BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    प्रतिबिम्ब

    घनेन्द्र ओझा, काठमाडु नेपालआषाढ १६, २०७५

    साँझ पर्नै लागेको छ । चराचुरुङ्गी गुँड पस्न आतुर छन् । नातिनातिना भर्खरसम्म कल्याङकुलुङ गर्दै थिए, खेल्न गएछन् क्यार । वस्तुभाउको थान्कोमुन्कोमा लागेका छन्, छोराबुहारी ।

    गर्मीको बेलामा निकै आनन्द लाग्छ आमैलाई, बरन्डामा बस्न । पूर्वपट्टि भएर पनि होला, हावा मजाले लाग्छ । बिस्तारै थाक्दै गएको छ शरीर । आँखा उति राम्ररी देखिन छाडेको छ । निकै ठूलो आवाजले बोल्दा मात्र सुनिन्छ कान । त्यति धेरै उमेर खाएकी त हैन, तीन बीस यसै महिना कटेकी हुन् । ‘व्यवहारले मान्छेलाई छिटै वृद्ध बनाउने रहेछ । सहरतिरका ७० नाघेका बूढीहरु पनि कति चमकदमकका साथ हिँडडुल गर्छन् । अनुहारमा यसरी चाउरी परेको पनि हुँदैन । गाउँघरको जिन्दगी बडो दुखी छ …।’

    सोच्दासोच्दै आमै पूर्वस्मृतिमा होमिइन् । उसबेला, सतिप्रथाको धङ्धङीले भर्खर मात्र छाडे पनि गाउँघरमा छोरीप्रतिको सोचाइ र व्यवहार निकै टीठलाग्दो नै थियो । बालबिबाह कायम थियो । छोरीलाई पढाउनुहुन्न, अर्काको घरमा जाने जात । काम मात्र लगाउनुपर्छ भन्ने मान्यता थियो । एक किसिमले भन्दा छोरी भन्ने जात मान्छेको जात भन्दा भिन्न तर रुप मात्र मान्छेको जस्तो मानिन्थ्यो ।

    हुनत आमैको जन्म राम्रै परिवार (आर्थिक हिसाबले) मा भएको हो । बुबा पन्डित, गाउँघरका सबैले मान्ने । जमिनदार पनि हुन्, सयौँ मुरी अन्न भित्र्याउने । तर पनि विद्यालय देख्न पाइनन् आमैले । घरैमा धूलो माटोमा कखरा चिनाएका रे बाबुले ।

    दस वर्षसम्म आमालाई भातभान्सा, चुलो चौकामा सघाइन् । घाँसपात र पानीपँधेरो नियमित थियो । छरछिमेकले कुरा काट्न सुरु गरिसकेका थिए, छोरी डँडाक भइसकी, पन्डित बाजे विहे गरिदिने चासै राख्दैनन् भनेर ।

    त्यसो त छोरीका बाबु आमालाई मात्र थाहा हुन्छ रे कति गाह्रो हुन्छ छोरी घर पठाउन । अझ पन्डित परिवार, जातपात मिल्नुप¥यो, लगन, टिपन, चिना, नाडी, गण के के सबै मिल्नुप¥यो । अलिक खानदानी र प्रतिष्ठित पनि हुनुप¥यो कुलकुटुम्ब ।

    नभन्दै पल्लो गाउँका अर्याल पन्डितको कान्छो छोरो भर्खरै वनारसमा उत्तरमध्यमा सकेर फर्किएको खबर आयो । उमेर अलिक बढी नै हो उनको भन्दा । छ वर्षजतिको फरक होला । परिवार राम्रो, पढेलेखेको, ब्राह्मण परिवार, जाँडरक्सी नखाने भनेपछि छोरी दिन राजी भए पन्डित बा ।

    बिबाह सानै उमेरमा गरिदिए पनि छोरी बुझ्ने नहुन्जेल माइतमै राख्ने चलन थियो । बिबाह भएको पाँच वर्षसम्म उनी माइतमै बसिन् । दुलाहा पढ्न वनारस फर्कियो । यो पाँच वर्षको बीचमा दुलाहाले शास्त्रीसम्मको अध्ययन पूरा ग¥यो । आचार्य पढ्ने चाहना हुँदाहुँदै पनि पढ्न पाएन, गाउँमै शिक्षकको जागिर पाएकाले ।

    वनारसबाट फर्किएर आएपछि विश्वनाथ शास्त्री गुरुका नामले प्रख्यात भयो । निकै राम्रो र भलाद्मी शिक्षकका रुपमा चिनियो ऊ ।

    माइतीमा बस्दै आएकी रुपालाई पनि लिएर आयो । १५ वर्षे रुपा निकै सुन्दर थिई ।
    समाज नै यस्तै थियो, परिवारका सदस्यले लोग्ने स्वास्नी (छोराबुहारी) ठट्टा गरेको, सँगै हिँडेको त्यति मनपराउँदैनथे । उमेरका केटाकेटी जिस्कने, ख्यालठट्टा गर्ने बेला । लुकीलुकी गर्नुपथ्र्यो ठट्टामजाक । त्यसो त विश्वनाथ निकै मिजासिलो पनि थियो । परिवार, अझ भनूँ न, त्यो समाजमै निकै रमाइलो र रउसे मान्छेका रुपमा पनि चिन्दथे उसलाई ।

    परिवारका सदस्यहरु मेलापात वा हाटबजार कतै गए कि निकै रमाइलो हुन्थ्यो । विश्वनाथ र रुपा पनि निस्कन्थे घुम्न । टाढा त जान मिल्दैनथ्यो, त्यतै घरबारी वरिपरि टहल्थे, रमाइला गफ गर्थे । विश्वनाथ जिस्क्याउँथ्यो, रुपा मुन्टो अर्कैतिर बटार्थी, लाजले । ओहो, त्यो बेलाको कुतकुती । सम्झिँदा पनि रोमान्चित हुन्छ मन ।

    यसरी नै बित्थे प्रायः दिनहरु । साँझ पथ्र्यो । चराचुरुङ्गीहरु गुँड बस्न हतारिन्थे । आकाश जुनेली बन्थ्यो । जूनको उज्यालोमा रुपा झनै रुपवती देखिन्थी । भन्थ्यो, ‘लौ हेर, झरेछ जून आकाशबाट ।’ रुपा लजालु मुस्कान छाड्थी । ऊ हेरेर रमाउँथ्यो ।

    घरबाट नजिकै रहेको वरको रुख, जहाँ चौतारो पनि थियो, प्रायः त्यहीँ जान्थे उनीहरु । सररर शीतल हावा चल्थ्यो त्यहाँ । वरका हरिया पातहरुमा हावाको झोँका ठोक्किँदा निकै मीठो आवाज आउँथ्यो । चिरबिर चिरबिर चराहरुको आवाजले निकै आनन्दित बनाउँथ्यो । थकाइ मार्ने चौतारो पनि भएकाले साँझपख प्रायः त्यहीँ भेटिन्थे । मान्छे अलिक कम्ती नै हिँड्थे त्यो बाटो भएर, अर्को छोटो बाटो भएर होला । तैपनि कहिलेकाहीँ मान्छे आइहाल्थे, कुरा काट्ने डरले छलिन्थे सकेसम्म । कतिले त देख्थे पनि, तर नदेखे जस्तो गरिदिन्थे ।

    तर आज छैन त्यो जवानी, छैनन् ती दिनहरु । विश्वनाथले छाडेर गएको पनि एक दशक भइसकेछ ।

    ‘हजुरमा, खाना खाने बेला भयो रे’, सानो नातिको आवाज सुनेर झस्किइन् बूढी आमै । पूर्वस्मृतिबाट वर्तमानमा फर्किइन् । अगाडिको वरको रुख उभिइरहेको थियो, पातविहीन ठिङ्ग । खङ्ग्रङ्ग थियो रुख, निष्प्राण जस्तै ।

    आमैले आफ्नो प्रतिबिम्ब देखिरहेकी थिइन्– वरको रुखमा ।

    ३०१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad