BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    एउटै घाउ, उस्तै पीडा

    बलराम पाैडेलः साम्चि भूटान, हाल बिर्तामोड झापा नेपालसाउन १९, २०७५

    मालिक ! यतातिर कुनै काम पाउन सकिन्थ्यो कि रु हरेक हिउँदमा भूटानको तल्लो भेक, गाउँ बस्तीतिर यस्तै आवाजहरू सुन्न पाइन्थ्यो । दुर्गम गाउँ–बस्तीतिर अदुवा, अलैंची, सुन्तोला, सुपारी आदि प्रशस्त उत्पादन हुने भए पनि भारी बोक्ने आदत नहुँदा उत्पादित सामानहरू भारतीय बजारसम्म पुर्याउन कुल्ली ९भरिया० बोलाइन्थ्यो । भूटानको न्युल्ट्रम भारतीय रूपैयाँसँग बराबरी हुनेहुँदा भारी बोकी हिँड्ने कुल्लीहरू भूटानतर्फ आकर्षिक देखिन्थे ।

    भूटान–भारत–सीमाका पसले कैँया “साहु”हरूले नै कुल्ली या भरियाहरू खोजेर पठाइदिने गर्थे । स्थानीय कुल्लीभन्दा नेपाली भरियाहरू बढी इमान्दार पाइने हुँदा रोजाइमा भने अधिकांश नेपाली भरियाहरू पर्दथे । दिनभरि पचास केजीसम्मको भारी बोकेको पारिश्रमिक केवल दश न्युल्ट्रम दिइन्थ्यो । दोहोरो भारी भए पारिश्रमिक बढी पाउँथे नत्र दश न्युल्ट्रममा चित्त बुझाएर उनीहरू वासस्थान फर्कन्थे । तिनै भरियाहरू वर्षैपिछे गाउँतिर आइरहने हुदाँ उनीहरूको अवस्थाप्रति दया लाग्थ्यो । रेडियो नेपालबाट प्रसारित हुने मुलुककोे विकासबारे उनीहरू बेखबर थिए । गाउँ र परिवारको पीडामा उनीहरूको दैनिकी बितेको हुन्थ्योे । साहुको ऋण तिर्न दिनरात परिश्रम गर्थे ।

    सताइस वर्षअघि भूटानी निरंकुशताको दमन खप्न नसकेर आश्रय खोज्दै नेपालमा आइपुगेपछि भूटानछँदा सुनिएका रेडियो नेपालबाट प्रसारित हुने चौतर्फी विकासबारे बुझ्ने, खोज्ने कौतुहता जागेर आयो । सारा नेपाल घुम्ने सौभाग्य नमिले पनि यहाँको राजनीतिक अस्थिरताबाट नागरिकहरूले बेहोरेका विविध समस्याबारे नजिकबाट जान्ने, बुझ्ने अवसर पाइयो । एक दशकसम्म जनताको अधिकारका लागि संघर्षको नाममा धेरै हिंसात्मक आन्दोलन भए । जसका लागि भनिएको आन्दोलन भनियो तिनै जनतालाई संकटमा पारिएको सुनियो, देखियो । आन्दोलनमा हजारौं मारिए पनि शासन व्यवस्था परिवर्तन भयो भन्दै एकपटक जनता मैदानमा देखिए पनि । यद्यपि, परिवर्तनको आवास समग्र जनतामा भयो भएन ? आफ्नै अर्काको राहतमा बाँच्न विवश शरणार्थीलाई गहिरिएर बुझ्ने अवसर मिल्ले होइन । यहाँ केवल जन्मभूमि र शरणभूमिका समस्याबारे तुलनात्मक विश्लेषण गर्ने जमर्को मात्र गरिएको छ ।

    लामो बसाइले थोरै भए पनि नेपालका गाउँ–बस्तीतिरको अवस्था जान्ने, बुझ्ने मौका पाइयो । कुनाकाप्चातिर बस्नेहरू राजधानीबासीभन्दा दोब्बर मूल्य तिरेर जीवन गुजारा गर्दा रहेछन् । उनीहरूका लागि यसै देशका नागरिक भए पनि चामलको भात खान दशैं, तिहारसम्म कुर्नुपर्दो रहेछ । सदियौंदेखि खोला तर्न ज्यान जोखिममा राखेर तुइनको सहारा लिदारहेछन् । जाबो नुन किन्न सातु–सामल बोकेर लामो यात्रा तय गर्नुपर्ने समस्या पनि देखिए । आफ्नो पसिना बगाएर उब्जाएको अन्नले वर्षभरि नपुगेर आधापेटमा जीवन धानिरहेका जनताभन्दा सरकारी सुविधाको पहुँच केवल सुगमस्थलतर्फ केन्द्रित रहेको पाइयो ।

    यातायातको कठिनाही, हाट–बजारको अभाव, उपचारमा हुने समस्या तुलनात्मक रूपले भूटानभन्दा फरक देखिएन । नेपाल हिजो राजशासनबाट सताइएको थियोे र भूटान आज पनि सताइएको छ । नेपाली जनताले व्यवस्था सुधारका लागि संघर्ष गरेका थिए । हामी भूटानी पनि शासन सुधारकै पक्षमा संघर्षरत छौं । फरक, नेपालबाट राजतन्त्र उल्मूलन भयो । बौद्ध, ईसाइ, मुसलमान भए पनि नेपाललाई अधिकांश हिन्दू अनुयायीहरूको भूमि मानिन्छ । पशुवली समाजिक मान्यता छ । आस्थागत रोकटोक छैन । गरिबीका कारण रूपैयाँसित धर्म साटिने गर्छ । नेपालका लागि धर्म निरपेक्षता संवैधानिक मान्यता रहे पनि हिन्दुराष्ट्रको मान्यता हुनुपर्छ भन्नेहरू मैदानमा देखिएका छन् ।

    भूटानमा राजशासन कायमै छ । प्रजातन्त्र हुनुपर्छ भन्नेहरू तीन दशकदेखि निर्वासनमा छौं । केवल बौद्धधर्मले राष्ट्रिय मान्यता पाएको छ । प्रतिबन्दित इसाई र हिन्दू धर्ममाथि विभेद गरिन्छ । अधिकांश बौद्धमार्गी गोमांश भक्षी छन् । तर पनि, पशुहत्या सामाजिक अमान्य मात्र होइन, कानुनी प्रतिबन्ध छ । औँसी, पूर्णिमा, पर्वहरूमा मासु पसल बन्द राखिन्छन् । धर्म परिवर्तन अपराध मानिन्छ ।

    हामीले देख्यौं राम्रोपक्ष सामाजिक सद्भावले नेपालको आफ्नै मौलिकता थपिदिएको छ । यहाँका धार्मिकस्थल, शक्तिपीठ, मठ–मन्दिरहरू आफैंमा महत्वपूर्ण छन् । तर पनि अनमोल देवस्थलहरूको संरक्षण, सुधार र प्रचारमा राज्यपक्षको दायित्वप्रति महत्व दिइएको पाइएन । दुःखद्पक्ष भनेको पुर्खाहरूको रीतिरिवाज भन्दै अधिकांश शक्ति पीठहरूमा पशुवली दिइएको पाइयो । धार्मिक आस्थाको नाममा ब्राह्मण, पुरोहित, देवपुजक, भद्रव्यक्तित्वहरू नै पशुहत्यातर्फ अग्रणी देखिए । यहाँका देवस्थलहरू रगतले मुछिएका देख्नपर्दा, मासुका लागि गाडीमा हावासम्म नछिर्ने गरी वाधिएका, ट्रक, मोटरसाइकल र साइकलमा उधोमुन्टे पारी झुण्ड्याइएका पशुपंक्षीहरुको दुर्दशा देख्दा ‘हिंसाया दूरायते’ भन्ने हिन्दूधर्मको सारतत्व समाप्त भएको अनुभूति रह्यो । सायद ! हिन्दूहरूबाट परम्पराको हठ्मा निहित स्वार्थपूर्तिका लागि पशुपंक्षी हत्या गरिने मुलुकहरूमा नेपाल पहिलो गन्तिमा आउँछ । तथापि, अन्य धार्मिक आस्था हुनेहरूबाट परम्पराको आडम्बरमा पशुहत्या गरिएको सुनिएन, देखिएन ।

    देवालयहरूले भरिएको विश्वको एकमात्र देवभूमि नेपालले कानुनले मान्यता पाउनुपर्छ भन्ने सबै हिन्दूवादीको मान्यता रहला ! अपितु, यो नेपाली जनता आफैंले परिचालन गर्नसक्ने अभियान हो । वाह्यशक्तिको समर्थनको अपेक्षा गरिनु मुलुकका नागरिकहरूको अनादर मात्र होइन कायरता ठहरिन्छ । महन्त, सन्यासीहरूको हुँकारले मात्रै संभव हुने भए नेपालकै छिमेकी मुलुकले हिन्दूराष्ट्र कहलाउन नपाएकोमा पश्चाताप अलाप्नु पर्ने थिएन ।

    हामीले ठानेका थियौं, “राजतन्त्रलाई दरवारबाट गलहत्याइएपछि लोकतन्त्र ल्याइँदा नेपाली जनताको जीवनशैलि फेरिने छ । हिजोका दिनमा भूटान, आसाम, बर्मासम्म पसिना बगाउन पुग्नेहरू सपरिवार सुख सयलमा रमाएको हुनुपर्छ । वर्षमा एकचोटी कपडा फेर्न नसक्नेहरू आज लवेदा सुरूवालमा ठाँटिए हाटबजारतिर मोजमस्तीमा घुम्दै दिन बिताएको हुनुपर्छ । गाउँ, शहर सबैतिर सामाजिक सुरक्षा, सरकारी सौलियत प्राप्त हुँदा जनताको दिनचर्या सुख सुविधामा बितेको हुनुपर्छ । तर, यसपटकको स्थानीय चुनावको समयमा पूर्व परिचित एकजना नेपाली भरियासित काँकरभिट्टामा भेटहुँदा आफूलाई निन्द्राबाट ब्युँझिएको अनुभूति भएको छ । उनका जीवनमा घटेका पीडाहरू सुनेर आफुलाई मर्माहत तुल्याएको छ ।”

    धेरै समयपछि हामीसित भेट्दा थोरै मुस्कुराए पनि उनीे पहिलेकोेभन्दा अझ पीडित, आक्रोसित र चिन्तामा थिए । उनको अवस्थाले हामीलाई चिन्तित मात्र तुल्याएको छैन । हजारौं नेपाली जनताको वलिदानको अवमूल्यन भएछ कि भन्ने पीडासमेत थपिदिएको छ । उनले भूटान जानेक्रम रोकिएपछि दिल्लीतर्फ भासिएको बताए । चाडपर्वहरूमा घर आउने र पुनः उतै फर्कने वाध्यता मात्र पोखेनन्, हरेकपटक घरफिर्दा सीमापारीका कर्मचारीहरूबाट लुटिएको पीडासमेत सुनाउन भ्याए । यसपटक पनि सातसय नतिरेसम्म नेपाल छिर्न नपाएपछि नेपालीभूमिमा आपत्ति गर्दा वास्ता नगरिएकोप्रति उनी धेरै निरास र आक्रोसित देखिन्थे । “हिजोसम्म वाधक रहेको राजतन्त्रलाई जनताले फालिदिए पनि आपसी द्वन्द्व रोकिएको छैन । धन कमाउन लाखौं युवाहरू विदेशिएका छन् तर गरिबी झन् झन् बढ्दै गएको छ ।” उनी एक्कासी भक्कानिए । आँखाभरि आँसु छछल्किए । गला अवरूद्ध भयो ।

    “हुनसक्छ, सुधारका लागि हिजो राजशासन बाधक थियो । गणतन्त्रपछि पनि पुरानै शैलि दोहोर्याइनु जनता दोषी हुन सक्दैन् । राजतन्त्र हुँदा हुनेखानेहरूको मोजमस्तीका लागि बोका, च्याँङ्ग्रा काठमाडौं ल्याइन्थे । ती अवोध पशुहरूमाथि कर्मचारीको कसाई बिर्साउने ज्यादती देखिन्थ्यो, सुनिन्थ्यो । लोकतन्त्र आयो, नियत फेरिएन । केवल राजधानीवासीका लागि दशै, तिहारमा सौलियत पसलहरू खोलिएका हुन्छन् । पच्चीस लाख जनता बाहिरिएपछिको खुलाइने सौलियत पसल, बोका, च्याँङ्ग्रा आदि केवल राजधानी लक्षित हो या समग्र मुलुक ? यसको उत्तर कस्ले दिन्छ ?”

    उनी अझै आक्रोशमा बोल्न थाले, “यो मेरो कसैप्रतिको ईर्श्या होइन तर दुर्गम जिल्लाबासीलाई सौलियत आवश्यक नपर्ला र ? भूकम्पपीडित, वाढीपीडितहरूको अवस्था कति दयनीय छ ? गणतान्त्रिक सरकारले कति समयपछि देख्ने हो ? जनताले शुषासनको अनुभूति कहिले, कसरी गर्ने ? समान वितरणको सुविधा महसुस गर्न नपाउँदा बाह्रै महिना परिश्रम गरी खाने हामीजस्ता नागरिकको चित्त काटिएको छ सर अाफ्नै देशमा ।”

    “दशैं तिहारमा यातायातमा हुने असुविधा स्वदेशीसँगै विदेशीले भोगेका हुन्छन् । सरकारी सौलियत यहाँ नेर आवश्यक थियो । मुलुकभर यातायातको असुविधा हुँदा थोरै मात्र सरकारी सहयोग मिल्नसक्थ्यो भने लाखौं यात्रुहरूले सरकारको जय, जयकार मनाएका हुन्थे । हुँदामात्र खान पाउने आम नेपालीहरूका लागि केवल सर्वसुलभ वितरण, शान्ति सुरक्षासहितको सुगम यातायात र देवालयहरूमा सहज दर्शनको सुविधामात्रै भइदिए पनि धेरै राहतको महसुस हुने थियो नी ।”, उनले एकै सासमा यति भन्न भ्याए । उनका साथीहरु त्यहीँ आइपुगे् । जाने होइन साइला भन्दै सबैजना नाइट बसतर्फ लम्किए । उनी बोल्न सकेनन् । ठेलैठेला भएको दाहिनै हात उठाएर मात्र सङ्केत गरे । आँसु भरिएका आँखाको संकेतबाटै विदा मागेर साथीका पछि लागे । उनी बल्लतल्ल पस्न भ्याए र गाडी गुड्यो । मेरो मुटु भत्भति पोल्यो । न त म नै केही भनी बोल्न सकेँ । उसले अाफ्नो देशमा शरणार्थी जीवन बाँच्न उसको मालिकलार्इं यो हविगतमा देखेर के भन्यो होला ? गाडी देखिने बाटोसम्म हेर्दै अनेक तर्कनामा टोलाइरहें । आफैंभित्र हराइरहें ।

    इति

    कथाकार पाैडेल भूटान पिपल्स् पार्टीका संस्थापक तथा अध्यक्ष हुन । – सम्पादक

    ३२९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad