका दिलमानको हृदउघातका कारण देहान्त भएछ ।

    चितामा दिलमानको लाश राखिएको छ ।  बाबु को हो ? कस्तो छ ? अनि उसको माया कस्तो हो ? उसले आफ्नो अभिभावकत्वको धर्म कसरी निभायो ?  भन्ने बुझ्न नपाई टाढिएका बैज्ञानिक  छोरी द्वयले बाबुको दागवत्ति दिएको नेपाली समाजले हेरिरह्यो ।

    इति

     

     

     

     

    ३२३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad