BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

आमा

चन्द्रा जोशी सुमन, धरान सुन्सरी नेपाल, हालः लेवनानसाउन २५, २०७५

एका बिहानै जुरुक्क उठी
एक कप रातो चियाको भरमा
एक हातमा कोदालो झुण्डाई
कुममा डोको बोकी ओरालीमा
खुई खुई गर्दै बेँशीतिर झर्दै
होलीन् कठै ! मेरी आमा

बैशाखको तातो हावासँगै
बिहानीको चर्को घाममा
मकै बारीभित्र पस्दिहुन्
खडेरी लागेर सुकेका
ढुङ्गा जस्तै भएका बारीका डल्ला
फोर्दै होलीन् कठै ! मेरी आमा

थकित भएको शरिर लिएर
शितल छाहारीको आशामा
एकफेर आकाशतिर हेर्दिहुन्
बादलका धर्सासम्म कहीँ
कतै नदेखेपछि लामो
सुस्केरा तानेर पानी घट् घट्
पिउँदै होलिन् कठै ! मेरी आमा

अमिलो भएर आँखा चर्याउने
निधारबाट चिटचिट पसिना बग्दै
आँखा हुँदै गालासम्म झरेपछि
एकछिन छाहारीमा ठिङ्ग उभिएर
सारीको सप्कोले पसिना
पुच्छ्दै होलिन् कठै ! मेरी आमा

बिहान बेलुकाको लागि एक मुठी
गाँसबास जुटाउनको निमित
परिश्रमको फल चाट्छिन् अनि
एक घुट्की पानीको भरमा
दिनभरि मकैको जरा खोतल्दै
होलिन् कठै ! मेरी आमा

बारीमा पलाएका झारपात बटुली
डोकोभरि घाँसको भारी पुर्याई
फुस्कन लागेको रातो पटुकी कसी
एकफेर निधारको पसिना पुसी
नाम्लो थाप्लोमा भिरेर घरतिर हेर्दै
उकालो चड्दिहुन् कठै ! मेरी आमा

चुलो चौका सिध्याएर एक मुठ्ठी
ढिँडो र गुन्द्रुकको अचार मुखमा
लगाई म प्रदेशीलाई संझिदै
आँशु तप्प तप्प झार्दै होलिन्
आउने दिनमा भेट्ने आशामा अनि
बिहानको त्यो भालेको डाकमा
दलानमा प्रतिक्षा गर्दै
मेरै बाटो हेर्दै होलिन् कठै ! मेरी आमा

इति

प्रवासलार्इ कर्म थलो बनाएर कविता, गजल, कथा अादि विधामा साहित्य कर्म गर्दै रहनु भएकी स्रष्टा सुमनको गतवर्ष ऋतु उपन्यास प्रकाशित छ । – सम्पादक

४७२ पटक
प्रतिकृया दिनुहोस्