BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    मेरो देश र बर्खा

    तुलसी आचार्य, म्यान्चेष्टर न्यूह्याम्पसायर अमेरिकासाउन ३, २०७५


    मेरो देशमा जब बर्खा लाग्छ
    र वादल बर्सिन्छ झुपडीहरुमाथि
    कि भकारी भरेर जान्छ कि भकारी रित्त्याएर जान्छ
    कि हसाएर जान्छ कि रुवाएर जान्छ
    कि प्राण दिएर जान्छ कि प्राण लिएर जान्छ

    हलो बोकेर किसान दगुर्छ बाँझो खेतमा
    मोति फलाउन, बुन्दै सपना सन्तान र श्रीमतीको
    साँझमा इन्द्रेणी लाग्छ पश्चिममा
    र आँगनभरि छरिन्छ परिवारको
    खुसी, यौवन, प्राण र जीवनका रंगहरु
    रातभरि फुक्छ भ्यागुताले फेरि आकाश रुवाउने बिगुल

    झुपडी न थियो एउटा र केही चौपाया
    फूलझैँ बगाएर लान्छ
    नसोचेको मरुभूमि खोलो
    उसैको घर निलेर बग्छ
    उस्को आङबाट जीवन लिएर जान्छ

    पोहोर साल त्यस्तै भयो
    गंगाको पानीमा फूल बगेजस्तै
    बागमतिमा पोलिएको मुढो बगेजस्तै
    एउटा बालक बगेर गयो भेलमा
    अर्को अबोध ढलमा

    प्रकृति पनि किन अप्रिय छ
    मानवता हुनेहरुकै मुटुमाथि खेलवाड हुन्छ
    चट्याङ आमाहरुकै मुटुमा लाग्छ
    बाउहरुकै टाउकोमा बज्रिन्छ
    जून मुस्किलै झुल्किन्छ आँगनमा
    घाम मुस्किलै लाग्छ आङमा
    बल्ल बल्ल बर्खा लाग्छ
    र सपनाको बाली लगाउन थाल्छ उ
    चुडेर लान्छ भेलले
    झुपडी र झुपडीभित्रका रहर लाग्दा सपनाहरु

    मेरो देशमा जब बर्खा लाग्छ
    र बादल बर्सिन्छ झुपडीहरुमाथि
    कि भकारी भरेर जान्छ कि भकारी रित्याएर जान्छ
    कि हँसाएर जान्छ कि रुवाएर जान्छ
    कि प्राण दिएर जान्छ कि प्राण लिएर जान्छ
    इति

    २३२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad