BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३० गते
    Headlines :

    मुक्तकहरू

    कृतिशेष राकेश काफ्लेका एक दर्जन मुक्तकहरू

    कृतिशेष राकेश काफ्लेआषाढ १, २०७५

    वीरमान र जीतमान आत्महत्या गर्दै छन यहाँ
    हीतमान अन्तिम क्षणमा बैतर्नी तर्दै छन यहाँ
    प्रेम र वियोगको ज्वालाले छाति दन्किदा
    कैयौं देशभक्त अल्प आयुमै मर्दै छन यहाँ

    मानिसहरूको भिडबाट निस्किएँ म
    बैगुनीको चाल देखी बिच्किएँ म
    मुटु चर्की सास फेर्न गाह्रो भयो र त
    आज फेरि कालसँग जिस्किएँ म

    छातिमा चोट लिएर हाँस्नु पर्ने ओठहरूले
    अधर्मी काँडा बोकेर बाँच्नु पर्ने बोटहरूले
    पीडा जति आफू लिई खुसी मात्रै बाँड्नु नि
    हामीले पूज्ने गुम्बा,मस्जिद अनि मोठहरूले

    बगैंचा बचाउनु छ भने मालीलाई माया गर
    फुलाउनु छ फूल भने डालीलाई माया गर
    साँचै तिमी प्रगति पथमा लागेकै हौ भने
    तालीलार्इ जस्तै गरी गालीलाई माया गर

    स्वर्ग हुन्छ फूलबारीमै यस्तै सुन्दर घर भयो
    दुःख लुकाई जीवन हाँस्ने अबदेखि भर भयो
    खुसी सारा बटुल्ने छु समय सालमा भनेकै हुँ
    सोचे जस्तै भाग्य बन्यो सारा दुःख पर भयो

    हो बनाँउछु अब म यो देश बनाउँछु
    हरेक मानिसलार्इ चाँडै राकेश बनाउँछु
    हिमाल, पहाड़, तराई सबै मिलाएर
    नेपाली सारा बाँच्ने परिवेश बनाउँछु

    आफूले आफैंलाई भलादमी ठान्नेहरू
    थुतुनाको भरमा छक्का दाउ हान्नेहरू
    हो हविगत देखेर दिक्क लागेर आउँछ
    पत्थरलाई जिवित भगवती मान्नेहरू

    न त ईश्वर दायाँ हुन्छ न त बायाँ नै
    न त उसको रूप हुन्छ न त छायाँ नै
    निर्जिब ती पथ्थरलाई जति पूजे नि
    न त त्यो पुण्य हुन्छ न त माया नै

    मुखमा राम बगलीमा छुरी लिएर
    मनभित्र पापको आँधी हुरी लिएर
    नआउनु ब्युँजाउन निदाएको बेला
    हल्ला गर्दै साथमा भुराभुरी लिएर

    बाइबल कुरान गीतालाई समान दृस्टीले हेर्न सके
    गुरूजन आमा र पितालाई समान दृस्टीले हेर्न सके
    बन्थ्यो होला संसार यो शान्त सुन्दर बगैंचा अझै
    सबै ग्रन्थको अस्मितालाई समान दृस्टीले हेर्न सके

    १०

    छातीभित्र रावण बोकी मुखमा राम
    रामको नाम जपी माग्दै हिँड्छन् दाम
    राम दाम र नामको तालमेल मिले’सी
    उदाउँछ जीवन तिनको जब डुब्छ घाम

    ११

    आफ्नै छायाँले छल गरेपछि मुटु दुःख्यो
    बिदेशको दलदलमा परेपछि मुटु दुःख्यो
    नेपाली हुँ वीर झुक्दैन यो शिर गाउँदै थिए
    शिरको टोपी भुँईमा झरेपछि मुटु दुःख्यो

    इति

    कृतिशेष स्रष्टा राकेश काफ्ले विरचित कृति परिवेश रोएको बेलाबाट साभार । – सम्पादक

    ९८४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad