BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    नियति

    राजन पराजुली चितवन नेपाल हाल माल्दिभ्सजेठ १९, २०७५

    बर्खाको समय थियो । बाहिर मुसलधारे पानी परिरहेको थियो । भित्र आमालाई ब्याथाले च्यापेर आत्तिरहनु भएको थियो । एकै छिनमा च्याँ च्याँ रोएको आवाज आयो । “बधाई छ, तपाईंको छोरी भयो । तपाईं छोरीको बुबा बन्नु भयो ।” छिमेकी महिलाले मलाई बधाई दिइरहेका थिए । थाहा छ तँलाई त्यो जन्मिएको छोरी तँ थिइस, बुबाले मतिर हेर्दै भन्नु भयो । एक्कासी म यो कुरा सम्झिएर झस्किएँ  । अहिले म माल्दिभ्समा कसैको घरमा जिन्दगी र परिवार चलाउन गुलामीको जीवन काटिरहेकी छु । मलाई थाहा छ, म महिला हुँ । हाम्रो समाजले आज पनि महिलालाई फरक दृष्टिकोणले हेर्छ । अझ म त देश छोडेर परदेशी जीवन बिताउन बाध्य भएकी छु ।

    मेरो समाजले अनि  समाजमा बस्ने आफुलाई बौद्धिक ठान्नेहरूले कति धेरै कुरा काटिरहेका होलान् । मलाई अलिकति पनि उनीहरूप्रति गुनासो छैन । आज म पनि सम्पन्न भएको भए अर्थात मेरो परिवार पनि धनी भएको भए, यसरी अरूको देशमा आएर काम गर्नु पर्ने थिएन । घर परिवार गरीब भएको कारण मैले धेरै पढ्न पाईनँ । मेरो औपचारिक शिक्षा सात कक्षासम्म सरकारी स्कूलमा रह्यो । सबै साथीभाइहरू  स्कुल गएको देख्दा मलाई पनि स्कुल जाने निकै रहर हुन्य्थो ।

    छोरी मान्छे आर्काको घर जाने जात भन्ने समाज उसैमाथि हाम्रो गरीब परिवार । म सानैबाट सबैकी प्यारी थिएँ । सबैले प्यारी प्यारी भनेर बोलाउँदा बोलाउँदै मेरो नाम नै प्यारी हुन गयो । “ओ प्यारी ! काम गर्न पर्दैन तँलाईं ? महिनाको तलब दिएर किन तलार्इं यहाँ ल्याको हँ ?” म एक्कासी झस्किएँ । गुलामी गर्न आएपछि मालिक मालिक्नीका  यस्ता शब्द कयौं खानुपर्ने रहेछ । एक दिन साथीसँग खेल्न घर नजिकै गएकी थिएँ । घर आउँदा मेरो बिहेको कुरो चल्यो, म भरखर चौध पध्र वर्षकी थिएँ । बिहे गर्ने रहर थिएन तर आमाबाको अगि मेरो केही सिपार चलेन ।

    बाध्यताले बाँधेपछि सानो उमेरमा नै मेरो बिहे भयो। बिहे भएकै वर्ष म गर्भवती भएँ । सानो उमेर उसैमाथि पेटमा बच्चा मलाई के गर्दा राम्रो के गर्दा नराम्रो केही थाहा थिएन । बच्चा जन्माउन मैले सकिनँ । डाक्टरले पेट चिरेर मेरो पहिलो सन्तान छोरी निकाली दिए । आफु केटाकेटी उसैमाथि काखमा छोरी थिई । मेरो परिवार गरीब थियो । मैले दुःख सुखले छोरीलाई हुर्काएँ । मेरो बालापन छोरी हुर्काउँदैमा सकियो । पतिको कमाई केही थिएन । उसैमाथि उहाँ कमजोर पनि हुनुहुन्थ्यो । म एकलै धेरै संघर्ष गरेर छोरीलाई पाँच वर्षकी बनाएँ । त्यसपछि मलाई विदेश जाने ईच्छा जाग्यो । सुरूमा त समाजसँग डर लाग्यो । पछि परिवार ठूलो अनि दुःख ठूलो हो सोचेर विदेश जाने निणर्यमा पुगेँ ।

    अफ्सोच ! मेरो सपना साकार हुन सकेन । म फेरि गर्भवती हुन पुगेँ । मैले दोस्रो सन्तान छोरो उस्तै गरी पेट चिरेर २२ वर्षको उमेरमा जन्माएँ। फेरि मेरो दुःखको दिन सुरू भयो । पैसाको लागि मैले बंगुर पाल्ने, रौसी बनाउने, बाख्रा पाल्ने, कुखुरा पाल्ने जस्ता कयौं काम गरेँ तर सबै बालुवामा पानी हाले जस्तै भयो । मलाई ऋणले धेरै तनाव दिदै थियो । समाजमा कसैले सहयोग गर्दैन थिए । साहेद, आफु गरीब भएपछि कसैले हेर्दा रहेन्छन्। कहिलेकाही भगवानदेखि पनि एकदम रिस उठ्यो  । सानै उमेरमा जिन्दगीको बोझ मलाई बोकाइदिएकोमा  गरीबपनाले झन् झन् थिलिदै गएँ ।

    ऋण लिएकाले हरेक समय तनाव दिन थाले । अततः दुई वर्षको छोरो छोडेर म खाडी मुलुक कुबेत गएँ । मैले जिन्दगी के रहेछ भनेर बल्ल बुझेँ । विदेशमा अरूका घरमा काम गर्दा मलाई कयौं पिडाले दुःख दिइरहे । उसैमाथि श्रीमान् पेरालाईस भएर सधैका लागि बेडमा सुतेको खबरले म पागल जस्तै भएकी थिएँ । २६ वर्षको उमेरमा नै मैले श्रीमानको पुरै जिन्दगी बोकेर हिँड्नु परेको थियो । उसैमाथि खाडी मुलुकमा हरेक दिन साहुको किचकिच बेहोर्नु पर्ने छुट्टै बाध्यता थियो । खाना हप्तामा एकचोटि पेटभरि खाइन्थ्यो । निदाउन त परको कुरो, आँखा झिमिक्क नगरेको हप्तौं हुन्थ्यो ।  मलाई घर जान मन नभएको पनि होईन तर पासपोर्ट साहुले नदिने अनि दुई वर्ष पुरा नभई जान नपाइने भनेपछि म हरेक दिन पिडामा बाँचिरहेकी हुन्थेँ । आँसुको भेलबाट दुई वर्ष पार गरेर नेपाल आएँ ।

    बच्चा साना साना थिए । पति Wheel Chair मा जिन्दगी बिताइरहनु भएको थियो । आफन्त सबै पैसाको पछाडि दौडिने हुन । कसैले हामीलाई हेरेनन भगवानले पनि हेर्दारहेन्छन् । जब दुःखी भएपछि जस्तै लाग्यो । मैले नेपालमा रहँदा कयौं दुःख खेपेँ तर कतैबाट केही भएन । फेरि म विदेश जाने निणर्य पुगेँ । साना साना छोराछोरीलाई आँसु दिलाएर खुसी खोज्न सुरूमा खाडी नै जान तयार भएको थिएँ । कता कताबाट माल्दिभ्समा लैजाने आफन्तसँग सम्पर्क भयो । भत्किएको मेरो परिवारलाई खुसी दिलाउन माल्दिभ्स आएँ । हिजोआज मलाई आफ्नो जिन्दगी देखेर आफैँलाई बोझ लाग्छ । सबै पैसाको पछि दगुर्दै गरेको देख्दा अचम्ममा पर्छु । मेरा आफन्त सबै मदेखि टाढा छन् ।  म गरीब छु  ।मसँग धन छैन । परदेशको पिडा यस्तो हुन्छ कि मलाई जन्म दिएकी आमाको मृत्यु हुँदा समेत जान पाईनँ । कठै ! मेरो भाग्य सम्झिदा पनि उराँठ लाग्छ । म परिवारको खुसीको लागि जिन्दगीलाई पुरै आँसुमय बनाएर बिताइरहेको छु । हेर्दै छु, ईश्वरले कहिलेसम्म मेरो परिक्षा लिने छन् ।

     

     

     

    ४५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad