BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    यो हिउँको देशमा

    टंक बयलकोटी,क्यानडाआषाढ १३, २०७५

     

    यो हिउँको देशमा
    रहरहरु फूलाउन कहाँ सकिन्छ र ?
    रित्ता गमलाहरु
    ओइलिएका र सुगन्धहिन रहरहरुसँग
    दुखेसो पोख्छन् दिनैभरि र रातैभरि

    कस्तो बिडम्वना !
    देश भएर माटो नहुनुको पीड़ा
    पुर्खाले रगत बगाएको
    मलिलो माटो भए पो
    फुल्थे रहरहरु
    तर
    हिउँ फुल्ने देशमा
    कसरी फुलुन त रहरहरु ?
    रंगहीन भए रहरहरु
    सेताम्मे देशको छातिमा
    अहँ ! फुल्न सकेनन् रंगीचंगीएर
    अफसोच !
    रहरहरु फुलाउने रहरै हराइसक्यो
    यो हिउँको परदेशमा ।

    अचेल
    राजनीति फुल्न थालेको छ
    पश्चिमी देशहरुमा

    संविधान दुख्न थालेको छ
    भूगोलका सीमानाहरुमा
    विपत्तिहरु फुल्न थालेका छन्
    फारोको राज्यमाझैं
    हिजोआज जताततै
    समुन्द्रमा, आकाशमा र धर्तीमा ।
    तर
    कसै गरी
    फुलाउन सकिएन
    यी अवोध रहरहरुलाई
    यो हिउँको देशमा ।

    आफ्नै धर्ती भनेर
    एक हुल चराहरु उडेर आउँछन्
    र, विस्थापित हुन्छन्
    रुखहरु, भित्ताहरु र भुईंहरु
    सर्वत्र सेताम्मे देखेपछि
    ती चराहरुलाई
    आफ्नै देश पनि विरानो हुन्छ
    अनि बसाईं सर्न वाध्य हुन्छन्
    छातिभरि पीड़ा बोकेर
    बिरक्तिएर कुनै अर्को भूगोलतिर ।

    चिसोको पीड़ा कसलाई हुँदैन र ?
    न्यानो घरभित्र त कताबाट छिरिपठाउँछ
    अनि बिथोलीदिन्छ न्यानोपन
    खुला परिवेशमा झन कति जाडो हुँदो हो
    बिचरा ! ती चराहरुलाई
    यो हिउँको देशमा ।

    ती चराहरुलाई
    जुनै देशमा जान पनि
    पासपोर्ट चाहिँदैन

    नागरिकताको खोजी हुँदैन
    स्वातन्त्र उडेर जान सक्छन्
    जहाँ ती चराहरु
    बिना छटपटी जीउन सक्छन्
    ती चराहरु जस्तै
    स्वातन्त्र भएर जीउन पाइदैन रहेछ
    हामी विमुखा मान्छेहरु
    यो हिउँको देशमा ।

    गरिबीको आगोले पोले पनि
    असमान्तको झरीले भिजाए पनि
    पिंजड़ाहरुमा थुनिनु पर्छ
    के पाईन्थ्यो स्वतन्त्र भएर
    चराहरुजस्तै
    क्षितिजपारिसम्म उडेर जान
    यो हिउँको देशबाट ।

    जीविकोपार्जनका लागि
    एकाबिहानै हिँड्नुपर्छ

    दिनैभरि संघर्ष गर्नुपर्छ
    शरीरका कलपुर्जाहरु
    शिथिल र कमजोर नहुन्जेल
    अहँ ! पाइदैन फुर्सत
    यो हिउँको देशमा ।

    आकांक्षाहरू पुरा नहुँदै
    हावाको झोँक्काले हुत्याई दिन्छ
    यो जिन्दगीलाई धेरै परसम्म
    अनि सम्हाल्नै गाह्रो हुन्छ
    जिन्दगीका पाईलाहरु
    हरेक दिन र हरेक रात
    यो हिउँको देशमा ।

    यो परिवेश हिउँको खेती गर्छ
    अनि उमार्छ ‘स्नोमेनहरु’
    प्रत्येक घरको बगैंचाहरुमा
    सड़कका किनाराहरुमा

    पार्कका पेटीहरुमा
    तर
    बिचरा ! मालिकबिनाका ‘स्नोमेनहरु’
    उत्ताउलो घाममा मुर्छा पर्छन्
    अनि जीवनको अन्त गर्छन्
    यो हिउँको देशमा ।

    व्यस्तता भन्नै पर्छ
    गाडीका ताँतीहरु र लस्करहरु
    रेलका पंक्तिबद्ध डब्बाहरु
    अग्ला–अग्ला बिल्डिंगहरू, होटलहरु, रेष्टुरेन्टहरु
    सबै ठाउँमा मानिसहरु व्यस्त हुन्छन्
    आ–आफ्नो कार्यभार सम्हाल्न
    यो हिउँको देशमा ।

    टुक्रुक्क बसेर
    एक गिलास चिया पिउनसम्म पाइदैन
    ‘डे अफ’ नहुन्जेलसम्म कुर्नै पर्छ
    फुर्सतका समय र पलहरु
    यो हिउँको देशमा ।

    चिसोपनमा कतै देश हराएको छ
    भने
    कतै हार्दिकता दुखेको पनि छ
    तर जे भए पनि
    ईश्वरको कृपा हामीमाथि परेको छ
    हुन सक्छ
    हामी प्रतिज्ञाको भूमिमा बाँचिरहेका छौं
    यो हिउँको देशमा ।

    ईति

     

    ३६४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad