BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    हवाई क्षेत्रलाई विश्व प्रतिष्पर्धी बनाउन नीतिगत सुधारमा जोड दिन सुझाव

    संसार न्यूज संवाददाताजेठ २२, २०७५

    २२ जेठ, काठमाडौँ । मुलुकको हवाई क्षेत्रलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउनका लागि नीतिगत रुपमै सुधार गर्न विज्ञले सरकारलाई सुझाव दिएका छन् ।

    समग्र हवाई क्षेत्रको सुधारका लागि रायसुझाव दिन गठित विज्ञ समूहले आफूले तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै उनीनीतिगत सुधार, जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सहयोगमा सोमबार यहाँ आयोजना गरेको ‘हवाई क्षेत्रको पुनःसंरचनासम्बन्धी राष्ट्रिय कार्यशाला’मा सम्बन्धित क्षेत्रका विज्ञले उड्डयन क्षेत्रमा गरिनुपर्ने तत्कालीन सुधारका उपाय र संरचनागत सुधारका विषय बुँदागत रुपमा प्रस्तुत गरेका थिए ।

    नागरिक उड्डयन क्षेत्रमा सुधार गर्नुपर्ने राय सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मासहित मन्त्रालयले गत चैत २५ गते २१ सदस्यीय (नागरिक उड्डयन क्षेत्रमा लामो अनुभव र ज्ञान भएका) विज्ञ समूह गठन गरेको थियो । विज्ञलाई नागरिक उड्डयनका फरक चार विषय र २१ कार्यविधिसहितको जिम्मेवारी दिइएको थियो । पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले ‘विमानस्थल पूर्वाधार विकास, उपयोगिता र जनशक्ति व्यवस्थापन’ र नगेन्द्रप्रसाद घिमिरेले ‘विमानस्थल सञ्चालन र हवाई अर्थतन्त्र’ तथा नागरिक उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव सम्हालेका विज्ञद्वय ललितविक्रम शाह र कमलप्रसाद रिजालले क्रमशः ‘नागरिक उड्डयन क्षेत्रको संस्थागत कानूनी संरचना’ र ‘आधुनिक विद्युतीय प्रणालीको योजना’बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

    पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, क्यानका उच्च पदाधिकारी, निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीका प्रमुखसहितको कार्यशालाबाट आएको रायसुझावलासमेत समेटेर विज्ञ समूहले पूर्ण प्रतिवेदन तयार गर्ने र मन्त्रालय र मातहत निकायले त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जनाइएको छ । गोष्ठीको उद्घाटन गर्दै पर्यटनमन्त्री अधिकारीले नेपालको हवाई क्षेत्रलाई विश्वस्तरीय बनाउन नीतिगत तथा संरचनागत सुधार गरिने बताए । “उड्डयन क्षेत्रलाई मार्गदर्शन गर्न विज्ञको कार्यपत्र उपयोगी छ । उड्डयन क्षेत्रलाई विश्वप्रतिष्पर्धी बनाउने चुनौती छ, क्यानलाई प्रतिष्पर्धी र क्षमतावान् बनाई विश्वस्तरीय बनाउनैपर्छ र त्यो सम्भव पनि रहेकाले सोहीअनुसारको योजना, जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासलाई अघि बढाइनुपर्छ,” उनले भने ।

    मन्त्री अधिकारीले सरकारले समग्र हवाई क्षेत्रको नीतिगत र संरचनागत सुधार तथा पूर्वाधार विकासलाई प्राथमिकता दिई निजी क्षेत्रको समेत साझेदारितालाई प्रभावकारी बनाउने उल्लेख गरे । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको हवाई क्षेत्रलाई सुधार्न नीतिगत रुपमै सुधार गर्न विज्ञको कार्यपत्र उपयोगी हुने बताए । मन्त्रालयकै सहसचिवद्वय सुरेश आचार्य र बुद्धिसागर लामिछानेले हवाई क्षेत्रलाई गुणस्तरीय र प्रतिष्पर्धी बनाई मुलुकको विकास र समृद्धिसँग जोड्न प्राप्त रायसुझावलाई व्यावहारिक कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।

    ६७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad