BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    बाख्रापालनबाट मासिक डेढलाख कमाउछन् २३ वर्षे अमृत

    संसार न्यूज संवाददाताआषाढ २८, २०७५

    नुवाकोटका अमृत तिवारी, २३ ले सोचेका थिए–देशमा राजनीतिबाटै परिवर्तन आउँछ र ल्याउनुपर्छ । त्यसैले ग्रामिण आर्दश बहुमुखी क्याम्पस नेपालटारमा ब्याचलर पढ्दै गर्दा नै उनी विद्यार्थी राजनीतिमा होमिए । तर, राजनीतिमा सिद्धान्त एउटा र व्यवहार अर्कै हुने गरेको देखेपछि उनलाई राजनीतिबाट वितृष्णा जाग्यो । आफूसँगै पहिलो वर्ष भर्ना भएका २२७ जना साथीहरू दोश्रो वर्षसम्म आइपुग्दा त आधा घटे । उनीहरूले किन कलेज छाडे वा कता गए त्यतिबेला अमृतले बुझेनन् । तर, अहिले भने वस्तु परिस्थिति बुझ्ने भएका छन् । उनी भन्छन्, ‘अहिले बुझ्दै छु ती साथीहरू देशमा सम्भावना नदेखेर केही पैसा कमाउनकै लागि खाडी पसेका हुन् ।’


    राजनीतिमा वितृष्ण जाग्यो । सँगै पढेका साथीहरू पनि खाडी पसे । तर उनी न त अवसर खोज्नका लागि विदेश जाने सोच बनाए न त राजनीतिमै पुनः फर्किए । उनको मनमा जन्मेको माटोको याद आयो । आफनै माटोमै केही फलाउने र फुलाउने सोच जाग्यो । अनि त मनभरी सपना बोकेर १८ वर्षे ठिटो पढाइ बिचमै छाडेर हान्नियो, नेपालटार छोडेर जन्मेको माटो छुन, नुवाकोट बेलकोटगढी गाउँपालिकाको मजुवादेवीमा ।
    त्यहाँ पुगेर उनी कृषि कर्ममै लाग्ने सोच बनाए । परिवारमा कुरा पनि गरे । उनका बुबा मास्टर थिए । सोचेका थिए, छोरोले पनि यस्तै काम गरोस् । छोराको कृषि पेशामा लाग्ने कुरा सुनेर उनी केही समय रिसाए पनि । ‘नेपालमा परपरम्परागत रुपमा गरिदै आएको कृषिले घरमा केही महिना खान पुग्ने बाहेक अहिलेसम्म के परिवर्तन भएको छ र ?’ अमृत भन्छन्, ‘मेरो आमा बुबामा पनि त्यहि सोच थियो छोरोले पढेर राम्रो काम गरोस्, धुलेमैलो नबनोस् भन्ने । मेरा मात्र होइनन्, अरुका बाबु आमाको पनि सोच यस्तै हुन्छ, छोराले दुःख नगरोस् ।’ त्यतिबेला परिवार मात्र नभएर छिमेकी देखि साथीभाइहरूले पनि उनलाई बौलायो भन्न थाले । पढेर गोठालो बन्न थाल्यो भनेर गिज्याउन समेत थाले ।

    त्यहि क्रममै उनले नुवाकोटमै रहेर प्रहरीको अनुसन्धान विभागमा जागिर खाने मानसिकता पनि बनाए । त्यसका लागि उनले एजेन्ट समाउनु पर्ने भयो । तर ऐजेन्टले अनुसन्धानमा नियुक्ति खानका लागि ४ देखि १२ लाख सम्म चाहिन्छ भनेपछि उनले अनुसन्धान विभागको मोह पनि त्यागेर कृषि तथा पशुपालन पेशामै लाग्ने प्रतिज्ञा गरे ।


    उनी सात महिनासम्म एक्लै खटे । बारीमा रहेका दारपात बटुलेर बाख्रापालन गर्नका लागि खोर पनि बनाए । परम्परागत होइन, वैज्ञानिक तरिकाबाट गर्छु, पैसा कमाउँछु भनेर आमा बुबालाई विश्वास पनि दिलाए । निरन्तर त्यहि काममा छोरा लागेपछि बुबाको अन्तरमनमा माया पलाएर आयो । अनि गर्छु भन्छ भने सहयोग गर्छौ भनेर उनलाई साथ दिन थाले ।

    कृषि पेशामा व्यापक परिवर्तन ल्याउनु पर्छ, किसानहरूको सम्मान हुनुपर्छ । यो देशका ७० प्रतिशत भन्दा बढी किसानहरूको जीवन फेरिनु पर्छ । झुत्रे र च्यात्तिएको अनि अनपढहरूनै मात्र कृषि पेशामा लाग्नुपर्छ भन्ने समाजको मानसिकता परिवर्तन हुनुपर्छ । यसमा सरकारको महत्वपूर्ण भूमिका हुनुपर्छ भन्ने अमृतको भनाइ छ । ‘किसानलाई उच्च दर्जाको नागरिक बनाउनुपर्छ, परम्परागत छोडेर बैज्ञानिक रुपमा व्यवसायिक खेती गरिनुपर्छ तथा किसानको सम्मान गर्न सबैले सिक्नुपर्छ र सिकाउनु पर्छ ।’ उनी थप्छन् ‘किसानहरू कलियुगका भगवान हुन् ।’


    ‘बिचैमा पढाई छोड्नु भए छ नि ?’ भन्ने ऐक्यबद्धताको प्रश्नमा उनी आफूलाई कुनै पछुतो नलागेको बताउँछन् । भन्छन्– मेरा गाउँका धेरै दाइहरू मास्टर्स डिग्रीको सटिर्पिmकेट सिरानीमा राखेर निदाउनु हुन्छ । मास्टर्स डिग्री गरेका धेरै दाजुभाइ खाडीको ५० डिग्री चर्को घाममा २०–२५ हजारका लागि मृत्युसँग पौठेजोरी खेल्दै काम गर्नुभएको छ । म त मेरै माटोमा रमाउन पाएको छु, त्यसैले पनि खुसी छु ।’

    उनले २०७० मा १९ वटा लोकल जातका बाख्रा किनेर बाख्रापालन व्यवसाय सुरु गरेका थिए । हाल उनको फार्ममा वोयर क्रस गरिएका १४० भन्दा बढी र १५ वटा पियोर बोयर गरी झण्डै १७० बाख्रा रहेका छन् । उनी आफू र आफ्ना वरिपरीमात्र सिमित छैनन् । देशका ६२ जिल्लामा बोयर जातको बाख्रा पु¥याएका छन् । उनले बोयर बाख्रा अफ्रिकाबाट ल्याएका हुन् । ५ वटा बोयर बाख्रालाई प्रतिगोटा ४ लाख ५० हजार तिरेर ल्याएको पनि बताए उनले । बोयर बाख्रा स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको र नेपाली हावापानीमा राम्रोसँग हुर्कन सक्ने हुनाले पनि यसको जात बढी विस्तार गरिएको उनले बताए । उनका अनुसार बोयर बाख्राको मासु मुटुका लागि, कोलस्ट्रोलका विरामी लगायत विभिन्न समस्या भएका मानिसहरूले पनि खानसक्छन् । क्रस बोयर बाख्रा २० देखि ३० हजारसम्ममा बेच्ने गरेको पनि बताए । उनले बाख्राका लागि ५० जातका डाले घाँस लगाएका छन् ।

    उनकै भनाईमा देश कर्मचारीतन्त्रले चलेको छ र उनीहरूको मुड अनुसार देशमा काम हुने गर्दछ । किसान भनेको माटोसँग खेल्ने धुले मैले, झुत्रे झाम्रे, फोहोरी, ढोकामै बस्नुपर्ने, उनीहरूसँगै बसेर कुरा गर्न नहुने जस्तो सोच कर्मचारीमा भएकाले किसानले राम्रोसँग सरकारको सहयोग पाउन नसकेको उनको गुनासो छ । ‘पशु सेवा विभागमा कर्मचारी किन बस्छन् भन्नुस् त ? पशुको सेवा गर्न होइन्,’ उनले आक्रोश व्यक्त गर्दै प्रतिप्रश्न गर्छन, ‘किसानले पालेका पशुका लागि उनीहरूले काम नगरिदिने हो । त्यो पनि गर्दैनन् भने पशुसेवा कार्यालयको के काम भयो, उनीहरू किन बस्नुप¥यो ल भन्नुस् त ?’

    किसानका लागि सरकारबाट आउने अनुदान कार्यक्रम, झोले कृषकहरूको हातमा मात्र पुगेको र वास्तविक किसान अझै पनि मारमा परेको बताउँछन्, उनी । सरकारले किसानलाई ५ प्रतिशत व्याजमा ऋण दिने भने आफूले पनि डेढ करोडको जग्गा धितो राखेर बल्ल बल्ल २० लाख रुपैयाँ पाएको नमिठो अनुभव उनी सुनाउँछन् । त्यसैले त उनी भन्छन्–किसानको हितका लागि यस्ता सोच र व्यवहार परिवर्तन हुनुपर्छ ।

    यी यावत् गुनासो र अप्ठ्याराहरूका बीच पनि उनी उदाहरणीय युवा किसान बनेका छन् । उनले गरेको काम तथा सामाजिक सञ्जालमा उनको प्रस्तुतिका कारण खाडीमा रहेका धेरै युवाहरू देश फर्कने र यस्तो पेशामा लाग्ने सल्लाह लिने गरेको कुरा समेत उनले सुनाए । ‘कतिले त एयरपोर्टमै आएपछि मलाई फोन गरेर यहाँ आएर बाख्रा पालनमै लाग्छु भन्दै जानकारी लिएर बाख्राको पाठा बोकेर घरगएको मिठो अनुुभूति छ’, अमृतले खुसी व्यक्त गरे । उनले पशु सेवा स्थापना दिवशका अवसरमा नेपाल सरकारबाट बाख्रा पालन व्यवसायबाट ‘नेपालकै उत्कृष्ट र मुलुककै कान्छो व्यवसायी’ पुरस्कारबाट सम्मानित भइसकेका छन् ।


    देशमै केही गर्नुपर्छ भनेर खाडीमुुलुकबाट फर्केर उनीसँग सल्लाह लिइ यो पेशामा २० देखि २५ जना युवाहरू काम थालिसकेका छन् भने उनकै उदाहरणलाई पछ्याउँदै १८–२० वर्षका युवाहरू पनि यो पेशामा लाग्नका लागि उनीसँग जानकारी लिन पनि आइसकेका छन् ।

    ९ लाख लगानी गरेर बाख्रापालन सुरु गरेका अमृतको बाख्रा फार्ममा अहिले ८० लाख लगानी पुगिसकेको छ भने सम्पत्ति झण्डै डेढ करोड बढीको छ । उनले सरकारी तबरबाट सहज ऋण पाउन नसकेका कारण गाउँमा १५ देखि २२ प्रतिशतसम्म व्याजमा झण्डै २० लाख ऋण लिएको पनि सुनाए ।

    उनका अनुसार लगनशील र मेहनती हुने हो भने, बाख्रा पालन गरेको दुई वर्षमा मासिक ५० हजार तथा त्यसपछि बाख्राको गुणस्तर हेरेर मासिक डेढलाखसम्म सजिलै आम्दानी गर्न सकिन्छ । त्यसैले पनि देश तथा खाडीको चर्को घाममा नेपाली पसिना र रगत बगाएका दाजुभाइलाई देशमै फर्केर आफ्नो पाखोबारी फुलाउन र फलाउन सल्लाह दिन्छन् उनी ।
    ‘हेर्नुहोस् देशमा राजनीतिक स्थिरता अझै पनि छैन, राज्यले हामीजस्ता युवाहरूका लागि ठोस योजना पनि बनाउन सकेको छैन, तर हामीले देशले के दियो भन्नु भन्दा पनि हामीले के दियौं ? भनेर सोच्नु पर्ने बेला आएको छ । आउनुहोस् देशमै बसेर आफ्नौ पौरखले आफ्नो माटो मलिलो बनाउ, हामी युवा कस्सिएमा देशको मुहार अवस्य फेरिन्छ ।’

    अमृतले बाख्रा पालनका लागि खोर बनाउनेदेखि बाख्राको जात, घास तथा दानाको प्रकार, पशुको हेरचाह लगायतका सम्पूर्ण कुराहरू निःशुल्क रुपमा सिकाइदिने प्रतिबद्धता समेत गरेका छन् । ‘उहाँहरू टाढाबाट १५ सय देखि २ हजारसम्म गाडी भाडा तिरेर आउने जाने गर्नुहुन्छ, मैले ५–७ सय शुल्क लिएर के हुन्छ
    र ? मलाई कृषिमा क्रान्ति गर्नुछ म जस्ता धेरै युवालाई कृषिमा डो¥याउनु छ यसैबाट देशको मुहार फेर्नुछ ।’ जोशीला, जागरिला अनि मेहनती २३ वर्षे यी युवाको कृषि क्रान्तिबाटै देशमा आर्थिक समृद्धि हुन्छ र गर्न सकिन्छ भन्ने सपना पूरा होस्, यसमा सरकारले पनि तदारुकता देखाओस् भन्ने हाम्रो कामना ।

    प्रस्तुति : चन्दा थापा (चन्द्रिका)

     

    ३४६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad