BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

विश्वास

घनेन्द्र अोझा, काठमाण्डाै नेपालभाद्र ८, २०७५

 

धेरै बेर ओछ्याइरहेर
आँखाहरू क्षितिजमा
नियालिरहिन्
र, मुजा परेको निधार
झनै खुम्च्याएर
अमिलो अनुहार पार्दै भनिन्
‘होइन रहेछ ।’

उनको खोजी जारी छ वर्षौंदेखि
वर्षौंदेखि नियालिरहेकी छन्
यसरी नै बाटाहरू ।

देश बनाउन हिँडेको जवान छोरो
घर बनाउन हिँडेको अधवैँसे लोग्ने
जनताको मुक्तिका लागि घर छाडेकी छोरी
सबैसबै आउँछन् फर्किएर
यस्तै विश्वास छ उनलाई ।

उनी,
कुरिरहेकी छन् प्रियजनको आगमन
कहिले आउँछन् सपनामा
र चिमोट्छन् नराम्ररी
कहिले झुल्किन्छन् कल्पनामा
र झस्काउँछन् बेस्मारी ।

आशा छ उनको
लोग्ने आएपछि छाइनेछ चुहिएको छानो
छोरो आएपछि बन्नेछ नयाँ घर
छोरी आएपछि हुनेछ सुन्दर परिवार ।

तर थाहा छैन उनलाई
काम गर्दागर्दै दुर्घटनामा
उनको लोग्ने बितेको
थाहा छैन
“देश बनाउँदा बनाउँदै” युद्धमा
छोरो मरेको
र जनतमुक्तिका गीत गाउँदागाउँदै छोरी ढलेकी ।

यो बुढ्यौलीको अन्तिम समय
यसरी नै बाँचेकी छन् उनी
साँच्ची ! कति निर्दयी हुन्छ है विश्वास !
कति निष्ठूर हुन्छ है आशा !

इति

 

३५३ पटक
प्रतिकृया दिनुहोस्