BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    मृत्यु उपत्यका

    मनोज बोगटी, दार्जेलिङ भारतजेठ २६, २०७५

    “हो शारदा, म अङ्‌ग्रेजको गुलाम बन्न भन्दा फॉंसी नै रोज्छु। मेरो बलिदान खेरो जाँदैन,” दुर्गा मल्लको आवाजमा त्यो आत्मविश्वास थियो, जो गोर्खामा हुनुपर्छ ।

    मेजरको लोकमृत्युलाई नेपाली शब्दले बलियो गरी काँधमा बोकेको मलाई खुब मन परेको थियो।
    त्यतिखेर म इतिहास पढिरहेको थिएँ ।

    हुन त मेरो आफ्नै पाइतालामुनि एउटा वर्तमान थियो ।

    म सानुमा प्लास्टिकको गोली दाहिने खुट्टाले टक्क रोकेर सुबास घिसिङलाई भन्थेँ,  “बुझिस्‌, मर्नु त त्यसरी पो त ।”
    सुबास घिसिङ कुरा नबुझेर हरियो रङको हाफ पेन्ट लगाएर उँधै लाग्थ्यो। किनभने¸ उसको अन्तिम बास उतै थियो । सुबास घिसिङ ओह्रालो लाग्दा निक्कै दुःख जसलाई लागेको थियो, त्यो म नै थिएँ ।

    कुन्नि के भो¸ मेरो उमेर अचानक ह्वात्तै फुल्लियो ।
    भाइचुङ भोटियाले फुटबलमा पम्प हालेको रहेछ ।
    प्रशान्त तामाङले कट्टुमा साबुन दल्दै कुन गीत गाँउथ्यो मलाई थाहा छैन तर त्यो दिन आँगनमा घाम बाक्लो थियो ।
    मेरो फुलिएको उमेर फुस्स भयो ।
    इतिहास पनि यति छिट्टै फुस्स हुन्छ त ?
    यथार्थ के हो भने म त मेजर दुर्गा मल्लको सालिकमुनि मरेँछु।
    यो ऐतिहासिक मृत्युअघि मलाई सोधिएको थियो, “तेरो अन्तिम इच्छा के छ ?”
    मैले भनेको थिएँ, “मर्नु ।”

    मलाई थाहा छ – यो मेरो शब्द थिएन । शब्द त शासकले निर्माण गर्छ । उसलाई जहाँ शासन गर्नु छ, त्यसै अनुकूलको सामाजिक मनोविज्ञान निर्माण गर्ने कला शासकमा नै हुन्छ । मेरो यो शब्द त्यही मनोविज्ञानले ब्याएको छाउरो थियो ।

    म त मरेँछु । मलाई मर्नु मन लागेको थिएन ।

    “विश्वमा कोही पनि मन लागेको मर्न पाउँछन्‌ त ?” विमला राईले मलाई सिब्सुको जङ्गलमा जीवनको धागो खोज्दै गर्दा भनेकी थिइन्‌ । विमलाले धागो भेटिनन्‌ । आफैँलाई सिउन खोजिरहेकी विमलाको जीवन कति ठाउँ फाटेको थियो ?
    विमलालाई मर्न मन लागेको थिएन। विमल गुरूङले फकायो । सिब्सुको जङ्‌गलमा विमल गुरूङ आन्दोलन गरिरहेका थिए ।

    उसलाई लाग्थ्यो, “म डुवर्सभूमि जति ठाउँ टेक्छु, त्यही हो गोर्खाल्यान्डको सिमाना ।”

    (मलाई टोल्सटोयको कथा याद आयो। त्यसको शीर्षक थियो, “मानिसलाई कति जमीन चाहिन्छ ।”
    त्यो पात्र साँझसम्म फर्किएर जुन ठाउँमा आयो, त्यहीँ ढल्यो । पाँचफुट जमीन खनेर गाडिदियो । दिनभरि लगाएर त्यसले कुल्चिएको जमीन त्यति पाँचफिट मात्र थियो ।)

    त्यो दिन पनि राँगा ढालिएका थिए । विमला त्यसैको गिदी जिब्रो भुटिरहेकी थिइन्‌ । रक्सीका बोतलहरू जङ्‌गलभरि थिए । बङ्‌गाल सरकारको पुलिस जङ्‌गल पस्यो। सप्पै भागे। भागिनन्‌ विमला । त्यसपछि विमलाको निधारमा पस्यो पुलिसको गोली ।
    त्यहॉं एउटा नाटक मञ्चन भयो ।
    बङ्‌गालः यो भूमिको कुनै पनि आन्दोलन एउटा नाटक हो ।
    नेताः त्यो नाटकको खास कलाकार म हूँ ।
    बङ्‌गालः निर्देशक त म हूँ ।
    नेताः भन्नुहोस्‌, मेरो भूमिका के हुन्छ।
    बङ्‌गालः एउटा नाटक गरौँ ।
    नेताः कस्तो ?
    बङ्‌गालः हामी गोली ठोक्छौँ । तिमी भाग्नु । जसलाई लाग्छ, त्यतिले आन्दोलन शिथिल गर्न पर्याप्त इस्यू मिल्छ।
    नेताः रिस्क हुँदैन ?
    बङ्‌गालः तिमी निर्देशक कि म ?

    त्यसपछि पर्दा खोलियो।
    पर्दा खोलिँदा विमलाहरूको निधार गोलिले छेडेको थियो।
    “विश्वमा कोही पनि मन लागेको मर्न पाउँछन्‌ त ?” विमलाले गोलि हान्ने पुलिसलाई सोधिन् होला यो प्रश्न ? विमलाहरू त मसिना कलाकार थिए । तिनको हकमा संवाद लेखिएको थिएन ।

    मलाई विमलाको असाध्यै याद आयो ।  मैले झट्ट सम्झेँ, मङ्गलसिँह राजपूतलाई । मङ्‌गलसिँह राजपुत जिउमा आगो लगाउने सार्वजनिक घोषणा गरिरहेका थिए, म सुनिरहेको थिएँ । डम्बरचौकमा मानिसहरू मङ्‌गल मरेको हेर्न उभिएका थिए । सरकार पनि त्यही लहरमा थियो । मङ्‌गलको मृत्यु घोषणा विरुद्ध सरकारले कस्सैलाई पक्रिएन ।
    एकजना विपक्षी कार्यकर्ताले मलाई भन्यो, “अब हेर है नाटक ।”
    उसले जिउमा मट्टितेल छर्कियो र भन्यो, “छुट्टै राज्य दे, नत्र म आगो झोस्छु।”

    त्यो मर्‍यो । कसैले राज्य दिएन । नाटक सकियो ।

    पत्रकारहरूले मरेको समाचारलाई जिब्रो पड्‌काउँदै लेखे । मरेको मान्छेलाई अक्षरको माला लगाए । त्यसपछि पत्रकारहरू पनि आफै मरे । उनीहरूको मलामी अक्षरहरू नै थिए ।
    पत्रकारलाई गाली गरिरहेको थिएँ म, “खुनी चमेरा पकाएर खाने जात, कीरा पर्न नसकेको ।”

    मरेको समाचार सबैभन्दा चाख मानेर पढ्यो कलेजका प्रिन्सिपलले । नाम बिर्सें, कुनै नाम दिनुस्‌ न, मानौं उजत्ति बुद्धिमान काफरे कोही छैनन्‌, यस्तो कुनै पात्रलाई बनाउनुस्‌ प्रिन्सिपल । जसको प्रिन्सिपल नै हुँदैन । त्यसले समाचारलाई कफीको स्वाद लियो । आन्दोलन चलिरहेको थियो । बन्द डाकिएको थियो । कलेज बन्द थियो । उसले हाई काड्यो र एउटा किताब पक्रिएर बस्यो । यो समाजको खिर्कीबाट म हेरिरहेको थिएँ ।

    मर्नु भनेको सास जानु होइन रहेछ । दृश्यले ज्ञान दिन्छ। अर्थ पनि दिन्छ । कोहीबेला अर्थको अर्थ घाम लागेको बेला निस्किएको भालेमुङ्‌रोजस्तो हुँदोरहेछ । मलाई मृत्युको अर्थ त्यस्तै लागिरहेको थियो ।

    उसले सुकाएको हापेन्ट मुनीको कटेरामा बस्ने काइँलाको खाट बजेको सुन्न रातीराती निस्किने अवकासप्राप्त कर्णेल समशेरले जुन भाषण दिन्छ, त्यसलाई लेख्ने अगमसिंह गिरी पनि यसरी मरेन होलान्‌, जसरी म मरें । तर मलाई लाग्छ मर्नजति रमाइलो केही हुँदैन ।

    म मरेको थिएँ। मरेपछि कहिल्यै मलाई मन नपर्ने कमिलाहरू निस्किए ढलेको रुखको टोड्‌काबाट। उनीहरूको भीड बढ्यो । उनीहरू मङ्गलसिंह राजपूतको जिउमा लागेको आगो निभाउन बिर्सिएर मलाई दफ्नाउन चाहन्थे। भुसुनाहरू मेरा नाक, कान, आँखातिर भन्किन थालेपछि झिँगाहरू आइपुगे ।
    उनीहरूले एकसाथमा भने, “लु हामीले छोइदियौं, कुहिनुअघि नै लैजाओ।” कमिलाको ताँतीले बोकेर लाँदै थियो ।

    मैले भनेँ, “बजारतिर लैजाओ ।”
    उनीहरू कराए, “बन्द छ।”

    मरेपछि मेरो कुरा सुन्न छोडिएको थियो। मैले मेजर दुर्गा मल्लदेखि मिलाएर जम्मै सहीद सम्झिएँ । भूपी शेरचनले यति जोडले झुट बोलेर गएछन्‌ कि हजारौँ मिरमिरे भइसके, लाखौँ तारा झरिसके, मुलुक बनेन । शेरचनले मारे हाम्रा मानिस । मलाई लाग्छ ती मर्ने सहिदहरूले भूपिको ‘हामी’ पढेनछन्‌ । पढेका भए थाहा पाउँथे होला अचेलका आलोचकलेझैं एउटा कविता पढेर कविलाई आँक्न हुँदैन । कविता पढ्‌न नजान्ने बुद्धुहरूको समाज हो यो ।

    मलाई कुरुप इतिहासघरभित्र जलाउने सल्लाह सुनेपछि मलाई लाग्यो, यो मरेको गन्यौला बोकिरहेका कमिलाको ताँती जहिले पनि आफ्नो आहारको खोजीमा किन हुन्छन्‌ ? यिनेरलाई किन मरेकै गन्यौला चाहिन्छ ? हुन त मदन तामाङको घिच्रोबाट निस्किएको रगत सडकमा नै सुकेको थियो, त्यसलाई पनि घेरेरै बसेका थिए कमिलाहरू ।

    मदन तामाङ पनि गन्यौला नै थिए ।

    विमल गुरूङहरूको आन्दोलन राज्य र केन्द्रको प्रायोजना कसरी हो, त्यो बताउन ऊ जनसभा गर्दै थियो । गोर्खा लिग नेता मदन तामाङ साह्रै खस्रो बोल्थे। गोर्खाल्यान्डको आन्दोलन होइन फेरि दार्जिलिङ गोर्खा पार्वत्य परिषद ल्याउन विमल गुरूङहरू बेचिएको तथ्य सार्वजनिक गर्न माइकअघि पुगेको मदन तामाङको घिच्रोमा पातङ बज्यो ।

    ढल्यो मदन तामाङ । घिच्रो छिनिएको थियो । त्यहीँ झिँगाहरूले मुसारे । मदन तामाङलाई पनि तिनै कमिलाहरूले घेरे ।

    मलाई जसरी कमिलाहरूले बोकेर हिँडिरहेका छन्‌। मैले देखेँ, सरकारका मानिसहरूले पनि गन्यौलालाई काँध दिइरहेका छन्‌। मलाई कहिल्यै यो सरकारले चिनेन ।

    एकदिन मैले भनेँ, “सरकार, म भारतकै नागरिक हुँ।”
    सरकारले भन्यो, “१९५० को सन्धि एकपल्ट फेरि पढ् ।”

    त्यसपछि अहिलेसम्म हामी झगडा गरिरहेका छौँ ।
    मलाई सरकारका मानिसहरू ठूला कमिलाजस्तै लागे । म मरेको दिन, सबैभन्दा खुशी उनीहरू नै थिए । म मरेको खबर ममता व्यानर्जी जस्तो बलियो कमिलाको माउले सुनेपछि कस्तो कविता लेखिन्‌ कुन्नि ?

    झनक्क रिस्‌ उठ्यो। मैले कमिलाको ताँतीमाथि तुरुरुरुरुरुरु मुतिदिएँ ।

    त्यतिखेर मेरो लाशबाट हाँगा निस्किन थालेको थियो र त्यही हाँगाको बुरुस रातो रङमा दलेर आन्दोलनकारीहरूले लेखेका थिए, “मृत्यु उपत्यका- मुर्दाबाद, मुर्दाबाद ।”

    मलाई गन्यौलाको असाध्यै माया लाग्यो । मैले मुतिदिएपछि कमिलाहरू भागरेभाग भए । गाउँका कार्यकर्ताहरू जङ्‌गल पसे । मैले मुतेको धारा दार्जीलिङमा आकास फाटेर निस्कियो । रुखहरू ढले ।

    वास्तवमा ‘रुख ढल्दैन’ भन्थे- कार्लमार्क्स । त्यसै भन्थे- चाभेज पनि । त्यसै भन्थ्यो- अवतारसिंह पास। गिन्सवर्ग, धुमिल, राजा पुनियानीहरु सबका सब यसै भन्थे।

    खै त, ढल्दोरहेछ त रुख । जरा कमजोर भएपछि ढल्छ नि रुख । कमजोर जरामाथि बसेर मनप्रसाद सुब्बा र रेमिका थापाले किनाराका आवाजहरू लेख्दै गर्दा त्यो आवाज निल्ने ब्ल्याक होल बनिसकेको थियो । एउटा ब्ल्याक होल त ममता व्यानर्जीको चोलोभित्रै थियो। अर्कोचाहिँ मोदीको जाङ्‌घेमा। होलहरूभित्र परेका नदेखिने त्यस्ता झिनामसिना कथाहरू त अचेलका पाठकले पढ्‌दैनन्‌ पनि । तरै पनि ‘माइक्रो न्याराटिभ’को डङ्‌का पिट्‌नेहरूकै घर अग्लो छ संसारमा । बिडम्बना पनि एउटा भए पो !

    झरिले बाटो थुन्यो किनभने रुख जो लडेको थियो। ‘रुख लडेपछि नै आन्दोलन स्थगित गरिएको हो’ रोशन गिरीले २४ घन्टाका पत्रकारसित गरेको कुराकानी हेर्दै थिएँ म । समाचार पत्रिकामा पनि छापिएछ घाउको नक्सा त। आलोआलो घाउ मन पराउने सम्पादकहरूको बानीलाई नेपालको बृहत् शब्दकोषले पनि ‘क्यानिबल’ नै भनेको रहेछ ।
    भाषादिवसको दिन यसो शब्दकोष पल्टाउँदै जॉंदा प्रश्न जन्मियो – ‘शब्दको निर्माण कसरी हुन्छ ?’

    अथवा सडकमा रुख ढल्दा कस्तो आवाज आयो होला ? त्यो शब्द ‘आन्दोलन स्थागित’ नै थियो होला त ?

    कमिलाहरूले घिसार्दै लगेको गन्यौला त्यही रुखको बोक्राको छाना लगाएर बसेको थियो। रुख ढल्दा पछारिएरै मरेछ। त्यो मरेपछि मैले निक्कै ठम्याएर हेरें । कताकता मुद्दा जस्तो थियो, त्यसको हुलिया । कमिलाहरूले बोकेर लॉंदै थिए । मलाई लाग्यो, यिनीहरूले खान्छन्‌ त्यसलाई । मलाई मुद्दा खानेहरूसित रिस्‌ उठ्‌छ ।

    लौ खा त, मुतिदिएँ- तुरुरुरुरुरुरुरुरुरुरुरुर।

    म त्यसरी मरेँछु। कसले मार्‍यो मलाई ?
    त्यसको अनुसन्धान गर्ने तयारी गर्दै छु । अमेरिकी फिक्सन राइटर टोनी मौरिसनले मलाई भूत बनाएर फर्काउने भएका छन्‌ । मलाई काफ्काको सामसा ग्रेगर हुन मन लागेको छैन । मार्खेजले पनि सम्पर्क गरेका छन्‌ । खासमा मलाई उनीहरूसित कुनै दिलचस्प छैन ।
    मलाई थाहा छ इन्द्रबहादुर राईलाई मजस्तो पात्र हावा लाग्छ । दिमाग सड्‌केको पात्रबारे लेखेर उसलाई बद्नाम हुनु छैन ।
    मलाई एकजना भर्जिन सनकी चाहिएको छ, जो कथालाई खास उद्देश्यले लेख्नपर्छ भन्ने लागोस्‌ । मेरो कथा लेखेपछि पाठकले हेरुन् – मुर्दा बोक्ने विचारखानाजस्ता दलहरूको छेपारीमा समयले सिर्कना कति हानेछ ।

    म त मरिहालेँ । खासमा मलाई कसैले मारेको हो । कसले मारेको हो ?
    त्यही कथाको खास पात्र हुन्‌ ।

    इति

    ६१७ पटक
    प्रतिकृया दिनुहोस्