BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    डायस्पोरा विज्ञहरूको ‘भर्चुअल रिटर्न’ र ‘केएपीबी’बाट सिक्नुपर्ने पाठ

    नारायण घिमिरे, क्यानडा आषाढ २१, २०७५

    एक्सपर्ट डायस्पोरा विज्ञहरूको भर्चुअल रिटर्नबाट ज्ञान र सीप हस्तान्तरण मोडल चाहिँ ग्रिक सरकारको नलेज एन्ड पार्टनरसिप ब्रिजेज (केएपीबी) ले गरिरहेको छ । केएपीबी ग्रिकको डायस्पोराकै सक्रियतामा तिनै डायस्पोराको विश्वव्यापी सञ्जाल प्रयोग गरी सफलतापूर्वक एक्सपर्ट डायस्पोरा विज्ञहरूको भर्चुअल रिटर्न गर्न सम्भव एक ज्वलन्त उदाहरण हो । जसलाई हामीले समीक्षा गर्दा लाभै होला ।

    नेपालमा ‘ब्रेन ड्रेन’ र ‘रिभर्स ब्रेन ड्रेन’को चर्चा हुन थालेको लामो समय व्यतीत भइसक्यो । खासगरी राजा महेन्द्रकै पालादेखि नै ‘ब्रेन ड्रेन’ र ‘रिभर्स ब्रेन ड्रेन’का नाममा विदेश पढेका आफ्ना अनुचरहरूलाई महत्वपूर्ण ओहोदा दिँदै जबर्जस्ती ‘थिंक ट्यांक’ बनाइएकै हो । राजा संवैधानिक भएपछि पनि त्यो सिलसिला रोकिएन । विदेशमा सक्षमता देखाएको होइन कि विदेश पढेका तर के गरौँ कसो गरौँ भनी भौँतारिइरहेका आफ्ना दलका आसेपासेलाई इज्जतपूर्वक पुनः नेपालमै स्थापित गराउन दुरूपयोग भएको नतिजा हाम्रोसामु छर्लंगै छ ।

    त्यसको निरन्तरतास्वरूप हालसम्म पनि ‘रिभर्स ब्रेन ड्रेन’ नेपालको ‘एनी हाऊ कमाऊ’ राजनीति–धन्दाको एउटा पाटो बनेकै हो । त्यसैले पनि यसलाई हालसम्म मात्र नेताका मुखका कुरामा सीमित राखियो । तर, औपचारिक रूपमा घोषणा गरी कहिल्यै अगाडि बढाइएन् । यस मामलामा सरकार गम्भीर पनि देखिएन ।

    विगतमा संसारका धेरै राष्ट्रले हालसम्म आफ्ना डायस्पोराको ‘रिभर्स ब्रेन ड्रेन’का निम्ति थुप्रै कार्यक्रम लागू गरेका उदाहरण छन् । जस्तैः तालिवान आतंकको अन्त्यपछि सन् २००१ मा बनेको सरकारले अफगानिस्तानमा रिटर्न अफ क्वालिफाइड अफगान्स (आरक्यूए) प्रोग्राम घोषणा गरी धेरैलाई आफ्नो मुलुक फर्कायो । तर, लामो अवधिको मुलुक फिर्ती त्यति सफल भएन । युरोपबाट फिर्ता भएका विज्ञहरूले अवसर पाएर पनि नतिजा दिन सकेनन् । पछि फेरि अमेरिका, क्यानाडा र न्युजिल्यान्डतिर पलायन भए । माइग्रेसन फर डेभलपमेन्ट इन अफ्रिका (एमआईडीए) ले त्यही मोडल सुधारी छोटो र लामो समयको विज्ञ फिर्ती कार्यक्रम गरी विज्ञहरू भित्र्यायो । त्यो कार्यक्रम अन्तर्गत उक्त देशमा फर्केका नामुद विज्ञहरूसमेत उनीहरूलाई चाहिने प्राविधिक सहयोगको कमीले बिना कामकाजी विज्ञका रूपमा रूपान्तरित भए ।

    नेदरल्यान्डस्ले टेम्पोररी रिटर्न टू क्वालिफाइड नेसनल्स (टीआरक्यूएन) प्रोग्राम घोषणा गरी अल्पकालीन विज्ञहरूको फिर्ती कार्यक्रम चलायो । त्यो कार्यक्रमबाट के पत्ता लाग्यो भने वास्तवमा परम्परागत रूपमा भनिएका ब्रेन–ड्रेन असलमा ब्रेन–ड्रेन थिएनन्, मात्र युनिभर्सिटी पढेका ग्य्राजुएटहरू अवसरका खोजीमा बाहिर गएका थिए । जब उनीहरूले विदेशमा आफ्नो रूचिका विषयमा काम पाए, आफ्नो मातृभूमिमा लिएको कलेजको ज्ञान र काम गर्ने अवसरको समेत सहयोगबाट व्यावहारिक ज्ञान र सीप बाहिरी मुलुकमै आर्जन गरेका थिए । राज्यले मात्र पढेका ग्य्राजुएट–ड्रेन गरेको थियो तर वास्तविक डायस्पोरा फिर्तीबाट ब्रेन–गेनको सम्भावना पाएको थियो ।

    वास्तवमा सन् २००४ देखि नै जर्मन सेन्टर फर इन्टरनेसनल माइग्रेसन एन्ड डेभलपमेन्ट (सीआईएम) ले विभिन्न राष्ट्रका लगभग १० हजार एक्सपर्ट डायस्पोरा विज्ञहरूलाई सम्बन्धित मुलुकमा फर्काएर त्यो देशको विकासमा सेवा पु¥याउन ठूलो धनराशि खर्चिएको तथ्य भेटिन्छ । सीआईएमको सहयोग लिई विज्ञहरूलाई आफ्नो देश फर्काएका मुलुक धेरै छन् । भारत, चीन, पाकिस्तान, ब्राजिल, कोलम्बिया, इजिप्ट, इन्डानेसिया, भियतनाम, प्यालेस्टाइन आदि त्यसका बलिया उदाहरण हुन् ।

    विभिन्न देशका अनुभवबाट सिकिएको पाठ के हो भने सम्बन्धित देशको राजनीतिक तरलता, अपर्याप्त प्रविधि, जनता र कर्मचारीतन्त्रको उदासीनता, साह्रै कम पारिश्रमिक, स्थानीय कामदारसँग हुने वैमनस्यता, आफ्ना पति–पत्नी र बालबच्चाले गुमाउने अवसर आदि स्थायी रूपमा विदेशिएका विज्ञ फर्काऊ मिसनको जटिल चुनौतीका रूपमा रहेका छन् । ती चुनौती परिपूर्तिमा राष्ट्रले निकै महँगो मूल्य चुकाउनुपर्ने तर त्यसैअनुसारको प्रतिफल भने नहुने प्रमाणित नै भइसकेको हो ।

    जब ती कुरा संसारले राम्ररी मनन ग¥यो, त्यसपछि ‘भर्चुअल रिटर्न कन्सेप्ट’ संसारमा भित्रिएको छ । त्यसलाई हाल धेरै मुलुकले सफलतापूर्वक व्यवहारमा लागू गरेका छन् । जस्तै : इरिटेरियाले आफ्ना डायस्पोराहरूलाई आफ्नो विशाल वेबसाइट कन्टेन्ट प्रोभाइडर्सबाट, जर्मनीले एल्मुनाई पोर्टलबाट साह्रै प्रभावकारी नतिजा भित्र्याउन सकेका छन् । भर्चुअल एक्सचेन्जेज अफ स्किल्ड डायस्पोराजको नीतिमार्फत फिलिपिन्स, उरूग्वे (कन्सुलर पोस्टस), बुल्गेरिया, कोलम्बिया, बुरून्डी, इस्टोनिया, हंगेरी, स्वीटजरल्यान्ड, इक्वेडर आदि मुलुकले आश्चर्यजनक फाइदा लिन सकेका छन् ।
    हाम्रो गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गर्न खोजेको यस्तै–यस्तै पो हो कि जस्तो लाग्छ । एक्सपर्ट डायस्पोरा विज्ञहरूको भर्चुअल रिटर्नबाट ज्ञान र सीप हस्तान्तरण मोडल चाहिँ ग्रिक सरकारको नलेज एन्ड पार्टनरसिप ब्रिजेज (केएपीबी) ले गरिरहेको छ । केएपीबी ग्रिकको डायस्पोराकै सक्रियतामा तिनै डायस्पोराको विश्वव्यापी सञ्जाल प्रयोग गरी सफलतापूर्वक एक्सपर्ट डायस्पोरा विज्ञहरूको भर्चुअल रिटर्न गर्न सम्भव एक ज्वलन्त उदाहरण हो । जसलाई हामीले समीक्षा गर्दा लाभै होला ।

    नेपाल र भारतले गरेजस्तै ‘विज्ञहरू स्वदेश फर्क अनि देश बनाऊ, तिमीलाई जन्माउन, हुर्काउन र स्कुल–कलेजसम्म पढाउन राज्यले लगानी गरी गुन लगायो । अब बिनाप्रतिफल राष्ट्रको सेवा गर’ भन्ने मन्त्र कामयाबी छैन र विज्ञहरू स्वदेश फर्कंदैमा बिना साधन र उचित अवसर देश बन्दैन । ती कुरा महसुस गरी केएपीबीले विदेशिएका र विदेशमा उल्लेखनीय नतिजा दिएका ग्रिक वैज्ञानिक, पेसेवर, उद्यमी आदिसँग डायस्पोरा नेटवर्कमार्फत को–क्रिएसन बिल्डिङ बिज्रेज विकास गरी तिनीहरूलाई ग्रिकका स्थानीय वैज्ञानिक, पेसेवर, उद्यमी आदिसँग जोड्ने सेतुको काम गरेको छ । त्यसका कारण आज संसारकै अब्बल मानिएका पब्लिक रिसर्च इन्स्टिच्युट्सहरू त्यसमा पनि जर्मनी, बेलायत, अस्ट्रियाका ल्याबरोटरिज, टेक्नोलोजी ट्रान्सफर अफिसेज र इनक्युबेटर्सलाई पब्लिक–प्राइभेट कालाब्रेसन मोडल ग्रिकले सफल पारेको छ । केएपीबीको मोडल आज संसारका धेरै मुलुकले तुलना गर्दै आफ्नै पाराको डायस्पोरा विज्ञहरूको भर्चुअल रिटर्न प्रोग्राम लागू गरेका छन् । त्यसको पछिल्लो उदाहरण विज्ञान तथा प्रविधि विकासमा आफ्ना एक्सपर्ट डायस्पोरा विज्ञहरूको सहयोग लिन पोर्चुगलले नलेज एन्ड पार्टनरसिप ब्रिजेज (केएपीबी) मोडलबाट प्राप्त गरेको ज्ञान अवलम्बनलाई लिन सकिन्छ ।
    (घिमिरे क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन् । )

    ३०७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad