BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    बुढेसकालमा छोरीको महत्व र राममायाको यथार्थता

    मीना शर्मा जेठ २३, २०७५

    छोरीको महत्व धेरै आमाबुबाहरुले अन्तिम समयमा बुझ्ने गर्दछन् । नुवाकोटकी टिकाकुमारी बुढेसकालमा छोरीले आफूलाई सुखसँग राखेकी छ भनेर गर्व गर्दछिन् । तैपनि हाम्रो समाजले छोराको महत्वको गुणगान गाउन छाडेको छैन । आज एकातिर राममाया आफ्नो छोराले आफूमाथि गरेको व्यवहार र उपचार नपाउँदा बुढेसकालमा छोरीको चाहना गर्दछिन् र टिकाकुमारी छोरीको रेखदेखमा आफूलाई पाउँदा ढुक्क छिन् । त्यसैले के भन्न सकिन्छ भने छोरीहरु अझै व्यावहारिक बनौं र बुढेसकालको साहारा छोरी पनि हुन्छन् भन्ने कुरालाई अझै मूर्त पारौं ।

    “के गर्नु मेरो कर्म फुटेको । छोरा छोरा भन्यो, छोरा पायो अहिले मेरो यो अवस्था भयो । म बूढी छु, बिरामी छु, बूढा चांडै नै बिते, बिरामी भएको बेलामा छोराले हेरेन, जा मोर भन्छ, करायो भने लगेर कोठामा थुनिदिन्छ । बूढाले त भनेका थिए(आफू बाँचुन्जेल सम्पत्ति नदेऊ, एउटा छोरो पाल्ला भनेर दिएँ । मैले उपचार पाइन । खायो खायो मेरो टाउको खायो ।”

    महाराजगञ्ज घर बताउने ६३ वर्षीया राममाया क्षत्री टिचिङ अस्पताल परिसर टाउको समाउंदै कराउंदै आफ्नो पीडा र व्यथा पोख्दै थिइन् । रोगले ग्रस्त बुढो शरीर उपचारका क्रममा भौतारिरहेको ती बृद्ध महिलाको जस्तै स्थिति धेरै आमाबुबाहरुको छ । आफ्नै सन्तानबाट तिरस्कृत हुँदा थुप्रै बाबुआमाहरु यसरी नै छोरा जन्माएर आफूले गरेको भूलको प्रायश्चित गर्दै कर्मलाई दोष दिइरहेका छन् ।

    बुढेसकालमा साहारा एउटा छोरा त जसरी पनि चाहिन्छ भनेर दान दक्षिणा, धर्म, कर्म, भाकल गर्ने देखि २–३ वटा समेत विवाह गर्ने चलन हामीकहाँ छ । बाबुआमाले बुहारीलाई आर्शीवाद दिँदा समेत ‘पुत्रवती भव’ भन्ने गर्दछन् । छोरा नपाउने महिलालाई ‘पूर्व जन्मको पाप गरेकी, पापिनी भएर अहिले छोरीछोरी पाई’ भन्ने जस्ता अन्य पीडादायी आरोप लगाउने गरेको सुनिन्छ । हाम्रो समाजले नै छोराको महत्वलाई उच्च मानेको हुँदा प्राप्ति गर्न लालयित हुने गरेको पाइन्छ । छोरी जन्मेपछि छोरा पाउने आशामा कुर्ने संस्कार अशिक्षीत र पिछडिएका वर्गमा मात्र नभएर आफूलाई शिक्षीत वर्गको । श्रेणीमा राख्न रुचाउनेहरुमा पनि देखिन्छ । छोरा पाउन नसके आफू नर्कमा गइने, आफ्नो वंश आफूसगैँ समाप्त हुने भन्ने चिन्तै चिन्ताले मानसिक रोगी नै बनेका उदाहरणहरु पनि देखिन्छन् । छोरी पाए विवाह गरेर अर्काको वंश चलाउन जान्छे, तर छोरा भए आफ्नो वशंलाई फैलाउँछ भन्ने कुराको अत्यन्त भ्रामक संस्कारले हाम्रो दिमागलाई नराम्रोसँग गाँजेको छ । मरेपछि किरिया छोराले नै गर्नुपर्दछ भन्ने भन्ने मानसिकताका कारण पनि हाम्रा अभिभावकहरु छोराको चाहना गर्दछन् । यद्यपी त्यो भ्रममात्र हो भन्ने कुराको पुष्टि हाम्रा दिदीबहिनीहरुले गरिसकेका छन् ।

    हाम्रो पुरुषप्रधान समाजको पुर्खौदेखि चलाउँदै आएको नामको पछाडि थर बाबुको नै हुने, विवाहपछि छोरी अर्काका घर जाने र छोरा आफ्नै घर बसेर वंश चलाउने भन्ने परम्पराले गर्दा नै यो छोरा र छोरीबिचको अन्तर बढी देखिएको हो । यो संस्कारबाट आधुनिक र सभ्य भन्ने व्यक्तिले पनि मुक्त पाउन सकेका छैनन् । ‘छोरासँग नै बस्नुपर्दछ, छोरीकहाँ गएर बसेमा छोराको नाक काटिन्छ’ भन्ने अर्को भ्रामक संस्कारले गर्दा छोराले जतिनै कुटेपनि, खान लाउन नदिएर नोकरको जस्तो व्यवहार गरेपनि सहेरै बस्ने तर छोरीसगँ बस्न हिच्किचाउने परम्परा पाइन्छ ।
    हाम्रो समाजमा छोरा र छोरी बिचको भिन्नता गर्भदेखि नै हुने गरेको पाइन्छ । बच्चा नजन्मिउन्जेलसम्मको उत्तेजना र खुशी अनुहार छोरीको पहिचान हुनासाथ क्षणभरनै लत्र्याक्क पर्ने शिथिल हुने गरेको देखिन्छ । यो मनोविज्ञान पछाडि के लुकेको छ त ? स्वयम् ९ महिनासम्म दुस्ख र पीडा सहंदै आएकी आमामा पनि छोरी भन्ने बित्तिकै सुत्केरी पीडा अझ बढ्ने गर्दछ । यस्तो हुन पनि किन नहोस् कि छोरा र छोरीबिचमा विभेद्को पाठ सिकाउँदैे आएको समाजमा नै रम्नु छ । छोराको आशमा छोरी पाएमा आफूले कति दोष पाउनुपर्ने हो, अझ सौता नै पो भोग्नुपर्ने हो कि भन्ने त्रास पनि उस्तै रहन्छ ।

    छोरा र छोरी एउटै आँखाको नानी, तर पनि किन यति ठूलो भिन्नताको खाडल बनाएको छ, यो समाजले ? पिछडिएको हाम्रो समाजमा छोरा जन्मेदेखि हाई हाईमा हुर्कन्छ भने छोरी जन्मेदेखि दिनभरको दाउरा र घाँसमा लडिरहनुपर्दछ । जब छोरा लाठे हुन्छ तब उसलाई जागिर खोज्न थालिन्छ भने छोरीलाई सम्पत्ति धेरै भएको घर खोज्न थालिन्छ । जब छोराको विवाह हुन्छ त्यसपछि छोराले गर्ने गल्ती कमजोरी बुहारीतिर सारिन्छ । ‘मेरो छोरा त त्यस्तो थिएन, बुहारीले बिगारी’ भन्ने आरोपले आम्रो घरपरिवारलाई असाध्यै प्रभावित बनाएको छ । जसको कारण प्राय सासूससुरा र बुहारीबिच द्वन्द्वको रेखा बढीरहेको पाइन्छ । यसैकारण प्रायः सासू र बुहारीबिचको सम्बन्ध राम्रो हुन सक्दैन । हरेक बुहारी कसैको छोरी हुन्, हरेक आमा आफ्नै आमाजस्तै हुन् भन्ने कुरा बुझेर पनि अबुझ बन्ने हाम्रो चलन सहज बनेको छ ।

    छोरालाई उत्तराधिकारीका रुपमा समाजले मान्दै आएको हुँदा बाबुआमाको सम्पत्तिको निर्वाध उपयोग गर्न पाउँछ । छोरा हो आफूलाई पाल्ला भन्ने विश्वासमा धेरै आमाबुबाले राममायाले जस्तै दुःख पाउने गर्दछन् । सम्पत्ति भन्ने चिजले यस्तो विकृती ल्याएको छ कि जसले नातापाता सबैलाई पराई बनाउँछ । जवानीमा सम्पत्तिको उन्मत्त भएर हामी बिर्सने गर्दछौँ कि कुनै दिन म पनि बूढाबुढी हुन्छु यो ध्रुवसत्यलाई बिर्सिएर आफ्नै बाबुआमालाई बुढेसकालमा रुवाईरहेका हुन्छौँ । मर्ने बेलाका बूढाबूढीको आर्शीवाद पाउनुको सट्टा श्राप र आसुँ पाइरहेका हुन्छौँ । सम्पत्ति र पैसाले अत्यन्त घिन लाग्दा कुकृत्य हुने गरेका यस्तै घटनाहरु छापामा आइराख्ने गर्दछन् । पैसाका लागि बाबुआमाले छोरीलाई, श्रीमान्ले श्रीमतिलाई बेचेको समेत पाइन्छ । जवान छोराहरु बाबुआमाकै सम्पत्तिमा ऐसआराममा रमाउने तर ती वृद्धहरु भने गल्ली(गल्लीमा भौतारिनुपरेको यो स्थितिका पछाडिको कारक तत्व के छ भन्ने कुरा पहिल्याउनु जरुरी छ । वृद्धाश्रममा बस्ने धेरै आमाबुबाका छोराहरु महलमा रहने गरेको र कोही विदेश भएको सुन्न पाइन्छ । समाजमा संयुक्त परिवारबाट छुट्टिएर एकल परिवारप्रति बढी इच्छा देखिन थालेपछि बाबुआमाको महत्वलाई छोराछोरीले बिर्सिदिने स्थितिको विकास भयो ।

    व्यवहारिक तुलनामा हेर्दा छोराभन्दा छोरीनै आफ्ना बाबुआमा प्रति जिम्मेवारी बनेको देखिन्छ । बिरामी पर्दा, बूढाबूढी हुँदा साहाराको रुपमा हेर्ने छोराको व्यवहार ठीक उल्टो हुने गरेको पाइन्छ । छोराबाट हुने गरेका क्रियाकलापबाट बुढेसकालमा बरु छोरीको चाहना गर्ने गरेको देखिन्छ । यो टिप्पणीकारले केही दिन टिचीङ अस्पतालमा बिरामी कुरेर बस्दा यो कुरालाई अझ बुझ्ने मौका पायो । ८५ वर्षकी आफ्नी वृद्ध आमालाई कुर्न ६४ वर्षकी छोरी बसेको पाइयो । उनीले साँचो अर्थमा आमाको स्याहारसुसार गरेकी थिइन । प्रायः बिरामीको कुरुवा छोरी नै थिए । तर्क गर्ने आधार रहन सक्छ महिलाका लागि महिला नै करुवा बसेका हुन् तर सत्यता यो होइन किनकी त्यहाँ बुहारीहरुको प्रवेश केहि क्षण मात्र रहन्थ्यो ।

    यस्तै यस्तै घटनाहरु हाम्रो समाजमा छताछुल्ल देखिन्छ ।  धेरै आमाबुबाहरु आफ्नो भाग्यलाई नै धिक्कार्दै छिटो कालले लगे हुन्थ्यो भनेर पुकार गरिरहेका हुन्छन् । छोरीको महत्व धेरै आमाबुबाहरुले अन्तिम समयमा बुझ्ने गर्दछन् । नुवाकोटकी टिकाकुमारी बुढेसकालमा छोरीले आफूलाई सुखसँग राखेकी छ भनेर गर्व गर्दछिन् । तैपनि हाम्रो समाजले छोराको महत्वको गुणगान गाउन छाडेको छैन ।
    आज एकातिर राममाया आफ्नो छोराले आफूमाथि गरेको व्यवहार र उपचार नपाउँदा बुढेसकालमा छोरीको चाहना गर्दछिन् र टिकाकुमारी छोरीको रेखदेखमा आफूलाई पाउँदा ढुक्क छिन् । त्यसैले के भन्न सकिन्छ भने छोरीहरु अझै व्यावहारिक बनौं र बुढेसकालको साहारा छोरी पनि हुन्छन् भन्ने कुरालाई अझै मूर्त पारौं ।

    (प्रस्तुत लेख २०६० जेठ २५ गते कान्तिपुर दैनिकमा प्रकाशित भैसकेको हो, आज पनि सान्दर्भिक रहेको छ । )

    ४४६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad