BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    सरकारको अनुहारमा बाहुबली चित्र

    खगेन्द्र संग्रौलासाउन ४, २०७५

    सरकारहरू अस्थिर भए र विकास झाङ्गिन पाएन । सरकारहरू अल्पायु भए र भ्रष्टाचारले मौलाउने मौका पायो । सरकारहरूले आप्mनो योग्यता र कौशल देखाउन समय पाएनन् । योग्य र अयोग्य सरकारको परख हुन पाएन । सरकारलाई थाम्न र गिराउन नित्य चुत्था खेलहरू भए, र राजनीति सर्वाङ्ग भ्रष्ट भयो । सधैँ सरकार आज ढल्छ कि भोलि ढल्छको भय व्याप्त, मन्त्रीहरू भर्ती भएको क्षणदेखि नै घुस, कमिसन, दलाल भाग र सलामी खानमा लिप्त । राज्यको समग्र संयन्त्र भ्रष्ट, सरकार, कर्मचारीतन्त्र, सेना, प्रहरी, न्यायालय, एनजीओ सबैसबै चोरकर्मद्वारा कमाउ धन्दामा कटिबद्ध । यो सब देखेर र भोगेर आजीत भएका जनताका नजरमा सबै सरकार चोरैचोर ठहरिए । र, जनगणको चरम् निराशा यो थेगोमा प्रकट भयो— जुनजोगी आए पनि कानै चिरेको, झोलै भरको ।

    चुनावकालमा एमाले र माकेले आकाश–पाता लहल्लिने गरी यी कटु तथ्यहरूको घण्ट बजाए । तिनले जनतालाई भने— हामीलाई बहुमत देऊ, हामी समृद्धि र विकास दिन्छौँ । हामीलाई पाँचवर्ष शासन गर्न देऊ, हामी भ्रष्टाचारलाई निमिट्यान्न पाछौँ । हामीलाई दह्रो विश्वास देऊ, हामी सेवा र सुख दिन्छौँ । सोझो चित्तका मतदाताले पत्याए । र, तिनले आँखा चिम्लेर एमाले–माकेलाई भोट खन्याइदिए । एमाले–माके पैmलिए, कांग्रेस टिमुरियो । आशामुखी लोकलाई लाग्यो— अबभने विकास लदाबदी, समृद्धि भरपूर, सुविधाप्रचूर र सुख छ्यालब्याल हुन्छ । कतिपय आलोचनाशील बौद्धिकहरू पनि यसमा आशावादी थिए । तिनले हामीलाई माके एमालेमा विलय भएर बनेको नेकपा डबलको सरकारलाई शुरुमै ननिको नभन भने । तिनले यसलाई परीक्षामा राखेर हेर्ने राय प्रकट गरे । मलाई भने दुई तिहाईको यो बेलुन फुट्न बेर लाग्दैन भन्ने लाग्यो । मलाई यस्तो लागेको म भविष्यवेत्ता भएर होइन, म अन्तर्यामी भएर होइन । मलाई यस्तो लागेको एमाले–माकेको असैद्धान्तिक र अवसरवादी एकता देखेर हो । यो नेकपा डबलभित्र स्वार्थी खाओवादीहरूको बगाल देखेर हो । यो दलमा दुई शिखरबासी प्रभुको सिन्डिकेट तुल्य एकाधिकार देखेर हो । र, मलाई यस्तो लागेको यो दलमा नश्लीय राष्ट्रवाद र भ्रान्तिकारी लोकप्रियतावादको उन्माद देखेर हो । र यो दलमा योजनाबद्धता, अनुशासन र मर्यादा शून्यप्रायः देखेर हो । र, यो दलमा मैमत्त अहंकारको उन्माद देखेर । असहिष्णुता र प्रतिशोधको विनाशकारी आगो देखेर । र, यो ढ्याके दलमा आदर्श र निष्ठा, विवेक र इमान एवम् लाज र घीन निख्रिँदै गएको देखेर । नभन्दै यो गगनविरही विकासमार्गी सरकारका क्रियाकलापमा उसको चरित्रको चुरो मेरो पूर्वानुमान भन्दा उतिविधि फरक देखिएन ।

    आखिर यसमा देखियो के त ? यसमा जे देखियो, त्यो अनिष्टकर देखियो । यसमा जे देखियो, त्यो भयकारी देखियो । सरकारका मन्त्रीहरूमा एक्ले वीरहरूको बिगबिगी देखियो । कर्मचारीहरूलाई ठाडो आदेश दिनु र हप्काउनु तिनको दिनचर्या बन्यो । यो हैकम, यो एक्ले वीर र यो ठालू प्रवृत्तिको प्रेरणाश्रोत नेकपा डबलका दुई शीर्ष पुरुष हुन्, जो राजा जस्ता लाग्छन् । जो सामूहिक चिन्तन र निर्णयमा होइन, हुकुम प्रमाङ्गीमा रमाउँछन् । सनक, स्वेच्छाचार र हु्ङ्कार तिनका चारित्रिक विशेषता हुन् । र सारा मन्त्री जसोजसो पुरेत बाजे, उसैउसै स्वाहाको मार्गमा प्रवृत्त छन् ।

    प्रभुजीहरूका हवाई गफलाई नै जनहित मानिदिनुपर्ने भए बेग्लै कुरा । नत्र यो सरकारले जनजीवनलाई छुने सिर्जनशील कामका नाममा एउटा सिन्को पनि भाँचेको छैन । केवल तुफानी रेल र पानीजहाज, मेट्रो रेल र मोनो रेलका सोम शर्मा मार्काका सन्कीगफ छाँटिएका छन् । र, कामका नाममा चाहिँ सरकारमा बाहुबली लठैतगिरी व्याप्त छ । यो लठैतगिरीको कमाण्ड प्रधानमन्त्री खड्प्रसाद ओलीका पौरखी हातमा छ । र, मन्त्रीहरू निजका पवनपुत्रको भेषमा सभक्ति निजको नक्कल गरिरहेका छन् । प्रधानमन्त्री ओलीको अनुपम आदेशमा संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसादको अपहरण र केरकार भयो । गृहमन्त्री रामबहादुर बादललाई लाग्यो होला, परम्पूज्य प्रभुजीबाट त्यत्रो पराक्रम भइसक्यो, म पवनपुत्र पनि किन केही नगरुँ ? नभन्दै स्वामिभक्त बादल ब्रो को आदेशमा ट्रमा सेन्टरका डाक्टर भोजराजको अपहरण र केरकार भयो । आयो कुरा अब पर्यटनमन्त्री रवीन्द्र अधिकारीको जण्ड पुरुषार्थको । कुरो के भने लोकले यी अधिकारीमा पारसको औतार देख्न थालेको छ । एउटा तस्बीर छ, जसमा एक अङ्गरक्षकले अधिकारी ब्रो को कोट बोकेको छ, अर्कोले यिनलाई छाता ओडाएको छ । अधिकारी ब्रो पारसीय ठाँटबाँट र दम्भको मुद्रामा छन् । अर्को तस्बीरमा विमान काण्डका सिर्जनशील स्रष्टा यी ब्रो प्रश्न सोध्ने पत्रकारको माइक खोस्दै भन्दैछन्— मन्त्रीलाई यस्ता नाथे झिनामसिना कुरा सोध्ने होइन ।
    अझ अर्का छन् मान्यवर लालबाबु पण्डित, जो कर्मचारीहरूको मानमर्दन गर्नुमा नै पौरख र गौरवबोध गर्छन् । अनि छन् शिक्षामन्त्री श्रीमान् गिरिराजमणि पोखरेल, जो डा.गोविन्द केसीलाई जुम्लाबाट अपहरण गरेर ल्याउने हुङ्कार गर्छन् । जिज्ञाषु लोक जान्न चाहन्छ— सरकारमा यो सब ताण्डव भइरहँदा पूर्व माकेका पीके र काजी के हेरिबसेका छन् ? के यी यावत् ताण्डववाट ती आनन्दित छन् ? कि यी महारथि यी ताण्डवमा समृद्धि र समाजवाद फस्टाउन लागेको सुमधुर दृश्य देख्दैछन् ? लोक शङ्का गर्छ, ती यसै लोकमा त छन् ?

    लोकले बेलैमा बुझोस्, लक्षण राम्रो छैन । ओली राजले नेपाललाई समृद्धि र समाजवादतिर हैन, गुण्डाराज र हुकुमी शासनतिर डो¥याउँदैछ । सत्ताधारी ख्वामित्हरूको यो साँढे प्रवृत्तिको बेलैमा उपचार गर्न नथाले के हुन्छ ? म त भन्छु— उपद्रो हुन्छ । शनैः शनैः हाम्रा वाक्, अभिव्यक्ति र सभा–सङ्गठनका अधिकारहरू खोसिन्छन् । अर्थात् बोलनेहरूका मुख थुनिन्छन्, चल्नेहरूका खुट्टा बाँधिन्छन् । र, यहाँ मसानघाटको सघन सन्नाटामा भयावह गुण्डाराज व्याप्त हुन्छ । अनि के हुन्छ ?

    १४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad