BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    परदेशीको सपना

    चन्द्रिका थापा चन्दा, काठमाण्डाै नेपालआषाढ २३, २०७५

    “तिमीलाई त छोरा छोरी छाडेर गर्इ भन्थे सबैले । त्यही सुनेर म फर्किएर आएको हुँ कतारबाट । के हो कुरो भन त ? तिमी छोराछोरी छाडेर कहाँ गएकी थियौं  ?” सानेले केरकार गर्न थाल्यो ।

    “होइन, म कहाँ जानु यी साना-सना लाला बाला छोडेर । तपार्इ त्यति टाढा परको देशमा । म तपाईकै आसमा बसेकी छु । नपत्याए सोध्नुहोस् यी लालाबालालाई ।” गोरीले विश्वास दिलाउन खोजी सानेलाई ।

    २ वर्ष अगाडि मात्रै साने कतार पुगेको थियो । कतारको गर्मीको धुपमा बाहिर घर निर्माण गर्ने सहायकको काम गर्दै थियो । अचानक घरबाट भाउजुले फोन गरेर सुनाइन्, ‘बाबु तपार्इंकी श्रीमती अर्कैसँग पोइल गइन् । छोराछोरी श्रीमती भएको मान्छेसँग ।’

    एक्कसी झसङ्ग भयो साने, निकै अतालियो र विचलित भयो उ । घरको नौ तलमाथि काम गर्दै थियो । फननन घुम्यो नौतले घर, उसको मथिङ्गल पनि अलमलियो । उकुस मुकुस भयो एकछिन । कति हो कति आत्तियो विचरो, पारि टोलाएर हेर्यो, समुद्र पनि घुमिरहेको ठान्यो । अनि छालहरु छचल्किदै साने सामु आउँदै छुँदै गरेर जान थाल्यो । त्यही समुद्रको नुनिलो पानीसँगै सानेको आँखाबाट बगेको आँसु मिसियो । खोइ कता टाढा पुर्यायो सानेको आँखाबाट खसेको आँसु, सानेलाई पत्तै भएन । उ पुक्लुक्क ढल्यो विस्तारै ।

    छेउमा रहेको साथी आएर झक्झक्याउँदै भन्यो ‘साने ! के भयो के भयो साने ?’ निकै बेलमा बाैरियो, भावविह्ल हुँदै बेस्सनी रोयो, रामे हेर न, मेरो श्रीमती त अरुसँगै पोइल गर्इ रे भाउजुले फोन गरिथिन् भर्खरै ।’

    हँ, के भन्छस् साने, यार हिजो मात्र होइन् र, भाउजुसँग तैले कुराकानी गरेको ? छोराछोरीसँग पनि बोलेको थिस् त ? रामेको कुराले हिजो श्रीमतीसँग अनि छोरा छोरीसँग कुरा गरेको सम्झियो सानेले । हो त नि–भाउजुले ढाँटिन क्यार । त्यस्तो पनि कसरी गरिहोली र उसले । घोप्टी मुन्टो लगाएर मनमनै गम्न थाल्छ साने ।

    अस्तिमात्र उसले आइएमर्इ गरेर ४ लाख पैसा पठाइदिएको थियो । कतारको ५० डिग्री तातो घाममा काम गरेर पैसा पठाउथ्यो सानेले । यो पटक पनि श्रीमतीले घरखर्च तथा ऋण धन तिर्नुछ भनेर एकैपटकमा ४ लाख पठाइदिएको थियो । कम्ता सकस थिएन सानेलाई कतारको गर्मीमा पसिना बगाएर धनपैसो जम्मा गर्नलाई  तर पनि छोराछोरीको भविष्य झलझली सम्झिएको थियो उसले । छोरा छोरीको राम्रो शिक्षा दिक्षा सोचेको थियो विचराले । अनि श्रीमतीलाई पनि गाउँमा सबैकी श्रीमती भन्दा राम्री बनाउने, लुगा गहनाले छपक्कै पारेर राख्ने । तर, भाउजुको कुरा सम्झेर फेरि झस्कियो साने । अनि त, श्रीमतीले छोडेर गएपछिको शुन्य घर र छोराछोरी सम्हाल्न भन्दै गाउँ पर्किने सोच बनायो सानेले ।

    फर्कने बेलामा साथीहरुले सम्झाएका थिए– ‘नजा साने घर, भाउजुले छोडेर गइहालिन् । तँलाई सम्हालिन पनि गार्हो हुन्छ अहिले गाउँमा एक्लै । छोराछोरीको पीडाले झन पागल हुन्छनस् तँ ।’ तर पनि सानेलाई साथीहरुका कुराले छोएन । अनि घर फर्कियो । घर पर्किन भन्दा पहिले गाउँकै साथीलाई फोन गरेर भनेको थियो ‘म घर फर्कदै छु । साथीले अचानक किन घर आउन थालिस् दसैंमा आउँछु भनेको होइन् र ? भनेर सोधको पनि थियो । उसले भाउजु र छोराछोरीलाई भेट्नका लागि भनेर पीडा मनभित्रै लुकाएर बोल्यो ।

    कतार एयरको प्लेनबाट रातको ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रियो उ । एयरपोर्टकै ट्याक्सी चढेर त्यो रात बसपार्कमा रहेको मिर्मिकाली होटलमा बसेर बिहानै ६ बजेको बसमा दाङ हानियो ।

    बसको झ्यालनेर बसेको सानेले गोरीसँगै काठमाडौं आउँदाको दिन सम्झियो । बसपार्कमा रहेको होटलमा बसेको र त्यही मीठा मीठा गफ गरेर रात छर्लङ्गगै पारेको सम्झियो । अनि छोरा काखमा लिएर एयरपोर्टमा उड्ने बेलामा छातिमा टाउको राखेर बिछोडिनु पर्दाको क्षणमा गोरी रोएको सम्झियो । ‘छोडेर जादैछौं’ भनेर बेस्सरी रोएकी थिइ गोरी एयरपोर्टमा सानेलाई छोड्न जाँदा । तर, यतिबेला, फर्किएर आयौं भनेर खुसीको आँसु झार्दै आफूलाई अंगालोमा राखेर खुसी बाँड्नका लागि गोरी साथमा छैन । बसमा झपक्क के निदाएको थियो, ‘तिम्रो पछ्यौरा देउन जाडो भयो’ भन्दै कोट्यादै थियो साने । झल्यास्स भएर आँखा खोल्दा गोरेले आफूले सिटमा सँगै राखेर ल्याएको सुटकेशलाई कोट्याइरहेको थियो ।

    ‘धत्तेरिका, उसको सम्झनाले कतै छाड्ने भएन् मलाई । साने फेरि भक्किानिएर सासै सासमा रोयो, आखिर यो किन भयो ? किन यस्तो गरिस् गोरी तैले ? तलाई मेरो माया लागेन ? मेरो मायामा के कमी थियो र ?’ यता उता हेर्दै आँखा पुछेर सम्हालियो ।

    मनमनै गम्यो, “उसले नै भनेका अनि देखेका सपना पूरा गर्नका लागि त म कतार गएको थिए नि ! गएको दुई वर्ष बित्न नपाउँदै कसरी बिर्सी गोरीले मेरो माया ?”  साने यतिधेरै गहिराइमा डुब्यो कि, घर आइपुग्न लागेको उसलाई पत्तै भएन । घर पुग्न भन्दा एक किलो मिटर अगावै गाउँघरका चुलोमा बलेको दाउराको बासना आयो सानेलाई । अनि सम्झियो आफ्नो घरको अगेना । जहाँ, जाडोको बेला रातिसम्म अगेनाको डिलमा आगो तापेर गोरीलाई आगोको तातोसँगै न्यानो अंगालोमा बेस्सरी कसेर जीवनभरी नछुटिने कसम खाएको क्षण। गोरी आगोको तातो र उसको अंगालोको न्यानोले उकुस मुकुस हुँदै मनमनै जीवनभरको साथ मागिरहन्थी सानेसँग ।

    ती दिनहरु सम्झेर फेरि भावुक बन्यो साने । ल, बसपार्क आयो है, झरौं । झसङ्ग भयो, पुनः मनमनै सोच्यो, ‘होइन, किन जाने घर ? को छ र त्यो घरमा ?’ फेरि दोमन भयो साने । होइन, छोरा छोरी त छन् नि । उसले बाटो बिराएको भएपनि छोराछोरी सम्हाल्न घर जानुपर्छ मैले ।

    गोरे बसपार्कबाट झरेर केही समयमै घरमा पुग्यो । रातको ८ बजिसकेको थियो । घर पुग्दा । बसपार्कमा भेट भएको कार्इंलाले गोरेको सुटकेश बोकेर घरसम्म पुगेको थियो । घरभित्र धिमे मधुरो बत्ति बलिरहेको थियो । ढोकाको सानो प्वालबाट चियायो सानेले । भित्र केटा केटी मधुरो उज्यालोमा पढिरहेका थिए । छेउबाट कोही चिच्याउदै थियो । राम्रोसँग पढ । राम्रो पढ्यौ भने तिम्रा बाले हामीलाई सहर लगेर राख्ने रे । अनि तिमीहरुलाई पनि राम्रो स्कुलमा पढाउने रे । प्वालबाट हेरिरहेको साने झसङ्ग भयो । होइन, सबै ठिकै त छ फेरि भाउजुले किन यस्तो सुनाइन् । साने आत्तियो । अनि एकैसासमा ढोका ढकढक गर्यो । भित्रबाट गोरीले हातमा बत्ति लिएर ढोका तिर आउँदै सोधिन्, को हो ? यति राति किन आएको हँ ? छोराछोरीले बोलीमा बोली मिसाए, ‘आमा ढोका नखोल, रातिमा आएको मान्छे को हो को हो ?’

    साने यी सबै सुनिरह्यो । ‘ढोका खोल गोरी म हो के तिम्रो साने ?’ त्यति भनेपछि साने नै हो भनेर ढुक्क भर्इ गोरी । अनि ढोका खोली । सानेले गर्लम्म अँगालो हाल्यो । गोरी पनि आत्तिर्इ, के भयो साने, तिमी सन्चै त छौं ? यसरी अचानक थाहै नदिइकन घर आयौं ! किन मलार्इ केही भनेनौं ? कि केही गल्ती गर्यौं र कम्पनीले निकालिदियो ? कि बिमारी भएर यसरी हामीलाई केही नभनि आयौं ?”

    साने घुक्क घुक्क रुन थाल्यो । आफ्नै शत्रु लागेछन् गोरी, तिम्रा बारेमा नराम्रो के के सुनाए के के । म त छोराछोरी टुहुरा भए भनेर आमा बिरामी भएको बहाना बनाएर कम्पनीमा बिदा मागेर घर आएको हुँ, एकछिन त गोरी पनि रोर्इ। गोरीको मनमा खुल्दुली भइरह्यो सानेले भनेको कुरा सुनेर । तर, साने थाकेर आएकोले गोरी केही नबोली भान्सातिर लागि ।

    साने थाकेर आएको थियो । केटाकेटी र गोरीले खाना खाइसकेका थिए । गोरीले हतार–हतार कुनामा रहेको बोराबाट चामल निकालेर धुन थाली । अनि भात पकाएर कुँडेमा रहेको थोरै दूधसँगै भात खान दिर्इ सबैलार्इ । थाकेको सानेले खाना खाइसकेपछि एकछिन छोराछोरीलाई सँगै लिएर सुत्यो । अनि रातभरि गोरीको अंगालोमा आनन्दसँग निदायो ।

    बिहान सबेरै उठ्यो । गोरीलाई काममा सघायो । यता उता छिमेकी आफन्त सबैसँग भेटघाट गर्यो । कतैबाट पनि गोरीका बारेमा नराम्रो सुनेन । सबैले गोरीको प्रशंसा गरेका थिए । दुईवटा छोराछोरी डिँगा बाच्छा सबै स्याहारेर तिम्रो सत्यमा बसेकी छन् गोरी, सबैले भने । साने खुसी भयो । व्यर्थै भाउजुको कुरा सुनेर आत्तिएर घर आएको रहेछु सबै ठीक त रहेछ नि ! भन्दै घर फर्कियो साँझ ।

    गोरीले खाना बनाइसकेकी थिइन् । उनले बारीबाट फर्सीको मुन्टा ल्याएर फकाएकी थिइन् । ‘मासु खान मन थियो होला तपाइलाई मासु पसल बन्द रहेछ, बेलुका ल्याएर खाउँला ।’ गोरीले भनी ।

    बिहाँनको ९ बजिसकेको थियो । छोराछोरीको स्कुल जाने बेला पनि भइसकेको थियो । छोराछोरीलाई आफूले कतारबाट ल्याएको चक्लेट झोलामा राखिदिएर बाडेर खानु भनेर स्कुल पठाए जोडि मिलेर ।

    अब साने र गोरी मात्र रहे घरमा । सानेको काखमा मन्टो राखेर टोलाइरहेकी थिइन् गोरी । उसले गोरीको अनुहारमा सुममुम्याउँदै सोध्न थाल्यो–‘गोरी, माइली भाउजुले भनेको कुरा के हो ? भाउजुले तिमी अरुसँगै गयौं, केटाकेटीको विचल्ली भयो भनेर फोन गरेकी थिइन् नि !’

    गोरी काखबाट टाउको हटाउँदै आत्तिएर भनिन् के भन्नु भयो फेरि भन्नु् त ? तिमी……. गएको कुरा । गोरीले चिताउँदै नचिताएको कुरा सानेको मुखबाट सुन्दा आत्तिइन् । होइन, के भएछ त्यो माइली दिदीलाई अरुको घर भाँड्न खोज्ने ? आफैले नराम्रो गर्दै हिँड्ने अनि मलाई त्यसो भन्ने । उनकै कुरा सुनेर तपार्इ एकबचन पनि नभनी यसरी आउनु भएको हो ? गोरीले रातो पिरो मुख बनाउँदै भनिन् ।

    भाउजू माइत गएकी रहिछन् नभए म, उनलाई नै बोलाएर कुरा राख्थे । खास कुरो के हो भन न गोरी । सानेले कर गर्यो । ‘यी सबै नहुने कुरा हुन् । ल हेर्नुस्, तपार्इं कमाएर पठाएको पैसा बैंकमा राखेको रेर्कड, यी सुनका गहना हेर्नुस् पैसा राखेर मासिन्छ भनेर बनाएर राखेको । पर, खोरमा हेर्न हिड्नु्स्, खोरभरि रहेका एक हजार भन्दा बढी कुखुरा । सम्झनु्स् ती छोराछोरीलाई मैले कसरी हुर्काएको छु भनेर । सोध्नुस् तल्लोघरे साइली आमालाई, मेरो घरमा कहिले अनि कुनबेला बाहिरी मर्द आएर बस्यो भनेर ! अनि सोध्नुहोस् पिपले ठूला ससुरालाई म कुन केटासँग कहिले लठारिएर कहाँ पुगे भनेर ? भाउजुको नचाहिने कुरा सुनेर कसरी भन्न सक्नु भयो यस्तो ?’

    गोरी रुन थालिन् । तपार्इंले नै विस्वास गर्नु हुँदैन् भने त, म बाँँच्नु किन पर्यो ! साने पनि गोरीसँगै रुन थाल्यो । सानले हात जोडेर भन्यो, “मलाई माफ गर गोरी, मैले अरुको कुरा सुनेर गल्ति गरेँ । बैदेशिक रोजगारमा जाने धेरै युवाहरुले यस्तै शंका र आशंकामा जीवन विताउनु परेको छ परदेशमा । घर तथा परका मान्छेहरुले यसरी नै कान भरिदिन्छन्, अनि केहीले त सबै डुब्यो भनेर आत्महत्या पनि गरेका छन् । तर, तिमीले दिएको माया र विस्वासको मलाई पूर्ण भरोसा छ गोरी । अब म यस्तो सोच्नेछैन् ।” 

    गोरीलाई बलियो अङ्गालोमा कस्यो गोरेले । गोरीलाई बेस्सरी अङ्गालो हाल्दा सुतिरहेको सानो खाटबाट गर्ल्याङ्ग तल खस्यो गोरे । मुटु ढक्क भयो । यता उता हेर्यो, गोरीलाई खोज्यो ।

    ‘गोरी’ भन्दै आत्तिदै अनि चिच्यायो । उ चिच्याएको सुनेर भित्तामा सिमेन्ट लगाइरहेकोे साथी दगुरेर सानेको छेउमा आएर उसलाई झक्झक्यो–‘के भयो साने ?’ अनि बल्ल होसमा आयो साने । खाना खाएर एकघण्टा आराम गर्न सुतेको गोरे भसक्कै निदाएर छ अनि गाउँ घर पुगेछ ।

    साथीलाई गर्लम्म अंगालो हाल्दै सपनामा देखेका सबै कुरा सुनाउदै बेस्सनी रोयो साने । भन्यो ‘साथी सपनामा पनि सताइ गोरीले । वास्तवमा गोरीले साने र छोराछोरीलाई छाडेर गएको दुई वर्ष भइसकेको थियो । तर पनि उसले भुल्न सकेको थिएन् गोरीलाई । जे भयो, भयो भनेर विगत बिर्सेर काम गरिरहेको सानेलाई आज फेरि सपनाले विगत सम्झाइदियो ।

    साथीको अङ्गालोबाट छुट्दै भन्यो–हामी परदेशीको जीवन यस्तै हो। जस्तो अवस्थामा पनि सम्हालिएर बाँच्नु परेको छ । अनि छोराछोरीको सुन्दर भविष्यको लागि पैसा जम्मा गर्नु छ । कसैको सम्झनामा यसरी डुबिरहनु हुँदैन भन्दै ‘सपना सपना  नै हो’ भन्ने सोच्दै मुसुक्क हासेर साथीसँगै काम गर्न गयो साने ।

    इति

    ४९१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad