BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    १० वर्षे इजरायलको रोजगारी छोडेर उद्योगमा रमाउदै सुमित्रा

    संसार न्यूज संवाददाताआषाढ २, २०७५

    सुमित्रा पौडेल ‘आँचल’ साहित्य क्षेत्रमा चर्चित नाम हो । तर, उनी केही समययता साहित्यबाट अलि टाढा भएको भान सबैलाई परेको छ । साहित्यकारको रुपमा चर्चा कमाएकी सुमित्रा अहिले चितवनमा उद्यमीको रुपमा उदाएकी छन् । त्यो पनि १० वर्ष इजरायल बसेर फर्केपछि ।

    प्रायले विदेश जानु भन्दा पहिला जुन पेशा गरेको थियो त्यहि पेशालाई अपनाउँदैनन् । ती मध्येमा पर्दिनन् सुमित्रा । उनी त २३ वर्ष अगाडि आफूले गरेको पेशालाई पुनः अँगाल्न थालेकी छन् त्यो पनि नेपाली महिलाको शसक्तिकरणका साथै उद्यमी बनाउने सपना बोकेर । उमेरले जीवनको ५ दशक पुग्न लागिसकेकी सुमित्रा अझै पनि १५–१६ वर्षे उत्साह, जाँगर र जोश बोकेर लागिरहेकी छन् । ‘वास्तवमा मलाई कहिल्यै पनि थकाई लागेन, अझै इजरायलबाट फर्केपछि त झन जोश जाँगरले मन भरिएको छ आफ्नै देशमा कर्म फूलाउन पाएँ भनेर ।’ सुमित्रा भन्छिन् ।


    सुमित्रा पौडेल आँचलले नेपाली साहित्य क्षेत्रमा योगदान स्वरुप आध्यात्मिक चिन्तनको प्रथम पाईला (२०६१) र कथा ‘अन्तिम बिदाइ’, गजल संग्रह ‘प्रवासको कोशेली’ र मुक्तकका रुपमा ‘औकात’ नामक’ कृति दिइसकेकी छन् । हाल उद्यमीकै रुपमा रहँदा पनि उनी साहित्यलाई उत्तिकै माया गरेको बताउँछिन् ।

    ४८ वर्ष पहिले चितवनको देवनगरमा जन्मेकी सुमित्राको आइ.ए पढ्दा पढ्दै राष्ट्र बैंकमा जागिरे रहेका जिता लम्जुङका रामजी प्रसाद पौडेलसँग बिहे भयो । श्रीमानको जागिर विराटनगर थियो । उनलाई पनि उतै जानुपर्ने भयो अनि त उनको पढाई बिचमै छोडियो । यो २०४५ सालतिरको कुरा हो ।

    विराटनगरमै रहँदा छोराको जन्म भयो । त्यहि रहँदा पनि उनलाई जीवनमा केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । विराटनगर पुगेको १ वर्षमै उनका श्रीमानको सरुवा पाल्पामा भयो । उनी पनि छोरा बोकरै पाल्पा गइन् । पाल्पामा उनी ५ वर्ष बसिन् । त्यहि छोरी जन्माइन् । त्यहाँ पनि उनलाई मनमा केही गर्ने बेचैनीले छोडेन् । अनि त ५ वर्षका छोरा र ३ वर्षकी छोरी बोकेर उनी श्रीमानलाई पाल्पा नै छाडेर चितवन फर्किइन् ।

    चितवनमा फर्केर उनले उद्यमी बन्ने सोच राखिन् । प्राइभेट कम्पनीबाट सिलाइ कटाई सम्बन्धी तालिम लिइन् । जिल्ला घरेलु उद्योगबाट एडभान्स कोर्स गरिन् । २०५३ मा सुमित्रा र एमकुमारी रानाभाटले २०–२० हजार रुपैयाँ गरेर ४० हजार लगानी गरेर २ वटा मेसिन राखेर काम सुरु गरे । यम कुमारीले ६ महिनापछि छोडिन् । सुमित्राले सिलाउने मान्छे राखेर आफूले कटिङको काम गर्दै एक्लै त्यसलाई अगाडि बढाइन् ।

    त्यसको दुई वर्षपछि २०५३ मा उनले नारायणगढको इन्द्रदेव मार्गमा अर्को सिलाई पसल खोलिन् । त्यहाँ उनले १ लाख ८० हजार लगानी गरिन् । उनलाई यो काममा रस पर्दै गयो । त्यसको १ वर्षपछि भरतपुर क्यान्सर अस्पतालको गेट अगाडि ८० हजार लगानी गरेर अर्को सिलाई पसल खोलिन् । ‘मलाई त धेरै खुसी लाग्यो ममा साहस र आँट प्रशस्त थियो, २०५८ तिरै तीनवटैमा गरेर झण्डै १५ जनालाई रोजगारी दिएकी थिएँ’ विगत सम्झिइन् सुमित्राले ।

    सुमित्राले २०५८ मै ‘पुष्प मदन स्मृति प्रतिष्ठान’ चितवनबाट २५ हजार नगद सहित ‘उत्कृष्ट महिला उद्यमी’ को सम्मान पनि पाएकी थिइन् । त्यसपछि त उनी महिला उद्यमीका रुपमा महोत्सवमा भागलिन पोखरा, बाग्लुङ लगायतका ६ वटा जिल्लामा पुगिन् । जहाँ पुग्थिन् त्यहाँ हौसला र सम्मान पाउँदा उत्साहित बन्थिन् । उनले आफ्नो व्यवसायमा थप लगानी बढाउनका लागि कृषि विकास बैंक र भाजुरत्न फाइनान्सबाट ७ लाख ऋण समेत लिइन् ।

    सुमित्राको सिलाई कटाई व्यवसाय राम्रै अगाडि बढिरहेको थियो । त्यतिबेला माओवादी जनयुद्धको प्रभाव उनको व्यवसायमा पनि प¥यो । दिनहुँ बन्द हुने, चन्दा माग्न आउने लगायतका समस्याहरूले उनको व्यवसाय ओरालो लाग्न थाल्यो । ‘यस्तो अवस्था पनि आयो की ऋणको व्याज तिर्न समेत धौ–धौ प¥यो ।’ उनले सुनाइन् ।


    २०६१ तिर त जनयुद्ध चरमोत्कर्षमा पुग्यो । त्यसपछि त झन गा¥हो भयो । कोरियामा रहेका दाइको सल्लाहमा कोरिया जान्छु भनेर सोचिन् । तर, राजा ज्ञानेन्द्रको शासनकालमा सरकारी कामहरू ठप्प भयो । उनी कोरिया जान पाइनन् । फेरि उनले इजरायल जाने साँेच बनाइन् ।

    २०६१ सालको अन्तिमतिर उनले कुपण्डोलमा रहेको हाइ हिमालयन म्यानपावरलाई ४ लाख तिरेर इजरायल जाने प्रोसेस गरिन् । तुरुन्तै भिसा आयो । त्यसपछि त उनी दुई ठाउँका सिलाई मसिन घरमै थन्क्याएर नारायणगढको व्यवसाय साथीलाई सुरुवाती लगानीकै मूल्यमा बेचिदिइन । ‘त्यसमा मेरो लगानी ५ लाख पुगिसकेको थियो । तर, के गर्ने अवस्था त्यस्तै थियो । गरि खाउ भनेर जति लगानी गरेर स्थापना गरेको थिएँ, त्यत्तिमै दिएर छोडे’ उनले भनिन् । इजरायलमा उनी ‘केयर गिभर’ का लागि पुगिन् ।

    इजरायल पुगेको तीन महिना त दिनको एउटा पाउरोटी खाएर काम गर्ने अवस्था आयो । ‘एउटा पाउरोटी चोरेर खान्थे । दिनको दुईवटा पाउरोटीमा तीन महिना बिताएँ’ इजरायलका सुरुवाती दिनको सम्झना गरिन् उनले ।

    ५५० डलरमा सम्झौता गरेको भएपनि ती रोजगारदाताले तीनमहिना पछि पैसा दिन सक्तिन् भनेपछि एजेन्सीमार्फत अर्को रोजगारदाताकोमा गइन् उनी । त्यहाँ दुईवटा बुढाबुढी हेर्नुपर्ने थियो । दुईजनालाई हेर्न दुईजना नै केयरगिभर चाहिन्थ्यो । तर, पनि उनले ‘म एक्लै दुईजनालाई हेर्छु पैसा अलि बढी देउ’ भनेपछि ६ सय डलरमा दुइवटै बुढाबुढीलाई हेर्न थालिन् । उनीहरूले राम्रै गरे उनलाई । त्यसको एकवर्ष पछि उनलाई ९ सय डलर तलब दिइयो । उनी १८ घण्टा खट्थिन् त्यहाँ । दुवैजनाको राम्रो देखभाल गर्न थालेको ४ वर्षपछि उनको तलब १५ सय डलर भयो ।

    ४ वर्ष बसेपछि उनी नेपाल आइन् । उनी आउँदा आफ्ना ठाउँमा अर्कै ककेयरगिभर राखेर आएकी थिइन् । उनी आएको १ हप्तामै बुढीको मृत्यु भएपछि उनी तुरुन्तै फेरि इजरायल फर्किछन् । ‘उनलाई ब्लड क्यान्सर थियो म आएको एक हप्तामै उनको मृत्यु भयो । त्यसपछि त मलाई फर्किहाल्नु प¥यो ।’ उनले भनिन् । उनी त्यहि घरमा साढे ६ वर्ष बसिन् ।

    उनको भिसा सकिएको थियो । त्यतिबेलै इजरायलमा पेपर भिसा लिएर बस्न मिल्ने कानुन आएकोले उनले पनि त्यसै गरिन् । पछि बुढाको पनि मृत्यु भयो । इजरायलमा काम गर्दा जतिवर्ष काम ग¥यो त्यतिवर्षको पेन्सन पाइन्थ्यो । सुमित्राले त्यहाँ काम नभएपछि त्यो लिएर अर्को ठाउँमा जान्छु भन्दा रोजगारदाताले दिन मानेन । मुद्दा लड्छु भन्दै वकिल पनि लगाइन् । तर, रोजगारदाताले मुद्दा लड्ने भए नेपाल पठाइदिन्छु भनेपछि उनले ६ महिनाको (एक वर्ष बराबर १ महिनाको तलब) को माया मारेर त्यो घर छाडेर अर्को घरमा गरे काम गरिन् ।

    श्रीमानको हेरचाहमा छोराछोरी छोडेर इजरायल गएकी सुमित्राकी छोरा सुजित पौडेलले अमेरिकाबाट कम्प्युटर साइन्समा मास्टर गरिसकेका छन् भने छोरी रोजिना पौडेलले काठमाडौं युनिभर्सिटीबाट बि.एन गरिसकेकी छन् ।

    झण्डै १० वर्षे इजरायली रोजगार छोडेर सुमित्रा २०७३ मा नेपाल फर्केकी हुन् । श्रीमानको पेन्सन पनि भइसकेकोले सुमित्रालाई खान र लाउन कुनै कमि थिएन् । फेरि इजरायलमा रहँदा कमाएको पैसा पनि साथमा थियो । चितवन छोडेर काठमाडौंमा परिवार सँग बसेकी थिइन् । तर, देश फर्केर केही गर्ने अठोट बोकेर फर्केकी उनी घरभित्रमात्र बसिरहन पर्दा आत्तिइन् । काठमाडौंमै रहँदा आइडिया स्टुडियो नेपालले व्यवसाय गर्न मन भएका र व्यवसाय सुरु गरिसकेकालाई हौसला र उत्प्रेरणा दिने उद्देश्यले ‘सोचदेखि उद्यमसम्म’ विषयमा तालिम दिने भनेर सूचना निकालेको रहेछ । उनले त्यसमा आफ्नो इच्छा र विगतमा गरेको कामको बारेमा राखेर फारम भरेर पठाइन् । उनलाई स्टुडियोले नै फोनै ग¥यो । ६०० जनाले फर्म भरेकोमा उनी ३० नम्बरमा परिन् । त्यहाँ तीन महिना तालिम लिइन् । तालिमका क्रममा उनी यतिधेरै प्रभावित भइन् की, उनी फेरि १० वर्ष अगाडिकै पेशामा फर्किने सोँच बनाइन् ।


    त्यहाँ तालिम लिएपछि उनी चितवन फर्केर सम्भावना हेरिन् । पहिलेका साथीहरूलाई खोजिन् अनि बजारको सम्भावना बुझिन् । अनि सुसज्जित कलेक्सन नामको कम्पनी दर्ता गरेर उद्यम सञ्चालन गर्न थालिन् । उनले यसका लागि २६ वटा सिलाई मसिन (जुकी मसिन) र अन्य सामग्रीका लागि झण्डै साढे ९ लाख लगानी गरेकी छन् । साथै साथीसँग मिलेर बुटिक पनि खोलेकी छन् । अहिले सुसज्जित कलेक्सनले उनकै नेतृत्वमा १५० महिला दिदीबहिनीलाई गार्मेन्टको तालिम दिइरहेको छ । यो कार्यक्रम नेपाल सरकारको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र तथा पोशाक उद्योगसंघको संयुक्त लगानीमा गरिएको छ । यसबाट तालिम लिएका २५ जनाले सुसज्जितमै रोजगारी पाउने छन् । ‘यो तालिमका लागि झण्डै ५ सय जनाले फर्म भरेका थिए । तर, अहिले १२५ जनाले मात्र तालिम लिन पाएका छन् । अरुलाई पनि तालिमको व्यवस्था गराउने सोँच राखेकी छु’ सुमित्राले भनिन् ।
    त्यस्तै सुमित्रा अध्यक्ष रहेको विश्व शान्ति महिला संघ चितवनको ‘क्रियटिभ ट्रेनिङ सेन्टर’ ले पनि अहिले १२ जना महिलालाई सिलाई कटा सम्बन्धी तालिम दिएको छ । यसको नेतृत्व पनि सुमित्राले नै गरेकी छन् ।

    झण्डै ११ वर्ष अगाडि विभिन्न कारणले लथालिंग रुपमा छोडेर हिड्नु परेको व्यवसायलाई फेरि नयाँ रुपमा अगाडि बढाउन पाएकोमा खुसी छन् सुमित्रा । ‘आफ्नो लागि जसले पनि गर्छ, समाज र देशका लागि केही गर्नुपर्छ’ भन्ने सोँच बोकेकी मैले नेपाली समाजका लागि केही गर्न सकेकी छु भन्ने गर्व लागेको छ । यसैमा खुसी छु ।’ संसारन्युजको भलाकुसारीको अन्तिममा उनले भनिन् । सुमित्राले अधुरो रहेको पढाइलाई पनि पुनः अगाडि बढाएकी छन् । उनले एसपिएम कलेज गैडाकोटमा शिक्षा संकायमा कक्षा ११ मा पढ्दै छिन् ।

    प्रस्तुती : चन्दा थापा

    ३१९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad