BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    बुद्ध–सर्किटमा रुपन्देहीको सैनामैना पनि समावेश

    संसार न्यूज संवाददाताआषाढ २७, २०७५

    युवराज पाण्डे

    असार २७, बुटवल । बहुचर्चित बुद्ध–सर्किटमा बुद्धकालीन सभ्यताको ऐतिहासिक क्षेत्र सैनामैना समेत समावेश भएको छ ।

    रुपन्देही जिल्लाको सैनामैनामा बुद्धकालीन अवशेष फेला परेपछि यहाँका विभिन्न क्षेत्रहरू बुद्धकालीन महत्वका रहेको भन्दै पुरातत्व विभागले समेत चासो दिएर काम शुरु गरेको सैनामैना नगरपालिकाले जनाएको छ ।

    बुद्धकालीन सैनामैनाको सभ्यतालाई बृहत् बुद्ध सर्किटमा समावेश गरेर खाका तयार पारिएको विषयमा अहिले अन्तिम परामर्श चलिरहेको बताइएको छ । सरकारले गत वर्षदेखि बृहत् बुद्ध सर्किटको खाका बनाउने पर्यटनविद् रविजंग पाण्डेको संयोजकत्वमा बुद्धधर्मका ज्ञाता, विज्ञ र प्राविधिकहरू समावेश गरेर विशेष टोली गठन गरी यस्तो खाका बनाउन खटाएको थियो ।

    सैनामैनालाई लुम्बिनी र कपिलवस्तुपछि तेस्रो महत्वका रूपमा उक्त रुटमा सामेल गरिएको छ । लुम्बिनीसहित बुद्धसँग सम्बन्धित ग्रेटर लुम्बिनीका क्षेत्रलाई मुख्य रुटका रूपमा राखिएको छ । यही रुटलाई आधार मानेर पूर्वको हलेसीदेखि पश्चिममा दैलेख, दुल्लु र कालीकोट हुँदै मानसरोवरसम्मको रुट निर्माण गरी दस्तावेजमा उल्लेख गरिएको छ ।

    यस्तै, अहिले चीनले ‘वान बेल्ट वान रोड’का रूपमा अगाडि बढाएको नयाँ सिल्करोडलाई समेत जोडेर अर्को विशेष रुट तयार भएको छ । गत साउनदेखि काम थालेको टोली यही असार अन्तिमसम्म प्रतिवेदन बनाएर सरकारलाई बुझाउन लागेको उक्त टोलीका सदस्य रामचन्द्र सेढाँइले जानकारी दिए ।

    सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले ढिलै भएपनि सैनामैनाको बुद्धकालीन सभ्यतालाई बृहत्तर बुद्ध सर्किटमा समावेश गरेकामा धन्यवाद व्यक्त गरे । यस्ता सम्पदाको संरक्षण, उत्खनन् र विकासका लागि आफूहरू गम्भीर भएर लागेको भन्दै प्रमुख कार्कीले प्रदेश र संघीय सरकारको समन्वयमा काम अगाडि बढाइने उनले बताए ।

    यहाँको वडा नं १ र २ का विभिन्न क्षेत्रहरू बुद्धकालीन सभ्यताका क्षेत्र मानिन्छन् । यस्तै, यहाँको संस्कृतिलाई समेत बुद्धकालीन समयसँग जोडेर विज्ञहरूले उल्लेख गर्दै आएका छन् । पुरातत्व विभागले यहाँको थारु संस्कृतिलाई विशेष संस्कृतिका रूपमा लिएर केही समयदेखि अध्ययन समेत शुरु गरेको छ ।

    पुरातत्व विभागको विशेष टोली आएर सैनामैनाको थारु संस्कृतिका बारेमा आफूहरूलाई सोधपुछ गर्दै लामो अध्ययन गरेको जानकारी दिँदै सैनामैनाका थारु होमस्टे (घरबास)का अध्यक्ष खुशीराम चौधरीले बुद्धकालीन सभ्यताको संस्कृतिको महत्व पुरातत्व विभाग र नगरपालिकाले उजागर गरेको बताए ।

    प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लीला गिरीले बुद्ध सर्किटको राष्ट्रिय दस्तावेजले मुलुकका धेरै क्षेत्रहरू समेटेको भन्दै अब यस्को कार्यान्वयनमा जुट्न जरुरी रहेको बताएका थिए । ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतैयाले विकास कोषले पहिले लुम्बिनी गुरुयोजनाका काम सक्ने गरी प्राथमिकताका साथ काम गरिरहेको बताए । उनले कपिलवस्तु, सैनामैना, देवदह र नवलपरासीका रामग्रामलगायतका क्षेत्रहरूमा अबको केही समयमा विशेष कार्यक्रमको घोषणा गरिने बताए ।

    राष्ट्रिय खाका बनाउने टोलीका सदस्य विज्ञ डा। मिलन शाक्यले अध्ययनका क्रममा हाम्रा यस्ता ऐतिहासिक सम्पदाहरू संरक्षणको अभावमा क्रमशः मासिंदै र नासिंदै गएको गुनासो गरे ।

    अहिले तयार पारिएको दस्तावेजमा लुम्बिनीलाई केन्द्रमा राख्दै कपिलवस्तु, रूपन्देही र नवलपरासीका बुद्धकालीन सम्पदाहरूलाई समेटिएको छ । साथै नेपालका पूर्व–पश्चिम, उत्तर–दक्षिणका हिन्दु–बौद्धसंग सम्बन्धित क्षेत्रहरूलाई सर्किट (परिपथ) को रुटमा समावेश गरेर विशेष सर्किट, वर्तमान अवस्था र त्यसका सम्भावनाहरूलाई उल्लेख गरिएको छ ।

    लुम्बिनीदेखि कैलाश मानसरोवरसम्मको रुट सर्किटमा समेटिएको छ । यस्तै, चीनले शुरु गरेको एक क्षेत्र एक मार्गको नयाँ रेशम मार्गमा समेत यो बुद्ध सर्किटको रुटलाई जोडिएको छ । ग्रेटर लुम्बिनी बुद्धिष्ट सर्किटलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसमा लुम्बिनी–कपिलवस्तु–सैनामैना–बुटवल–तानसेन–देवदह–रामग्राम क्षेत्रलाई समावेश गरिएको छ ।

    योसहित पूर्वको हलेसी देखि कोरला, सगरमाथा क्षेत्र, कञ्चनजंघा र मानसरोवरसम्मका आठवटा रुटको दस्तावेज तयार पार्दै त्यसैमा परामर्श गरिएको थियो । बुद्ध आफैले जीवनमा एकपटक लुम्बिनी (बुद्ध जन्मभूमि) का साथै भारतमा रहेका बोधगया (ज्ञानप्राप्त भूमि), सारनाथ (पहिलोपटक शिष्यलाई ज्ञान दिएको भूमि) र कुशीनगर (परमधाम गमन) को भ्रमण गर्नुपर्ने बताएका थिए । यिनै क्षेत्रलाई समेटेर भारतले समेत बुद्ध सर्किट बनाइरहेको छ ।

    यस्ता छन् विभिन्न सर्किटहरू

    अन्तर्राष्ट्रिय बौद्ध सर्किट : बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, तिब्बत (चीन), कोरिया, जापान, म्यान्मार, भुटानजस्ता देशहरूका बीचमा बन्ने बौद्ध सर्किट ।

    प्रमुख बौद्ध तीर्थस्थलहरू बीचको बौद्ध सर्किट : प्रमुख तीर्थस्थलहरू लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर बीचमा बन्ने बौद्ध सर्किट ।

    राष्ट्रिय बौद्ध सर्किट : नेपालका प्रमुख तीर्थस्थलहरू लुम्बिनी, स्वयम्भूनाथ, बौद्धनाथ र नमोबुद्ध बीचमा बन्ने बौद्ध सर्किट ।

    स्थानीय बौद्ध सर्किट : लुम्बिनी, कपिलवस्तु, कुदान, गोटिहवा, निग्लिहवा, सागरहवा, सैनामैना, बुटवल, रामग्राम, देवदह लगायतका लुम्बिनी वरिपरिका प्रमुख बौद्ध तीर्थस्थलहरू बीचमा बन्ने बौद्ध सर्किट ।

    लुम्बिनी बृहत् परिपथ (सर्किट) : लुम्बिनी–कपिलवस्तु–सैनामैना–जितगढी–बुटवल–देवदह–नवलपरासीको रामग्रामलगायत लुम्बिनी गुरुयोजनाले चर्चेको क्षेत्र वरिपरि परिक्रमा गर्ने गरी अर्को सर्किट बनाइनेछ ।

    हिन्दु–बौद्ध सर्किट : हिन्दु र बौद्ध दुबै धर्मावलम्बीहरूले सामूहिक तीर्थस्थलका रूपमा लिने लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, पाल्पा–पोखरा, रुरु–रेशुङ्गा, मनकामना, बेनी–मुक्तिनाथ–कागबेनीजस्ता तीर्थस्थलहरू । (रासस)
    –––

    ३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad