BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    ओली सरको लम्पसारवाद

    खगेन्द्र संग्रौलाआषाढ ४, २०७५

    मान्यवर खड्गप्रसाद ओली वादबिना एक पल पनि बाँच्न सक्दैनन् । उनी वाद फेरी–फेरी बाँच्छन् । जब हामी अश्रु ग्याँस र कठबाँसका लाठाबीच गणतन्त्र ल्याउने आन्दोलनमा थियौँ, ओलीले घ्याप्प राजावादको झण्डा बोके । र, दरबारको गजुर हेर्दै तिनले हामीलाई गिज्याए-राजा फाल्छु भन्नु गोरुगाडा चढेर अमेरिका जान्छ भन्नुजस्तै हो, बेतुक र बकबास । हामी सडकमा लडिरह्यौँ, कौसीमा बसेर काजु खाँदै ओली सरले हामीलाई गिज्याइरहे । तर बर्बाद भयो, ओलीको प्रिय राजा सिंहासनबाट धूलामा पछारियो ! हामी खुला सडकमा छाती तन्काउदै सामूहिकरुपमा हाँस्यौ, ओली अँध्यारो कुनामा कतै लुकेर शायद एक्लै रोए ।

    जब गणतन्त्र आयो, छेपारे ओली सर पनि रातारात गणतन्त्रवादी भए । हिजो बोकेको वादलाई यिनले सहजै बिर्से । हिजो थुकेको वादलाई यिनले सगौरव बोके । लज्जाहीनवाद ओली सरको स्थायी वाद हो । सबै वाद बेचेर खाइसक्दा पनि ओली सरसँग लज्जाहीन वाद सधैँ रहिरहन्छ । कहिले लज्जाहीनवाद ओलीको छायाँ बनेर उनलाई पछ्याउँछ, कहिले ओली लज्जाहीन वादको छायाँ बनेर यसलाई पछ्याउँछन् । अघिपछि जो होस्, यी दुईको साथ कहिल्यै छुट्दैन ।

    भूकम्पले जगत् हल्लियो, र यो विपत्कालीन मौका छोपेर सनातनी ठालूहरू खाइपाई आएको भूस्वर्गको रक्षा गर्ने संविधान लेख्न डटे । यो जालसाजीको नाम तिनले फास्ट ट्रयाक राखे । यो ट्रयाकका नायक ओली सर थिए । यो किर्ते कदमविरुद्ध मधेशमा संग्रामी आन्दोलन उठ्यो । र, ओलीले दुई काँधमाथि दुईवटा वाद एकसाथ बोके । एउटा थियो— मधेशी विनाशवाद, र अर्को थियो- नाकाबन्दीवाले मोदी विरोधवाद । यी दुई वादले ओलीलाई राष्ट्रवादी बनायो । राष्ट्रवादी पनि जस्तातस्ता होइन, बन्धुद्वेषी राष्ट्रवादी । नश्लवादी राष्ट्रवादी । र, यी दुई तत्व मिसिँदा ओली महोदयको राष्ट्रवाद रक्तरन्जित बन्यो ।

    नश्लीय राष्ट्रवादको उन्मादले ओलीलाई प्रधानमन्त्री बन्ने चानस दियो । र, ओली ब्रोको चित्तमा हठात् मोदीप्रति अगाध आदर र करुणाभाव जागृत भयो । दूरुदृष्टिले सोचे हुनन्- दिल्लीका ख्वामित्को पवनपुत्र नभई सत्तामा टिक्न सकिँदैन । इतिहासले सिकाएको अकाट्य पाठ हो यो । आखिर राजनीतिको अन्तिम सत्य सत्तामा पुग्नु र सत्तामा टिक्नु न हो । यो सत्यको रक्षार्थ जे पनि गर्नु वीरको कर्तव्य हो । बस्, ओली सरले मोदी सरका चरणमा राष्ट्रवाद चढाए, र रिक्त स्थानमा लम्पसारवाद ग्रहण गरे ।

    जब प्रधानमन्त्री भए, ओली सर मोदी सरका करकमलबाट लम्पसारवादको प्रमाणपत्र लिन खुत्रुक्क दिल्ली झरे । ठूल्दाइ मुद्रामा मोदीश्रीले सप्रेम भने- तथास्तु भैया, जिते रहो ! र, प्रभुको कृपाप्राप्त गरेका ओली सरले कृतकृत्य हुँदै भने- हिमवत् खण्डमा हजूरको दिव्य सवारीलाई हार्दिक स्वागत छ । मोदीबाट मन्जूरी प्राप्त भयो । मौदीले सोचे- मौका यही हो । जब कोही राजीखुशीले चरणमा लम्पसार पर्न आउँछ, मौकामा उसबाट भरपूर फाइदा लिनुपर्छ । बस्, फाइदाको कथा शुरु भयो ।

    ख्वामित् मोदीले भने- म जनकपुरको चोरबाटो गरी काठमाडौँ आउँछु । कसो ? ङिच्च हाँस्दै भक्त ओलीले ‘हवस् सरकार’ भने । ख्वामित् मोदीले भने-मेरो दृष्टिमा नेपालको सुरक्षा व्यवस्था उति भरपर्दो छैन । तसर्थ गाथको सुरक्षार्थ म आप्mनै हतियारधारी पल्टन लिएर आउँछु । कसो ? धनुषटङ्कार मुद्रामा पवनपुत्र ओलीले भने-भइहाल्छ नि, प्रभु । मान्यवर मोदीले अन्तिम शर्त राखे- प्रिय वत्स, मेरो सवारीकालमा नाकाबन्दीको कतै उच्चारण हुनेछैन । कसो ? ओलीले प्रभुका चरण स्पर्श गर्न खोज्दै बिन्ती चढाए- हजूरको जो मर्जी, ख्वामित् । बस्, मोदीको सवारी तय भयो । प्रभु र प्रभुका पवनपुत्र दुबै हुनसम्म प्रसन्न भए ।

    छातीमा लम्पसारवादको शानदार प्रमाणपत्र भिरेर ओली सर अतीतमुखी मुद्रामा गम खान थाले । फुर्सदका क्षणहरूमा उनलाई परम्प्रिय राजतन्त्रको न्यास्रो लागिरहन्थ्यो । अहिले लाग्यो, अबलाई न्यास्रो मेटिने भो । राजतन्त्र गयो त के भो, विशाल भारतवर्षमा मोदीतन्त्र छँदैछ । आखिर मोदीतन्त्र पनि त सिंहासन, राजदण्ड र श्रीपेचबिनाको राजतन्त्रै हो । राजतन्त्र हिन्दुत्वको परम् पूजक थियो, मोदीतन्त्र हिन्दुत्वको कम परम् पूजक छैन । एकल उर्पm एकल एकल भाषा, एकल भेष, एकल धर्म आदिमा राजतन्त्रको प्रगाढ विश्वास थियो । एकलको भानेमुङ्ग्रो बोक्न मोदीतन्त्र राजतन्त्रभन्दा केही कम छैन । यहाँनेर ओली त्यसैत्यसै मखलेल भए । जीवनमा मौसमी वादको कहिल्यै खाँचो हुँदैन । राजावाद गयो त के भो, कति राम्रो मोदीवाद छँदैछ । यो सबै तर्कनाको बीचमा ओली सरका चित्तको गोप्य कुनामा एउटै आकांक्षा वा तृष्णा तरङ्कित भइरहेथ्यो । त्यो हो-दिल्लीका दादाको अविरल कृपा प्राप्त गरी पाँच वर्ष शासनको आसनमा ढुक्कसँग विराजमान हुनु ।

    अब ओली सरको चिन्तन प्रभु मोदीको स्वागतको विधि र शैलीतर्पm उन्मुख भयो । कसरी गर्ने ? के के गर्ने ? प्रभुको अधिकतम् प्रसन्नताका लागि केदेखि केसम्म गर्न सकिन्छ ? ओली सरको स्मृति हुत्त अतीततिर फक्र्यो । हिजो हिन्दु राजाको सवारीमा जे जे गरिन्थ्यो, आज नवोदित एवं नवऔतारी हिन्दु राजाको सवारीमा पनि त गर्नुपर्ने आखिर त्यही होला । बस्, विधि र शैली फु¥यो । धेरैभन्दा धेरै बन्दुकधारी सडकमा निकाल र लोकमानसलाई आतङ्कित तुल्याऊ । सवारीको ठाँटबाट र शान–सौकात कायम गर्ने अचुक जुक्ति हो यो । नागरिकहरूमाथि निषेधपछि निषेध थोपर । सडक पेटीमा हिँड्न निषेध गर । मास्क, हेलमेट, बुर्का आदि लगाउन निषेध गर । घरका झ्यालबाट चियाउन निषेध गर । सवारीमा पाल्नुहुने राजर्षि प्रभुका विरोधमा कसैलाई चुइँक्क बोल्न नदोऊ । विरोधसूचक व्यहोरा र झण्डा निषेध गर । आदेश नमान्नेलाई पक्राउ गर । र, यसरी सर्वत्र अखण्ड अमनचैन कायम गर ।

    अनि ? अनि प्रभुको सुरक्षा र आनन्दका लागि मुक्तिनाथ वरिपरि सघन सुनसान कायम गर । पर्यटक पाजीहरूको पदयात्रा निषेध गर । र, यत्रतत्र ख्वामित् मोदीको नागरिक अभिनन्दन र जयगान गर ।

    बस्, मौसमी राष्ट्रवादको मलामी यात्रामा लम्पसारवादलाई शिरोपर गर्न यी विधि र जुक्ति पर्याप्त छन् । जय मोदी महाराज ! जय पवनपुत्र ओलीधारी लम्पसारवाद !

    १५९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad