BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३० गते
    Headlines :

    अनेसास नेतृत्वमा ‘पुरानाघरे’को दाबी ।

    पुरानाघरे, न्युह्याम्पसायर अमेरिकाआषाढ ८, २०७५

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नेतृत्व पदमा भोला शिवाकोटी (पुरानाघरे)ले उम्मेदवारी घोषणा गरेका छन् । उनले उम्मेदवारी घोषणामा ९ बुँदे प्रतिबद्धता, ९ बुँदे नीति र १४ बुँदे कार्यक्रम सार्वजनिक गरेका छन् । अमेरिकामा रहेर साहित्यकारका रुपमा विश्वका नेपालीबीच आफ्नो पहिचान बनाएका साहित्यकार ‘पुरानाघरे’ले आफ्नो नेतृत्वमा नेपालमा श्रोत अर्थात उदगमस्थल रहने गरी नेपाली साहित्यको अन्तराष्ट्रिय समाजले नेपाली भाषा साहित्यलार्इ अपनत्व स्थापनाको आधार सेतुका रूपमा विकाश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    यस्तो छ उनको घोषणापत्र :

    अनेसासका आजीवन सदस्यज्यू, शुभभक्तज्यू, अन्धभक्तज्यू, आदरणीय र इमान्दारज्यूहरू,
    साहित्यिक अभिवादन ।

    विगत २७ वर्षदेखि एउटा समूह छ जसलार्इ हामी अनेसास भन्छौं, यसका आजीवन सदस्य छौं, र विभिन्न शीर्षकमा हामी विभाजित छौं, खण्डित छौं, र प्रताडित छौं । अनेसास अनेसास हुन सकेको छैन किन भने आफ्नो स्वार्थ भन्दामाथि अनेसासको भविष्य जुन डायसपोराको नेपाली जनमानसको सरोकार हुनुपर्छ सोचिएकै छैन अहिलेसम्म केही अपवाद बाहेक, भए पनि त्यो काल्पनिकमात्र छ । त्यसकारण अनेसासलार्इ अनेसासका रूपमा स्थापित, प्रतिपदन, कार्यन्वयन तथा विश्वभर व्यापिकरण गर्नका निम्ति मैले मेरो नेतृत्वको इच्छागत महत्वकाँक्षा नभएर कार्यगत आवश्यकता स्वयम मलार्इ अनुभूत भएकाले र तपार्इंले पनि यो घोषणा पढिसकेपछि प्रत्याभूत गर्नु हुने भएकाले आउट अफ द बक्स गएर घोषणा गर्दै छु । मेरा निम्न विचार, चिन्तन, नीति तथा कार्ययोजना पढेपछि तपार्इंलार्इ उचित लागेमा मलार्इ भोट दिएर नेतृत्वमा बहाल गर्न सहायता गर्नु होला अन्यथा म भन्दा सक्षमलार्इ भोट दिएर मलार्इ अझ खारिने मौका शुनिश्चित गरिदिनु होला ।

    समर्पण

    १. विगतमा अनेसासलार्इ नामकोमात्र बनाइयो । अनेसास जहिल्यै पनि केही सिमित मानिसहरूको रूचिको विषय बनाइयो कि त यसलार्इ मिलिजुली राज गर्ने सिन्डिकेट बनाइयो । केही समान्य त केही महत्वपूर्ण कामहरू भएका छन् जुन पर्याप्त हुन सकेका छैनन् । व्यक्तिको रूचि, महत्वकाँक्षा र समूहगत निहित फाइदाका निम्ति संस्थाको गरिमा, आयातन, तथा प्रतिनिधित्व खुम्च्याउने काम गरियो पटक पटक । अनेसासमा अहिले नाम, लोगो, विधान, सदस्यता, वेभपेज, कार्यनीति, कुटनीति, संयन्त्र विकाश, माहोल विस्तार, पुरस्कार, कार्यसमिति, बिओटी, शाखाहरू, केन्द्रियता, विकेन्द्रिकरण, र प्रतिनिधित्व विकाश जहाँ पनि समस्या छन् किन भने इमान्दार, वफादार, विज्ञ, सामेर्थ्यवान, र योग्य नेतृत्व अभावमा अनेसास कसैलार्इ भालुको कान त कसैलार्इ मालामालको रामझाम पारिएको छ निकै वर्षदेखि जसका कारण नेपाली भाषा साहित्य जहाँ पनि विवादमा छ, घरदेशमा होस् या प्रदेश वा परदेश जहाँ पनि नेपाली साहित्य जगत नै पवित्र रहेन । साहित्य मन्दिरमा महत्वकाँक्षाका भिमकाय अभिमानहरूले व्यक्तिवादिता होली खेलेका कारण नेपाली साहित्यको विश्वस्तरको मन्दिर गएर व्यक्तिवादिता विकाश र माहोलगत बैमानीको मैदानमा सिमित रहेको छ । मेरो नेतृत्वमा अनेसास नेपालमा श्रोत अर्थात उदगमस्थल रहने गरी नेपाली साहित्यको अन्तराष्ट्रिय समाजले नेपाली भाषा साहित्यलार्इ अपनत्व स्थापनाको आधार सेतुका रूपमा विकाश गर्ने छु । मैले मेरो कार्यकालमा अनेसासलार्इ मेरो क्षमताभरि हालीमुहाली गर्दिन बरू अनेसासका कार्यगत अभिभारा, माहोल, प्रतिनिधित्व, र व्यपिकरणका विश्वव्यापि लक्ष अनुरूपमा म आफूलार्इ सुधार, परिस्कार, र परिपक्व भएर तपार्इको न्यायो यस संस्थाको भविष्यका पक्षमा सङ्कलन गर्न कुनै कसर बाँकी राख्ने छैन ।

    २. मैले विगतको २० वर्षदेखि निरन्तर रूपमा गुणस्तरलार्इ मध्यनजर गर्दै नेपाली साहित्य अध्यायन, साधाना, प्रकाशन, सम्पादन, माहोल व्यवस्थापन, नेतृत्वप्रदान गरी साहित्यिक व्यक्तित्व, इमान्दारिता, र वफादारिता विकाश गर्दै आएको छु । संस्थागत परिपाटीमा कार्यप्रशासन तथा श्रोत नियन्त्रणमा नेपाल, भूटान, र अमेरिकामा गरी १५ वर्षको अनुभव हासिल गरेको छु, अमेरिकामा गैरमुनाफामुलक संस्थाका रूपमा रहेको अनेसासका कानुनी, सङ्गठनात्मक, तथा संसारभरका अजीवन सदस्यहरूको मर्म, भावना, र अभिमत अनुरूप कसरी चल्न सक्छ भनी अध्यायन, पक्षपण, तथा विश्लेषण समेत गरेको छु, गैरमुनाफामुलक सामूदायिक संस्थान विकाश तथा व्यवस्थापनमा अमेरिकाबाट स्नातक हासिल गरी व्यापार व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेको छु र अहिले एउटा सक्षम र पहिचान स्थापना गर्न सफल गैरमुनाफामुलक तथा सामूदायिक आपसी हित तथा समर्पण विकाश गर्ने संस्थानलार्इ व्यस्थापन गर्न सिकिरहेको छु र सकिरहेको छु ।

    ३. अनेसास रूची र महत्वकाँक्षा भएका मानिसहरूले साधना, सामेर्थ्य, र मर्यादा हासिल गरेका मानिसहरूलार्इ शासन गर्ने, अनियमितता, र मनपरितन्त्र रगडेर आफु माथि जान संस्थालार्इ ढाल बनाउने संयन्त्रका रूपमा गलत दिशामा गएको तपार्इहरूलार्इ थाहा छ । निजि फाइदाका निम्ति समूह विकाश गरी संस्थालार्इ ढाल बनाउने संस्कारले गाडेको जरो विधान, केन्द्रिय कार्यसमिति, विओटी, शाखा, र सदस्यताबाटै उखेलेर फालेर विषयका ज्ञाँता, भाषा साहित्यका दक्ष, तथा इमान्दार र वफादार मानिसहरूसँगको सहकार्यबाट अनेसासलार्इ विश्वस्तरको एकमात्र प्रतिनिधि संस्था विकाश गर्न म निजि समर्पण अधिक बडाउन र व्यक्तिगत घाटा व्यहोर्न अभ्यस्त छु अझ पनि तयार छु ।

    ४. गलत संयन्त्रबाट अख्तियार दुरूपयोग गरी मानिसहरूलार्इ प्रलोभन देखाउने र आफ्नो निहितमा संस्थाको भविष्य जकडेर फाइदा कमाउने, लाभ लिने, होहल्ला गर्ने, आर्थिक अपारदर्शीता विकाश तथा ढाकछोप गर्ने, जहाँ पनि म सभापति तपार्इंको स्वागत मन्तव्य रहने छ भन्ने संस्कार कार्यन्वयन गर्न निजि तथा गैरश्रोतबाट फजुल खर्च ठेलेर संस्थाको गरिमा घटाउने पराकाष्टा म गर्दिन । कार्यसमितिलार्इ सामूहिक नेतृत्वबाट संस्थाको भविष्यका हितमा समर्पित भएर बहुमतबाट बहुलता, प्रतिनिधित्व, र अग्रगमनका पक्षमा शसक्तिकारण गरेर संस्थाका आजीवन सदस्यहरूको मर्म, भावना, र प्रत्याभूति अनुरूप विश्वभर रहेका नेपालीहरूको अपनत्व र आपसी भाइचाराको सेतुका रूपमा अनेसासलार्इ विकाश गर्ने छु ।

    ५. मैले विगतमा पढेर हासिल गरेको प्रमाणपत्र, समूहमा बसेर गरेरका गतिविधि, र संस्थामा गरेका हर्कतहरू मेरो यस घोषणाको मर्म र उमेद्वारीको आधार हुने छैन भनी निवेदन गर्दछु । मैले अनेसासलार्इ विश्वका नेपालीहरूको मर्म, भावना, र आजीवन सदस्यहरूको मार्गदर्शनप्रति इमान्दार रहेर, मेरो व्यक्तिगत फाइदाका निम्ति संस्थालार्इ दुरूपयोग गर्दिन भनी बचनबद्ध भएर विगतमा कार्यसम्पादन, सक्रियाता, इमान्दारिता बहन गरे गराएका आधारमा मलार्इ मूल्याङ्कन गर्न तपार्इंलार्इ अनुरोध गरिरहेको छु ।

    ६. म विगत भन्दा केही सिकेर यहाँ उपस्थित छु, सिक्ने क्रमलार्इ इमान्दार भएर जारी राख्ने छु र अनेसासको नेतृत्वबाट अख्तियार होइन आदर्शता हासिल गर्न वफादार हुने छु । मैले विगतमा दिने नसकेका उपस्थितिहरू उपर न्याय गर्ने छु । अनेसासको नेतृत्वमा रहँदा नेपाली साहित्य, कला, संस्कृति र समाजका अन्य कुनै पनि सङ्घसंस्थाहरूका कार्यसमितिमा समानन्तर समितिहरूमा राजिनामा दिने छु र नयाँ संस्थामा अभिरूचिगत द्वन्द्व विकाश हुने जिमेदारिताहरू लिने छैन । बरू तीहरूसँग कुटनीति तथा आपसी सदभाव विकाश गरी अनेसासलार्इ उनीहरूको भाषा तथा साहित्यको आस्थाका रूपमा विकाश गर्ने छु ।

    ७. अनेसास नेपालसँग प्रतिश्पर्दात्मक पौंठेजोरी खेल्ने, डायसपोराका अन्य सामाजिक संस्थाहरूसँग बैरभाव राख्ने, व्यापारीहरूलार्इ पैसा अशुल्न आजीवन सदस्यता व्यापार गर्ने, नाराबाजी र अस्वास्थ्य चरित्र धन्दा गर्ने, गुटउपगुटमा विभाजन आदिबाट दुश्परिणाम खेति गर्ने संस्था मेरो नेतृत्वमा हुने छैन । म संस्थालार्इं आदर्शता, इमान्दारिता, बफादारिता, मित्रता, र त्यागका मर्महरूबाट विकाश गरी विश्वव्यापि रूपमा नयाँ माहोल विकाश गर्न कर्तव्यपरायणताकासाथ लागि पर्ने छु ।

    ८. म सस्थाको नभएर संस्था मेरो भन्ने चिन्तन भन्दा माथि उठेर हाम्रो संस्था मेरो समर्पण भाव विकाश गरी आजीवन सदस्यहरूले उपभोग गर्ने किसिमका, शाखाहरूले कान्यवयन गर्ने किसिमका, नेपाल र डायसपोराका अन्य देशले माया गर्ने किसिमका, र संसारका नेपालीहरूले रूचाउने, स्वीकार गर्ने, र सहभागिता दिने किसिमका भाषिक तथा साहित्यिक कार्यमक्रमहरू विकाश गरी कार्यन्वयन गर्न अनेसासको नेतृत्व मैले गर्ने निर्णय गरेको छु ।

    ९. सामाजिक र सामूदायिक संस्थाको आर्थिक नीति, र रणनीति विकाशमा मैले सैधान्तिक तथा शैक्षिक ज्ञान आर्जन गरेको छु, व्यवसायमा यही शिक्षालार्इ अनुभवमा रूपान्तरण गरिरहेको छु । अमेरिकामा कसरी संस्थाको कोषवृद्धि गर्न सकिन्छ भन्ने राम्रो अनुभव, संयन्त्र र नेक्सास मसँग छ । नेपालदेखि डायसपोरासम्म अनेसासको आर्थिक शसक्तिकरण र श्रोतगत निभिर्तिभरण गर्न सकिन्छ भन्ने योजना, कार्यनीति, र रणनीति तयार पार्ने दक्षता संकलन गर्न सक्ने सामेर्थ्य मैले हासिल गरेको छु र अनेसासका भविष्योपर यी सम्भावना र चुनौतिहरू लगाउनका निम्ति मेरो नेतृत्व आवश्यक ठानेको हुँ ।

    नीति

    १. म अनेसासलार्इ मेरो साहित्य धर्मको आधार स्तम्भ अर्थात मन्दिरका रूपमा स्वीकार गरी, मेरो साहित्य आस्थालार्इ उच्च महत्वमा राखेर सरल र व्यवहारिक अपितु सजग, सचेत, र समालोचनात्मक भएर नेतृत्व प्रदान गर्ने छु जहाँ अनेसासका हरेक एक आजीवन सदस्यहरूले उनीहरूको साहित्यिक आस्थाका आधारमा अनेसासलार्इ पूजा आर्चना गर्ने माहोल विकाश गर्ने छु ।

    २. म मेरा योग्यता, क्षमता, सामेर्थ्य, र कार्यसमितिको हैसियतमा वफादार भएर अनेसासलार्इ विश्वव्यापि प्रतिनिधित्वका पक्षमा कुनै पनि काम माहोलगत गर्ने गराउने नेतृत्वको अभ्यासमा सपर्पित हुने छु ।

    ३. म संस्थाका गतिविधिहरूलार्इ नयाँ बन्ने विधानगत गर्ने गराउने छु, गतिविधि तथा कार्यक्रमहरूलार्इ सामूहिक तवरबाट निर्माण गर्ने छु र तीहरूका प्रतिवेदन, माइनुट तथा घोषणापत्रहरू सार्वजनिक रूपमा संस्थाको वेभपेजमा सदस्यहरू तथा सार्वजनिक हितमा प्रकाशन गर्ने गराउने छु ।

    ४. म संस्थाका कुनै पनि निकायमा मवादी, व्यक्तिवादी, चरित्रवादी, होहल्लावादी, फर्जीवादी गतिविधिहरू गर्ने गराउने छैन ।

    ५. मेरो नेतृत्वमा कार्यसमितिका सदस्यहरूले संस्थाका कुनै पनि गतिविधि, कार्यक्रम, पुरस्कार, र प्रकाशनबाट निजी लाभ उठाउने, सार्वजनिक अमन्चैन भङ्ग हुने, र संस्थाको गरिमा सङ्कटमा पर्ने कामहरू गर्न गराउन दिने छैन ।

    ६. मेरो नेतृत्वमा पुरस्कार स्थापना, कार्यन्वयन, प्रतिभा छनोट, वितरण, र संस्थाङ्कनमा कुनै किसिमको अभद्रता विकाश हुन, घोटला हुन, र संस्थाको गरिमा गिर्ने काम गर्न गराउन दिने छैन ।

    ७. मेरो नेतृत्वमा नेपाल सरकारसँग अनेसासको सोझो र प्रत्येक्ष सम्बन्ध विस्तार हुने छ, नेपाली भाषाका हितमा काम गर्ने अन्य देश विदेशका साहित्यिक तथा गैरसाहित्यिक संस्थाहरूसँग सहकार्य गरी नेपाली साहित्यको डायसपोरा स्तरीय प्रतिमा माहोल निर्माणमा एेक्यबध्दता विकाश तथा कार्न्वयन हुने छ ।

    ८. मेरो नेतृत्वमा नेपालमा भाषा साहित्यका क्षेत्रमा भएका विकाश र उपलब्धीहरूलार्इ नेपाल बाहिर संसारभर कार्यन्वयन गर्ने सेतुका रूपमा अनेसासलार्इ विकाश गरिने छ ।

    ९. नेपाल, भारत, र तेस्रो देशमा भएका साहित्यिक गतिविधिहरूलार्इ एकआपसमा जोड्ने सेतुका रूपमा अनेसासलार्इ विकास गर्न देशविदेशका सबै पक्षसँग सहकार्य र हातेमालो गरिने छ ।

    कार्यक्रमहरू

    १. अनेसासको विधानलार्इ विज्ञहरूवाट स्वतन्त्र अध्यायन, विमर्षण, तथा छलफल गरी अनेसासको व्यापिकरणलार्इ केन्द्रमा राखेश संसोधन तथा परिमार्जन गरिने छ । विधान संसोधन भनेको लाइन र भाषा हेर्ने भनेको होइन । अनेसासको संस्थागत सम्रचना, सदस्यता, शाखा, कार्यसमिति, पुरस्कार, बिओटी सबैका मर्यादा, अख्तियार, नीति, तथा कार्यक्षेत्रमा आमुल परिवर्तन गरेर विश्वमा भएका हरेक एक आजीवन सदस्यहरू, हरेक एक नेपाली साहित्य संस्थानहरूको प्रतिनिधि तथा अभिभावकीय संस्थानका रूपमा अनेसासलार्इ विधानतः विकाश गरिने छ ।

    २. अनेसासका निश्क्रिय रहेका शाखाहरूलार्इ शक्रिय गराइने छ, शक्रिय हुन नसक्नेहरूलार्इ बन्द गराइने छ । केन्द्रमा सदस्य रहने गरी वा त केन्द्रिय सदस्यबाट मनोनयन गरी अनेसास केन्द्रिय शाखा संयोजक नियुक्त गरी अनेसासका सबै सक्रिय च्याप्टरहरूलार्इ सहभागी गराएर अनेसास केन्द्रले तयार पारेको नीति तथा कार्यक्रम कार्यन्वयनमा सहभागी गराइने छ ।

    ३. नेपालमा अनेसासलार्इ शाखा चाँहिदै, अहिले मौकाको फाइदा लुट्न अनेसास नेपालका रूपमा मनोमानी चलिरहेको कथित नेपाल शाखालार्इ बन्द गरिने छ । अनेसासका नेपाली स्थित आजीवन सदस्यहरूलार्इ सम्मानजक केन्द्रबाट व्यवस्थित गरिने छ । नेपाल सरकार, उसका साहित्यिक निकाय, तथा नेपालस्थित स्वतन्त्र साहित्यिक संस्थानहरूसँग केन्द्रिय महासचिवको नेतृत्वमा सोझो दोहोरा सम्बन्ध विकाश तथा कार्न्वयन गरिने छ । नेपाल सरकारका वैदेशमा रहेका कुटनीतिक निकायहरूसँग मेरो नेतृत्वको अनेसास केन्द्रले नेपाल सरकार मार्फत सोझै सम्बध्न विस्तार गरी नेपाली भाषा साहित्य र संस्कृतिको व्यपिकरणमा नेपालको मौलिक, वौदिक, तथा समावेशी मार्गदर्शनलार्इ कार्यन्वयन गरिने छ ।

    ४. नेपालमा अनेसास सम्पर्क कार्यलय स्थापना गरी एकजना कार्यलय सहायक तथा संयोजक नियुक्त गरिने छ । त्यही कार्यलय अन्तर्गत अनेसासका हरेक प्रकाशन सम्पन्न गरिने छ र तीहरू सम्पन्न गर्न आवश्यक सम्पादकहरू र आर्थिक व्यवस्था केन्द्रिय महासचिवको नेतृत्वमा सञ्चालन गरिने छ । सम्पादकहरू र प्रधान सम्पादक पहुच नभएर योग्यताका आधारमा र नेपाल सरकारको साहित्य तर्फको उपल्लो निकाय र स्वतन्त्र साहित्यिक संस्थान तथा व्यक्तित्वहरूका सिफारिसमा स्वतन्त्र नियुक्त गरिने छ । अनेसास सम्पर्क कार्यलय काठमाण्डौ अन्तर्गत रहने गरी र केन्द्रिय महासचिवको निग्रानी रहने गरी प्रकाशन इकाइ गठन गरी डायसपोराबाट प्रकाशन हुने नेपाली भाषा तथा कथ्यका कृतिहरूको गुणस्तर जाँच गरी प्रकाशन गर्ने सशुल्क व्यवस्थापन परिपाटी विकाश गरेर त्याहाँबाट प्रकाशन भएका कृतिहरू अनेसासका सबै शाखाहरूले निश्चित शंख्यामा खरिद गर्ने खुल्ला परिपाटि विकाश गरिने छ ।

    ५. अनेसासको वेभसाइटलार्इ संस्थाको आधिकारिक सूचना तथा जानकारीको चुस्त र सार्थक श्रोतका रूपमा विकाश गरी सक्रियता प्रदान गरिने छ । अनेसासका सार्वजनिक सुचनाहरूलार्इ नियमित प्रकाशन गरिने छ । यस वेभपेजमा डायसपोराको कथ्यलार्इ अवलम्बन गरी गुणस्तरिय नेपाली साहित्य प्रकाशनलार्इ नियमित गरिने छ । अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया लगायतका विश्वका विभिन्न देशहरूमा नेपाली पुस्तकहरू खुल्लेआम खरिद विक्रि गर्ने व्यवस्था यस साइट मार्फत गरिने छ ।

    ६. नेपाली भाषा शिक्षण, साहित्य अभ्यास तथा प्रशिक्षणलार्इ ध्यानमा राखेर विज्ञ, दक्ष तथा सक्षम भाषा साहित्य विदहरूसँगको सहकार्यमा दैनिक लाइभ, रेडियो, तथा टिभिकार्यक्रमहरू विकाश गरी अनेसासका आजीवन सदस्य परिवारको नवपुस्ता तथा डायसपोराका नेपालीहरूलार्इ नेपाली भाषा र साहित्य पठनपाठन तथा साधनामा अग्रसर गराइने छ ।

    ७. अनेसास र यसका शाखाहरूसँग भएका विरोधाभाष र अन्तरद्वन्द्वका विषयहरूलार्इ सम्बोधन गरेर शाखा सञ्चालन नियमावली तयार गरिने छ ।

    ८. अनेसास केन्द्र, विओटी, शाखा, केन्द्रिय सचिवालय, नेपालस्थित सम्पर्क कार्यलय र यसका गतिविधिहरूलार्इ नियमित निरक्षण र सुझाव उपलब्ध गराउने सम्मानमा भूमिक्य रहने गरी अनेसास सल्लाहकार समिति गठन गरिने छ । सल्लाहकारहरू पहुच र व्यक्तिको निजी स्वार्थ हासिलबाट मनोनयन गर्ने परिपाटीको अन्त्य गरी संस्था अभ्यास, भाषा साहित्यको योगदान, र आदर्श पक्ष निर्माण गर्न सकेका मानिसहरूलार्इ स्वतन्त्र योगदानको मूल्याङकनका आधारमा सल्लाहकार नियुक्त गरिने छ ।

    ९. अनेसासका केन्द्र र बिओटीलार्इ सन्तुलन गर्न र विवादहरू सुल्झाउन कानुनी शल्लाहकारको नेतृत्वमा अनेसास केन्द्रिय गतिविधि अनुगमन तथा अनुशाषन समन्वय परिषद गठन गरिने छ । यस परिषदले अनेसासका साना ठूला कुनै पनि द्वन्द्वलार्इ समाधान गर्ने छ, कानुनी समस्या आएमा निकाश खोज्ने छ ।

    १०. सामान्य जीवति व्यक्तिका नामका पुरस्कारहरूलार्इ खारेज गरिने छ । नेपाली साहित्यका प्रातश्मरणीय कृतिशेष स्रष्टाका सम्मान र सम्झनामा र परिवारसँगको सम्युक्त लगानी तथा व्यवस्थापनमा अरू थुप्रै पुरास्कारहरू स्थापना गर्ने वातावरण तयार पारिने छ । मिलेमतोमा पुरस्कार र सम्मानहरू आदानप्रदान तथा व्यापार गर्ने अहिलेको विद्यामान गुपचाप परिपाटीलार्इ अन्त्य गरी योगादनका आधारमा खुल्ला प्रतिश्प्रधात्मक चयन प्रणालीबाट पुरस्कारहरू वितरण गरिने परिपाटी तयार गरिने छ ।

    ११. अनेसासका विगतका समितिहरूले तयार पारेका र गर्ने गरेका कार्यक्रमहरूलार्इ आवश्यकता, महत्व, आजीवन सदस्यहरूको सहभागिता आदिका आधारमा आवश्यक मूल्याङ्कन गरी शंसोधन तथा परिमार्जन सहित कायन्वयन गरिने छ ।

    १२. नेपाल बाहिर रहेका सबै सामाजिक सङ्घ संस्थाहरूलार्इ तीहरूका सामाजिक गतिविधिहरूमा अनेसासले खुलेर सहायता र सहभागिता दिने र विश्वभरका साहित्यिक गतिविधिमा अनेसासले प्रतिनिधित्व, व्यवस्थापन, तथा सञ्चालन गर्ने सम्झौताहरू विकाश गरी संसारभारका नेपाली समाज, समूदाय, र संस्थाहरूसँग प्रत्यक्ष सहकार्य गरिने परिपाटीको विकाश तथा कार्यन्वयन गरिने छ ।

    १३. अनेसासका स्थानिय, क्षेत्रिय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय सभा सम्मेलनमा नेपाली साहित्यका गतिविधिहरूलार्इ छलफल, परमार्श, र बहसका माध्यमबाट गुणस्तर प्रदान गर्ने माहोल निर्माण गरिने छ ।

    १४. समय समयमा नेपाल, भारत, र तेस्रो देशहरूबाट नेपाली भाषा साहित्यका विद्वान, मर्मज्ञ, र अभियन्ताहरूसँगको सहकार्य र सहभागितामा अन्तरक्रिया, छलफल, बहस, तालिम, तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने छन् जहाँबाट अनेसासका आजीवन सदस्यहरूले नेपाली साहित्य अध्यायन र साधनामा सहभागि हुने वातावरणको विकाश गरिने छ ।

    आदरणीय आजीवन सदस्यज्यू,

    यी माथि मैले उठाएका सवालहरू तपार्इंलार्इ कस्ता लागे ? यति अनुचित लागे भने किन र कसरी मलार्इ जानकारी गराएर सहायता गर्न अनुरोध छ । यदि उचित लागे भने अनेसासको केन्द्रिय निर्वाचनमा तपार्इंले भोट हाल्ने नेतृत्व जाँच्ने कसी यिनै विचारहरू हुन  सक्छन् ।

    कृपाय तपार्इंको भोट दुरूपयोग गरेर अनेसासलार्इ प्रयोग गर्ने नभएर यसको सेवा गर्ने आदर्श उमेद्वारलार्इ भोट हाल्न अनुरोध गर्दछु ।

    मैले अनेसासको केन्द्रिय नेतृत्वमा सन २०३० सालमा उमेद्वारी दिने मेरो योजना छ । मैले के सिक्नु पर्छ, कस्तो तयारी गर्नु पर्छ मलार्इ आवश्यक सुझाव र प्रतिक्रिया दिएर अनेसास मार्फत नेपाली साहित्य र भाषालार्इ सेवा गर्ने मेरो लक्षमा अभिभावकीय भूमिका निर्वाह गरिदिन पनि अनुरोध गर्दछु ।

    इति

    ६०३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad