BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    जीवनदानको महाअभियानमा अर्जुन

    संसार न्यूज संवाददाताआषाढ ६, २०७५

    उनले नाम कमाउनकै लागि बढि रक्तदान गरेका पनि होइनन् र दाम कमाउनका लागि अमेरिका गएका पनि होइनन् । उनको जीवन र व्यवहारले नाम र दाम सम्बन्धी चलनचल्तीको भ्रमलाई सिधा अस्वीकार गरेको छ ।

    सन् १९८९ को अगस्त २० बाट रक्तदान शुरु गरेका अर्जुन मैनालीले अहिलेसम्म १६२ औँ पटक रक्तदान गरिसकेका छन् । ‘तपाईको वर्थ डे रक्तदान गरेर मनाउनुस्’ भन्ने मेसेज आयो भने धेरै नेपालीले अर्जुन मैनालीलाई सम्झन्छन् । उनले मान्छेलाई सम्झनै पारेको कारण अमेरिकामा कमाएको पैसा मान्छेको अपेक्षा अनुसारको बाँडचुड होइन, मानव महत्व अर्थात् Human Value राम्रोसँग बुझेका उनी मान्छेलाई माया गर्ने सभ्यतामा नै रमाउँछन् ।

    ३१ वर्ष अगाडि देखि रगतदान गर्दै आएका मैनालीले धेरै नेपालीलाई उत्प्रेरित गरिरहेका पनि छन् । न्वारन, पास्नी, ब्रतबन्ध, विवाह, मृत्यु संस्कारदेखि अरु साँस्कृतिक र धार्मिक, चाडवाडका अवसरमा पनि उनले भेटेजतिलाई रगत दानको महत्व बुझाउने प्रयास गर्छन् । उनीसँगै ऐक्यबद्धतामा स्वागत गरिएका खेतराज मैनाली भन्छन्, ‘यो हिसाबले उहाँ अझै सक्रिय भै रहनुहोला भन्ने मलाई लागेकै थिएन र म पनि ४५ पटक रक्तदान गर्न सक्ने हुँला भनेकै थिइँन ।।’

    राजनैतिक प्रकृतिका सामाजिक भलाद्मी उनका बाबुले पनि लगातार रगत दिँदा राम्रो नहुने सुझाएका हुन तर उनले बुबालाई पनि यसको महत्व बताउँदै भनेछन् ‘बुवा हेर्नुहोला रगत दानको महत्व, खेर जाने कुराले मान्छेको ज्यान बच्छ भनेर कन्ज्यूस्याँई नगरेको मात्र हो, ज्यानै जोखिममा पार्न खोजेको होइन ।’ काभ्रे जिल्लाको सिपाली चिलाउने कोर्थुम्कामा वि.स २०२५ मा जन्मेका अर्जुन मैनाली पैसा कमाएर व्यत्तिगत रुपमा सुखी जीवन बिताउने ध्येयमा देखिदैनन् । अहिलेको सन्दर्भमा भन्नुपर्दा उनलाई समाजवादी मानसिकता र आचरणको एक पात्रका रुपमा पनि लिन सकिन्छ ।

    ‘द ब्लड डोनर’ भन्ने प्रमाणपत्र तहको अंग्रेजी पाठ्यक्रमको एउटा कथाबाट प्रेरित भएका उनी त्याग र दयाको चहकिलो उदाहरण मात्र हैनन, एउटा विशिष्ट सामाजिक पात्र पनि देखिएका छन् । नेपाल र नेपालीका बीच मात्र नभएर संसारभरका नेपालीको घेरा समेत पार गर्दै उनले विदेशिहरूका बीच पनि रक्तदान अभियानको मानविय महत्व सम्प्रेषण गरेका छन् । नेपाल बाहेक ६ वटा महादेशका १३ देश तथा अमेरिकाकै एक दर्जन बढी राज्यमा पुगेर उनको आफ्नै उपस्थितिमा २ सय भन्दा बढी रक्तदान कार्यक्रम सम्पन्न भएका छन् । रगतलाई ‘द गिफ्ट अफ लाइफ’ का रुपमा बुझाउँदै संसार चाहार्ने क्रममा उनका रोचक र घतलाग्दा संस्मरणहरू पनि धेरै छन् ।

    गैरआवासीय नेपाली अभियन्ता जीवा लामिछानेको शब्दमा उनी महादानी र प्रेरणापुञ्ज हुन् । उनकै शब्दमा भन्ने हो भने सामान्य मानिस भएर उनले असाधारण काम गरेका छन् । उनी स्वदेशी तथा विदेशी संघसंस्थाद्वारा सम्मानित भएका पनि छन् ।

    नेपाल बाहेक पनि उनले सन् २००८ मा अमेरिकाका नेपालीबीच ब्लड डोर्नस एशोसियसन खोलेर संस्थामार्फत सक्रिय भए भने सन् २०१४ मा अन्तर्राष्ट्रिय व्लड डोर्नस एसोसिएसनको सक्रियता बढाए ।

    उनले रक्तदान जीवनदान बारे निबन्ध प्रतियोगिता आयोजना गरेर उनले विद्यार्थी र युवालाई उत्प्रेरित पनि गरिरहेका छन् । आफूसँग धन भएर होइन् मन भएर हाम फालेको बताउने अर्जुनले सुत्केरी अवस्थामा एसएलसी दिएका तथा एसएलसी दिँदा दिदै सुत्केरी भएका परीक्षार्थीलाई सहयोग गरेर नयाँ उदाहरण दिएका पनि छन् । पश्चिम नेपालको बाजुरा जिल्लामा आफ्नै परीश्रमबाट परियोजना चलाएका उनले ‘पैसा कहाँ जान्छ ?’ भन्ने श्रीमतीको प्रश्नमा भने चित्त बुझ्दो उत्तर दिनसकेका छैनन् ।

    हट्टाकट्टा श्रीमानले रगत नदिएर श्रीमती छटपटाउनु परेको उनले देखेका छन् । ‘पागल मोरो’ जस्तालाई पनि रक्तदान गरौं भनेर उक्साउँछ भनि आफैले टिप्पणी सुन्नु परेको, केका लागि गर्दैछ यस्तो भनेर आफ्नै आशंका व्यहोर्नु परेको मात्र होइन, २० घण्टा टाढाको उडानमा आयोजित रक्तदान कार्यक्रममा रक्तदानबाट आफैँ बञ्चित हुनुपरेको जस्ता घटनाक्रमले उनलाई कुत्कुत्याउँछन्, कहिलेकाहिँ । छोराका लागि दूध किन्न जाँदा पैसो नभएको एउटा घटना उनका लागि संस्मरण भएपनि रक्तदान जीवनदानको महाअभियानमा बुबा र श्रीमतीले समेत क्रमशः बुझेकोमा उनी खुसी छन् । ‘समाजसेवा प्रचारका लागि होइन, सेवामा अन्तरनिहित आत्मसन्तुष्टिका लागि हो,’ उनले ऐक्यबद्धतासँग विट मारे ।

    २०३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad