BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    पुस्तान्तरण

    हिरा भट्ट, बुटवल रुपन्देही नेपालआषाढ १०, २०७५

    बाजे स्वच्छ-पहाडका बनबनै खान्थे मिठा काफल
    बाबा काफल किन्दथे शहरमा भन्थे पहाडी फल
    छोरो खोज गरी बस्यो गुगलमा खोज्यो बुझायो मन
    गर्दै लाइक नाति फेसबुकमा फोटो नियालीकन  ।१।

    बाजे लाख पवित्र धाम पहुँचे बोकेर माता पिता
    काका मन्दिर मान्दथे घरघरै पूज्थे तिनै देउता
    दाजै पुज्छ असंख्य देवगण ती खोज्दैछ अन्लाइन
    फोटो खिच्न भनेर आज भतिजो जाँदैछ वृद्धाश्रम  ।२।

    द्यौसीमा मदमस्त भै उडिउडी जान्थिन् बज्यै माइत
    आए भाइटीका फुरुक्क दिलले खोज्थिन् फुपू साइत
    फोटोमाग्छ टिका उदास बहिनी टाढा भयो माइत
    भान्जी लाइभ आइ फेसबुकमा भन्छिन् पर्‍यो पायक ।३।

    एकाएक झिलिक्क भो नगरमा क्वै सुक्ष्म पुस्तान्तर
    हल्लायो गिरिराज शैल सरिता काँप्यो धरा थर्थर
    टिप्दैथे कविता हिमाल शिरको मेरै धरामा बसी
    लेख्दा आगत बल्झियो विगतको सुक्दै गरेको मसी ।४।

    चारैतर्फ घुल्यो फुल्यो कृतिमता क्वै ज्वारभाटा उठी
    बन्दैगो ममता कला निकटता कर्तव्य देखावटी
    बग्दैछन् भल एक आधुनिकमा बृद्दा युवा बालक
    चिन्ता लाग्छ हराउँदैछ किन खै वात्सल्य आमा तक ।५।

    के गर्ला युगले सयौं नदनदी खोली हरायो भने
    न्यानो मानवता बिराज दिलको झोली हरायो भने
    लामो रात निदाउँला म कसरी लोरी हरायो भने
    आमाको-शिशु सालनाल बिचको डोरी हरायो भने ।६।

    इति
    छन्द शार्दूल विक्रीडित

     

    ३१० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad