BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

विदेशमा हासिल गरेको सीप लिएर देश फर्कन मन्त्री विष्टको आग्रह

चन्दा थापा (चन्द्रिका)आषाढ २७, २०७५

२७ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदेशमा हासिल गरेको सीप, ज्ञान र पुँजी लिएर देश फर्कन विदेशमा रहेका युवालाई आग्रह गरेका छन् ।
काठमाडौंको सभागृहमा बुधबार आयोजित ‘बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई राज्यको नीति, कार्यक्रम र योजनामा जोड्न बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको राष्ट्रिय भेला २०७५’ लाइ सम्बोधन गर्दै मन्त्री विष्टले यतिबेला देश निर्माणको क्रममा रहेकोले आफ्नो ज्ञान र सीपलाई नेपालको हितमा प्रयोग गर्न आग्रह गरेका छन् ।

मन्त्री विष्टले विदेशबाट फर्किएकाहरुलाइ परिचय पत्र नभएर उनीहरुको सूची तयार गरेर उसको सम्पूर्ण विवरण नाम थिच्नासाथ आउने सिस्टम बनाउन लागिएको बताउदै रेमिट्यान्स पनि बैद्यानिक तरिकाबाट आउँछ या अन्यबाट भन्ने समेत जानकारी राख्दै केही समयको लागि बैदेशिक रोजगारलाई व्यवस्थित बनाउदै लैजाने बताए ।

मन्त्री विष्टले ५ वर्षपछि बैदेशिक रोजगारीको अन्त्य गरिने तथा हाल प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको बताउँदैँ बाध्यताले बैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिने घोषणा गरे ।

उनले युवाहरुका लागि न्यूनतम रोजगारीको अवस्था सिर्जना गर्ने बताउदै यदि कोहि युवा बेरोजगार भएमा स्थानीयतहमा आफू बेरोजगार भएको भनेर सुचिकृत गर्ने र सूचिकृत गरेको केही समयमा रोजगारीको व्यवस्था गरिने समेत बताए । उनले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निजी क्षेत्रको समन्वयमा १२ महिनाका लागि दिगो रोजगारीको व्यवस्था गरिने समेत बताए ।

मन्त्री विष्टले अबको ५ वर्षमा बैदेशिक रोजगारमा जाने बाध्यात्मक स्थितिको अन्त्य गर्ने घोषणा गर्दै त्यतिन्जेलका लागि बैदेशिक रोजगारलाइ व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने समेत बताए ।
उनले नेपाली वलिया पाखुराहरु काम नपाएको भन्दै विदेशका गल्लीमा भौतारिरहेको अवस्थामा नेपालको श्रम बजारमा लाखौं विदेशी नागरिकले काम गरिरहेको तिथो यर्थाथ समेत सुनाए ।
मन्त्री विष्टले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको क्षमता, दक्षतालाई उपयोग गर्नका लागि श्रोत साधन परिचालन गर्न कुनै कसर बाँकी नराख्ने समेत बताएका थिए ।

सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका युवा उत्तम अधिकारीले सरकारले लगानीको सुनिश्चिताको वातावरण बनाए आफूहरु कृषि, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको बताउदै बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको तर्फबाट अनुरोध पत्र पढेर सुनाएका थिए ।

दुई चरणमा विभाजन गरिएको उक्त कार्यक्रमको दोश्रो चरणमा बैदेशिक रोजगारबाट फर्केका युवाहरुको सञ्जाल राष्ट्रिय युवा उद्यमी सञ्जालका अध्यक्ष लोचन बस्नेतले उद्यमशीलतासँगै व्यवसायीकरण गर्नुपर्ने, अग्र्यानिक उत्पादनमा जोड दिएर विषादिविहिन भान्सा बनाउनुपर्ने, कृषि क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्ने तथा कृषिमा राज्यको लगानी कागजमा मात्र सिमित रहेकोले किसानको हितहुने तथा संरक्षणमा नीति निर्माणमा लाग्नुपर्ने बताएका थिए ।
त्यस्तै जापानबाट फर्किएकी जीवन अर्यालले विदेशमा बटुलेको अनुभव सुनाउँदै राज्यले विशेष गरेर विदेशबाट फर्किएका महिला दिदीबहिनीको हितमा कामगर्नुपर्ने बताएकी थिइन् ।

यएइबाट फर्किएर होटल व्यवसायमा लागेका दामोदर नेपालले स्वदेशमा रोजगारीको सिर्जना गर्नुपर्ने र विदेशमा कमाएको पुँजीलाई लगानी गर्ने बातावरण सरकारले निर्माण गर्नुपर्ने तथा सामुहिक लगानीको अवधारणा सरकारले ल्याउनुपर्ने बताएका थिए । उनले लगानीमैत्री वातावरण नभएको, सुशासन नभएको तथा व्यवसाय दर्ता गर्दा दुई महिना झुलाइदिने र दलाली लगाउँदा दुई दिनमै काम हुने जस्ता विकृतिको अन्त्य हुनुपर्ने बताए ।

त्यस्तै साउदीबाट फर्किएका पत्रकार महेश श्रेष्ठले नेपालमा रोजगारी छैन भनेर नेपालीहरु विदेशी भूमिमा पसिना बगाउन गएका बेला देशको झण्डै २ करोड ६० लाख रोपनी जग्गा बाँझो रहेको बताए । उनले पाँचलाख अभिभावकहरुलाई सहाराको आवस्यकता परिरहेको बेला हाम्रा दिदीबहिनीहरु केयरगिभरको रुपमा इजरायल लगायतका देशमा काम गर्नजानु पर्ने बाध्यता रहेको बताए । उनले भूकम्पपछिको पुनर्निर्माणदेखि राष्ट्रिय गौरवको आयोजना निर्माणमा कामदार नभएकै कारण ढिला भइरहेको बताउँदै देश समाजवाद उन्मुख भनिएपनि देशमा पुँजीको विकास नभएको बताए ।
त्यस्तै दुवईबाट फर्किएर कुशल व्यवसाय तथा तालिम केन्द्र संचालन गरिरहेका सरोज कोइरालाले शिप विकास, रोजगारी र परामर्शका कामगर्दै आएको बताए । उनले कृषिमा व्यवसायीकरण गर्न आवस्यकीय ऋण तथा न्यून ब्याजदरको कार्यान्वयनमा जोड दिएका थिए ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोषका प्रतिनिधिले देशमा श्रमको सम्मान गर्ने संस्कृति नभएको बताउँदै पुर्ननिर्माणको क्षेत्रमा दैनिक १२५० दिँदा पनि कामदार नपाएको बताए । उनले युवाहरु अब आ–आफ्नै क्षेत्रमा बसेर जे सम्भावना छ त्यसमा व्यवसायीकता अपनाउनु पर्ने बताएका थिए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उद्यमशीलतलाई भन्सार लगायत विभिन्न क्षेत्रमा छुट दिइने नीति सरकारले तयार गरिरहेको बताए ।

त्यस्तै बैदेशिक रोजगार विभागका महानिर्देशक भुवन प्रसाद आचार्यले विदेश जाने युवाहरुको मात्र नभएर विदेशबाट फर्कने युवाहरुको पनि डाटा तयार गर्ने बताउदै सातै प्रदेशमा विभागका कामकारबाहीहरु सुरु गरेर युवाहरुलाई केन्द्रमा धाउनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।
त्यस्तै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका अध्यक्षले विदेशबाट फर्किएर काममा लागिसकेका र लाग्ने सोच बनाएका युवालाई सम्मान सहित सहयोग गर्ने कार्यक्रम रहेको बताए । उनले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लागि व्यवसाय गर्न विनाधितो १० लाख रुपैयाँ ५ प्रतिशत व्याजमा दिने बताए ।

उनले एक स्थानीय तह एक नमुना व्यवसाय सञ्चालन गर्नका लागि सामुहिक रुपमा १ करोड सम्म सरकारले लगानी गर्न सक्ने बताउँदै युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट १ लाख युवालाई रोजगारी सिर्जना गरिने समेत बताए ।

त्यस्तै कार्यक्रम आयोजक नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा परिषद्का उपाध्यक्ष तथा सभापति माधब ढुंगेलले एक महिनाको तयारीमा यति ठूलो कार्यक्रम गर्न सकिएको भन्दै सबैलाई धन्यवाद दिएका थिए ।

बुधबार आयोजना गरिएको उक्त भेलामा बहराइन, ओमान, कतार, दुवइ, जापान, लगायतका देशमा काम गरेर फर्किएका ६३ जिल्लाका युवाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

२५७ पटक
प्रतिकृया दिनुहोस्