BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    सम्पदा पुनःनिर्माणमा उदासीन सरकार, प्रन्ध्रसय ९८ मध्ये ७९ वटा मात्र बने

    संसार न्यूज संवाददाताजेठ १७, २०७५

    १७ जेठ, काठमाडौँ । भूकम्प गएको तीन वर्ष बितिसक्दा क्षति पुगेका एक हजार ५९८ सम्पदामध्ये ७९ वटा अर्थात् ४. ९४ प्रतिशतको मात्रै पुनःनिर्माण भएको छ ।

    पुरातत्व विभागले प्रकाशन गरेको भूकम्पद्वारा प्रभावित स्मारकको प्रारम्भिक प्रतिवेदनबमोजिम २० जिल्लाका एक हजार ५९८ सम्पदा भूकम्पबाट प्रभावित भएका थिए । उपत्यकाका एक हजार १०४ र उपत्यका बाहिरका ४९४ सहित एक हजार ५९८ सम्पदामा भूकम्पबाट क्षति पुगेको विवरण विभागसँग छ ।

    महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन २०७४ मा उल्लेख गरिएको विवरण अनुसार भूकम्पले काठमाडौँमा ५६४, ललितपुरमा २८४ र भक्तपुरमा २५६ गरी एक हजार १०४ सम्पदामा क्षति पु¥याएको थियो । देशभरि सात हजार ४०२ र उपत्यकामा मात्र पाँच हजार ४०२ पुरातात्विक सम्पदा सूचीकृत छन् ।

    महालेखाको प्रतिवेदनमा भनिएको छ, “क्षति भएकामध्ये पुनःनिर्माण सम्पन्न भएका, निर्माणाधीन र बाँकीको संख्या यकिन गरी राखिएको पाइएन ।”
    सम्झौताको एक वर्षपछि शुरु हुँदै काष्ठमण्डप पुनःनिर्माण ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने सम्झौता भएको एक वर्ष बितिसक्दा पनि काम शुरु हुन सकेको छैन । काष्ठमण्डप पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने गरी गत वर्ष वैशाख २९ गते सम्झौता भएको थियो ।

    सम्झौता लगत्तै स्थानीय तहको निर्वाचन भयो । काष्ठमण्डप पुनःनिर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठका अनुसार, महानगरपालिकामा पदाधिकारी निर्वाचित भएर आएपछि महानगरले आफैँ बनाउने भनेर अभियानलाई काम गर्न नदिएकाले पुनःनिर्माणको कार्य अवरुद्ध हुन गएको हो ।

    अभियानका अध्यक्ष श्रेष्ठले भने, “पुनःनिर्माण गर्न शुरु भैसकेको काष्ठमण्डप क्षेत्रमा महानगरपालिकाले असार ६ गते ताला लगाई साँचो लिएर हिँड्यो । महानगरपालिका आफूले पनि बनाएन, हामीलाई पनि काम गर्न दिएन ।”

    अभियान र महानगरपालिकाबीच काष्ठमण्डपलाई पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्ने गरी गत वर्ष वैशाख २९ गते १५ बुँदे सम्झौता भएको थियो । तर सो सम्झौतालाई मान्यता नदिई महानगरपालिकाले आफैँ बनाउँछु भनी निर्माण कार्य रोकेको पनि दश महिना बितिसक्यो ।
    पुनःनिर्माण कार्यमा विवाद भई आपसी समझदारी कायम हुन नसकेमा प्राधिकरणको कार्यकारी समितिबाट हुने निर्णय नै अन्तिम हुने भनी सम्झौतामा उल्लेख थियो । यसै आधारमा महानगरपालिकाले हस्तक्षेप गरेर अभियानलाई काम गर्न नदिएपछि अभियानले पुनःनिर्माण प्राधिकरणलाई पत्र लेखेरै जानकारी गरायो ।

    प्राधिकरणको कार्यकारी समितिले महानगरलाई नै काम गर्न दिने निर्णय गरिदिए पछि रोकिएको पुनःनिर्माणको काम अलपत्र भयो । महानगरपालिकाले काम शुरु नगरेपछि पुरातत्व विभागले गत पुस १८ गते पत्र काटेर छिटो काम शुरु गर्न अनुरोध गरेको थियो । तर अहिलेसम्म काम अघि बढ्न सकेको छैन । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भन्छन् “पुरातत्व विभागबाट बनेर आएको नक्शा पास भैसकेको हुनाले अब स्थानीयवासीसँग छलफल गरी काम अघि बढाउने तयारीमा छौँ ।”
    काष्ठमण्डप पुनःनिर्माणका लागि महानगर र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिले छलफल गरी समिति गठन गरेका छन् । समितिको अग्रसरतामा वैशाख ३१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्रप्रसाद अधिकारीले पुनःनिर्माण शुभारम्भ गरेका छन् । पुनःनिर्माण शुभारम्भपछि निर्माण सामग्री जुटाउने काम भइरहेको निर्माण समिति संयोजक एवम् प्रदेशसभा सदस्य राजेश शाक्यले जानकारी दिए ।

    “निर्माण सामग्री जुटाएर चार महिनामा पुनःनिर्माण शुरु गर्छौँ, सरकारले नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाए अनुसार तीन वर्षमा काष्ठमण्डप पुनःनिर्माण सम्पन्न हुन्छ” – उनले भने ।

    काष्ठमण्डपको एक हजार १०० वर्ष पुराना काठहरु वसन्तपुर क्षेत्रमा अलपत्र छाडिँदा चोरी हुने र नासिने जोखिम बढेको छ ।

    हनुमानढोका संरक्षण कार्यक्रमले भने विभिन्न कलाकृति कुँदेर काष्ठमण्डपमा हालिएका झ्याल, ढोका लगायत पुरातात्विक चीजबीज सुरक्षित रहेको दावी गरे पनि अभिलेख भने देखाउन सकेन ।

    भूकम्पपछि पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को संयुक्त पहलमा गरिएको उत्खननबाट प्राप्त भएका अवशेषको आधारमा यो सम्पदा इस्वी संवत्को सातौँ शताब्दीमै बनेको पुष्टि भएको थियो ।

    यसअघि काष्ठमण्डप १२ औँ शताब्दीमा बनेको उल्लेख नाम सङ्गीति ग्रन्थमा फेला परेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्मराज बाँस्कोटाले जानकारी दिए ।

    घाँसेमैदान बन्दै रानीपोखरी
    अढाइ वर्ष अघि १८औँ भूकम्प सुरक्षा दिवसका अवसरमा रानीपोखरी र त्यहाँको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गर्न राष्ट्रपतिले शिलान्यास गर्नुभए पनि पुनःनिर्माणको काम अलपत्र छ । रानीपोखरी घाँसे मैदानमा परिणत भएको छ ।
    महानगरपालिका र निर्माण व्यवसायीसँग भएको सम्झौता अनुसार गत कात्तिक मसान्तसम्ममा पुनःनिर्माण सकिनु पर्ने थियो । महानगरका इन्जिनियर भीष्मराज सोगुका अनुसार रानीपोखरी पुनःनिर्माणमा हालसम्म रु चार करोड खर्च भइसकेको छ । “विज्ञ समूहले बनिसकेको संरचना भत्काउने प्रतिवेदन दिएकाले यस अघिको खर्च यसै खेर गयो” – उनले भने ।

    यहाँ १०८ तीर्थस्थलको जल हालेर बनाइएको ‘विष्णुतीर्थ’ पुनःनिर्माण क्रममा कंक्रिट प्रयोग गरिएको विषयमा नगर प्रमुख र उपप्रमुखबीच विवाद भएपछि २०७४ पुस १३ गते महानगरले पोखरी पुनःनिर्माणको अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन ग¥यो । समितिले पुरानै स्वरुपमा पुनःनिर्माण हुनुपर्ने प्रतिवेदन दिएको छ तर, काम अघि बढ्न सकेको छैन ।

    बालगोपालेश्वर गत वर्ष असारमै पुनःनिर्माण सम्पन्न हुनुपर्ने गरी सम्झौता भएको थियो । स्थानीयवासी सुमना श्रेष्ठ भन्छन्, “ऐतिहासिक सम्पदाहरु अस्तित्वको संकटमा परेका छन् । रानीपोखरी चौर बनेको छ भने बालगोपालेश्वर मन्दिर जमिनमै हराएको छ ।”

    बनेन रातो मच्छेन्द्रनाथ मन्दिर
    अढाइ वर्ष अघि भूकम्प सुरक्षा दिवसकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ ललितपुरको बुङ्मतीमा रातो मच्छेन्द्रनाथको मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास गरे । यो काम पनि सुस्त गतिमा छ ।

    श्रीलङ्का सरकारको रु पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण हुँदै गरेको रातो मच्छिन्द्रनाथको मन्दिर २०७५ असारमा सकिनु पर्ने सम्झौता छ । तर अहिलेसम्म २५ प्रतिशत मात्र काम भएको परियोजना प्रमुख एवम् पाटन दरबार हेरचाह अड्डा प्रमुख काजी प्याकुरेल बताउछन् ।

    “तीन महिनादेखि काम रोकिएको छ, हालसम्म फाउन्डेसनको पेटीसम्मको मात्र काम भएको छ, समय थप गर्ने गृहकार्य भइरहेको छ, द्रुत गतिमा काम भएपनि दुई वर्ष पुनःनिर्माण सक्न लाग्छ” – उनले भने ।

    धरहरा ढलेको ढल्यै
    सरकारले २०७३ असार ३१ गते ‘मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि धरहरा पुनःनिर्माण खातामा रु नौ करोड जम्मा भैसकेको छ । नेपाल टेलिकमले धरहरा पुनःनिर्माण गर्ने सम्झौता गरेर पनि त्यस सम्झौताबाट विमुख भएपछि प्राधिकरणले धरहरा आफैँले बनाउने निर्णय गरेको छ । प्रवक्ता यमलाल भुसालले धरहराको ड्रइङ र डिजाइनको काम भइरहेको बताए ।
    असार मसान्तसम्म काम शुरु भएर दुई वर्षमा सकिने उनको भनाइ छ ।

    पशुपतिका ७५ सम्पदा अलपत्र
    पशुपति क्षेत्रका ५१८ स्मारकहरुमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । अरु १५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए ।

    पूर्ण क्षति भएकामध्ये हालसम्म एक र आंशिक क्षति भएकामध्ये चारवटा सम्पदाको पुनःनिर्माण भएको जानकारी पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले दिए । उनका अनुसार हाल १५ वटा सम्पदाको पुनःनिर्माण भइरहेको छ । तर पशुपति क्षेत्रका ७५ सम्पदा अझै अलपत्र छन् ।

    प्राधिकरणको तथ्याँक अनुसार भूकम्पले देशभर ७५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म १०० को पुनःनिर्माण सम्पन्न भयो ।

    भूकम्पपछि भत्केका प्रमुख सम्पदास्थल पुनःनिर्माण हुन नसक्दा बाह्य पर्यटकको आगमन घट्दै गएको पर्यटन व्यवसायीको भनाइ छ ।

    ८९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad