BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    न्यूजिल्याण्डमा नेपालीहरू

    बावुराजा महर्जनआषाढ २०, २०७५


    सन् १९५३ (विस २०१० साल) मा न्यूजिल्याण्डवासी विश्व प्रसिद्ध पर्वतारोही सरएडमण्ड हिलारी र नेपाली तेन्जिङ्ग शेर्पाले एकातिर धरतीमै सबैभन्दा अग्लो हिमाल सगरमाथाको टुप्पोमा पुगेर विश्व कीर्तिमान कायम गर्नु र अर्काेतिर नेपालको एक प्रसिद्ध विद्वान (हाल शताब्दी पुरुष) सत्यमोहन जोशीको न्यूजिल्याण्ड आगमनले जोडिएको नेपाल–न्यूजिल्याण्ड बीचको सम्वन्ध सन् १९६१ मे महिनामा पुगेर दौत्य सम्बन्धमा विकास भएको पाइन्छ । एनआरएन न्यूजिल्याण्डले आज भन्दा एघार वर्ष अगाडि एतिहासिक व्यक्तित्व सत्यमोहन जोशीसँग सम्पर्क राखी न्यूजिल्याण्डमा पहिलो नेपालीको विशेष संस्करण प्रकाशन गर्ने अवसर पाएको थियो । सो विशेष संस्करणमा दुई शव्द लेख्दै सताब्दी पुरुष जोशीले लेख्नुभएको छ–‘ग्ल् त्ब्ब्वाट प्राप्त विद्वानवृति अन्तर्गत सन् १९५३ मे महिनामा तथ्याङ्क विषयको शिक्षा र तालीम लिन नेपालवाट म न्यूजिल्याण्डमा पुगेको थिएँ । ठीक त्यसैवेला न्यूजिल्याण्डवासी एड्मन्ड हिलारी र नेपाल निवासी तेन्जिङ्ग शेर्पा विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएको समाचार प्रसारण भैरहेको थियो ।

    हिलारी र तेन्जिङ्गको यो एतिहासिक उपलब्धी पश्चातनै नेपालको नामले विश्वमा चर्चा पाएको सबैले अनुभव गरेका थिए । त्यो भन्दा अगाडि नेपालको सम्बन्ध ब्रिटेन सरकार सम्म मात्र सिमित थिए । सगरमाथा माथिको यस विजयले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा फैलिएको मात्र नभए नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता लिन पनि सघाउ पु¥याएको विश्वास गरिन्छ र १४ डिसेम्बर १९५५ मा नेपालले सदस्यता प्राप्त ग¥यो ।

    हिलारी र तेन्जिङ्गको नाम नेपालीहरूको लागि अनौठो नभएपनि न्यूजिल्याण्ड प्रशान्त महासागरको दक्षिणपूर्वमा अवस्थित रहेको अन्कन्ट र देशको रूपमा लिने गरिन्थ्यो । तर पनि छिटफूट रूपमा न्यूजिल्याण्डमा नेपालीहरूको प्रवेश एक १९६८ देखि शुरु भएको देखिन्छ । न्यूजिल्याण्ड तथ्याङ्क (विभाग) ले उपलव्ध गराएको रेकर्ड अनुसार सन् १९६८ मा एक नेपाली पासपोर्ट बाहकले न्यूजिल्याण्डको नागरिकता लिएको थियो भने अर्काे व्यक्तिले सन १९७० मा नागरिकता लिएको देखिन्छ ।

    तथ्याङ्क
    न्यूजिल्याण्डमा प्राप्त तथ्याङ्कले सन् १९९७ सम्म नेपालीहरूको संख्या एक्दमै न्यून रहेको पाइन्छ भने सन् १९९८ देखि नेपालीहरूले पनि न्यूजिल्याण्डको नागरिकता लिन उत्साहित भएको प्रष्ट हुन्छ । सन् २०१३ देखि हरेक वर्ष ५० जना भन्दा वढी नेपालीहरूले न्यूजिल्याण्डको नागरिकता लिएको वास्तविकताले अहिले आएर न्यूजिल्याण्ड पनि नेपालीहरूको आकर्षणको केन्द्र रहेको भन्न सकिन्छ । गतवर्ष २०१७ मा १२७ जना नेपालीहरू (नेपालको राहदानीवाहक)ले न्यूजिल्याण्डको नागरिकता लिएको तथ्याङ्कले अब नेपालको लागि न्यूजिल्याण्ड टाढा नरहेको सन्देश दिएको छ ।


    न्यूजिल्याण्ड आप्रवासन विभागले २०१७ डिसेम्बरसम्म जारी गरेको भीसा अनुसार सन् २०१८ फ्रेबुअरीमा सूत्रबद्ध गरिएको तथ्याङ्क न्यूजिल्याण्ड (विभाग) अनुसार अहिलेसम्म ९९५ जना नेपालीहरूले न्यूजिल्याण्डको नागरिकता लिइसकेका छन् ।

    न्यूजिल्याण्डमा स्थायी रूपमा बसोवास गर्ने भीसा :
    मातृभूमि नेपालकै राहदानी राखेर पनि स्थायी बसोबासको भीसा प्राप्त गरेका नेपालीहरूको संख्या पनि हालका वर्षहरूमा उल्लेख्य रूपमा वृद्धि भएका छन् । न्यूजिल्याण्ड तथ्याङ्कले उपलव्ध गराएको रेकर्ड अनुसार अघिल्लो ११ वर्षमा मात्र स्थायी भीसा पाउने नेपालीहरूको संख्या ८४६ रहेका छन्, यसमा आर्थिक बर्ष २००६ र २००७ सम्म स्थायी भीसा पाइसकेका नेपालीहरूको संख्यालाई गणना गरेको छैन । शायद सन् २००६ र २००७ भित्र स्थायी भीसा पाएका सबैले न्यूजिल्याण्डको नागरिकता लिइसकेको हुनुपर्छ । सन् २०१४ र ०१५ को आर्थिक वर्षदेखि हरेक वर्ष १०० भन्दा वढी नेपालीहरूले स्थायी बसोबासको भीसा पाउँदै आएको तथ्यले न्यूजिल्याण्डमा नेपालीहरूको उपस्थिति बढ्दै जाने कुरा निर्विवाद छ ।

    शरणार्थी भीसा र वर्कभीसा :
    सुन्दा अचम्म लाग्न सक्छ तर सत्य कुरो के हो भने सन् २००७ देखि २०१७ सम्म हरेक वर्ष एक वा त्यो भन्दा वढीले शरणार्थीको लागि आवेदन दिने गरेको र आर्थिक वर्ष २०१०–२०१२ लाई छाडेर वाँकी ८ वर्षमा शरणार्थी भीसा पाउने नेपालीहरूको संख्या ३२ रहेका छन् भने वर्क भीसा पाउनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेको छ । आर्थिक वर्ष सन् २००७ र ०८ देखि २०१० र ०११ सम्म वार्षिक ३०० सय भन्दा कम नेपालीहरूले वर्क भीसा पाउँदै आएकोमा आव २०१२ र ०१३ देखि ४ सयभन्दा वढी र २०१५ र ०१६ देखि बर्षको एक हजार भन्दा वढी नेपालीहरूले वर्क भीसा पाएको तथ्यले नेपालीहरूको उपस्थिति न्यूजिल्याण्डमा बाक्लिन थालेको भन्न हिच्किच्याउनु पर्दैन । सन् २००७ र ००८ को आर्थिक वर्षदेखि २०१७ र ०१८ को आर्थिक वर्षभित्र वर्क भीसा पाउने नेपालीहरूको संख्या ६११५ हुनु यसको प्रमाण हो ।

    उच्च शिक्षाका लागि आकर्षक मूलुक
    पछिल्ला वर्षहरूमा नेपाली युवायुवतीले उच्च शिक्षाका लागि न्यूजिल्याण्डलाई पनि यौटा आकर्षक मुलुकका रूपमा लिन थालेका छन् । आर्थिक वर्ष २००७ र ०८ देखि २००९ र ०१० सम्म वार्षिक करिव १०० जनाले विद्यार्थी भीसा पाएका थिए भने आव २०१० र ०११ देखि नेपाली विद्यार्थीहरूको संख्या वार्षिक लगभग ३०० पुगेको तथ्यले देखाएको छ । आव २०१४ र ०१५ देखि न्यूजिल्याण्डमा उच्च शिक्षाका लागि आउने नेपालीहरूको संख्या वार्षिक ७०० नाघेको छ । न्यूजिल्याण्ड तथ्याङ्कले दिएको रेकर्ड अनुसार ८३०९ नेपाली विद्यार्थीले न्यूजिल्याण्डमा उच्च शिक्षाको लागि प्रयास गर्दै विद्यार्थी भीसाको लागि आवेदन दिएकोमा जम्मा ४७२९ अर्थात ५७ प्रतिशतले भीसा प्राप्त गरेका थिए भने ३५८० अर्थात् ४३ प्रतिशत विद्यार्थीले न्यूजिल्याण्डको भीसा पाउन सकेनन् ।


    न्यूजिल्याण्ड पढ्न आउने विद्यार्थीहरू मध्ये धेरैले आफ्ना जीवन संगी पर्यटक भीसामा ल्याएका छन् । आव २००७ र ०८ देखि आव २०१७ र १८ सम्मको एघार वर्षको अवधीमा न्यूजिल्याण्ड आउने ४७२९ विद्यार्थी थिए भने पर्यटक भीसामा आउने नेपालीहरूको संख्या ४६७६ हुनुले यो वास्तविकतालाई पुष्टी गर्छ । एघार वर्षको नेपाली पर्यटकको यो तथ्याङ्कमा केही प्रतिशत न्यूजिल्याण्डमा रहेका आफ्ना छोराछोरी तथा नातेदारहरू भेट्न आउनेहरू पनि समाविष्ट रहेका छन् । न्यूजिल्याण्डले दिएको तथ्याङ्कले अष्ट्रेलियाको पासपोर्ट लिएर न्यूजिल्याण्ड घुम्न आउने नेपालीहरूलाई नेपालीको तथ्याङ्कमा समावेश हुने कुरै भएन । न्यूजिल्याण्डमा युरोप, अष्ट्रेलिया र अमेरिकावाट समेत त्यहीको पासपोर्टमा न्यूजिल्याण्ड घुम्न आउने नेपालीहरूको संख्या पनि कम छैन । जेहोस, न्यूजिल्याण्डको रेकर्डले नेपालीहरूको संख्या १७,३५३ रहेको देखाउँछ ।

    नेपालीहरूले हस्पिटल, ठूलठूला होटलहरू, रेष्टुरेण्ट व्यबसाय, विश्वविद्यालय, कलेज, बैक तथा अन्य आर्थिक कारोवार गर्ने संस्थाहरू, इन्जिनियरिङ्ग क्षेत्र, किवी फलफूल उद्योग, सफ्टवेयर र हार्डवेयर क्षेत्र, गाईपालन र डेरी उद्योग आदि थुप्रै क्षेत्रहरूमा आफ्नो ज्ञान, शीप, अनुभव र कौशलताको उपयोग गर्दै न्यूजिल्याण्डको हरेक क्षेत्रमा योगदान दिइरहेका छन् र नेपालमा रेमिट्यान्स पठाउने काम गरेका छन् । नेपाल सरकारले भन्दा न्यूजिल्याण्डमा बसेका नेपालीहरूले नेपालको कला, संस्कृति, पर्यटनको प्रचारप्रसारमा राम्रो योगदान दिइरहेका छन् भन्दा अत्युक्ति नहोला ।

    २२१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad