BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

भोगाइ

बालकुमार राईः भोजपुर नेपाल, हालः दुबइ युएर्इसाउन २४, २०७५

हिजो जस्तो लाग्छ
पासपोर्ट अनि एउटा झोला बोकेर
खियाउटे ज्यान
हजारौं सपनाका महलहरु बुन्दै
एयरपोर्टमा लाइन लागेको
आज एक दशक बितेछ
खाडीको घामसँग मितेरी गाँसेको पनि

यसबिच मैले मेरो जिन्दगीका
स्वर्णिम क्षणहरु गुमाएकोछु
जुँगाका रेखी भर्खरै बस्दै गरेका
हजारौँ मार्छु र मर्छु भन्ने साथीहरु
रिसाउने, ठुस्किने,
अनि घुर्क्याउने
सङ्गिनीहरू पनि
भीर पाखामा जुहारी गाउने
रोधिमा दोहोरीसँगै
पिरती साँट्ने मायालुहरु
अनि बाँसुरी र मादलुको तालमा
सोरठी घन्काउनेहरु

कति रमाइला थिए
मेरा बिगतहरु
म गाउँथेँ सुसेल्थेँ
उनीहरु नाँच्थे
समलाको तालमा
मैले मादल घन्काउँदा
ननाँच्ने विरलै हुन्थे
अनि मारुनीको भाकामा
सोर नमिलाउने को नै हुन्थ्यो र ?

तर !
तर आज समय बद्लिएकोछ
न मसँग ज्यानको बाजि थाप्ने साथी छ
न मसँग पिरतीको भाका बुन्ने सँगी छ
एक्लै मारुनी र सोरठी गुनगुनाउँछु
नाँच्ने कोही हुन्नन
स्वर मिलाउने कोही छैनन
माटोमा पनि बास्ना आउने ठाँऊमा हुर्किएको म
अत्तरमा पनि गन्ध आउने
एकलासमा छु

महल बनाउन सकिन
लाखौं कमाउन सकिन
कुनै गुनासो छैन जिन्दगिको
किन कि ?
यो एक दशकमा
मसँग हाइ ब्लड प्रेसर छ
मधुमेह छ
डिप्रेसन छ

बासी भात र सुक्खा रोटी खाएर पनि
ग्यास्ट्रिक भरिएको डुम्म पेट छ
अरबको तातो घाम र नुनिलो पानीले
तालु खुइलिएर चिन्डे भएको देख्दा
सम्पत्तिले खुइलिएछ भन्ने
शुभ चिन्तकहरु छन्
यसैमा खुसी छु
पाउनु र गुमाउनुको
कुनै लेखा जोखा छैन

इति

४४८ पटक
प्रतिकृया दिनुहोस्